सीधै सामग्रीमा जाने

DECEMBER 3, 2020
विश्‍व समाचार

सन्‌ २०२० राज्य अभियान: अख्तियारवालाहरूले धन्यवाद व्यक्‍त गर्छन्‌

सन्‌ २०२० राज्य अभियान: अख्तियारवालाहरूले धन्यवाद व्यक्‍त गर्छन्‌

विश्‍वभरिका यहोवाका साक्षीहरूले नोभेम्बर महिनामा व्यापारिक इलाकामा, परिवारका सदस्यहरू र इच्छुक व्यक्‍तिहरूलाई सङ्‌ख्या २, २०२० को जनसंस्करण प्रहरीधरहरा वितरण गरे। यस अभियानअन्तर्गत सरकारी निकायका थुप्रै अधिकारीहरूलाई पनि उक्‍त पत्रिका वितरण गरिएको थियो। उक्‍त अभियानको बारेमा शाखा कार्यालयहरूले थुप्रै प्रोत्साहनदायी प्रतिक्रियाहरू प्राप्त गरेका छन्‌।

सियरा लियोनका भूमि, आवास तथा राष्ट्रिय योजना मन्त्रालयका राज्यमन्त्री रेक्स बोनाफाले आफूलाई उक्‍त पत्रिका पठाइदिएकोमा भाइहरूलाई धन्यवाद दिँदै एउटा पत्र लेखे। तिनले पत्रमा यस्तो लेखेका थिए: “मलाई तपाईँहरूको पत्रिका निकै प्रोत्साहनदायी र जानकारीमूलक लाग्यो। म हरेक दिन उक्‍त पत्रिका पढ्‌दै छु।”

सामोआका प्रधानमन्त्रीले पनि प्रभुको प्रार्थनाको महत्त्वको कदर गरेको कुरा बताउँदै एउटा धन्यवादको पत्र पठाए। साथै राष्ट्रपति टुइमलिलियोफेनो भालेटोआ सुआलुभी द्वितीयले हाम्रो बाइबलआधारित शैक्षिक कार्यको लागि व्यक्‍तिगत रूपमा धन्यवाद व्यक्‍त गरे। उक्‍त कार्यले “बाइबलबारे सिकेर मानिसहरूलाई जीवनमा परिवर्तन गर्न मदत गरेको” कुरा तिनले उल्लेख गरे। साथै कोभिड-१९ महामारीको दौडान सभाभवनहरूमा भेला नभएको र घरघरको साक्षीकार्यमा भाग नलिएकोमा तिनले भाइहरूको प्रशंसा गरे।

चिलीका नगरपालिका सचिव ओस्भाल्डो कार्टागाना गार्सियाले यसो भने: “तपाईँहरूको यस्तो राम्रो अभियानले हाम्रो देश र समाजका सबै अधिकारीहरूलाई देशवासीहरूको लागि असल कामहरू गर्न सही मार्ग देखाओस्‌ भन्‍ने म आशा गर्दछु, विशेषगरि अहिले हाम्रो देश अनि विश्‍वले सामना गरिरहेको यस्तो कठिन परिस्थितिमा।”

जर्मन संसद्‌को एक जना सदस्यले (डोइचर बन्डेस्टाक) जर्मनीमा अवस्थित मध्य युरोप शाखालाई यस्तो लेखे: “तपाईँहरूको धर्मबारे मलाई राम्ररी थाह छ। तपाईँहरूको सङ्‌गठनका मानिसहरू साहसीपूर्वक आफूलाई एक जना यहोवाको साक्षी भनेर चिनाउँछन्‌ र म त्यसको कदर गर्छु। . . . तपाईँहरूले नाजी शासनको (तेस्रो राइक) बेला कठोर सतावट भोग्नुपरेको कुरा पनि मलाई थाह छ।”

त्यसैगरि जर्मनीको एक जना सङ्‌घीय राज्यमन्त्रीले कोभिड-१९ महामारीको दौडान मानिसहरूलाई सान्त्वना दिएकोमा साक्षीहरूलाई धन्यवाद व्यक्‍त गरे। तिनले यस्तो लेखे: “तपाईँहरूले दिनुभएको यस्तो महत्त्वपूर्ण योगदानले हाम्रो समुदाय र समाजको एकतालाई टेवा पुऱ्‍याएको छ।”

कोलम्बियाको राष्ट्रिय सभा र प्रतिनिधि सभाका एक-एक जना सदस्यले संयुक्‍त रूपमा धन्यवाद दिँदै उक्‍त पत्रिका अरूलाई पनि देखाउनेछौँ भनेर शाखा कार्यालयलाई एउटा पत्र लेखे। वातावरण तथा दिगो विकास मन्त्रालयका एक जना अधिकारीले पनि यस्तो लेखे: “जीवनदायी सन्देश भएको प्रहरीधरहरा पत्रिका मलाई पठाइदिनुभएकोमा मुरीमुरी धन्यवाद!”

जापानका लागि घानाका राजदूत फ्र्‌यान्क ओकेरले यसो भने: “मलाई यो पत्रिका निकै जानकारीमूलक लाग्यो किनकि यसमा मानिसजातिका समस्याहरूको समाधानमा जोड दिइएको छ।”

त्यसैगरि अजरबैजानका एक राजूदतले यसो भने: “हाम्रो राजदूतावासमा प्रहरीधरहरा-को यो विशेष अङ्‌क पठाइदिनुभएकोमा तपाईँहरूलाई धेरै-धेरै धन्यवाद। मैले निकै उत्सुकताका साथ यो पत्रिका पढेँ।”

मोजाम्बिक शाखामा जन सूचना एकाइका निरीक्षकको रूपमा सेवा गरिरहेका भाइ अमारो तेसैराको यो अभिव्यक्‍तिसँग हामी सहमत छौँ: “यो अभियान हामीले सोचेकोभन्दा निकै सफल भएको छ। अहिलेसम्म हामीले साक्षी दिन नसकेका मानिसहरूलाई राज्यको सन्देश सुनाउन हामी सफल भएका छौँ।”

“सबै उच्च पदाधिकारी”-हरूलाई बाइबलको सन्देश सुनाउने काम अघि बढिरहँदा अख्तियारवालाहरू र अन्य व्यक्‍तिहरूबाट यस्ता धन्यवादका अभिव्यक्‍तिहरू पाउन रोकिनेछैन भन्‍ने कुरामा हामी आशावादी छौँ।—१ तिमोथि २:२.