सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

मरिसकेका हाम्रा पुर्खाहरूको लागि के आशा छ?

मरिसकेका हाम्रा पुर्खाहरूको लागि के आशा छ?

के ही समयअघि कोरियाको अखबारको मुख्य शीर्षकमा यस्तो रोचक विषय छापिएको थियो: “येशूबारे केही थाह नभएकी ‘असल शिम चङ्ग’—के तिनी नरकमा गइन्‌?”

यो शीर्षक मानिसहरूको रगत तताउने खालको थियो। किनभने कोरियन लोककथामा बताइएअनुसार शिम चङ्ग अन्धो बुबाको लागि आफ्नो ज्यान दिएकी मायालु छोरी थिइन्‌। वर्षौंवर्ष बितिसक्दा पनि मानिसहरू अझै तिनको सम्मान गर्छन्‌। कोरियामा शिम चङ्गलाई आदर्श छोरीको रूपमा सम्मान गरिन्छ।

यस्तो राम्रो मान्छे भए तापनि बप्तिस्मा मात्र नगरेको कारण नरकमा सास्ती भोग्नुपर्नेछ भन्ने धारणा धेरैजसो मानिसलाई अन्यायपूर्ण र अपमानजनक लाग्छ। नलागोस् पनि कसरी, ती स्त्रीको गाउँमा येशूबारे प्रचारप्रसार हुनुअघि नै त्यो लोककथा लेखिएको हुनुपर्छ।

त्यस अखबारमा एक जना पादरीसित लिइएको अन्तरवार्ता पनि थियो। तिनलाई यस्तो प्रश्न सोधिएको थियो, ‘यदि कसैले येशूबारे सिक्ने मौका नपाउँदै मऱ्यो भने के त्यो मान्छे नरकमा जान्छ?’ जवाफमा तिनले भने: “हामीलाई थाह छैन। तर [त्यस्तो मान्छेहरूको लागि] परमेश्वरले केही न केही सोच्नुभएको छ होला।”

उद्धार पाउन के गर्नुपर्छ?

नयाँ क्याथोलिक विश्वकोश (अङ्ग्रेजी) यसो भन्छ: “उद्धार पाउन बप्तिस्मा गर्नै पर्छ। ख्रीष्ट आफैले भन्नुभयो, पानी र पवित्र शक्तिद्वारा नजन्मेसम्म कोही पनि परमेश्वरको राज्यमा पस्न सक्दैन। (यूह ३:५)” धेरै मानिस यस कुरामा विश्वास गर्छन्‌। त्यसैकारण बप्तिस्मा नगरी मर्नेहरू सबै नरकमा पुग्छन्‌ वा मरेपछि कुनै न कुनै तरिकामा सास्ती भोग्छन्‌ भनेर विश्वास गर्छन्‌।

तर अरू थुप्रैलाई भने यस्तो कुरा अर्थहीन लाग्छ। लाखौं मानिस बाइबलको कुरा थाह नपाई मरेका छन्‌। के तिनीहरूले अनन्त सास्ती भोग्नुपर्छ? यसबारे बाइबल के भन्छ?

बाइबलले प्रतिज्ञा गरेको आशा

परमेश्वरको इच्छाबारे थाह नपाईकन मर्नेहरूलाई उहाँ वेवास्ता गर्नुहुन्न भनेर बाइबल स्पष्ट बताउँछ। प्रेषित १७:३० हामीलाई यस्तो आश्वासन दिन्छ: “मानिसहरूले जुन बेला अज्ञानतामा त्यसो गरे, परमेश्वरले त्यसको वास्ता गर्नुभएको छैन।” त्यसोभए परमेश्वरबारे सिक्ने मौका नपाई मरेकाहरूको लागि के आशा छ भनेर बाइबल बताउँछ?

येशूको यस प्रतिज्ञाको अर्थ के हो: “तिमी मसित प्रमोदवनमा हुनेछौ”?

यसको जवाफ येशूले आफूसँगै झुन्ड्याइएको अपराधीलाई भन्नुभएको कुरामा पाउन सक्छौं। त्यस अपराधीले येशूलाई यसो भन्यो: “तपाईं राजा बन्नुभएपछि मलाई सम्झनुहोस्।” त्यसपछि येशूले यसो भन्नुभयो: “म आज तिमीलाई साँचो-साँचो भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”—लूका २३:३९-४३.

के येशूले त्यस अपराधीलाई तिनी स्वर्ग जानेछन्‌ भनेर प्रतिज्ञा गर्दै हुनुहुन्थ्यो? होइन। त्यो अपराधी पानी र पवित्र शक्तिद्वारा ‘फेरि जन्मिएको’ थिएन, जुन स्वर्गको राज्यमा पस्नको लागि आवश्यक थियो। (यूहन्ना ३:३-६) वास्तवमा येशूले त्यस अपराधीलाई तिनी प्रमोदवनमा फेरि जीवित हुनेछन्‌ भनेर प्रतिज्ञा गर्दै हुनुहुन्थ्यो। त्यो अपराधी यहूदी भएकोले तिनलाई बाइबलको पहिलो किताबमा बताइएको प्रमोदवनबारे (अदनको सुन्दर बगैंचा) थाह भएको हुनुपर्छ। (उत्पत्ति २:८) येशूको प्रतिज्ञाले त्यस अपराधीलाई पृथ्वीमा प्रमोदवन पुनर्स्थापित भएपछि फेरि जीवित हुने पक्का आशा दियो।

बाइबलमा यस्तो प्रतिज्ञा गरिएको छ: “परमेश्वरको स्तरबमोजिम ज-जसले असल काम गरे अनि ज-जसले गरेनन्‌, तिनीहरू दुवै पुनर्जीवित हुनेछन्‌।” (प्रेषित २४:१५) परमेश्वरको इच्छा थाह नभएकोले उहाँको स्तरबमोजिम नचलेकाहरू नै ‘असल काम नगर्ने’ मानिसहरू हुन्‌। येशूले परमेश्वरको स्तरबमोजिम असल काम नगर्ने त्यस अपराधीका साथै परमेश्वरबारे थाह नपाएर मरेका करोडौं, हुन सक्छ अरबौं मानिसलाई पुनर्जीवित पार्नुहुनेछ। त्यसपछि नयाँ संसारमा तिनीहरूलाई परमेश्वरको इच्छाबारे सिकाइनेछ र तिनीहरूले परमेश्वरको आज्ञा पालन गरेर उहाँलाई प्रेम गरेको देखाउने मौका पाउनेछन्‌।

 असल काम नगर्नेहरू पुनर्जीवित हुँदा

परमेश्वरको स्तरबमोजिम असल काम नगर्नेहरू पुनर्जीवित हुँदा के विगतका कामहरूको आधारमा तिनीहरूको न्याय गरिनेछ? अहँ गरिनेछैन। रोमी ६:७ यसो भन्छ: “जो मर्छ, ऊ आफ्नो पापबाट मुक्त हुन्छ।” ती असल काम नगर्नेहरूले आफ्नो पापको ज्याला मृत्युद्वारा तिरिसकेका हुन्छन्‌। त्यसकारण पुनर्जीवित भएपछि तिनीहरूले गरेको कामको आधारमा न्याय गरिनेछ, परमेश्वरको ज्ञान पाउनुअघि गरेका कामको आधारमा होइन। तिनीहरूले कस्तो लाभ उठाउनेछन्‌?

असल काम नगर्नेहरू पुनर्जीवित भएपछि प्रतीकात्मक पुस्तक खोलिनेछ र त्यसैबाट तिनीहरूले परमेश्वरको नीतिनियमबारे सिक्ने मौका पाउनेछन्‌। त्यसपछि “तिनीहरूको कामअनुसार” न्याय गरिनेछ। (प्रकाश २०:१२, १३) भन्नुको अर्थ तिनीहरूले परमेश्वरको नीतिनियम पालन गरे कि गरेनन्‌, त्यसको आधारमा न्याय गरिनेछ। असल काम नगर्ने थुप्रै मानिसको लागि परमेश्वरको इच्छाबारे सिक्ने र त्यसअनुसार चलेर पृथ्वीमा अनन्त जीवन पाउने त्यो नै पहिलो मौका हुनेछ।

यस्तो बाइबलको शिक्षाले थुप्रै मानिसलाई परमेश्वरमाथि फेरि विश्वास गर्न मदत गरेको छ। उदाहरणको लागि यङ्ग सुगलाई विचार गरौं। तिनी कट्टर क्याथोलिक परिवारमा हुर्किन्‌। तिनको परिवारका सदस्यहरू पादरी थिए। नन बन्ने इच्छाले तिनी क्याथोलिक ननहरूको समाजमा बस्न थालिन्‌। त्यहाँ भइरहेको कामकुरा देखेर तिनी निराश भइन्‌ र त्यो समाज छोडिन्‌। साथै मानिसलाई नरकमा सास्ती दिने कुरा अन्यायपूर्ण र निर्दयी लागेकोले तिनलाई नरकको शिक्षा फिटिक्कै मन परेन।

यङ्ग सुगलाई एक जना यहोवाको साक्षीले बाइबलको यो पद देखाइन्‌: “जिउँदाहरूले हामी मर्नेछौं भनी जान्दछन्‌, तर मरेकाहरूले ता केही पनि जान्दैनन्‌।” (उपदेशक ९:५) ती साक्षीले यङ्ग सुगलाई तिनका पुर्खाहरू नरकमा सस्ती भोगिरहेका छैनन्‌ बरु उनीहरू पुनर्जीवित हुने समय पर्खंदै मृत्युको निद्रामा छन्‌ भनेर बुझाइन्‌।

थुप्रै मानिसले बाइबलको सत्य कहिल्यै सुन्न पाएका छैनन्‌ भनेर थाह पाएपछि मत्ती २४:१४ मा उल्लिखित येशूका शब्दहरूले यङ्ग सुगमा गहिरो छाप पाऱ्यो। त्यहाँ यस्तो लेखिएको छ: “सबै जातिलाई साक्षी दिनका लागि राज्यको यो सुसमाचार सारा पृथ्वीभरि प्रचार गरिनेछ। त्यसपछि यस युगको अन्त हुनेछ।” अहिले तिनी आफूले सिकेको बाइबलआधारित आशाबारे मानिसहरूलाई बताउँदै छिन्‌।

“परमेश्वर पक्षपाती हुनुहुन्न”

बाइबल यसो भन्छ: “परमेश्वर पक्षपाती हुनुहुन्न, बरु जुनसुकै जातिको भए तापनि जसले उहाँको डर मान्छ र उहाँको स्तरबमोजिम असल काम गर्छ, उसलाई स्वीकार्नुहुन्छ।” (प्रेषित १०:३४, ३५) ‘धार्मिकता र न्यायलाई निको मान्नुहुने’ परमेश्वरबाट के हामी यस्तै न्यायको आशा गर्दैनौं र?—भजन ३३:५.