सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्छ?

के कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्छ?

परमेश्‍वरको नजिक हुनुहोस्‌

के कुनै कुराले “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्छ?

रोमी ८:३८, ३९

हामीमध्ये कसलाई पो माया चाहिंदैन र? साँच्चै, परिवार अनि साथीभाइको मायाको अनुभूति हुँदा हामी मौलाउँछौं। तर दुःखको कुरा, मानव सम्बन्धहरू एकदमै कमजोर र अनिश्‍चित हुन सक्छ। माया गरेको मान्छेले हामीलाई चोट पुऱ्‍याउन सक्छ, लत्त्याउन सक्छ अथवा सम्बन्ध समेत तोड्‌न सक्छ। तर कोही हुनुहुन्छ जसको प्रेम कहिल्यै टल्दैन। यहोवा परमेश्‍वरले आफ्ना उपासकहरूप्रति देखाउने प्रेमबारे रोमी ८:३८, ३९ मा मनमोहक ढंगमा वर्णन गरिएको छ।

“म यो निश्‍चय जान्दछु” प्रेरित पावल भन्छन्‌। निश्‍चय, केमा? कुनै कुराले पनि “परमेश्‍वरको प्रेमबाट हामीलाई अलग” गर्न सक्दैन भन्‍ने कुरामा। पावलले आफ्नो लागि मात्र होइन तर “हामी” अर्थात्‌ वफादारीसाथ परमेश्‍वरको सेवा गर्ने सबैका लागि भनिरहेका थिए। यस कुरालाई जोड दिन पावलले आफ्ना समर्पित सेवकहरूप्रति प्रेम देखाउन यहोवालाई केहीले पनि रोक्न सक्दैन भन्‍ने कुराको सूची दिए।

“नता मृत्युले, न जीवनले।” आफ्ना जनहरू मरेपछि पनि उनीहरूप्रतिको यहोवाको प्रेम रोकिंदैन। यस्तो प्रेमको सबूतको रूपमा यहोवाले ती जनहरूलाई आफ्नो सम्झनामा राख्नुहुन्छ र आउँदै गरेको धार्मिक नयाँ संसारमा पुनः जीवन दिनुहुनेछ। (यूहन्‍ना ५:२८, २९; प्रकाश २१:३, ४) त्यतिन्जेल, यस रीतिरिवाजमा जे-जस्तो अनुभव गर्नुपरे तापनि आफ्ना वफादार उपासकहरूप्रतिको उहाँको प्रेम यथावतै रहनेछ।

“न स्वर्गदूतहरूले, न प्रधानताहरूले।” मानिसहरू शक्‍तिशाली व्यक्‍ति वा अख्तियारबाट सजिलै प्रभावित हुन सक्छ। तर यहोवालाई यस्तो कुराले केही फरक पार्दैन। आफ्ना उपासकहरूलाई प्रेम गर्नदेखि शक्‍तिशाली आत्मिक प्राणीहरू, जस्तो कि शैतान बनेको स्वर्गदूतले पनि परमेश्‍वरलाई रोक्न सक्दैन। (प्रकाश १२:१०) न त साँचो ख्रीष्टियानहरूलाई विरोध गर्ने प्रधानताहरू अर्थात्‌ सरकारहरूले नै आफ्ना सेवकहरूप्रति परमेश्‍वरले राख्ने दृष्टिकोणमा हेरफेर गर्न सक्छ।—१ कोरिन्थी ४:१३.

“न वर्तमानका कुराहरूले न पछि हुने कुराहरूले।” परमेश्‍वरको प्रेम समय सँगसँगै ओइली जाँदैन। वर्तमानमा अनि भविष्यमा परमेश्‍वरका जनहरूमाथि त्यस्तो कुनै कुरा आइपर्ने छैन जसले गर्दा परमेश्‍वरले उनीहरूलाई प्रेम गर्न छोड्‌नुहुनेछ।

“न शक्‍तिहरूले।” ‘शक्‍ति’ भनी अनुवाद गरिएको युनानी शब्दको फरक-फरक अर्थ छ। यसको ठ्याक्कै अर्थ जे भए तापनि एउटा कुरा भने पक्का छ: स्वर्ग अनि पृथ्वीमा भएका कुनै शक्‍तिले यहोवाको प्रेम उहाँका जनहरू समक्ष पुग्नबाट रोक्न सक्दैन।

“न उँचाइले, न गहिराइले।” यहोवाले आफ्ना जनहरूलाई जस्तोसुकै परिस्थिति अर्थात्‌ उतार-चढावको बावजूद पनि प्रेम गर्नुहुन्छ।

“न अरू कुनै सृष्टिले।” वफादार उपासकहरूलाई यहोवाको प्रेमबाट कुनै पनि कुराले बिलकुलै अलग गर्न सक्दैन भनेर पावलले यी शब्दहरूद्वारा स्पष्ट पारेका छन्‌।

फेरबदल हुने अथवा ओइली जाने मानव प्रेम जस्तो नभई परमेश्‍वरको प्रेम उहाँलाई विश्‍वास गर्नेहरूप्रति अपरिवर्तनीय हुन्छ। अनि अनन्त पनि। यो कुरा थाहा पाउँदा हामी परमेश्‍वरको नजिक जान र उहाँप्रतिको आफ्नो प्रेमको सबूत दिन यथासक्दो गर्न निश्‍चयै उत्प्रेरित हुन्छौं। (w08 8/1)