सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ?

के तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ?

के तपाईं पार्थिव प्रमोदवनमा विश्‍वास गर्न सक्नुहुन्छ?

पृथ्वी कुनै दिन प्रमोदवन हुनेछ भन्‍ने कुरामा मुठीभर मानिसहरूले मात्र विश्‍वास गर्छन्‌। थुप्रैको विचारमा चाहिं यो अस्तित्वमा रहिरहनेछैन। ब्राइन लि मोलिनोले लेखेको द सेक्रेड अर्थ्‌ भन्‍ने पुस्तकअनुसार यो पृथ्वी लाखौं वर्षअघि ‘एउटा भयानक ब्रम्हाण्डीय विस्फोटको’ कारण अस्तित्वमा आयो। अनि थुप्रै मानिसहरू के विश्‍वास गर्छन्‌ भने, मानिसले पृथ्वी विनाश गरेन भने पनि यो पृथ्वी तथा सम्पूर्ण ब्रह्‍माण्ड अन्ततः “पुनः अग्निमय गोलामा” फर्किन सक्छ।

सत्रौं शताब्दीका अंग्रेजी कवि जोन मिल्टनले यस्तो किसिमको निराशावादी धारणा राखेका थिएनन्‌। प्याराडाइज लस्ट भन्‍ने आफ्नो काव्यात्मक कवितामा तिनले परमेश्‍वरले मानव परिवारको लागि पार्थिव घर बनाउन पृथ्वी सृष्टि गर्नुभएको थियो भनेर लेखे। त्यो सुरुको प्रमोदवन त गुम्यो। तथापि, यो पुनर्स्थापित हुनेछ—मुक्‍तिदाताको रूपमा आउनुहुने येशू ख्रीष्टले एक दिन “आफ्ना विश्‍वासी जनहरूलाई इनाम दिनुहुनेछ र स्वर्ग वा पृथ्वीमा . . . परम आनन्दमा स्वीकार्नु हुनेछ” भनी मिल्टन विश्‍वास गर्थे। मिल्टनले निर्धक्कसँग यस्तो घोषणा गरे: “किनभने त्यसपछि सारा पृथ्वी प्रमोदवन हुनेछ।”

प्रमोदवन—स्वर्गमा वा पृथ्वीमा?

यस पृथ्वीमा भोग्नुपरेका त्रास तथा दर्दनाक पीडाको अन्ततः कुनै न कुनै क्षतिपूर्ति मिल्नेछ भन्‍ने कुरामा थुप्रै धार्मिक मानिसहरू मिल्टनको विचारसित सहमत छन्‌। तर तिनीहरूले त्यो इनाम कहाँ पाउनेछन्‌? के त्यो “स्वर्ग वा पृथ्वीमा” हुनेछ? कसै-कसैलाई त त्यो पृथ्वीमा पटक्कै हुन सक्दैन जस्तो लाग्छ। तिनीहरूको भनाइअनुसार मानिसहरूले पृथ्वी छोडेर स्वर्गमा आत्मिक संसारमा बाँच्न थालेपछि मात्र त्यस्तो “परम आनन्द” पाउनेछन्‌।

हेभेन—ए हिस्ट्री नामक पुस्तकमा लेखक द्वय सी. म्याकडेनल र बी. ल्याङले बताएअनुसार दोस्रो शताब्दीका धर्मविद्‌ इरानियसले जीवन भनेको एउटा पुनर्स्थापित प्रमोदवन हो, जुन “कुनै टाढा स्वर्गीय संसारमा नभई यसै पृथ्वीमा पूरा हुनेछ” भनेर विश्‍वास गर्थे। त्यस पुस्तकअनुसार, जोन क्याल्भिन र मार्टिन लुथरजस्ता धार्मिक नेताहरूले स्वर्ग जाने आशा राखेका थिए तर “परमेश्‍वरले पृथ्वीलाई पुनः नयाँ बनाउनुहुनेछ” भन्‍ने कुरामा पनि तिनीहरू विश्‍वास गर्थे। अन्य धर्मका सदस्यहरूले पनि यस्तै विश्‍वास राख्ने गरेका छन्‌। मानिसजातिले भोगिरहेका सम्पूर्ण कठिनाइहरू परमेश्‍वरको आफ्नै समयमा “हटाइनेछ र पृथ्वीमा सन्तोषजनक जीवन बिताउन सकिनेछ” भनेर कोही-कोही यहूदीहरू विश्‍वास गर्थे भनी म्याकडेनल र ल्याङ पनि बताउँछन्‌। पुरातन फारसी विश्‍वासअनुसार, “पृथ्वी पहिलेको जस्तै अवस्थामा पुनर्स्थापित हुनेछ र मानिसहरू पुनः शान्तिमा बाँच्नेछन्‌” भनी दी इन्साइक्लोपीडिया अफ मिडल इस्टर्न मिथोलोजी एण्ड रिलिजन बताउँछ।

पार्थिव प्रमोदवनको आशालाई के भयो? के हाम्रो पार्थिव अस्तित्व केही क्षणको लागि मात्र हो? प्रथम शताब्दीका यहूदी दार्शनिक फिलोको दर्शनजस्तै, के यो आत्मिक संसारमा प्रवेश गर्ने यात्राको “एउटा छोटो, अक्सर अप्रिय, घटना” मात्र हो? अथवा परमेश्‍वरले पृथ्वी सृष्टि गर्नुहुँदा र प्रमोदवनरूपी पृथ्वीमा मानवहरूलाई राख्नुहुँदा के उहाँको मनमा अर्कै कुरा थियो? के मानिसजातिले साँचो आध्यात्मिक सन्तुष्टि र परम आनन्द यसै पृथ्वीमा पाउन सक्छन्‌? यस विषयमा बाइबलले के भन्छ, जाँचिहेरे कसो होला? पुनर्स्थापित पार्थिव प्रमोदवनको आशा गर्नु साँच्चै व्यावहारिक छ भन्‍ने निष्कर्षमा लाखौं मानिसहरू पुगेझैं तपाईं पनि पुग्न सक्नुहुनेछ।

[पृष्ठ ३-मा भएको चित्र]

कवि जोन मिल्टनले प्रमोदवन पुनः प्राप्त हुनेछ भन्‍ने कुरामा विश्‍वास गर्थे

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Earth: U.S. Fish & Wildlife Service, Washington, D.C./NASA; John Milton: Leslie’s