सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

सत्यको सौन्दर्यले गर्दा म सृष्टिकर्तातर्फ आकर्षित भएँ

सत्यको सौन्दर्यले गर्दा म सृष्टिकर्तातर्फ आकर्षित भएँ

सत्यको सौन्दर्यले गर्दा म सृष्टिकर्तातर्फ आकर्षित भएँ

चुयोशी फुजीको वृत्तान्तमा आधारित

केही वर्षअघि मैले एउटा विशेष सुअवसर पाएँ। फूल सजावटसम्बन्धी इकेनोबो विद्यालयका प्रधानाध्यापक सेनेइ इकेनोबोको सहायकको रूपमा मैले जापानको टोकियोस्थित राज दरबारको भव्य बैठकमा फूल सजाउने विशेष सुअवसर पाएँ। त्यहाँ एकदमै कडा सुरक्षा व्यवस्था थियो। यस्तो असजिलो वातावरणमा एक थोपा पानी पनि नपोखाईकन काम गर्न म अत्यन्तै होसियार थिएँ। फूल सजावटसम्बन्धी काममा यो नै मेरो पेसाको एउटा सबैभन्दा उल्लेखनीय क्षण थियो। मैले यो पेसा कसरी अँगाल्न पुगें, म तपाईंहरूलाई बताउन चाहन्छु।

मेरो जन्म सन्‌ १९४८ मा जापानको कोबेको उत्तरपश्‍चिममा रहेको निशिवाकी सहरमा भएको थियो। ऋतु परिवर्तन सँगसँगै फूलहरू र बोटबिरुवामा देखिने सुन्दर परिवर्तन देखेर म सानैदेखि दङ्‌ग पर्थें। तर मलाई हजुरआमाले हुर्काउनुभएको हुँदा सृष्टिकर्ताबारे केही पनि थाह थिएन किनभने उहाँ एकदमै भक्‍तालु बौद्धमार्गी हुनुहुन्थ्यो।

मेरी आमाले हाम्रो गृहनगरमा इकेबाना अर्थात्‌ फूल सजावट सिकाउनुहुन्थ्यो र अहिले पनि सिकाइरहनुभएको छ। जापानमा इकेबाना एउटा अत्यन्तै सम्मानित अध्ययनको विषय हो र यसलाई काडो (फूलहरूको मार्ग) पनि भनिन्छ। आमाले मलाई यो कला सिकाउने नै भनेर सिकाउनुभएको त होइन तरैपनि उहाँबाट मैले धेरै कुरा सिकें। भविष्यमा के गर्ने भनेर निर्णय गर्ने समय आउँदा म इकेबाना नै अध्ययन गर्न चाहन्थें। मेरा शिक्षक र आमाले मलाई विश्‍वविद्यालयमा पढाइने कुनै नियमित विषय नै पढ्‌ने सुझाव दिनुभयो तर कुनै दोमन नगरी मैले भने इकेनोबो कलेजमा भर्ना हुने निर्णय गरें। इकेनोबो भनेको जापानमा इकेबानासम्बन्धी सबैभन्दा पुरानो अध्ययन विषय हो। यहाँ भर्ना भएपछि मैले एकदमै ध्यान दिएर फूल सजावट कलासम्बन्धी अध्ययन गर्न थालें।

इकेबानाको संसारमा प्रवेश

इकेबाना भनेको परम्परागत जापानी कला हो र यसको प्रमुख विषय भनेको जीवन हो। म तपाईंहरूलाई यसबारे केही कुरा बताउँछु। फूल पसलमा बाल्टिनमा राखिएका फूलहरू सुन्दर देखिएलान्‌ तर त्यसको तुलनामा खुला मैदानका साना फूलहरू वा पहाडका रूखहरूमा फुलिरहेका फूलहरू कस्ता हुन्छन्‌? यी फूलहरू प्राकृतिक अवस्थामा हुँदा जीवन र ऋतुहरूको महसुस तपाईं गर्न सक्नुहुन्छ। यस्तो दृश्‍यले तपाईंको मन छुन सक्छ। इकेबाना भनेको प्रकृतिमा भएको सौन्दर्यलाई फूल तथा बोटबिरुवाद्वारा व्यक्‍त गर्नु अनि आफ्नो मन छोएको कुराको एउटा डिजाइन बनाउनु हो।

उदाहरणका लागि, मानौं तपाईं शरद्‌ऋतुको महसुस व्यक्‍त गर्न चाहनुहुन्छ। तपाईं त्यही ऋतुमा पाइने फूलहरू जस्तै जेन्सियन र पट्रिनिया प्रयोग गर्न सक्नुहुन्छ र शरद्‌ऋतुमा हुने पातहरू बीचबीचमा राख्न सक्नुहुन्छ। के तपाईं मनलाई आनन्द दिने हल्का बतासको आभाष दिन चाहनुहुन्छ? यसो गर्न हल्का बतासको आभाष दिने युलालिया फूलहरू राख्न सक्नुहुन्छ।

म इकेबानातर्फ अत्यन्तै आकर्षित भएँ अनि फूलदानमा फूल र बोटबिरुवा मिलाएर आफ्नो भावना व्यक्‍त गर्न पाउँदा असाध्यै खुसी लाग्थ्यो।

ठूलो “परिवार”

सजावटसम्बन्धी कलाको रूपमा इकेबानाको इतिहास ५०० वर्ष पुरानो छ। इकेबानासम्बन्धी अध्ययनमा प्रधानाध्यापकको नियम-प्रणालीले प्रभुत्व जमाएको हुन्छ। प्रधानाध्यापकको ओहदा पुर्ख्यौली हुन्छ। पैतृक सम्पत्तिको रूपमा कलात्मक परम्पराहरू पाएको हुँदा आफ्ना अनुयायीहरूको ठूलो “परिवारमाथि” प्रधानाध्यापककै प्रभुत्व हुन्छ। परम्परा सँगसँगै तिनले आफ्नो जीवनकालमा स्थापना गरेका नयाँ स्टाइलहरू भावी पिंढीलाई सिकाउनुपर्छ।

इकेनोबो कलेजबाट स्नातक भएर दुई वर्षे प्राविधिक कोर्स, काडो पूरा गरिसकेपछि सन्‌ १९७१ जनवरी महिनादेखि मैले इकेनोबो फाउन्डेशनमा काम गर्न थालें। मैले जापानभरि “इकेनोबोद्वारा इकेबाना प्रदर्शनहरू” गर्न योजना बनाउनुका साथै ती आयोजना गरें। अनि प्रधानाध्यापकको सहायकको रूपमा तिनको कला देखाउन तिनीसँगै देशभरि यात्रा पनि गरें।

प्रधानाध्यापकले फूलको सजावट प्रदर्शन गर्दा तिनको सहायकको रूपमा फुकुओका स्पोट्‌र्स सेन्टरको मञ्चमा पहिलो चोटि उभिएको क्षण मैले अझै बिर्सेको छैन। हजारौं मानिसहरूको अगाडि उभिंदा म डरले थरथर कामेको थिएँ। डरले गर्दा मैले गर्न नहुने-नहुने काम गरें, जस्तै डाँठ बटार्ने र हाँगा काट्‌ने। तर प्रधानाध्यापकले यसबारे ठट्टा गर्दै आफूले जे गरिरहेका थिए, त्यसको विषयमा दर्शकहरूलाई बुझाए। यसले गर्दा मेरो डर पनि अलि कम भयो।

विदेशबाट आएका ख्यातिप्राप्त व्यक्‍तिहरूको सम्मानमा राष्ट्रिय महोत्सवहरूको आयोजना गरिंदा फूल सजावटको लागि म आफ्नो प्रधानाध्यापकसँगै जान्थें। मैले सुरुमा बताएझैं यस्तै एउटा समारोहको सिलसिलामा म राजदरबारको भव्य बैठकमा पुगेको थिएँ।

पछि, देशभरि प्रशिक्षकहरूलाई पुनः प्रशिक्षण दिने उद्देश्‍यले इकेनोबो सेन्ट्रल ट्रेनिङ स्कूल स्थापना गरिंदा सिकाउने, पाठ्यक्रम तयार पार्ने अनि जापानभरिका ३०० वटा शाखामा भएका २,००,००० प्रशिक्षार्थीहरूलाई लेक्चर दिन प्रयोग गरिने पाठ्यपुस्तक तथा फिल्मको उत्पादन गर्ने कामको सुपरीवेक्षण गर्ने जिम्मा मलाई सुम्पिएको थियो। यो कामको सुपरीवेक्षण गर्न मैले देशभरि यात्रा गरें। इकेनोबोको विदेशमा पनि शाखाहरू छन्‌ अनि वर्षेनी धेरै चोटि ताइवान जानुपर्थ्यो। यसरी मैले प्रधानाध्यापकको भरोसा जित्न सकें र मलाई एउटा जिम्मेवार ओहदा दिइयो।

मलाई आफ्नो काम रमाइलो लाग्थ्यो तैपनि आफ्नो जीवनदेखि भने म पूरै सन्तुष्ट भने थिइनँ। सौन्दर्यसित सम्बन्धित काम भए तापनि मैले बुझ्न नसकेका अलमल्लमा पार्ने कुराहरू थिए। प्रशिक्षार्थीहरूबीचको डाह र ईर्ष्याले गर्दा उनीहरूले एकअर्काको अपमान गर्न थाले अनि स्थानीय प्रशिक्षकहरू अक्सर मसित सल्लाह माग्न आउँथे। पुराना प्रचलन र शक्‍तिले प्रभुत्व जमाएको संगठनमा थुप्रै कुराहरू मेरो नियन्त्रण बाहिर थियो। धेरैले इकेबानाप्रति साँचो चासो लिएर यो कोर्सलाई गम्भीरतापूर्वक लिएका थिए। त्यसैले उनीहरू रमाउँदै सिक्न सकून्‌ भनेर मैले पनि निष्कपटतासाथ सिकाउने प्रयास गरें।

सत्यको सौन्दर्यबारे पहिलो चोटि थाह पाउँदा

धर्मले मानिसको दिमागलाई अन्धो बनाइदिन्छ भन्‍नेजस्तो लागेकोले मलाई धर्म भन्‍ने कुरा मन पर्दैनथ्यो। साथै, शान्ति र आनन्दबारे कुरा मानिसहरूमाझ मैले एकदमै धेरै छलकपट देखेको थिएँ। तर मेरी पत्नी केइकोले भने सानोदेखि नै सत्य खोजिरहेकी थिइन्‌। उनले विभिन्‍न धर्महरूप्रति चासो देखाएर तिनीहरूको शिक्षा सुनेकी थिइन्‌ तर उनको आध्यात्मिक भोक भने अझै मेटिएको थिएन।

त्यसैले एक जना यहोवाको साक्षी हाम्रो घरमा आउँदा केइको बाइबल अध्ययन गर्न राजी भइन्‌। आफूले सिकेको अनि उनलाई छाप पारेको सबै कुराबारे मलाई बताउँथिन्‌। केइकोले बताएका कुराहरू मलाई पनि राम्रो लाग्थ्यो तर उनको जस्तै उत्साह भने मसित थिएन।

तैपनि, आफूले बाइबलबाट सिकेका कुराहरूमा पूरा विश्‍वस्त हुँदै केइकोले मलाई बताउन भने छोडिनन्‌। म कतै यात्रामा जाँदा मेरो झोलामा बाइबलसम्बन्धी केही पत्रिकाहरू सधैं राखिदिन्थिन्‌। तर मैले ती पढ्‌ने वास्तै गरिनँ। वर्षौंदेखि गर्दै आएको पेसा र आफूले हासिल गरेको सफलता म त्याग्न चाहन्‍नथें। हामीले भर्खरै घर किनेका थियौं अनि खोइ किन हो कुन्‍नि, बाइबल शिक्षाहरू स्वीकारें भने आफ्नो घरको माया मार्नुपर्नेछ जस्तो लाग्थ्यो। केइकोले भने छिट्‌-छिटो प्रगति गरिन्‌ र आफूले विश्‍वास गरेका कुराहरू व्यवहारमा उतार्न थालिन्‌। मैले आफू एक्लो र निराश महसुस गर्न थालें। केइकोले बताएको कुरा सही हो भनेर थाह पाए तापनि मैले उनको विरोध गर्न थालें।

विरोध गरे तापनि सत्यप्रति आकर्षित

म राती कामबाट ढिलो घर फर्कन्थें तर केइको यहोवाका साक्षीहरूको सभाहरूमा उपस्थित हुने रात भने जानाजानी झनै ढिलो फर्कन्थें। म राती दुई तीन बजे घर फर्कंदा पनि केइको दिनभरि के-के भयो भनी बताउन मलाई पर्खिरहेकी हुन्थिन्‌ र मप्रति चासो देखाउँथिन्‌। तर मसीही सभाहरू धाउन मेरो परिवारले यसरी केही घण्टाको लागि घर छोडेर गएको मलाई सह्‍य भएन। मैले झन्‌-झन्‌ विरोध गर्न थालें र सम्बन्धविच्छेद गर्नेबारे पनि कुरा गरें। तैपनि, केइको भने आफ्नो विश्‍वासमा अटल थिइन्‌।

केइकोले यस्तो व्यवहार गर्नुको कारण मैले बुझिनँ। हामीबीचको सम्बन्ध राम्रो नभए तापनि अनि उनलाई दमको व्यथा भए तापनि उनी जे गर्थिन्‌, त्यसमा असाध्यै खुसी थिइन्‌। केइकोको शुद्ध मन र निश्‍चल कोमलताले गर्दा सुरुमा म उनीप्रति आकर्षित भएको थिएँ। अनि यही कारणले गर्दा कतै उनी बहकिएर पो बाइबल अध्ययन गर्न थालेकी हुन्‌ भनेर चिन्ता लाग्थ्यो।

तैपनि, केइकोले आफूले सिकेको कुरा व्यवहारमा उतारिन्‌ अनि एउटी असल पत्नी र आमा बन्‍ने प्रयास गरिन्‌। मैले विरोध गरे तापनि केइकोले बिन्ती गर्दा कहिलेकाहीं मसीही सभा तथा सम्मेलनहरूमा उपस्थित हुन्थें किनभने म मनमनै आफ्नी पत्नी केइकोप्रति गर्व गर्थें।

तर अर्कोतिर, यहोवासित मलाई रिस उठ्‌थ्यो। केइकोले जीवनमा परिवर्तनहरू गर्ने कोसिस गर्दा बाइबल शिक्षाहरूले मानिसहरूलाई किन यति बिघ्न प्रभाव पारेको होला भनेर सोच्ने गर्थें। मलाई लाग्थ्यो, ‘यहोवाको खातिर मेरी पत्नी किन यति धेरै दुःखकष्ट भोग्न तयार छे?’

केही समय नबित्दै केइकोको मण्डलीका केही मसीही भाइहरू मलाई भेट्‌न हाम्रो घरमा आउन खोजे। तिनीहरूसित भेट्‌ने मेरो पटक्कै इच्छा थिएन। तर अर्कोतर्फ केइकोले यत्तिको मनोशान्ति कसरी पाउन सकेकी होलिन्‌ भनेर जान्‍न पनि चाहन्थें। पछि, केइकोले कसरी शान्ति पाउन सकेकी होली भनेर जान्‍न अत्यन्तै इच्छुक भएको हुँदा बाइबल अध्ययन गर्न म राजी भएँ। मलाई भेट्‌न आउने भाइहरूसित नजिक हुँदा मैले उहाँहरूमा केही स्फूर्तिदायी कुरा पाएँ। हरेक हप्ता बाइबल अध्ययन गर्दै जाँदा बाइबल सत्य मेरो हृदयमा बिस्तारै गड्‌न थाल्यो अनि मैले खुला विचार राख्न थालें।

प्रकृति र सत्यको सौन्दर्य

प्रकृतिको सौन्दर्य र शक्‍तिलाई इकेबानाद्वारा व्यक्‍त गर्दा यसको वैभता कसरी व्यक्‍त गर्ने होला भनेर म औधी चिन्तित हुन्थें। यी सबै कुराहरू बनाउनुहुने यहोवा हुनुहुन्छ भनेर थाह पाएपछि भने बल्ल कुरा छर्लङ्‌ग भयो। जाबो मानिसले सृष्टिकर्ताको कलात्मक क्षमता कसरी नक्कल गर्न सक्छ र? यहोवा सर्वोच्च कलाकार हुनुहुन्छ अनि उहाँको नक्कल गर्दा मैले अझ राम्रो तरिकामा फूल सजाउन सकें। वास्तवमा भन्‍ने हो भने, मैले बाइबल अध्ययन गर्न थालेपछि मेरो काममा केही परिवर्तन आएको अनि जोस मात्र नभई कोमलता पनि झल्किएको कुरा मानिसहरूले बताउन थाले।

मैले पहिला नबुझेका थुप्रै कुराहरू बुझ्न बाइबलले मदत गऱ्‍यो। आज मानिसहरूले भोगिरहेको दुःखकष्टको कारण यस संसारको देव शैतान अर्थात्‌ दियाबल हो र आदमबाट पाएको जन्जमात पापले गर्दा हाम्रो हृदय छली हुन्छ भनेर थाह पाएपछि अहिले जे जति भइरहेको त्यसको कारण स्पष्टसित बुझें। (यर्मिया १७:९; १ यूहन्‍ना ५:१९) यी कुराहरू पनि मैले बुझें: यहोवा शान्तिको परमेश्‍वर हुनुहुन्छ, प्रेम, न्याय, शक्‍ति र बुद्धिमा प्रशस्त हुनुहुन्छ (व्यवस्था ३२:४; रोमी ११:३३; १ यूहन्‍ना ४:८; प्रकाश ११:१७); प्रेमको खातिर परमेश्‍वरले येशूलाई हाम्रो निम्ति मर्न पठाउनुभयो (यूहन्‍ना ३:१६; २ कोरिन्थी ५:१४); पृथ्वीमा कुनै किसिमको दुःखकष्ट वा मृत्यु नहुने समय आउनेछ (प्रकाश २१:४)। यी सुन्दर सत्यहरू थाह पाउँदा म रोमाञ्चित भएँ। साथै, यहोवाका साक्षीहरू “आफ्ना छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू” भन्‍ने येशूको शिक्षा व्यवहारमा उतार्छन्‌। यो कुरा आफ्नै आँखाले देखेपछि साँचो धर्म यही नै हो भनेर मलाई पूरा विश्‍वास भयो।—मत्ती २२:३९.

पार गर्नुपर्ने अवरोध

सत्यले मेरो हृदयमा जरा गाड्‌न थालेपछि मैले एउटा चुनौतीको सामना गर्नुपऱ्‍यो। अन्त्येष्टि कार्यक्रमहरूमा प्रधानाध्यापक जान असमर्थ हुँदा बौद्ध धर्मसम्बन्धी रीतिथितिमा अक्सर म जाने गर्थें। यहोवालाई आफ्नो जीवन समर्पण गर्ने विचार गरिरहेको हुँदा यो मेरो लागि एउटा परीक्षाको रूपमा खडा भयो। बौद्ध धर्मसम्बन्धी रीतिथितिहरूमा भाग नलिने मैले व्यक्‍तिगत निर्णय गरें। (१ कोरिन्थी १०:२१) म अब चाँडै बप्तिस्मा लिनेछु अनि कामकै सिलसिलामा भए तापनि अरू प्रकारको उपासनामा भाग नलिने निर्णय गरिसकेको कुरा मैले आदरपूर्वक प्रधानाध्यापकलाई बताएँ। म मसीही बन्‍नुमा तिनलाई कुनै आपत्ति नभएको अनि आफ्नै तरिकाले धर्मसम्बन्धी गतिविधिमा भाग लिन सक्ने कुरा बताएँ। यो सुनेर मलाई छक्क लाग्नुका साथै खुसी लाग्यो किनभने यो कुरा बताउँदा मैले गाली खानेछु अनि आफ्नो जागिर गुमाउनेछु होला भन्ठानेको थिएँ।

यो अवरोध पार भएपछि मैले यहोवाप्रति आफ्नो समर्पण जनसमक्ष प्रकट गर्न सन्‌ १९८३ मा आयोजित मसीही सम्मेलनमा बप्तिस्मा लिएँ र यो मैले बाइबल अध्ययन थालेको एक वर्षपछिको कुरा हो। बप्तिस्मा लिएर पानीबाट बाहिर निस्कँदा केइकोले ठूलो मुस्कान र आँखाभरि आँसु राखेर मेरो स्वागत गरिन्‌। मेरो आँखा पनि रसायो अनि हामी दुवैले अनुभव गरेको आनन्दको लागि केइको र मैले यहोवालाई धन्यवाद चढायौं।

जागिर छोड्‌ने निर्णय

एक जना समर्पित मसीही सेवकको हैसियतमा मेरो कामलाई प्रधानाध्यापकले एकदमै कदर गर्नुभएको थियो। मैले आफ्नो काम पहिला भन्दा अझ लगनशील भएर गर्न थालें। तैपनि मैले आफ्नो जागिर र मसीही जीवनबीच सन्तुलन कायम गर्न खोजें। सात वर्षसम्म मैले प्रत्येक वर्ष केही महिना मसीही सेवकाईमा सदाभन्दा बढी भाग लिन्थें।

तथापि, मेरो एक्लो छोराको आध्यात्मिकता र केइकोको बिग्रँदो स्वास्थ्यबारे मैले अझ गम्भीरतापूर्वक सोच्नुपर्ने भएको थियो। मैले मनमनै सोचें, ‘मैले आफ्नो परिवारसित अझ बढी समय बिताउनुपर्छ।’ राज्यसम्बन्धी कामकुरालाई पनि म प्राथमिकता दिन चाहन्थें। यी आवश्‍यकता तथा चाहनालाई विचार गरेपछि इकेबानासम्बन्धी आफ्नो जागिर छोड्‌ने निर्णयबारे यहोवालाई प्रार्थना गरें। मैले आफ्नो निर्णय गरिसकेको कुरा प्रधानाध्यापकले बुझे अनि ४२ वर्षको उमेरमा सन्‌ १९९० मा कुनै बाधाबिध्नविना मैले अवकाश लिन सकें।

सत्यको सौन्दर्य बुझ्न अरूलाई मदत गर्ने

अवकाश लिनेबित्तिकै मैले पूर्ण-समय सेवकाईमा लागेर अरूलाई सत्य भेट्टाउन मदत गर्न थालें। अहिले म हप्ताको एक चोटि फूल सजावटबारे सिकाउँछु अनि यसमा इकेनोबो स्टाइलका कुनै कडा नियमहरू छैनन्‌। मैले मण्डलीमा प्राचीनको रूपमा सेवा गर्ने सुअवसर पाएको छु अनि केइकोको स्वास्थ्यमा पनि अलि सुधार भएको छ र उनी अग्रगामी सेवा गर्दैछिन्‌। हाम्रो छोराले अहिले विवाह गरिसक्यो अनि नजिकैको मण्डलीमा सेवकाई सेवकको रूपमा सेवा गर्दैछ। सम्पूर्ण परिवार मिलेर यहोवाको सेवा गर्न पाउनु कस्तो अमूल्य सुअवसर हो!

परमेश्‍वरको राज्यमा येशू ख्रीष्टले शासन गर्न थाल्नुभएपछि मेरो बगैंचामा फुलेका फूलहरू प्रयोग गरेर सुन्दर ढङ्‌गले फूल सजाउने मेरो चाहना छ। मेरो प्यारो परिवार सँगै मिलेर सबै सुन्दर कुराहरू सृष्टि गर्नुहुने यहोवा परमेश्‍वरको महान्‌ नाउँलाई सधैंभरि प्रशंसा गरिरहने मेरो निष्कपट इच्छा छ। (g05 8/8)

[पृष्ठ २३-मा भएको चित्र]

मेरी पत्नी, हाम्रो छोराबुहारी र नातिसित

[पृष्ठ २३-मा भएको चित्र]

इकेबानाद्वारा तपाईं प्रकृतिको सौन्दर्य व्यक्‍त गर्न सक्नुहुन्छ