सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

साथीहरूको दबाब—के यो साँच्चै शक्‍तिशाली हुन्छ र?

साथीहरूको दबाब—के यो साँच्चै शक्‍तिशाली हुन्छ र?

युवा जनहरू सोध्छन्‌ . . .

साथीहरूको दबाब—के यो साँच्चै शक्‍तिशाली हुन्छ र?

“मलाई त आफूले साथीहरूको दबाब महसुस गरेकी छैन जस्तो लाग्छ।”—पामेला, उच्च माध्यामिक तहकी छात्रा।

“साथीहरूको दबाबले मलाई त्यत्ति असर पारेजस्तो लाग्दैन। मैले भोग्ने धेरैजसो दबाब त आफैबाट आउँछ।”—रबी, एक जना युवक।

के तपाईंले पनि कहिल्यै यस्तो महसुस गर्नुभएको छ? बाइबलले यसो भन्छ भनेर तपाईंलाई पक्कै पनि थाह होला: “खराब संगतले भला चाल-चलनलाई बिगार्दछ।” (१ कोरिन्थी १५:३३) तैपनि, तपाईं यस्तो सोच्न सक्नुहुन्छ: ‘कतै साथीहरूको दबाबबारे बढाइचढाइ कुरा गरिएको त होइन? यो मेरा आमाबाबु र अरू पाका व्यक्‍तिहरूले भने जत्तिको शक्‍तिशाली नहुन पनि त सक्छ नि?’

तपाईंको मनमा पनि बेला-बेलामा यस्तै द्विविधा उत्पन्‍न हुन्छ भने तपाईं यस्तो महसुस गर्ने पहिलो युवा भने होइन। तथापि, हामी तपाईंलाई एउटा सम्भाव्यताबारे विचार गर्न आग्रह गर्छौं। कतै साथीहरूको दबाबले तपाईंले सोच्नुभए भन्दा बढी नै प्रभाव पो पार्न सक्छ कि? साथीहरूको दबाब कत्तिको शक्‍तिशाली हुँदो रहेछ भन्‍ने थाह पाउँदा थुप्रै युवाहरू छक्क परेका छन्‌। उदाहरणका लागि, समाजमा स्वीकार्य हुन एन्जी वास्तवमा आफूले गर्न नचाहेको कुरा पनि गर्नुपरेको कुरा स्वीकार्छिन्‌। तिनी यसो भन्छिन्‌: “कहिलेकाहीं सामाजिक दबाब यति शक्‍तिशाली हुन्छ कि तपाईंले यो साथीहरूको दबाब हो भनेर चालै पाउनुहुन्‍न। तपाईं यो त आफै भित्रबाट आएको आन्तरिक दबाब हो भनी विश्‍वास गर्न थाल्नुहुन्छ।”

त्यसै गरी, माथि बताइएका रबी सबैभन्दा ठूलो दबाब त आफैबाट आउँछ भनी बताउँछन्‌। तथापि, तिनी ठूलो शहरको छेउछाउमा बस्न गाह्रो हुन्छ भन्‍ने कुराचाहिं स्वीकार्छन्‌। किन? भौतिकवादी परिवेशको कारण साथीहरूबाट आउने दबाबले गर्दा। तिनी यसो भन्छन्‌: “यहाँ पैसा नै सब थोक हो।” स्पष्टतया, साथीहरूको दबाब एउटा बेवास्ता गर्न नहुने शक्‍ति हो। त्यसोभए, किन थुप्रै जवानहरू साथीहरूको दबाबले आफूलाई कुनै असर गर्दैन भन्‍ने सोचाइ राख्छन्‌ त?

छली अनि बलियो

साथीहरूको दबाब छली हुन सक्छ। वास्तवमा भन्‍ने हो भने, हामीले यो दबाब चालै नपाउन सक्छौं। उदाहरणका लागि: हावा चल्दा यसको चापको कारण रूखका पातहरू खस्छन्‌ र समुद्रमा छालहरू उठ्‌छन्‌। हावाको चाप अत्यधिक हुँदा घरहरू पनि ढल्न सक्छन्‌। हावा त दिन-दिनै चलिरहन्छ तर तपाईंले यसको ख्यालै गर्नुहुन्‍न। किन? किनभने हामीलाई यसैमा बस्ने बानी परिसकेको छ।

हो, पक्कै पनि हावाको चाप त्यति हानिकारक हुँदैन। तर मानिसहरूले चालै नपाउने गरी दबाब दिंदा भने यसले हामीलाई बिस्तारै परिवर्तन गराउन सक्छ। प्रेरित पावललाई साथीहरूको दबाब कत्तिको शक्‍तिशाली हुन्छ भनेर थाह थियो। तिनले रोमका मसीहीहरूलाई यस्तो चेतावनी दिए: “यस संसारसित एकै चालका नहोओ।” (रोमी १२:२) तथापि, यसले कसरी प्रभाव पार्न सक्छ?

साथीहरूको दबाबले कसरी काम गर्छ

के तपाईं अरूको अनुमोदन र अरूले आफूलाई स्वीकारेको चाहनुहुन्छ? हामीमध्ये अधिकांशले यस प्रश्‍नको सकारात्मक जवाफ दिन्छौं होला। तथापि, यस्तो अनुमोदन चाहने हाम्रो स्वाभाविक इच्छाको असल र खराब दुवै पक्ष हुन सक्छ। आफूले चाहेको अनुमोदन प्राप्त गर्न हामी कुन हदसम्म जान्छौं? यस सन्दर्भमा हामी आफूबारे विश्‍वस्त भए तापनि हामी वरपरका व्यक्‍तिहरूबारे के भन्‍न सकिन्छ? के तिनीहरूले पनि साथीहरूको दबाबको सामना गर्ने प्रयास गरिरहेका छन्‌ वा आफूलाई त्यसैअनुसार ढालिरहेका छन्‌?

उदाहरणका लागि, आज थुप्रैले बाइबलका नैतिक स्तरहरूलाई असाध्यै पुरानो जमानाको वा हाम्रो आधुनिक समाजमा अव्यावहारिक छ भन्‍ने दृष्टिकोणले हेर्छन्‌। अनि धेरैजसो मानिसहरूचाहिं परमेश्‍वरको उपासना गर्दा उहाँले आफ्नो वचनमा बताएअनुसार नगरे पनि हुन्छ भन्‍ने सोचाइ राख्छन्‌। (यूहन्‍ना ४:२४) तिनीहरूले किन त्यस्तो सोचाइ राख्छन्‌? त्यस्तो सोचाइ राख्नुको कारण केही हदसम्म साथीहरूको दबाब हुन सक्छ। एफिसी २:२ मा पावलले “आत्मा” वा प्रबल मनोवृत्ति भएको यस संसारको रीतिबारे बताउँछन्‌। यस आत्माले मानिसहरूलाई यहोवालाई नचिन्‍ने संसारको सोचाइअनुरूप चल्न दबाब दिन्छ। यसले हामीलाई कसरी असर गर्न सक्छ?

स्कूल, अध्ययन, पारिवारिक जिम्मेवारीहरू र कामको दौडान हामीले आफ्नो मसीही मूल्य-मान्यताअनुरूप नचल्ने मानिसहरूसँग सरसंगत गरिरहनुपर्ने हुन्छ। उदाहरणका लागि, जस्तोसुकै काम गरेर भए तापनि नाउँ कमाउन चाहने, अनैतिक यौन सम्बन्धहरू राख्ने वा लागूपदार्थ तथा मद्यको दुर्व्यसनीहरू स्कूलमा थुप्रै हुन सक्छन्‌। हामीले यस्ता आचरणहरू भएका वा यसलाई साधारण दृष्टिकोणले हेर्ने अथवा प्रशंसायोग्यसमेत ठान्‍ने व्यक्‍तिहरूलाई आफ्नो घनिष्ठ साथी बनायौं भने के हुनेछ? हामी पनि बिस्तार-बिस्तारै यस्तै मनोवृत्ति राख्न थाल्नेछौं। संसारको “आत्मा” वा “हावा”-ले हामीमाथि चाप दिएर हामीलाई संसारको चालमा ढाल्नेछ।

चाखलाग्दो कुरा, आजका सामाजिक वैज्ञानिकहरूले गरेका परीक्षणहरूले पनि बाइबलका यी सिद्धान्तहरूलाई समर्थन गर्छन्‌। यशको प्रख्यात परीक्षणबारे विचार गर्नुहोस्‌। एक जना व्यक्‍तिलाई मानिसहरूको एउटा समूहमा बस्न बोलाइन्छ। डा. यशले एउटा ठाडो रेखा कोरिएको ठूलो कार्ड देखाउँछन्‌ अनि त्यसपछि विभिन्‍न आकारका तीनवटा ठाडा रेखाहरू कोरिएको अर्को कार्ड देखाउँछन्‌। त्यसपछि तिनले समूहमा बसिरहेकाहरूलाई ती तीनवटा रेखामध्ये कुनचाहिं पहिलेको रेखाजस्तो देखिन्छ भनी बताउन आग्रह गर्छन्‌। जवाफ सजिलो छ। सुरु-सुरुमा सबैजना एउटै कुरामा सहमत हुन्छन्‌। तर तेस्रो पटकमा भने यस्तो हुँदैन।

पहिलेजस्तै अहिले पनि कुनचाहिं रेखाको आकार पहिलो रेखासँग मिल्छ भनी बताउन सजिलै छ। तर जाँचिदै गरेको व्यक्‍तिले थाहै नपाउने गरी समूहका अरू सदस्यहरूलाई परीक्षणको दौडान गलत जवाफ दिनु भनी सिकाइएको हुन्छ। तिनीहरू सबै जना गलत जवाफमा सहमत हुन्छन्‌। त्यसपछि के हुन्छ? जाँचिएका व्यक्‍तिहरूमध्ये २५ प्रतिशत मात्र आफूले सही ठानेको रेखा नै सही हो भन्‍ने कुरामा विश्‍वस्त भए र अरूको लहैलहैमा लागेनन्‌। तर बाँकी जम्मैले भने आफ्नै आँखाले देखेको सही कुरालाई समेत विश्‍वास नगरी कम्तीमा पनि एक पटक समूहका अरूहरूको भनाइसँग सहमत भए!

स्पष्टतः मानिसहरू आफू वरपरका व्यक्‍तिहरूजस्तै हुन चाहन्छन्‌। यस चाहनाको कारण अधिकांश मानिसहरूले आफूलाई साँचो हो भनी थाह भएको कुरासमेत जानाजानी बेवास्ता गर्छन्‌। थुप्रै जवानहरूले व्यक्‍तिगत तवरमा यस्तो दबाब अनुभव गरेका छन्‌। सोह्र वर्षीय डानियल यसरी स्वीकार्छन्‌: “साथीहरूको दबाबको कारण तपाईं परिवर्तन हुन सक्नुहुन्छ। अनि जति धेरै व्यक्‍तिहरू हुन्छन्‌, दबाब पनि त्यत्तिकै तीव्र हुन्छ। तपाईं तिनीहरूले गरेको काम नै ठीक हो भनी सोच्न थाल्नुहुन्छ।”

सुरुमा उल्लेख गरिएकी एन्जी, आफूले स्कूलमा यस्तै खालको दबाब भोग्नुपरेको अनुभव बताउँछिन्‌: “निम्न माध्यामिक तहमा पढ्‌दा आफ्नो पहिरनमा असाध्यै महत्त्व दिने चलन थियो। नाउँ चलेको ब्रान्डका लुगाहरू लगाउनुपर्थ्यो। वास्तवमा भन्‍ने हो भन्‍ने, एउटा जाबो कमिजको लागि ४,००० रूपैंया खर्च गर्न मनै लाग्दैनथ्यो। हुन पनि, कसलाई पो मन लाग्थ्यो होला र?” एन्जीले बताएझैं त्यस दबाबले तपाईंलाई असर गरिरहेको कुरा चाल पाउन गाह्रो हुन सक्छ। तर के साथीहरूको दबाबले हामीलाई अझ गम्भीर विषयहरूमा असर गर्न सक्छ?

साथीहरूको दबाब किन खतरनाक हुन सक्छ

कल्पना गर्नुहोस्‌, तपाईं समुद्रमा पौडी खेलिरहनुभएको छ। समुद्रका छालहरूमाझ पौडिरहनुभएको बेला तपाईंले चालै नपाउने गरी अरू कुनै शक्‍तिशाली शक्‍तिहरूले पनि काम गरिरहेको हुन सक्छ। छालले तपाईंलाई किनारतिर हुत्याउँछ तर पानीको तरंग पनि सक्रिय हुन सक्छ। यसले तपाईंलाई बिस्तारै पर-पर लैजान्छ। जब तपाईं किनारतिर हेर्नुहुन्छ, तपाईं यति टाढा पुगिसक्नुभएको हुन्छ कि आफ्नो परिवार वा साथीहरू कसैलाई पनि देख्नुहुन्‍न। पानीको तरंगले तपाईंलाई कति टाढा लगिसक्यो भन्‍ने कुरा तपाईंले यादै गर्नुभएन! त्यसै गरी, हाम्रा दैनिक क्रियाकलापहरूको दौडान हाम्रा विचार तथा भावनाहरूमा पनि अटूट रूपमा असर परिरहेको हुन्छ। हामीले चाल पाउनुअघि नै यी असरहरूले हामीलाई आफू सधैंभरि अडिग रहिरहनेछु भनी दृढ संकल्प गरेका स्तरहरूबाट टाढा पुऱ्‍याउन सक्छन्‌।

उदाहरणका लागि, प्रेरित पत्रुस साहसी व्यक्‍ति थिए। तिनले येशू गिरफ्तार भएको रात, क्रुद्ध भीडकै अगाडि नडराईकन तरबार चलाए। (मर्कूस १४:४३-४७; यूहन्‍ना १८:१०) तथापि, वर्षौंपछि साथीहरूको दबाबको कारण तिनले प्रत्यक्ष देखिने गरी पक्षपात गरे। अन्यजातिहरूलाई अशुद्ध नठान्‍नु भनी ख्रीष्टबाट पहिले नै दर्शन पाइसकेको भए तापनि तिनले अन्यजातिका मसीहीहरूलाई तिरस्कार गरे। (प्रेरित १०:१०-१५, २८, २९) पत्रुसलाई अरू मानिसहरूको उपेक्षा सहनु तरबारमा उनिनुभन्दा पनि गाह्रो लागेको हुन सक्छ! (गलाती २:११, १२) निस्सन्देह, साथीहरूको दबाब खतरनाक हुन सक्छ।

साथीहरूको दबाबको शक्‍ति स्वीकार्नु अत्यावश्‍यक छ

पत्रुसको उदाहरणले हामीलाई महत्त्वपूर्ण पाठ सिकाउन सक्छ। कुनै एउटा क्षेत्रमा बलियो हुनुको अर्थ सबै क्षेत्रमा बलियो हुन्छ भन्‍ने छैन। हामी सबैको जस्तै पत्रुसका पनि कमजोर पक्षहरू थिए। चाहे हामी जोसुकै होऔं, हामी आफ्ना कमजोर पक्षहरूबारे सचेत हुनु आवश्‍यक छ। हामी आफैलाई इमानदारीसाथ यस्ता प्रश्‍नहरू सोध्न सक्छौं: ‘मेरो कमजोर पक्ष कुन हो? के म सम्पन्‍न जीवन बिताउन चाहन्छु? के मेरो हृदयमा व्यक्‍तिगत उपलब्धिको अहम्‌ताले जरा गाडेको छ? प्रशंसा, ओहदा र नाउँ कमाउन म कुन हदसम्म अघि बढ्‌छु?’

सायद हामी लागूपदार्थ प्रयोग गर्ने अनैतिक व्यक्‍ति वा जथाभावी यौन सम्पर्क राख्दै हिंड्‌नेहरूसँग कहिल्यै जानाजानी संगत गर्न चाहँदैनौं होला। तथापि, हाम्रो आफ्ना चालै नपाउने कमजोरीहरूबारे के भन्‍न सकिन्छ नि? हामीले आफू कमजोर भएको क्षेत्रमा नै असर गर्ने व्यक्‍तिहरूसँग घनिष्ठ हुन रोज्यौं भने हामीले आफूलाई साथीहरूको दबाबद्वारा भ्रष्ट हुन दिइरहेका हुन्छौं। यसले हामीलाई सम्भवतः दीर्घकालीन हानि गर्न सक्छ।

तथापि, खुसीको कुरा साथीहरूको दबाब सबै नै खराब हुँदैनन्‌। के हामी साथीहरूको दबाबलाई सहन वा यसलाई आफ्नो हितको लागि चलाउन सक्छौं? अनि हामी साथीहरूको नकारात्मक दबाब विरुद्ध कसरी संघर्ष गर्न सक्छौं? यी प्रश्‍नहरूबारे “युवा जनहरू सोध्छन्‌ . . . ”-को आगामी लेखमा छलफल गरिनेछ। (g02 11/22)

[पृष्ठ २१-मा भएको चित्र]

भौतिकवादी परिवेशले साथीहरूको तीव्र दबाब सिर्जना गर्न सक्छ