सीधै सामग्रीमा जाने

कैदीहरू स्पेनिश भाषाको संशोधित नयाँ संसार अनुवाद बाइबल प्रयोग गर्दै सभामा भाग लिन्छन्‌।

SEPTEMBER 9, 2020
अर्जेन्टिना

महामारीको बेला बाइबलको शिक्षा कैदीहरूले पनि सुन्‍न पाउँछन्‌

महामारीको बेला बाइबलको शिक्षा कैदीहरूले पनि सुन्‍न पाउँछन्‌

अर्जेन्टिनाको सान लुइस प्रान्तमा भिडियो कन्फ्रेन्समार्फत हाम्रा भाइहरू कडा सुरक्षा व्यवस्था भएका जेलमा रहेका कैदीहरूलाई बाइबल अध्ययन गराउँदै छन्‌ अनि उनीहरूको लागि हरेक हप्ता सभा सञ्चालन गर्दै छन्‌। अर्जेन्टिनामा यसरी इन्टरनेटमार्फत जेलमा साक्षी दिने प्रबन्ध मिलाइएको यो पहिलो पटक हो।

वर्षौँदेखि सान लुइसका भाइहरू कडा सुरक्षा व्यवस्था भएका जेलहरूमा कैदीहरूलाई बाइबल अध्ययन गराउन अनि सभा सञ्चालन गर्न जाने गर्थे। तर मार्च २०२० देखि अर्जेन्टिनामा लकडाउन सुरु भएपछि यो प्रबन्ध स्थगित गरिएको थियो। हाम्रा भाइहरूले झ्यालखानाका अधिकारीहरूको अनुमति लिएर भिडियो कन्फ्रेन्समार्फत कैदीहरूलाई साक्षी दिने काम फेरि सुरु गर्न सकेका छन्‌।

कैदीहरूको बानीमा सुधार आएको देखेर जेलका प्रमुख अधिकारी अनि तिनकी पत्नी पनि सभामा उपस्थित भए। तिनले यसो भने: “लकडाउनको कारणले गर्दा कोही पनि कैदीहरूलाई भेट्‌न आउन सक्दैनन्‌। त्यसैले यस्ता सभाले कैदीहरूको लागि निकै महत्त्व राख्छ। सभाले उनीहरूलाई खुसी हुन र परमेश्‍वरसित नजिक हुन मदत गरेको छ। साथै सभाहरूले उनीहरूलाई एकआपसमा शान्ति कायम गर्न पनि मदत गरेको छ। हाम्रो लक्ष्य कैदीहरूलाई समाजको असल सदस्य बन्‍न मदत गर्ने हो। यस लक्ष्यमा अघि बढ्‌न बाइबलको शिक्षाले हामीलाई पूरा साथ दिइरहेको छ।”

एक कैदीले सभा अनि बाइबल अध्ययनको प्रबन्ध मिलाउने भाइहरूलाई चिठी लेखे। तिनले चिठीमा यस्तो लेखे: “आफ्नो कोठरीबाट निस्केर सभामा उपस्थित हुँदा म सारा थकान, समस्या, दुःख, पीडा अनि एकाकीपन हराएको महसुस गर्छु। म असाध्यै खुसी छु। तपाईँहरूलाई धेरै-धेरै धन्यवाद।”

हाम्रा भाइहरू विश्‍वभरि फैलिएको महामारीको बाबजुद मानिसहरूलाई बाइबलको सन्देशबाट लाभ उठाउन मदत गर्दै छन्‌ भनेर थाह पाउँदा हामी निकै प्रोत्साहन पाउँछौँ।—यसैया ४८:१७, १८.