सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

तपाईँको अनुदान कसरी प्रयोग गरिन्छ?

इन्टरनेट नपुगेको ठाउँमा JW स्याटेलाइट च्यानल पुग्छ

इन्टरनेट नपुगेको ठाउँमा JW स्याटेलाइट च्यानल पुग्छ

अप्रिल १, २०२१

 हरेक महिना हामी JW ब्रोडकास्टिङमा आउने आध्यात्मिक कार्यक्रमहरू र भिडियोहरूको उत्सुकतापूर्वक प्रतीक्षा गर्छौँ। तर अफ्रिकाका हाम्रा थुप्रै भाइबहिनीले इन्टरनेटबाट ती कार्यक्रमहरू हेर्न सक्दैनन्‌। किन?

 अफ्रिकाको धेरैजसो ठाउँमा इन्टरनेटको सुविधा छैन। इन्टरनेटको सुविधा भएको ठाउँमा पनि या त इन्टरनेट बिस्तारै चल्छ या निकै महँगो छ। उदाहरणको लागि, मडागास्करको एक जना क्षेत्रीय निरीक्षकले एकचोटि इन्टरनेट क्याफेमा गएर JW ब्रोडकास्टिङको एउटा मासिक कार्यक्रम डाउनलोड गरे। त्यसको लागि तिनले १६ अमेरिकी डलर (१,८०० नेपाली रुपैयाँ) तिर्नुपऱ्‍यो, जुन रकम कसै-कसैको एक हप्ताको कमाइभन्दा धेरै थियो।

 यी कठिनाइहरूको बाबजुद अफ्रिकाका लाखौँ मानिसले इन्टरनेट प्रयोग नगरीकनै JW ब्रोडकास्टिङबाट लाभ उठाउन सक्छन्‌। कसरी?

 सन्‌ २०१७ देखि सहारा मरुभूमिको दक्षिणी भूभागमा पर्ने अफ्रिकी मुलुकहरूमा एउटा स्याटेलाइट च्यानलमार्फत JW ब्रोडकास्टिङ कार्यक्रम प्रसारण गर्ने गरिएको छ। यो च्यानल १६ वटा भाषामा हप्ताको सातै दिन चौबीसै घण्टा नि:शुल्क प्रसारण गरिन्छ।

मोजाम्बिकका भाइहरू सभाभवनमा JW स्याटेलाइट च्यानलको सिग्नल टिप्ने साधन मिलाउँदै, २०१८

 त्यसको लागि यहोवाका साक्षीहरूले स्याटेलाइटमार्फत कार्यक्रम प्रसारण गर्न एउटा टेलिभिजन कम्पनीसँग सम्झौता गरेका छन्‌। यो स्याटेलाइटमार्फत सहारा मरुभूमिको दक्षिणी भूभागमा पर्ने ३५ वटा अफ्रिकी मुलुकमा कार्यक्रम प्रसारण गर्न सकिन्छ। उक्‍त सम्झौताको लागि हाम्रा भाइहरूले प्रति महिना १२,००० अमेरिकी डलरभन्दा (१४ लाख १२ हजार नेपाली रुपैयाँ) बढी रकम तिर्नुपर्छ। साथै बेलाबेलामा प्रत्यक्ष प्रसारण गर्नुपर्ने कार्यक्रमको लागि एउटा छुट्टै च्यानल चलाएबापत थप शुल्क पनि तिर्नुपर्छ। यसले गर्दा अधिवेशनहरू र शाखा भ्रमणसँग सम्बन्धित विशेष कार्यक्रमहरूबाट हजारौँ भाइबहिनीले लाभ उठाउन सकेका छन्‌।

मलावीको स्थानीय डिजाइन/निर्माण समूह JW स्याटेलाइट च्यानलको प्रसारण हेर्दै, २०१८

 हाम्रा भाइबहिनीलगायत गैर-साक्षीहरूले पनि आफ्नै घरमा JW स्याटेलाइट च्यानलको कार्यक्रम हेर्ने गर्छन्‌। तर हाम्रा धेरै भाइबहिनीले स्याटेलाइट च्यानलमार्फत कार्यक्रम हेर्नको लागि आवश्‍यक साधन किन्‍न सक्दैनन्‌। त्यसैले ३,६७० भन्दा धेरै सभाभवनमा स्याटेलाइटको सिग्नल टिप्ने साधनहरू जडान गरिएका छन्‌। यसले गर्दा भाइबहिनीहरूले सभाभवनमा JW ब्रोडकास्टिङ कार्यक्रम हेर्न सकेका छन्‌। टेलिभिजन वा प्रोजेक्टर भएको सभाभवनमा उक्‍त साधन जडान गर्न ढुवानीसहित लगभग ७० अमेरिकी डलर (८,००० नेपाली रुपैयाँ) खर्च लाग्छ। तर टेलिभिजन वा प्रोजेक्टर नभएको सभाभवनमा आवश्‍यक साधन जडान गर्न ५३० अमेरिकी डलर (६२,००० नेपाली रुपैयाँ) खर्च लाग्न सक्छ।

 हाम्रा भाइबहिनीले यो च्यानलको धेरै कदर गरेका छन्‌। क्यामरूनका एक जना एल्डर यसो भन्छन्‌: “यो त मरुभूमिको बीचमा हाम्रो लागि मन्‍नजस्तै हो।” नाइजेरियाका भाइ ओडेबोडि यसो भन्छन्‌: “हामी सपरिवार हप्ताको तीन चोटि यो च्यानल हेर्ने गर्छौँ। मेरा छोराहरू कार्यक्रम हेर्न सधैँ कुरेर बस्छन्‌। तिनीहरू हामीलाई अरू बेला पनि त्यही च्यानल हेरौँ भन्‍ने गर्छन्‌।” नाइजेरियाकी रोज यसो भन्छिन्‌: “म पहिला हरबखत समाचार मात्र हेर्ने गर्थेँ। तर अहिले म धेरैजसो JW स्याटेलाइट च्यानल हेर्न गर्छु। समाचार मात्र हेर्दा मलाई झर्को लाग्थ्यो अनि मेरो ब्लड प्रेसर बढ्‌थ्यो। तर JW ब्रोडकास्टिङ कार्यक्रम निकै उत्थानदायी र आनन्ददायी छ। यो मलाई मनपर्ने च्यानल हो। यो यहोवाले दिनुभएको ठूलो उपहार हो।”

मलावीको एउटा परिवार हाम्रो स्याटेलाइट च्यानलमा केटाकेटीको लागि तयार पारिएको एउटा भिडियो हेर्दै

 मोजाम्बिकमा सेवा गर्ने एक क्षेत्रीय निरीक्षकले आफ्नो क्षेत्रअन्तर्गतका सभाभवनहरूमा स्याटेलाइट च्यानलको सिग्नल टिप्ने साधनहरू जडान गरिएका छन्‌ भनेर रिपोर्ट गरेका छन्‌। हाम्रा भाइबहिनीहरू स्याटेलाइट च्यानलमार्फत JW ब्रोडकास्टिङ कार्यक्रम हेर्न एक घण्टा वा त्योभन्दा अघि नै सभाभवन पुग्ने गर्छन्‌।

इथियोपियाको एउटा मण्डलीका भाइबहिनीहरूले इन्टरनेटको प्रयोगविना नै JW ब्रोडकास्टिङको मासिक कार्यक्रमबाट लाभ उठाए, २०१८

 यो च्यानलमार्फत दक्षिण अफ्रिकाको जोहानेसबर्गमा २०१९ मा आयोजित अन्तरराष्ट्रिय अधिवेशन कार्यक्रमको परिचालक निकायका सदस्यहरूको भाषणलगायत मुख्य-मुख्य भाषणहरू अरू नौ वटा ठाउँमा प्रसारण गरिएको थियो। दक्षिण अफ्रिकाको स्थानीय ब्रोडकास्टिङ विभागमा सेवा गर्ने स्पुमेलेले यसो भन्छन्‌: “पहिला-पहिला हामीले इन्टरनेटमार्फत भाषणहरू प्रसारण गर्नुपर्थ्यो। त्यसको लागि इन्टरनेटको स्पीड राम्रो हुनुपर्थ्यो र डाटाको लागि पैसा पनि तिर्नुपर्थ्यो। तर JW स्याटेलाइट च्यानलको लागि त्यति धेरै खर्च लाग्दैन अनि यो भरपर्दो पनि छ।”

 तपाईँहरूले उदार भई दिनुभएको अनुदानले गर्दा नै अहिले अफ्रिकाका धेरै भाइबहिनीले JW ब्रोडकास्टिङको कार्यक्रमबाट लाभ उठाउन सकेका छन्‌। donate.jw.org मा उल्लेख गरिएका विभिन्‍न तरिकाहरूमार्फत अनुदान दिनुभएकोमा हामी तपाईँहरूप्रति कृतज्ञ छौँ।