सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

गरिबीको पीडा

गरिबीको पीडा

गरिबीको पीडा

गरिबीले मानिसको ज्यानै लिन सक्छ। गरिबहरूलाई खानेकुरा, पानी, इन्धन, आवास, स्वास्थ्य सेवा, शिक्षा इत्यादिको अभाव हुन्छ। गरिबीले एक अरब मानिसहरू प्रभावित छन्‌, भनौं भने भारतको कुल जनसङ्‌ख्याजति। तर पश्‍चिमी युरोप र उत्तर अमेरिकामा बसोबास गर्ने अधिकांश मानिसहरूले भने चरम गरिबीको चपेटा भोगिरहेका मानिस भेटेका छैनन्‌। त्यसैले निम्न व्यक्‍तिहरूको अनुभव विचार गर्नुहोस्‌:

अम्बारुशिमा अफ्रिकाको रूवाण्डा देशमा आफ्नी श्रीमती र पाँच छोराछोरीसित बस्छन्‌। तिनीहरूको कान्छो अर्थात्‌ छैटौं छोराको मलेरियाले ज्यानै लियो। तिनी भन्छन्‌: “मेरो बुबाको जग्गा हामी छ जना छोराछोरीलाई भागबन्डा गर्दा मेरो भागमा असाध्यै सानो टुक्रा मात्र परेकोले म आफ्नो परिवारलाई लिएर सहरमा बस्न थालें। मेरी श्रीमती र म ढुङ्‌गा-बालुवाको भारी बोक्ने काम गर्छौं। हाम्रो घरमा झ्याल छैन। हामी प्रहरी चौकीको इनारमा गएर पानी भर्छौं। हामी प्रायजसो एक छाक मात्र खान्छौं तर कहिलेकाहीं काम नहुँदा भने दिनभरि भोकै बस्नुपर्छ। भोकै बस्नु परेको दिन छोराछोरी रोएको सुन्‍न गाह्रो हुने भएकोले म घरमै बस्दिनँ।”

बिक्टर र कार्मेन जुत्ता सिउने काम गर्छन्‌। तिनीहरू आफ्ना पाँच छोराछोरीसित बोलिभियाको दुर्गम गाउँमा बस्छन्‌। तिनीहरू भाडामा बस्छन्‌ र त्यो पुरानो घरको टिनको छाना चुहिएको छ अनि बिजुली बत्ती पनि छैन। तिनीहरूको केटाकेटी पढ्‌ने स्कूलमा विद्यार्थीहरूको असाध्यै घुइँचो थियो। त्यसैले सबैलाई टेबुल भाग नपुग्ने हुँदा आफ्नी छोरीको लागि बिक्टरले नै एउटा टेबुल बनाइदिनुपऱ्‍यो। यसो नगरेको भए तिनकी छोरीले पढ्‌नै पाउने थिइनन्‌। खाना पकाउन र पिउने पानी उमाल्न चाहिने दाउरा बटुल्न तिनीहरू दस किलोमिटर टाढा पुग्नुपर्छ। कार्मेन भन्छिन्‌: “हाम्रो घरमा शौचालय छैन। त्यसैले नित्यकर्मको लागि खोलामै पुग्नुपर्छ। अनि मानिसहरूको नुहाइधुवाइ गर्ने र फोहोर फ्याँक्ने ठाउँ पनि त्यही खोला हो। त्यसैले छोराछोरी अक्सर बिरामी भइरहन्छन्‌।”

फ्रान्सिस्को र इलिड्या मोजाम्बिकको दुर्गम गाउँमा बस्छन्‌। तिनीहरूका चार जना साना छोराछोरी त बचे तर एक जनाको भने अस्पतालले भर्ना गर्न नमानेकोले औलोले गर्दा मृत्यु भयो। यस दम्पतीले आफ्नो सानो जग्गामा धान र सखरखण्डको खेती गर्छन्‌। तर यसको उब्जनीले तीन महिना मात्र पुग्छ। फ्रान्सिस्को भन्छन्‌: “कहिलेकाहीं बेलैमा पानी नपर्दा वा बाली चोरी हुँदा भने घर, टहरा बनाउनको लागि चाहिने चोया काटेर जेनतेन जीविका चलाउँछु। हामी दाउरा बटुल्न दुई घण्टा हिंडेर जङ्‌गलमा जान्छौं। म र मेरी श्रीमती एक-एक भारी बोकेर फर्कन्छौं। एउटा भारी हप्ताभरि खाना पकाउन बाल्छौं, अर्कोचाहिं बेच्छौं।”

संसारको कुल जनसङ्‌ख्यामा ७ जनामध्ये १ जनाको जीवन अम्बारुशिमा, बिक्टर र फ्रान्सिस्कोको जस्तै छ। तर बाँकी अरबौं भने अपार धनसम्पत्तिमा मस्ती गरिरहेको देख्दा थुप्रैलाई असाध्यै अन्याय भएजस्तो लाग्छ। कसै-कसैले यसबारे केही गर्न खोजेका छन्‌। तिनीहरूले गरेका केही प्रयास र आशाबारे यसपछिको लेखमा छलफल गरिएको छ। (w11-E 06/01)

[पृष्ठ २, ३-मा भएको चित्र]

पानी भर्दै गरेकी कार्मेन, साथमा तिनका दुई छोराछोरी