सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

निर्णयहरू गर्नु एउटा टार्नै नसकिने चुनौती

निर्णयहरू गर्नु एउटा टार्नै नसकिने चुनौती

निर्णयहरू गर्नु एउटा टार्नै नसकिने चुनौती

“निर्णय गर्नु जति गाह्रो अनि त्यसैले निर्णय गर्न सक्नु जति अनमोल कुरा अरू कुनै छैन” भनी फ्रान्सका १९ औं शताब्दीका सम्राट्‌, नेपोलियन बोनापार्टले एक पटक भने। तपाईं यी दुवै पक्षप्रति सहमत हुनुहुन्छ होला किनभने मानिसहरू अक्सर आफ्नो जीवनलाई आफ्नै नियन्त्रणमा राख्न मन पराउँछन्‌। साथै, निर्णय गर्न कहिलेकाहीं असाध्यै गाह्रो हुन्छ भनेर पनि तिनीहरूले बुझेका छन्‌।

चाहे सजिलो होस्‌ वा गाह्रो, निर्णयहरू गर्ने कुरालाई टार्नै सकिंदैन। हामीले दिनहुँ निर्णयहरू गर्नुपर्ने हुन्छ। बिहान उठेदेखि नै हामीले के लगाउने, के खाजा खाने अनि दिनभरि अरू दर्जनौं कामहरू कसरी गर्ने भन्‍ने निर्णय गर्नै पर्छ। यी निर्णयहरूमध्ये अधिकांश त्यति महत्त्वपूर्ण हुँदैनन्‌। हामी सायदै यसबारे घोरिएर विचार गर्छौं। यी निर्णयहरू बुद्धिमानी थिए कि थिएनन्‌ भनेर हाम्रो निद्रा विरलै हराउँछ।

अर्कोतर्फ, केही निर्णयहरूका चिरकालीन असरहरू हुन्छन्‌। आजको संसारका थुप्रै युवाहरूले कस्तो पेसाको पछि लाग्ने भन्‍ने निर्णय गर्नै पर्छ। तिनीहरूले कुन विषय लिएर कति पढ्‌ने भनी निर्णय गर्नुपर्ने हुन सक्छ। ढिलो वा चाँडो, तिनीहरूमध्ये अधिकांशले विवाह गर्ने वा अविवाहित रहने भन्‍ने निर्णय गर्नेछन्‌। विवाह गर्न रोज्नेहरूले निम्न कुराहरूको निर्णय गर्नै पर्छ: ‘विवाह गर्नको लागि के मेरो उमेर पुगिसक्यो अनि के म परिपक्व भइसकें? म कस्तो खालको जीवन साथी चाहन्छु वा अझ महत्त्वपूर्ण कुरा, मलाई कस्तो खालको जीवन साथीको आवश्‍यकता पर्छ?’ जोडी रोज्दा हामीले गर्ने निर्णयले जीवनमा गरिने अरू जुनसुकै निर्णयले भन्दा बढी असर गर्छ।

एकदमै महत्त्वपूर्ण कुराहरूको सन्दर्भमा बुद्धिमानी निर्णय गर्नु अत्यावश्‍यक छ किनभने धेरै हदसम्म यसै कुरामा हाम्रो आनन्द निर्भर हुन्छ। कोही-कोही व्यक्‍तिहरूले आफूलाई यस्ता निर्णयहरू गर्न योग्य ठान्‍न सक्छन्‌ र अरूबाट मदतको प्रस्ताव आउँदा यसलाई इन्कार गर्न सक्छन्‌। के यो बुद्धिमानी हो? आउनुहोस्‌, हामी हेरौं।

[पृष्ठ ३-मा भएको चित्रको स्रोत]

Napoleon: From the book The Pictorial History of the World