सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

ज्वालामुखीको नजिकै बसोबास गर्दा

ज्वालामुखीको नजिकै बसोबास गर्दा

ज्वालामुखीको नजिकै बसोबास गर्दा

ज्वालामुखीको विषयमा अझ धेरै कुरा बुझ्न बाँकी नै छ। यो वर्षौं वर्षसम्म निष्क्रिय रहेर अकस्मात्‌ विस्फोट हुन सक्छ। यसरी विस्फोट हुँदा जति भव्य देखिन्छ, त्यत्तिकै खतरनाक पनि हुन्छ। विस्फोट भएको केही मिनेटभित्रै वरपरको इलाका र सारा जीवित प्राणीलाई भस्म पार्न सक्छ।

ज्वालामुखीहरू खतरनाक हुन्छन्‌ भन्‍ने कुरामा कसैको दुई मत नहोला। गत तीन सय वर्षको दौडान ज्वालामुखीले लाखौंको ज्यान लिइसकेको छ। हुन त, हामीमध्ये प्रायजसो ज्वालामुखीको छेउछाउमा बसोबास गर्दैनौं। तर लाखौं मानिसहरू भने सक्रिय ज्वालामुखीको नजिकै बस्छन्‌। उदाहरणका लागि, इक्वेडरको राजधानी किटो नजिकै उत्तरपश्‍चिमतिर पिचिन्चा भन्‍ने ज्वालामुखी छ। आज्टेक भाषामा “धूँवा निकाल्ने पहाड” भन्‍ने अर्थ लाग्ने पोपोकाटेप्टेल पहाड मेक्सिको सहरबाट ६० किलोमिटर पर छ। न्यु जील्याण्डको अकल्याण्ड र इटालीको नेपल्सका ठूलठूला सहरहरू ज्वालामुखीको नजिकै छन्‌। यस्ता सहरहरूमा बस्ने लाखौं मानिसहरूलाई कुनै दिन अकस्मात्‌ ज्वालामुखी विस्फोट भएर ठूलो विध्वंस हुन सक्छ भनेर थाह छ।

खतरनाक ज्वालामुखी

नेपल्सका बासिन्दाहरू भेसुभियस पर्वतको छेउछाउमा बसोबास गरिरहेको लगभग ३,००० वर्ष भइसक्यो। यो पहाड नेपल्सभन्दा ११ किलोमिटर मात्र पर पर्छ। यसले पुरानो सोमा पहाडको केही भाग ओगटेको छ। संसारका अत्यन्तै खतरनाक ज्वालामुखीमध्ये भेसुभियस पनि पर्दछ। यसको फेद समुद्री सतहभन्दा मुनि भएको हुँदा यो पहाड हेर्दा जत्रो देखिन्छ, वास्तवमा त्योभन्दा निकै ठूलो छ।

भेसुभियस पर्वत धेरै चोटि विस्फोट भइसक्यो। इस्वी संवत्‌ ७९ मा भएको बहुचर्चित विस्फोटमा पोम्पी र हर्कुलानियम सहरहरू ध्वस्त भएका थिए र त्यो समयदेखि यता ५० चोटिभन्दा बढी विस्फोट भइसकेको छ। सन्‌ १६३१ मा भएको भयानक विस्फोटमा ४,००० जति मानिसहरू मारिएका थिए। त्यतिबेलादेखि नै “लावा” शब्दको प्रयोग हुन थाल्यो। ल्याटिन शब्द लाबी-बाट लिइएको लावा शब्दले “बग्ने” भन्‍ने अर्थ बुझाउँछ। यो शब्द एकदमै सुहाउँछ किनभने भेसुभियस पहाडको ठाडो भीरमा लावा हुइँकिएर बग्छ।

शताब्दीयौंको दौडान भेसुभियस पहाड बेलाबेलामा विस्फोट भइरह्‍यो। दोस्रो विश्‍वयुद्धको बेला सन्‌ १९४४ मा विस्फोट हुँदा संयुक्‍त सेनामाथि खरानीको वर्षा भयो। नजिकैका सहरहरू मासा र सान सेबास्टियानो अनि पहाडी इलाकाको प्रख्यात केबुलकार पनि पुरियो। इटालीको अति प्रख्यात लोकगीत “फ्युनिकुली, फ्युनिकुला”-मा यो केबुलकारको गुनगान गाइएको छ।

अहिले नेपल्समा बसोबास गर्ने मानिसहरूलाई भने नजिकैको खतराबारे कुनै चिन्ता नै नभएजस्तो देखिन्छ। यहाँ भएका ऐतिहासिक अनि वास्तुकलाले सजिसजाउ भवनहरू देखेर पर्यटकहरू दंग पर्छन्‌। पसल तथा क्याफेमा आउने/जाने मानिसहरूको भीड छ अनि डुंगाहरूले गर्दा नेपल्सको खाडी छपक्कै सेतो देखिन्छ। भेसुभियस अहिले पनि एउटा लोकप्रिय पर्यटकीय थलो हो अनि यो खतरनाक ठाउँ नभई सबैलाई मनपर्ने ठाउँ भएको छ।

ज्वालामुखीको सहर— अकल्याण्ड

न्यु जील्याण्डको अकल्याण्ड सहरमा थुप्रै ज्वालामुखीहरू छन्‌। यहाँको जनसंख्या दस लाखभन्दा बढी छ र यहाँ ज्वालामुखीले बनेका ४८ वटा ससाना पहाडहरू छन्‌। ज्वालामुखीबाट बनेका खोंचहरूमा दुइटा बन्दरगाह छन्‌। यहाँको टापु पनि ज्वालामुखी विस्फोटबाटै बनेका हुन्‌। यीमध्ये सबैभन्दा छर्लंग्गै देखिने टापु भनेको ६०० वर्ष पुरानो राङ्‌गीटोटो हो र यो भेसुभियसको जस्तै आकार बनाएर पानीमाथि निस्किएको छ। यो टापुको उत्पत्ति हुँदा न्यु जील्याण्डका आदिवासी माउरी जातिहरूको एउटा गाउँ नै खरानीले पुरिएको थियो।

अकल्याण्डवासीहरूले ज्वालामुखीको नजिकै बसोबास गर्न सिकेका छन्‌। माउँगाकीकी भन्‍ने ज्वालामुखीमा अहिले सार्वजनिक पार्क र भेडीगोठ छ। यो ज्वालामुखी अकल्याण्ड सहरको बीचमा पर्छ। कुनै-कुनै ज्वालामुखीमा अहिले ताल, पार्क र खेल मैदान छन्‌ भने एउटा चाहिं चिहानको रूपमा प्रयोग गरिएको छ। ज्वालामुखी पहाडको भिरालो ठाउँबाट अत्यन्तै मनोरम दृश्‍य देखिने भएकोले धेरैजसो त्यस्तो ठाउँमा बस्न रुचाउँछन्‌।

अकल्याण्डमा सुरुमा माउरी र १८० वर्षअघि युरोपेलीहरू बसोबास गर्न थाल्दा यहाँ पहिला-पहिला ज्वालामुखी विस्फोट हुन्थ्यो भनेर त्यति वास्ता गरेनन्‌ जस्तो देखिन्छ। तिनीहरूले खुला जमिन, समुद्रको नजिक अनि उर्वर माटोलाई मात्र हेरे होलान्‌। ज्वालामुखी विस्फोटबाट बनेका अन्य ठाउँहरूको माटो पनि उर्वर नै पाइएको छ। उदाहरणका लागि, इन्डोनेसियाको सबैभन्दा बढी धान उम्रने जमिन पनि सक्रिय ज्वालामुखीको नजिकै छ। अमेरिकाको पश्‍चिमी भूभागको सबैभन्दा उब्जनी हुने ठाउँ पनि ज्वालामुखी विस्फोटबाटै बनेको हो। अनुकूल अवस्था भएको खण्डमा लावाले पुरिएको जमिनमा समेत एक वर्ष नबित्दै नयाँ बोटबिरुवा उम्रन थाल्छन्‌।

पूर्वसूचना दिने प्रणाली

धेरैले यस्तो प्रश्‍न गर्छन्‌: ‘ज्वालामुखीको नजिकै बस्नु जोखिमपूर्ण हुँदैन र?’ पक्कै हुन्छ। तर वैज्ञानिकहरूले भूकम्प र ज्वालामुखीसित सम्बन्धित गतिविधिलाई निगरानी गर्न सक्छन्‌। उदाहरणका लागि, संयुक्‍त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षणले संसारभरि भएका सक्रिय ज्वालामुखीहरूको निगरानी गर्छ। हुन त, नेपल्स र अकल्याण्डमा पूर्वसूचना दिने प्रबन्ध गरिएको छ तैपनि त्यहाँको ज्वालामुखीको पनि यही संस्थाले निगरानी गर्छ। चौबीसै घण्टा काम गर्ने भूउपग्रह, ग्लोबल पोजिसनिङ सिस्टम्स्‌ र भूकम्पसम्बन्धी पूर्वसूचना दिने नेटवर्क अर्थात्‌ सञ्जालमार्फत वैज्ञानिकहरूले म्याग्माको चलहल र जमिनमुनि हुने उथलपुथल पत्ता लगाउन सक्छन्‌।

भेसुभियसको गतिविधिमा सधैं निगरानी राखिन्छ। अलि बढी नै सावधानी अपनाउँदै इटालेली सरकारले सन्‌ १६३१ मा विस्फोट हुँदाको जस्तै अवस्था भएको खण्डमा समेत आवश्‍यक पर्न सक्ने सबै कुरा समेटेर पूर्वयोजना बनाएका छन्‌। जोखिमपूर्ण क्षेत्रमा बसोबास गर्नेहरूलाई पनि विस्फोटन हुनुअघि नै जनाउ दिएर अन्यत्र सार्न सकिन्छ भन्‍ने विशेषज्ञहरूको भनाइ छ।

वैज्ञानिकहरूको अध्ययनअनुसार अकल्याण्ड, मोनोजेनेटिक ज्वालामुखीय क्षेत्रमा पर्छ। यसको मतलब, पटक-पटक एउटै ज्वालामुखी विस्फोट हुने नभई पहिलेको भन्दा बेग्लै ठाउँमा नयाँ ज्वालामुखी देखा पर्नु हो। विशेषज्ञहरूको भनाइअनुसार केही दिनदेखि केही हप्तासम्म भूकम्म गइरह्‍यो भने मात्र यस्ता ज्वालामुखीहरू बन्‍न सक्छन्‌। यस्तो पूर्वसूचनाले गर्दा विस्फोट हुनुअघि नै कुनै सुरक्षित ठाउँमा आश्रय लिन मानिसहरूले पर्याप्त समय पाउनेछन्‌।

खतरालाई ध्यानमा राख्दा

ज्वालामुखीहरूको निगरानी राख्नु महत्त्वपूर्ण छ तर चेतावनी दिंदा वास्ता गरेन भने केही काम लाग्दैन। सन्‌ १९८५ मा कोलम्बियाको आरमेरोका अधिकृतहरूले नाभाडो डेल रुइज विस्फोटन हुँदैछ भनेर पूर्वसूचना पाएका थिए। सहरभन्दा ५० किलोमिटर पर पहाड गडगडाएर खतराको स्पष्ट संकेत दिए तापनि नगरवासीहरूलाई शान्त रहनू मात्र भनियो। विस्फोटनबाट निस्केको लावाले सहर पुरिंदा २१,००० भन्दा बढी मानिसको ज्यान गयो।

हुन त, यस्ता विपत्तिहरू हतपती हुँदैनन्‌। तर विस्फोटनहरूबीचको समयावधि भने थप अनुसन्धान र तयारी गर्न प्रयोग गरिएको छ। यसर्थ, निरन्तर निगरानी राख्ने, पर्याप्त तयारी गर्ने र जनचेतना जगाउने जस्ता कार्यहरूले ज्वालामुखीको नजिकै बस्दा आइपर्ने जोखिमहरूलाई केही कम भने गर्न सक्छ। (g 2/07)

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

तयार रहनुहोस्‌!

के तपाईं प्राकृतिक प्रकोपको सामना गर्न तयार हुनुहुन्छ? आफ्नो इलाकामा के-कस्ता जोखिमहरू छन्‌, त्यसबारे सजग हुनुहोस्‌। परिवारका सदस्यहरू छरपस्ट भएको खण्डमा कहाँ भेट्‌ने र तपाईं कहाँ हुनुहुन्छ भनेर कसलाई खबर गर्ने, पहिल्यै योजना बनाउनुहोस्‌। आपत्‌कालीन अवस्थाको लागि चाहिने सामानहरूको पहिल्यै बन्दोबस्त मिलाउनुहोस्‌। जस्तै—खानेकुरा, पानी, प्राथमिक उपचारका सामानहरू, लुगाफाटा, रेडियो, पानीले नबिगार्ने टर्चलाइट र जगेडा ब्याट्री समावेश गर्नुहोस्‌। केही दिनसम्म पुग्ने पर्याप्त सरसामानको प्रबन्ध मिलाउनुहोस्‌।

[पृष्ठ २३-मा भएको पेटी]

भेसुभियसमा ज्वालामुखीको मुख नजिकै हिंडिरहेका पर्यटकहरू

[पृष्ठ २३-मा भएको पेटी]

भेसुभियस पर्वतको अगाडि इटालीको नेपल्स

[पृष्ठ २३-मा भएको पेटी]

इस्वी संवत्‌ ७९ मा भएको महाविस्फोटबारे एक जना कलाकारको परिकल्पना; यतिबेला पोम्पी र हर्कुलानियम सहरहरू ध्वस्त भएका थिए

[पृष्ठ २४-मा भएको पेटी]

अकल्याण्डका थुप्रै ज्वालामुखी टापुहरूमध्ये एक—राङ्‌गीटोटो

[पृष्ठ २५-मा भएको पेटी]

माथि र दायाँ: पोपोकाटेप्टेल पर्वत, मेक्सिको