सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

बच्चाको टिभी हेर्ने बानी छुटाउने

न्यु योर्कको १६ वटा शिशु विद्यालयहरूमा गरिएको एउटा पाँच महिने अध्ययनमा बच्चाहरूलाई टिभी हेर्नुको सट्टा अरू नै केही गर्न सिकाउँदा “तिनीहरूले हप्तामा पहिलेभन्दा तीन घण्टा कम टिभी हेरे” भनी न्यु योर्क टाइम्स पत्रिकाले रिपोर्ट गर्छ। यस अध्ययन अन्तर्गत लिइएको कक्षामा टिभी हेर्नुको सट्टा बच्चाहरूलाई केही कुरा पढ्‌न, कागजका सामानहरू बनाउन र टिभीको अगाडि “टिभी निषेध” सङ्‌केत राख्न सिकाइयो। बच्चाहरू आफै अग्रसर भएर टिभी वा भिडियो हेर्नुको सट्टा अरू के-के गर्न सकिन्छ भनेर बताए। आमाबाबुलाई पनि बच्चाहरूलाई दिनहुँ कथाहरू पढेर सुनाउन र खाना खाने बेला टिभी बन्द गर्न प्रोत्साहन दिइयो। यस अध्ययनको दौडान परिवारहरूले दुई चोटि त एक हप्तासम्म टिभी हेर्दै हेरेनन्‌। बच्चाहरूको टिभी हेर्ने बानी छुटाउनै सकिंदैन भन्‍ने सोचाइ आमाबाबुले राख्नु ठीक होइन किनभने “टिभी नहेरी अरू कामकुरा गर्न बच्चाहरू आफै खुसीसाथ अग्रसर हुन्छन्‌” भनी प्रमुख अनुसन्धानकर्ता डा. बार्बरा डेन्‍नीसन बताउँछिन्‌। (g05 9/22)

सूर्तीजन्य पदार्थले हानि नगर्ने कुनै अङ्‌ग छ र?

“चुरोट पिउनेहरूले फोक्सो र मुटुका धमनीहरू मात्र होइन तर शरीरका सबै तन्तुहरूलाई नै हानि पुऱ्‍याइरहेका हुन्छन्‌” भनी न्यु साइन्टिस्ट रिपोर्ट गर्छ। अमेरिकाको स्वास्थ्य प्रमुख रिचर्ड एच. कारमोनाले सूर्तीजन्य पदार्थबाट हुने रोगहरूको लामो सूची नै बताए जसमा निमोनिया, ल्युकेमिया, मोतीबिन्दू, गिजासम्बन्धी रोग र मिर्गौला, पाठेघर, पेट, प्यानक्रियाजको क्यान्सर जस्ता रोगहरू पनि पर्छ। “धुम्रपानले सोचेभन्दा कता हो कता धेरै हानि गर्ने कुरा यस रिपोर्टले देखाउँछ” भनी कारमोना बताउँछन्‌। “शरीरमा जहाँ-जहाँ रगत पुग्छ चुरोटमा हुने विषाक्‍त पदार्थहरू ती सबै भागमा पुग्छन्‌।” कम निकोटिन भएको चुरोटले कम हानि गर्छ भन्‍नेहरूलाई कारमोना भन्छन्‌: “चुरोट चाहे ‘लाइट’ होस्‌ या ‘अल्ट्रा लाइट’, अहानिकारक भन्‍ने कुनै पनि छैन।” चुरोट खानेहरू, नखानेहरूको तुलनामा अक्सर १३ देखि १४ वर्ष चाँडो मर्छन्‌। “चुरोट पिउनेहरूलाई जुनसुकै उमेरमा शरीरको कुनै पनि अङ्‌गमा रोग लाग्न सक्छ” भनी कारमोनाले बताएको न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। (g05 9/22)

सुत्दा समस्या सुल्झिन्छ

“धेरैले राती जति गरे पनि नसुल्झेको समस्या बिहान उठ्‌दा सजिलै सुल्झेको पाएका छन्‌, मानौं राती दिमागले चुपचाप काम गरिरहेको हुन्छ,” भनी लण्डनको द टाइम्स पत्रिकाले बतायो। यस कुराको पुष्टि जर्मनीका वैज्ञानिकहरूले गरेका छन्‌ भनी नेचर पत्रिका लेख्छन्‌। वैज्ञानिकहरूले ६६ जनालाई एउटा हिसाब हल गर्ने दुइटा लामो तरिकाहरू सिकाए तर अर्को छोटो तरिका भने सिकाएनन्‌। तिनीहरूमध्ये कसै-कसैलाई सुत्न दिइयो भने कसैलाई सुत्न दिइएन। सोही अध्ययनबारे टिप्पणी गर्दै लण्डनको द डेली टेलिग्राफ-ले यसो भन्यो, “सुताइले त चमत्कारै गऱ्‍यो।” नसुतेकाहरू भन्दा सुतेकाहरूमा “हिसाब हल गर्ने तेस्रो तरिका पत्ता लगाउनेहरू दुई गुणा धेरै थिए।” सुतेर मात्र होइन तर अलि आराम गरेर र ताजा भए पनि हिसाब हल गर्ने तेस्रो तरिका पत्ता लगाउन सकिन्छ कि भनेर वैज्ञानिकहरूले दोस्रो परीक्षण पनि गरे। एउटा समूहलाई रातभरि सुत्न दिएर बिहान हिसाब हल गर्न दिइयो तर अर्को समूहलाई दिउँसो समेत सुत्न नदिएर बेलुकीपख हिसाब हल गर्न दिइयो। यसपटक पनि नतिजामा केही फरक आएन। यसबाट “सुतेको बेला दिमागले आफै काम गर्छ तर नसुतीकन दिमागले आराम मात्र पाएर हुँदैन” भनी पुष्टि भएको द टाइम्स उल्लेख गर्छ। “सृजनशील सिक्ने तरिका सुत्नु पनि हो” भनी अनुसन्धानकर्ता डा. अलरिक वाग्नर बताउँछन्‌। (g05 9/8)

जूवाडेहरूद्वारा आफैमाथि प्रतिबन्ध

फ्रान्सको एउटा दैनिक अखबार ले फिगारो अनुसार “फ्रान्समा अनुमानित ३,००,००० देखि ५,००,००० जूवाडेहरू छन्‌।” तर लग्गू जूवाडेहरू आफैमा कुलत त्याग्नुपर्ने चेतना बढिरहेको छ। फ्रान्सका २८,००० जूवाडेहरूले कानुनी मान्यताप्राप्त जुवाघरहरूमा आफूलाई पाँच वर्षसम्म रोक लगाउन प्रहरीहरूलाई अनुरोध गरे भनी उक्‍त अखबार बताउँछ। फ्रान्स प्रहरीअनुसार प्रत्येक वर्ष २,००० देखि ३,००० यस्ता अनुरोधहरू आउने गर्छन्‌। विगत दस वर्षमा यस्तो अनुरोध गर्नेहरूको संख्या छ गुणा बढेको छ। जूवाको दलदलमा फसिसकेका धेरै जूवाडेहरू आफ्नो कुलतलाई “धुम्रपान, मद्यपान र लागूऔषध दुर्व्यसन जस्ता जनस्वास्थ्य समस्याकै” वर्गमा राखेको चाहन्छन्‌ भनी ले फिगारो बताउँछ। (g05 9/8)

अदुवाले गर्भवास्थामा हुने वाक्‌वाकी कम गर्छ

“गर्भावस्थाको सुरु-सुरुमा हुने वाक्‌वाकीको समस्यालाई अदुवाले कम गर्छ” भनी अस्ट्रेलियन अखबार बताउँछ। साउथ अस्ट्रेलिया विश्‍वविद्यालयद्वारा गरिएको एउटा अध्ययनबाट दिनमा झन्डै एक ग्राम अदुवा खाँदा भर्खरै गर्भवती भएका स्त्रीहरूमा वाक्‌वाकीको समस्या कम हुने पत्ता लाग्यो। गर्भवास्थामा वाक्‌वाक आउँदा अदुवा खानु एउटा परम्परागत उपचार हो। तैपनि यसको प्रभावकारीताको कुनै वैज्ञानिक प्रमाण थिएन। डाक्टरहरूले गर्भवास्थामा वाक्‌वाकीको औषधीको रूपमा दिने भिटामिन B6 जत्तिकै अदुवा प्रभावकारी भएको पत्ता लागेको छ। (g05 9/8)

एक अरब बच्चाहरू समस्यामा

संयुक्‍त राष्ट्र बालकोषका अनुसार (युनिसेफ) संसारको आधाभन्दा धेरै, झण्डै एक अरब बच्चाहरू अचाक्ली अभावबाट पीडित छन्‌ भनी न्यु योर्क टाइम्स रिपोर्ट गर्छ। विगत १५ वर्षका उपलब्धिहरूलाई युद्ध, एड्‌स र गरिबीले ओझेलमा पारिदिएका छन्‌। सन्‌ १९९० देखि यता लडिएका युद्धहरूमध्ये ५५ त गृहयुद्ध नै थिए र त्यसमा झन्डै ३६ लाखले ज्यान गुमाए। ज्यान गुमाउनेहरूमा झन्डै आधा त बच्चाहरू नै थिए। यस्ता युद्धमा विद्रोहीहरूले बच्चाहरूलाई अपहरण गर्छन्‌, बलात्कार गर्छन्‌ वा सेनामा भर्ती गर्छन्‌। कुपोषणको समस्या त विकरालै छ अनि स्वास्थ्य सेवाको त नाउँसम्म पनि छैन। एड्‌सको कारण अनाथ भएका बालबालिकाहरूको संख्या सन्‌ २००३ मा १ करोड ५० लाख पुग्यो। बीस लाखभन्दा धेरै बालबालिकालाई देहव्यापारमा लगाइएका छन्‌। रिपोर्टअनुसार सेनाको लागि वर्षमा ९५६ अमेरिकी डलर (ने.रु. ६८८.३२) खर्च गरिन्छ तर गरिबी निवारणको लागि भने ४० देखि ७० अरब अमेरिकी डलर (ने.रु. २,८८० अरब देखि ने.रु. ५,०४० अरब) भए पुग्छ। (g05 9/8)

हतियार खेल सामग्रीमा परिणत

ब्राजिलका जनतासित भएको हातहतियारको संख्यामा कमी ल्याउन एउटा अभियान नै चलाइयो। हतियार बुझाउन ल्याएमा ३० देखि १०० अमेरिकी डलर (ने.रु. २,१६० देखि ७,२००) क्षतिपूर्ति दिइन्थ्यो। फोल्या अनलाइन-को रिपोर्टअनुसार सन्‌ २००४ को जुलाईदेखि डिसेम्बर भित्रमा देशभरिबाट २,००,००० भन्दा धेरै हतियारहरू संकलन गरियो। साऊ पावलो राज्यबाट संकलित हातहतियारलाई भने कुच्याएर र पगालेर खेल सामग्रीमा परिणत गरियो र सहरको पार्कमा राखियो। पार्कमा ढिकीच्याउँ, पिङ्‌ग र चिप्लेटी राखिएका छन्‌। ती सबै हतियारद्वारै बनाइएका थिए। न्याय तथा कानुन मन्त्री मार्सिऊ थोमस बासटोसले यसो भने: “शान्तिमय समाज निर्माणको लागि नै हामीले हातहतियार संकलनको अभियान चलाउनु परेको हो।” (g05 9/22)