सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

दिमागलाई बढ्‌तै भार?

कोही-कोही अनुसन्धाताहरूको भनाइमा “एकै चोटि धेरै कुरा गर्नु दिमागको लागि तनावपूर्ण हुन्छ” भनी क्यानाडाको टोरन्टो स्टार भन्‍ने अखबार रिपोर्ट गर्छ। अध्ययनहरूले देखाएअनुसार एकै चोटि धेरै काम गर्दा कार्यकुशलता कम हुने, गल्ती हुने र बिरामीसमेत हुने गर्छ। हुन सक्छ, यसले गर्दा “स्मरणशक्‍ति कमजोर हुने, ढाड दुख्ने, रुघाखोकी लाग्ने अनि पाचनक्रिया गडबड हुने र दाँत तथा गिजा पनि दुख्ने हुन सक्छ।” सं.रा. नेसनल इन्स्टिच्युट अफ हेल्थको अध्ययनले देखाएअनुसार मानिसहरूले विभिन्‍न काम गर्दा दिमागको बेग्लाबेग्लै भाग सक्रिय हुन्छ। तर तिनीहरूले एकैचोटि दुइटा वा त्योभन्दा बढी काम गर्न खोज्दा जस्तै, गाडी चलाउँदै मोबाइलमा कुरा गर्दा “वास्तवमा दिमागले काम गर्न छोड्‌छ” भनी एमरी विश्‍वविद्यालयका स्नायुविद्‌ डा.जोन स्लाड्‌की बताउँछन्‌। “दिमागले काम गर्न नसक्ने मात्र होइन तर काम गर्नै इन्कार गर्छ।” अनुसन्धाताहरूका अनुसार मानिसहरूले आफ्नो गति कम गर्नुपर्छ अनि आफूले चाहेजति सबै काम दिमागले गर्न सक्दैन भनेर स्वीकार्नुपर्छ। (g04 10/22)

उफ्रन च्याम्पियन

“कीराजगत्‌को हाई जम्पमा एउटा नयाँ च्याम्पियन भएको छ” भनी लण्डनको द टाइम्स रिपोर्ट गर्छ। यो फुच्चे फ्रगहपर वा एक किसिमको फट्याङ्‌ग्रा ७० सेन्टिमिटरको उचाइसम्म उफ्रन सक्छ। त्यसको मतलब मानिसले १८० मिटरभन्दा अग्लो गगनचुम्बी भवनबाट उफ्रे बराबर हुनेछ! इङ्‌गल्याण्डको क्याम्ब्रिज विश्‍वविद्यालयका प्राध्यापक माल्कम बरोज्‌ले तेज गतिको फोटोग्राफीबाट के पत्ता लगाए भने, फ्रगहपरको पछाडिपट्टिको खुट्टाले घुंयेत्रोजस्तो काम गर्छ र अत्यन्तै शक्‍ति निकालेर उफ्रन्छ। बरोज्‌को अनुमानअनुसार यो फ्रगहपर उफ्रँदा पृथ्वीको गुरुत्वाकर्षण शक्‍तिभन्दा ४०० गुणा बढी शक्‍तिलाई यसले प्रतिरोध गर्नुपर्छ जसको मतलब हो “अन्तरिक्षयात्रीहरू जमिनबाट छुट्‌दा महसुस गर्ने बलभन्दा १३० गुणा बढी” भनी उक्‍त अखबार बताउँछ। (g04 10/8)

धेरै युवाहरूसामु अन्धकारमय भविष्य छ

“विश्‍वको जनसंख्यामा आधीभन्दा बढी २५ वर्षभन्दा कम उमेरका छन्‌ र यो इतिहासमै सबैभन्दा ठूलो युवा जनसंख्या हो” भनी सं रा सं-को सन्‌ २००३ को लागि स्टेट अफ द वर्ल्ड पपुलेसन रिपोर्ट बताउँछ। यी जवानहरूसामु कस्ता प्रत्याशाहरू छन्‌? लण्डनको दी इन्डिपेन्डेन्ट-अनुसार “सं रा सं जनसंख्या कोषका प्रमुख डा. थोराया ओबाडअनुसार इतिहासमै सबैभन्दा ठूलो युवा जनसंख्याले एड्‌स अनि अन्य यौनजन्य रोगहरू, चाँडो विवाह र गर्भावस्था, टुक्रिएको घरपरिवार, लागूपदार्थको दुर्व्यसन, हिंसा र यौन दासत्वजस्ता कुराहरूको खतरा पहिला कहिल्यै नभएको अनुपातमा सामना गर्नुपर्छ।” उदाहरणका लागि, एच आई भी देखापरेका नयाँ बिरामीहरूमध्ये आधीजसो १५ देखि २४ वर्षबीचका छन्‌। एउटा अनुमानअनुसार किशोरकिशोरीहरूमाझ प्रति १४ सेकेण्डमा एक जनालाई एच आई भी सङ्‌क्रमण भइरहेको हुन्छ। वयस्कहरूको तुलनामा किशोरकिशोरीको गर्भावस्था र बच्चा जन्माउँदा मृत्यु हुन सक्ने खतरा दुई गुणा बढी हुन्छ। अनि भनिन्छ, प्रतिवर्ष ४० लाख जति केटाकेटीहरू यौन बेच-बिखनको सिकार भएका छन्‌। (g04 10/8)

चालीस वर्षको उमेरमा आमा बन्‍नेहरूको संख्यामा वृद्धि

पहिलो बच्चा जन्माउने इटालेली आमाहरूको औसत उमेर बढ्‌दैछ। सन्‌ १९८० मा २० वर्षीया इटालेली आमाहरूको जन्मदर कूल जनसंख्याको प्रतिहजारमा ७४.३ प्रतिशत थियो जबकी यो संख्या सन्‌ २००० मा स्वात्तै घटेर २०.७ प्रतिशत पुगेको छ। त्यही अवधिमा ४० वर्षीयाहरूको जन्मदर प्रतिहजारमा १२.२ बाट बढेर १६.१ पुगेको छ। इटालेली राष्ट्रिय तथ्याङ्‌क संगठनबाट उपलब्ध गराइएको र कोरीरा डेला सारा-बाट प्रकाशित जानकारीअनुसार पहिलो बच्चा जन्माउन अलि ढिलो गर्ने झुकाव प्रस्टै देखिन्छ। उक्‍त संगठनअनुसार बच्चा जन्माउनुअघि “मानिसहरू जागिरको सुरक्षा र जीवनमा स्थायित्वको अलावा आफ्नो स्वतन्त्रता पहिलेजस्तै रहोस्‌ भनेर पनि पर्खने गर्छन्‌। कुरा जेसुकै होस्‌, बच्चा एउटा दायित्व तथा अवरोधको रूपमा हेरिन्छ।” (g04 10/8)

अल्ट्रासाउण्डद्वारा गर्भको आवाज सुन्‍नदेखि होसियार

संयुक्‍त राज्य अमेरिकाका थुप्रै गर्भवती महिलाहरूले उच्च-प्रविधियुक्‍त अल्ट्रासाउण्ड प्रविधि प्रयोग गरेर गर्भमा भएको आफ्नो बच्चाको “स्मारिका भिडिओहरू” बनाउन थालेका छन्‌ भनी एफ डी ए कन्ज्युमर पत्रिका रिपोर्ट गर्छ। अल्ट्रासाउण्ड इमेजिङ (सोनोग्राम) प्रक्रियाअन्तर्गत आन्तरिक संरचनाहरूका हाई-फ्रिक्वेन्सी साउण्ड वेभहरूबाट कम्प्युटरमा चित्र उतारिन्छ। अनि यी चित्रहरू खिचेर स्मारिका भिडिओ वा तस्विरहरूको रूपमा उत्पादन गरिन्छ। गर्भमा भएका बच्चाहरूको चित्र बनाउने कम्पनीहरू सपिङ सेन्टर तथा व्यापार केन्द्रहरूमा छ्यासछ्यासती देखापर्न थालेका छन्‌। तथापि, डाक्टरको अफिसमा अल्ट्रासाउण्डसम्बन्धी काम गर्ने व्यक्‍तिहरूजस्तो नभई यी अल्ट्रासाउण्ड उत्पादनको काम गर्ने व्यक्‍तिहरू प्रशिक्षण र अनुमति पाएका व्यक्‍तिहरू नहुन सक्छन्‌। त्यसकारण, चिकित्सा क्षेत्रका अनुभवी व्यक्‍तिहरूले प्रयोग गर्दा भन्दा ती उपकरणहरूको अगाडि लामो समयसम्म बस्नुपर्ने वा कडा किरणको असर पर्न सक्छ। एफ डी ए कन्ज्युमर-अनुसार ‘चिकित्सा दृष्टिकोणबाट कुनै आवश्‍यकता नै नभएको अवस्थामा गर्भका बच्चाहरूको तस्विर खिच्नु खतरनाक कुरा हो।’ (g04 10/8)

एप्सम नुनले गर्भवती महिलाहरूलाई बचाउँछ

हाइड्रेटेड म्याग्नेसियम सल्फेट भएको सरल तथा सस्तो उपचार गर्दा गर्भावस्थामा हुन सक्ने घातक समस्याहरूलाई झन्डै पचास प्रतिशतले कम गर्न सकिन्छ भनी लण्डनको द टाइम्स बताउँछ। एक्लाम्पसिया अर्थात्‌ एक प्रकारको उच्च रक्‍तचापले गर्दा हुने कम्पको कारण वर्षेनी संसारभरि ५०,००० महिला र तिनीहरूको गर्भमा रहेका शिशुहरूको मृत्यु हुने गर्छ। प्री-एक्लाम्पसियाको उपचार गर्न संयुक्‍त राज्य अमेरिकामा म्याग्नेसियम सल्फेट प्रयोग गरिंदै आएको वर्षौं भइसके तापनि त्यसको उपचार नगरिएको खण्डमा एक्लाम्पसिया हुन सक्छ र यो उपचारविधि अरू मुलुकहरूमा त्यति प्रयोग भएको पाइँदैन। यसर्थ, इङ्‌ग्ल्याण्डको अक्सफर्ड इन्स्टिच्युट फर हेल्थ साइन्सेजका चिकित्सकहरूको अन्तरराष्ट्रिय टोलीले “३३ वटा मुलुकका १०,००० महिलाहरूमा यस नुन प्रयोग गर्नुका फाइदाहरू परीक्षण गर्ने निर्णय गरे” भनी द टाइम्स बताउँछ। “तीन वर्षपछि . . . यो परीक्षण अलि चाँडै रोकियो किनभने यस उपचारको प्रभावकारिता प्रस्ट भयो: प्री-एक्लाम्पसिया भएका महिलाहरूलाई म्याग्नेसियम सल्फेटको उपचार गराउँदा तिनीहरूमा कम्प हुने खतरा ५८ प्रतिशतले कम भएको पाइयो। तिनीहरूको मृत्यु हुन सक्ने खतरा ४५ प्रतिशतले कम भयो।” यो उपचारको लागि “प्रतिमहिला रू. २२० [४.५० अमेरिकी डलर] मात्र पर्छ जसले गर्दा . . . विकासोन्मुख मुलुकका महिलाहरूले पनि यसबाट लाभ उठाउन सक्छन्‌।” (g04 10/22)

किशोरकिशोरीहरूको खाना खाने बानी

“एकदमै ठूलो संख्यामा स्कूले किशोरकिशोरीहरू आफ्नो जीउडालबारे चिन्ता र फेसन मोडल तथा पप स्टारहरूको नक्कल गर्ने चाहनाले गर्दा खाना नखाने गर्छन्‌” भनी लण्डनको डेली टेलिग्राफ बताउँछ। बेलाइतका स्कूलहरूको स्वास्थ्य शिक्षा एकाइले ३,००,००० विद्यार्थीहरूसित गरेको अध्ययनबाट देखिएअनुसार १४/१५ वर्षका ४० प्रतिशतभन्दा बढी केटीहरू “बिहानको खाजा नखाई स्कूल जान्थे। सन्‌ १९८४ मा सङ्‌कलन गरिएको त्यस्तै तथ्याङ्‌कअनुसार खाना नखाई घरबाट निस्कनेहरूको संख्या झण्डै दोब्बर भएको छ।” लन्च अथवा खाना नखानेहरूको संख्या पनि सन्‌ १९८४ मा २ प्रतिशतबाट बढेर सन्‌ २००१ मा १८ प्रतिशत पुग्यो। विद्यार्थीहरूमा एनोरक्सिया नर्भोसा र ब्युलिमियाजस्ता भोजनसम्बन्धी विकार हुन सक्ने सम्भावनाले गर्दा केटीहरूको विद्यालयका प्रधानाध्यापकहरूलाई आफ्ना विद्यार्थीहरूको वजनमा निगरानी राख्न आग्रह गरिएको छ। केटाहरूले पनि भोजन नियन्त्रण गर्न चासो देखाएका छन्‌। त्यसमध्ये १२/१३ वर्षका ३१ प्रतिशत र १४/१५ वर्षका २५ प्रतिशत आफ्नो वजन घटाउन चाहन्छन्‌ र यो पुरानो तथ्याङ्‌क क्रमशः २६ र २१ प्रतिशतभन्दा बढी हो। (g04 10/22)