सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

अचम्मलाग्दो सिपी कीराले आफ्ना गोप्य कुराहरू प्रकट गर्छ

अचम्मलाग्दो सिपी कीराले आफ्ना गोप्य कुराहरू प्रकट गर्छ

अचम्मलाग्दो सिपी कीराले आफ्ना गोप्य कुराहरू प्रकट गर्छ

भ्याक्युम क्लिनरले जस्तो काम गर्ने, पानीले अलिकति पनि असर नगर्ने गुँद बनाउने अनि वैज्ञानिकहरूलाई समेत जीन मर्मतबारे सिकाउने चीज के हो? सिपी कीराको रूपमा चिनिने एउटा सानो शंख कीरा!

सिपी कीरा संसारभरि पाइन्छ। तीमध्ये कति समुद्रमा पाइन्छ भने अरूचाहिं स्वच्छ पानी हुने नदी र तालहरूमा पाइन्छ। तिनीहरूको डबल-भाल्भ भएको खोलभित्र नरम शरीर हुन्छ, जुन छालाजस्तो म्यान्टल भनिने अंगले ढाकिएको हुन्छ। सबै शंख कीराहरूको जस्तै सिपी कीराको म्यान्टलले पनि खानेकुरा र वरपरको पानीबाट सोसेको क्यालसियम र कार्बन डाइअक्साइड मिश्रणबाट खोल बनाउँछ। सिपी कीराले गरेजस्तो हामी मानिसहरूले पनि गर्ने हो भने, हामीले ढुंगाका टुक्राहरू खाएर त्यसलाई शरीरभित्र प्रशोधन गर्नुपर्ने हुन्छ अनि जसरी पूर्वतयारी निर्माण सामग्रीहरूद्वारा सजिलै भित्ता र छाना बनाउन मिल्छ त्यसै गरी हामीले पनि तिनीहरूलाई निष्कासन गर्नुपर्ने हुन्छ! तर अनुसन्धानकर्ताहरू सिपी कीराको खोलको अनुसन्धान गर्न उत्साहित भएका होइनन्‌, तिनीहरू त जलीय सिपी कीराको खुट्टाको अनुसन्धान गर्न चाहन्छन्‌।

सिपीले निकाल्ने उन्‍नत गुँद

चट्टानमा टाँसिरहेको सिपी कीरालाई निकाल्ने कोसिस गर्नुहोस्‌ अनि तपाईंले थाह पाउनुहुनेछ यसको पकड कत्तिको बलियो हुन्छ भनेर। अनि यस्तो क्षमता भोकले चूर भएका समुद्री चराहरूको तिखो चुच्चो वा समुद्रका छालहरूबाट बच्न सिपी कीरालाई नभई हुँदैन। यो कसरी यत्ति बलियो गरी टाँसेर बस्न सकेको होला? यसले आफूलाई घर बनाउन मन पर्ने ठाउँ भेट्टाएपछि जिब्रो आकारको खुट्टा खोलबाट बाहिर निकाल्छ र सतहमा ट्याप्प टाँसेर बस्छ। विशेष ग्रन्थिले प्रोटिन मिश्रित तरल पदार्थलाई खुट्टामा भएका सूक्ष्म खोपिल्टाहरूमा भर्छ। यो तरल पदार्थ एकैछिनमा दुई सेन्टिमिटर जति लामो उन्‍नत, तन्किने धागोमा परिवर्तन हुन्छ। अनि धागोको छेउमा सानो गद्दा आकारको अंगले अलिकति प्राकृतिक गुँद निकाल्छ। त्यसपछि सिपी कीराले आफ्नो खुट्टा उठाउँछ र यसरी लंगर लगाउने पहिलो प्रक्रिया पूरा हुन्छ। यी खासखास ठाउँमा भएका धागोहरू बाइसस भनिने झुप्पा बन्छ, जसले पाल बाँध्ने डोरीले जस्तै सिपी कीरालाई पनि यसको नयाँ घरमा बाँध्छ। यो पूरा प्रक्रियाको निम्ति जम्मा तीन वा चार मिनेट मात्र लाग्छ।—चित्र हेर्नुहोस्‌।

एउटा अत्यन्तै बलियो, विषरहित गुँदको कल्पना गर्नुहोस्‌, जुन जस्तोसुकै खाल्टाखुल्टी अनि खोचमा पनि टाँसिन्छ अनि पानीमुनि पर्ने सतहको प्वालहरूसमेत टाँस्न प्रयोग गर्न सकिन्छ। जहाजमा परेको प्वाल चिसोमै टाँस्न सम्भव भए जहाज निर्माताहरू कत्ति खुसी हुने थिए। सवारीसाधनका बडी बनाउने कामदारहरूले खिया नलाग्ने, पानीले नखाने रङ पाएको भए कत्ति मख्ख पर्ने थिए होलान्‌। शल्यचिकित्सकहरूले भाँचिएको हड्डी जोड्‌न र घाउ बन्द गर्न सुरक्षित टाँसिने पदार्थ पाएको भए साँच्चै मोल गर्ने थिए होलान्‌। दन्त चिकित्सकहरूले त्यसलाई कीराले खाएको दाँत भर्न र टुक्रिएको दाँत जोड्‌न प्रयोग गर्न सक्थे। सम्भाव्य प्रयोगको सूची त धेरै लामो छ।

तथापि, वैज्ञानिकहरूले अत्यन्तै उन्‍नत किसिमको गुँद उत्पादन गर्न सिपी कीरालाई नै प्रयोग गर्नेबारे भने सोचिरहेका छैनन्‌। किनकि एक ग्राम त्यस्तो गुँद बनाउन झन्डै १०,००० सिपी कीरा चाहिन्छ। त्यसैले, संसारको माग पूरा गर्न पर्याप्त सिपी कीरा जम्मा गर्न थाल्यो भने त यस कीराको अस्तित्व नै हराएर जानेछ, जसको कतिपय किसिम दुर्लभ भइसकेका छन्‌। त्यसको साटो, अमेरिकी अनुसन्धानकर्ताहरूले त्यस्तो गुँद बनाउने पाँच प्रोटिनहरूको जीन क्लोन गरेका छन्‌ र उद्योगहरूमा परीक्षण गर्न सकोस्‌ भनेर प्रयोगशालामा धेरै परिमाणमा उत्पादन गर्न लागेका छन्‌। बेलाइती वैज्ञानिकहरूले पनि त्यस गुँदको एक प्रकारको प्रोटिनबारे अनुसन्धान गरिरहेका छन्‌। तथापि, सिपी कीरा वैज्ञानिकहरूभन्दा एक कदम अगाडि छ। सिपी कीराले मात्र सहज ज्ञानले गर्दा प्रत्येक किसिमको सतहको निम्ति आवश्‍यक प्रोटिनहरूको ठ्याक्क मिश्रण गर्न जान्छ। अणु जीवविज्ञानी फ्रान्क रबर्टले तिनीहरूको क्षमताको बयान गर्दै यस्तो प्रश्‍न गरे: “हामी कहिल्यै तिनीहरूको नकल गर्न सक्दैनौं।”

भ्याक्युम क्लिनर

सिपी कीराले आफ्नो खाना चालेर खान्छ। प्रायजसो सबै प्रकारको सिपी कीराले प्रति दिन केही लिटर पानी सोस्छ र खाना तथा अक्सिजन मात्र होइन तर हानिकारक ब्याक्टेरिया र विषालु रासायनिक पदार्थजस्ता प्रदूषणकारी कुराहरूसमेत फिल्टर गर्छ। यस्तो क्षमताले गर्दा सिपी कीरा पानी स्वच्छ राख्न अत्यन्तै उपयोगी छ। पानी दूषित छ कि छैन भनेर चाँडै पत्ता लगाउन पनि यो एकदमै उपयोगी हुन्छ। उदाहरणका लागि, नर्वेको समुद्री तटको इकोफिस्क तेल खानी वरिपरि समुद्रमा थुप्रै सिपी कीरा राखिएका छन्‌। प्रत्येक केही महिनामा वैज्ञानिकहरूले पानीमा फ्याँकिएका रासायनिक पदार्थहरू कतै सामुद्रिक जीवहरूको लागि खतरनाक भएको छ कि भनी जाँच्न सिपी कीरालाई निकालेर तिनीहरूको खोलमा भएको प्रदूषणको मात्रा नाप्छन्‌। सन्‌ १९८६ देखि उत्तर अमेरिकाको तटीय पानीमा सिपी कीरा अनुसन्धान योजनाले सिपी कीरा र ओइस्टर प्रयोग गरेको छ। पानीको गुणस्तरमा केही परिवर्तन आएको छ कि छैन भनी पत्ता लगाउन अनुसन्धानकर्ताहरूले वर्षेनी सिपी कीराभित्र कत्तिको रासायनिक पदार्थहरू जम्मा भएको छ, सो परीक्षण गर्नसक्छन्‌। कस्तो उपयोगी कीरा!

स्वच्छ पानीमा पाइने जेब्रा सिपी कीरालाई अक्सर ठूलो समस्याको रूपमा लिइन्छ। खास गरी पूर्वी युरोपमा पाइने बूढी औंलाको नङ जत्रो यो सिपी कीरा, उत्तर अमेरिकामा १९८० को दशकको बीचतिर आन्द्र महासागर ओहरदोहर गर्ने जहाजले दुर्घटनावश पानी फाल्दा पुगेको थियो। ग्रेट लेक र सँगैको पानीमा यसका प्राकृतिक शत्रुहरू नभएको कारण यो तीव्र गतिमा वृद्धि भएको छ। यसले गर्दा समुद्रमुनि बिछ्याइएको पाइप जाम भएको छ भने पुल तथा डुंगाहरूको बाह्‍य भाग बिगारेको कारण लाखौं डलरको क्षति भएको छ। साथै, यसले त्यहाँ पहिलेदेखि पाइने अन्य जातका केही सिपी कीराहरू नाश गरेको छ।

तथापि, यसको राम्रो पक्ष पनि छ। जेब्रा सिपी कीराले अत्यन्तै राम्ररी खाना चालेर खाने भएकोले तालको फोहोर पानीमा तैरिरहेको लेउ खाएर तुरुन्तै सफा गरिदिन्छ। त्यसपछि पानीमुनि भएका अन्य हरिया बोटहरू फस्टाउन सक्छन्‌ र तालमा बस्ने अन्य जीवहरूको लागि त्यो घर हुन्छ। वैज्ञानिकहरूले हाल सार्वजनिक पानीको स्रोतबाट अनि फोहोर पानी प्रशोधन केन्द्रबाट हानिकारक जीवाणुहरू हटाउनसमेत सिपीको प्रयोग गर्ने विषयमा अनुसन्धान गरिरहेका छन्‌।

अन्य क्षमता

केही स्वच्छ पानीमा पाइने सिपी कीराले मोती पनि उत्पादन गर्छ भनेर के तपाईंलाई थाह छ? ती मोतीहरू कुनैकुनै त अत्यन्तै बहुमूल्य हुन्छन्‌। यदि तपाईंले मदर अफ पर्ल जडिएको गहना लगाउनुभएको छ वा मोतीको टाँक प्रयोग गर्नुभएको छ भने, ती पनि सिपी कीराबाटै बनाइएका हुनसक्छन्‌। टल्किने इन्द्रेनी रङको मदर अफ पर्ल यसको खोलको भित्री भागमा पाइन्छ र यो अक्सर कृत्रिम मोती उत्पादन गर्ने उद्योगमा प्रयोग गरिन्छ। एकदमै सानो मदर अफ पर्लको गेडा सिपी कीराको खोलबाट काटिन्छ र ओइस्टरभित्र राखिन्छ। मदर अफ पर्लले गर्दा ओइस्टरलाई अप्ठेरो हुन्छ र त्यो अप्ठ्यारोपनलाई कम गर्न ओइस्टरले मदर अफ पर्ललाई ढाक्न थाल्छ र अन्ततः मोती बन्छ।

निस्सन्देह, केही प्रकारका सिपी कीराहरू खाइन्छन्‌ पनि! शताब्दीयौंदेखि मानिसहरूले सिपी कीराबाट तयार पारिएका विभिन्‍न पोषिला परिकारहरूको मजा लिंदै आएका छन्‌। फ्रान्सिसी घरहरूमा तपाईं म्युले मारेनेर चाख्न सक्नुहुन्छ। यो सिपीलाई ह्वाइट वाइन र हरियो प्याज मिसाइएको झोलमा बफाएर तयार पारिन्छ। स्पेनीहरूचाहिं पेइला भनिने विभिन्‍न सामग्री राखेर तयार पारिएको परिकार मन पराउँछन्‌ भने बेल्जियमका मानिसहरूले चाहिं तारेको आलुसँगै ताततातो बफाएको सिपी खान मन पराउँछन्‌। कुनैकुनै युरोपेली देशहरूमा परिवारहरूद्वारा सञ्चालन गरिएका सानातिना व्यापारहरू अझै भए तापनि सिपी कीराको पालनले संसारभरि नै ठूलो व्यापारको रूप लिएको छ। चेताउनीका दुई शब्द: तपाईं पनि यी स्वादिष्ट परिकारहरू बनाउन चाहनुहुन्छ भने, भरपर्दो ठाउँबाट मात्र सिपी कीराहरू लिनुहोस्‌। पानी प्रदूषित छैन भनेर पूर्णतया पक्का हुनुहुन्छ भने मात्र हो नत्र कहिल्यै आफै समुद्र किनारबाट आफ्नो लागि सिपी कीरा नल्याउनुहोस्‌।

सिपी कीराका अन्य कतिवटा गोप्य कुराहरू होलान्‌ कसलाई के थाह? आखिर यिनीहरूमध्ये कुनैकुनै त सय वर्षभन्दा पनि बढी बाँच्छ भनी अनुमान गरिएको छ! सिपी कीराको सानो मुटु हुन्छ र यसले शुद्ध रगत पम्प गर्छ तर यसको मस्तिष्कचाहिं हुँदैन। त्यसोभए, यी माथि वर्णन गरिएका सबै अचम्मका कुराहरू सिपी कीराले कसरी गर्छ? बाइबलले यस्तो जवाफ दिन्छ: “तपाईंहरूलाई सिकाइदिन घस्रने जन्तुहरूलाई र तपाईंहरूलाई शिक्षा दिन समुद्रका माछाहरूलाई अह्राउनुहोस्‌। परमप्रभुको आफ्नै हातले यी सबै गर्नुभएको हो भनी यी सबैबाट कसले सिक्नसक्‍तैन?”—अय्यूब १२:८, ९. (g01 9/22)

[पृष्ठ २४-मा भएको पेटी/चित्र]

जीन मर्मत गर्ने

समुद्रको सबैभन्दा गहिरो भागमा पाइने सिपी कीरा पृथ्वीको सबैभन्दा प्रतिकूल ठाउँहरूमध्ये एक अर्थात्‌ मध्य आन्द्र महासागरको पींधको ढिस्कोमा बस्छ। त्यहाँ तातो पानीले अत्यन्तै विषालु रासायनिक पदार्थहरू ल्याउँछ, जसले यसको जैविक बनौटमा क्षति पुऱ्‍याइरहन्छ। यद्यपि, विशेष इन्जाइमद्वारा यसले पनि आफ्नो डि एन ए मर्मत गरिरहन्छ। वैज्ञानिकहरूले मानिसहरूको रोग वा बुढेसकालले क्षति पुऱ्‍याएको डि एन ए मर्मत गर्ने आशामा ती इन्जाइमहरू अनुसन्धान गरिरहेका छन्‌।

[पृष्ठ २३-मा भएको रेखाचित्र/चित्र]

(ढाँचा मिलाएर राखिएको शब्दको लागि प्रकाशन हेर्नुहोस्‌)

थुप्रै सिपी कीराले टाँसिन प्रयोग गर्ने तरिका

खुट्टा

स्टेम

बाइसल धागोहरू

धागो

प्लेक

[पृष्ठ २२-मा भएको चित्र]

सिपी कीराले असाध्यै राम्ररी पानी सफा गर्छ

[स्रोत]

Ontario Ministry of Natural Resources/Michigan Sea Grant

[पृष्ठ २३-मा भएको चित्र]

एसियाली हरियो सिपी कीरा

नीलो सिपी कीरा

जेब्रा सिपी कीरा

क्यालिफोर्निया सिपी कीरा

भिलोसा आइरिस सिपी कीरा

(सिपी कीराहरू चित्रमा देखाइए जत्रो हुँदैनन्‌)

[स्रोत]

Asian green: Courtesy of Mote Marine Laboratory; zebra: S. van Mechelen/University of Amsterdam/Michigan Sea Grant; villosa iris mussel and bottom left: © M. C. Barnhart

[पृष्ठ २४-मा भएको चित्र]

पेइला, अक्सर सिपी कीरा र अन्य विभिन्‍न सामग्री राखेर बनाइने स्पेनी परिकार