सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

संक्रमणको फैलावट

लण्डनको द गार्जियन अखबार यस्तो लेख्छन्‌, “धारा खोल्ने वा टेलिफोन उठाउने जस्ता सामान्य क्रियाकलापबाट पनि संक्रामक रोगहरू एक अर्कालाई सर्नसक्छन्‌। अमेरिकाको टक्सन, एरिजोना विश्‍वविद्यालयका वैज्ञानिकहरूले दिएको रिपोर्टअनुसार रुघाले ग्रस्त भएको व्यक्‍तिले हाच्छिय्यूँ गरेर धारा खोल्दा मात्र पनि उसले “धाराको ह्‍याण्डलमा १,००० भन्दा धेरै भाइरसहरू छोड्‌नसक्छ।” यो धारा छोएर आफ्नो मुख, नाक वा आँखा छोएमा यी जीवाणुहरूले रोग सार्नसक्छ। ब्याक्टेरिया तथा ब्याक्टेरियासम्बन्धी परीक्षणले देखाएअनुसार “टेलिफोनको रिसिभर उठाउँदा ३९% ब्याक्टेरिया अनि ६६% भाइरस सर्छ भने धाराबाट क्रमशः २८% र ३४% सम्म फैलने गर्छ।” संक्रमित औंलाहरूले तल्लो ओठलाई छुँदा एक तिहाइ रोगजन्य कीटाणुहरू फैलिन्छन्‌। रोटाभाइरसबाट सर्ने रोगहरू र सालमोनेला नामक कीटाणुबाट हुने झाडापखाला, हात नधोएको खण्डमा सजिलै सर्नसक्छन्‌। (g01 5/8)

आफ्नो दिमागलाई प्रयोग गर्नुहोस्‌

भानकुभर सन अखबार यस्तो रिपोर्ट दिन्छ, “हामीले दिमागको अभ्यास गरुञ्जेल जीवनभरि नै यसको कार्यक्षमता जस्ताको त्यस्तै रहिरहन्छ। संयुक्‍त राज्य, ओहायोस्थित केस वेस्टर्न रिजर्भ युनिभर्सिटी मेडिकल स्कूलमा कार्यरत डा. अमिर सोएस यसो भन्छन्‌, “पढ्‌नुहोस्‌, पढ्‌नुहोस्‌, पढ्‌नुहोस्‌।” तपाईं आफ्नो दिमागलाई जवानीमा जस्तो थियो त्यस्तै राख्न चाहनुहुन्छ भने, मानसिक रूपले चुनौतीपूर्ण सोखहरू रोज्नुहोस्‌ जस्तै, नयाँ भाषा सिक्ने, बाजा बजाउन सिक्ने वा उत्प्रेरणादायी कुराकानी गर्नुहोस्‌। डा. सोएस भन्छन्‌, “जे होस्‌, दिमागलाई सोच्न उत्प्रेरित गर्ने काम गर्नुहोस्‌।” उनले टिभी हेर्न कम गर्ने प्रोत्साहन पनि दिए। उनी भन्छन्‌, “टिभी हेर्दा तपाईंको दिमाग सुस्त हुन्छ।” सन पत्रिकाको भनाइअनुसार स्वस्थ दिमागको लागि स्वस्थ धमनीद्वारा पम्प गरिएको अक्सिजनको आवश्‍यकता पर्छ। तसर्थ, व्यायाम अनि सन्तुलित आहारले मधुमेह वा मुटुसम्बन्धी रोगहरूबाट बचाउन मदत दिनुका साथसाथै दिमागलाई पनि मदत गर्छ। (g01 5/22)

सुत्नु आवश्‍यकता हो

दक्षिण अफ्रिकी अखबार द नेटल विटनेस यसो भन्छ, “कम्तीमा पनि एक तिहाइ दक्षिण अफ्रिकीहरू निद्राको कमी वा निद्राको गडबडिले गर्दा आधा स्पिड [आफ्नो क्षमताको आधा भाग मात्र] उपयोग गर्न सकिरहेका छन्‌।” निद्रा विशेषज्ञ, डा. जेम्स मासका अनुसार निद्राले स्नायुरेसाहरूलाई सक्रिय राख्न मदत गर्छ। त्यसकारण, तेज स्मरणशक्‍ति, सृजनशीलता, समस्या सुल्झाउने र सिक्ने क्षमताको लागि पर्याप्त निद्रा आवश्‍यक छ। अपर्याप्त निद्राले खिन्‍नता, रिसाहापन, व्याकुलता, उदासी, सामाजिक दक्षतामा कमी, कुनै कुरामा ध्यान दिन र सम्झन नसक्ने, कुराकानीमा कमी र कुनै पनि निर्णय गर्ने क्षमतामा ह्रास, सोचविचारै नगरी जोखिम उठाउन तैयार हुने अनि जीवनको गुणस्तर तथा उत्पादनशीलतामा कमी आउने हुन्छ। पाँच घण्टा वा त्योभन्दा कम सुत्ने मानिसहरूले भाइरस विरुद्ध लड्‌ने क्षमतालाई पनि कम गरिरहेका हुन्छन्‌। मास भन्छन्‌, “पूर्ण क्षमताले काम गर्ने हो भने, हामीले जीवनको एक तिहाइ भाग अर्थात्‌ औसतन रातमा आठ घण्टा सुतेर बिताउनै पर्छ। (g01 5/8)

सलह आतंकको समाधान

लण्डनबाट प्रकाशित हुने द डेली टेलिग्राफ अखबार यस्तो रिपोर्ट दिन्छ, “चीनमा २५ वर्षभित्रको सबैभन्दा ठूलो सलह आतंक विरुद्ध लड्‌न ७,००,००० तालिम प्राप्त हाँस तथा कुखुराहरूलाई परिचालन गरिएको छ। सन्‌ २००० को गृष्मऋतुमा एक बथान सलहले देशको उत्तरी र पूर्वीय भागको ४१ लाख एकड जमिनका अन्‍नबाली तथा सुदूर पश्‍चिमको जिङजियाङ क्षेत्रको ९६ लाख एकड कृषियोग्य जमिनलाई सखाप पारे। यी हाँस र कुखुराहरूलाई सिटीको आवाज सुन्‍ने बित्तिकै कीराहरू खोजेर खाने तालिम दिइएको छ। हाँस र कुखुराहरूलाई तालिम दिने र प्रयोग गर्ने, जिङजियाङस्थित सलह तथा मुसा नियन्त्रण कार्यालयका नायब प्रबन्धक जाउ सिनचुन यसो भन्छन्‌, “हाँस र कुखुराहरूलाई सलह खान मनपर्छ भनेर कृषकहरूलाई थाह थियो। त्यसैले, हामीले केही परीक्षणहरू गऱ्‍यौं [र] त्यसबाट पत्ता लगाएअनुसार कुखुराले भन्दा हाँसले धेरै [अर्थात्‌ दिनमा ४०० वटा सलह] खान सक्छन्‌। अनि तिनीहरू खराब मौसममा पनि टिक्न सक्छन्‌ र तिनीहरूलाई गिद्ध वा अन्य सानातिना मांसाहारी जनावरहरूले पनि खाँदैनन्‌। . . . हामी तिनीहरूलाई कृषियोग्य चरनमा छोड्‌छौं, सिटी बजाउँछौं र तिनीहरूले सलह खान थाल्छन्‌। बिमानबाट कीटनाशक औषधी छर्ने र सलहहरूलाई मार्न जीवाणुहरूको प्रयोग गरिने कार्यक्रममा यी पक्षीहरूलाई पनि समावेश गरिएका छन्‌। (g01 5/8)

जाडो महिना—मित्र कि शत्रु?

जर्मनीमा प्रकाशित हुने स्वास्थ्यसम्बन्धी पर्चा अपोटेकेन उम्साउ-ले दिएको रिपोर्टअनुसार जाडो र चिसो मौसम तपाईंको स्वास्थ्यको लागि हानिकारकै हुन्छ भन्‍ने छैन। बरु, चिकित्सासम्बन्धी मौसमविद्‌ डा. एनजेला सूको भनाइअनुसार जाडो महिनामा नियमित तालिकाअनुसार हिंड्‌नाले तपाईंको मुटु र रक्‍त सञ्चार ठीक अवस्थामा राख्न मदत गर्छ र सम्पूर्ण शरीरलाई नै बलियो बनाउँछ। तातो कोठामा मात्र बसिरहँदा तापक्रममा आउने परिवर्तनअनुसार चल्नसक्ने क्षमतामा कमी आउनसक्छ। यसले गर्दा तुरुन्तै संक्रामक रोगले समात्ने, थाक्ने र टाउको दुख्ने सम्भावना बढ्‌छ। तर “प्रतिकूल” मौसममा नियमित व्यायाम गरेर शरीरलाई बलियो बनाएको छ भने शरीरलाई चिसोले त्यति असर गर्न सक्‍तैन र चिसो सहने शक्‍तिलाई पनि बढाउँछ। (g01 5/8)

खाजा खान पनि फुर्सद नहुनेहरू

लण्डनको फाइनानसिएल टाइम्स यस्तो रिपोर्ट दिन्छ, “कामलाई प्राथमिकता दिने कामलग्गू बेलाइतीहरू केवल नालायकहरूले मात्र काम रोकेर खाजा खान्छन्‌ भन्ठान्छन्‌। त्यसैले, तिनीहरू काम गर्दा गर्दै स्याण्डविच खान्छन्‌।” हालसालैको अनुसन्धानले देखाएअनुसार बेलाइतीहरूको औसत “खाजा खाने समय” जम्मा ३६ मिनेट मात्र भएको छ। चिकित्सा विशेषज्ञहरूअनुसार दिउँसोको खाजा खाने समयले तनाउलाई कम गर्छ। केही हाकिमहरूले खाजा खाने समयमा मिटिङ आयोजना गर्ने गर्छन्‌। यसले गर्दा पनि कर्मचारीहरूले खाजा खाने समयनै पाउँदैनन्‌। उक्‍त रिपोर्टहरू संकलन गरेका डेटामोनिटर नाउँ गरेको एक अनुसन्धान केन्द्रले यसो भन्यो: “मानिसहरू यस्तो समाजमा जेलिएका छन्‌ जसले कर्मचारीहरूबाट धेरैभन्दा धेरै उत्पादनशीलताको माग गर्छन्‌ र समयलाई एक महँगो वस्तुको रूपमा लिन्छन्‌। धेरैको लागि खाजा खाने समय केवल शक्‍तिप्राप्त गर्नको लागि केही खानेकुरा कोच्ने समय भएको छ।” डेटामोनिटरका तथ्यांक विश्‍लेषक सेरा नुनी अझै थप्छिन्‌: “हामी अन्तरराष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्दैछौं। त्यसैले, अब ‘यो काम पछि गर्छु’ भन्‍नै मिल्दैन। काम त अहिल्यै सिध्याउनुपर्छ।” (g01 5/22)

बेलाइतमा धर्म परिवर्तन

द सन्डे टेलिग्राफ-ले दिएको रिपोर्टअनुसार बेलाइतमा हरेक हप्ता करिब १,००० बेलाइतीहरूले धर्म परिवर्तन गरिरहेका छन्‌। यो पहिलेपहिलेको तुलनामा निकै बढी हो। एंगलिकनहरू रोमन क्याथोलिक र रोमन क्याथोलिकहरू एंगलिकन, यहूदीहरू बौद्ध धर्मावलम्बी भइरहेका छन्‌ भने मुसलमानहरू एंगलिकन अनि रोमन क्याथोलिकहरू यहूदी भइरहेका छन्‌। सबैभन्दा बढी संख्यामा मानिसहरू इस्लाम, बौद्ध, न्यु एज मुभमेन्ट्‌स र गैरमसीही धर्म अपनाउँदैछन्‌। बेलाइतस्थित डर्बी विश्‍वविद्यालयका प्राध्यापक अकमेद एन्ड्रुज यसो भन्छन्‌, “यस देशमा ५,००० देखि १०,००० गोराहरू मुसलमान भएका छन्‌ र त्यसमध्ये मैले चिनेको धेरैजसो पहिले क्याथोलिक थिए।” उनी आफैले पनि धर्म परिवर्तन गरेका छन्‌। यहूदीहरूमध्ये १० देखि ३० प्रतिशतले धर्म परिवर्तन गरेर बौद्ध धर्म मानिरहेका छन्‌। चर्च अफ इंग्ल्याण्डले महिलाहरूलाई पनि पादरी बनाउने निर्णय गरेपछि क्याथोलिक धर्म अपनाउने एंगलिकनहरूको संख्या बढ्‌न थाल्यो। रब्बी, जोनाथन रोमेनको भनाइअनुसार, “मानिसहरूले आध्यात्मिक खोक्रोपन महसुस गर्ने हुँदा अरू धर्महरूमा चासो राख्न थाल्छन्‌।” (g01 5/22)

जीवनशैली र क्यान्सर

लण्डनबाट प्रकाशित हुने पत्रिका द गार्जियन यस्तो रिपोर्ट दिन्छ, “करिब ९०,००० जुम्ल्याहामाथि गरिएको अध्ययनअनुसार क्यान्सर लाग्ने वा नलाग्ने कुरा तपाईं को हुनुहुन्छ भन्‍ने प्रश्‍नमा होइन तर तपाईं कहाँ हुनुहुन्छ, तपाईं के गर्नुहुन्छ र तपाईंको जीवनमा के हुन्छ, त्यसमा निर्भर हुन्छ।” स्विडेनस्थित क्यारोलिन्सका इन्सटिच्युटका प्राध्यापक पल लिक्टेनस्टिनले यस अध्ययनमा संलग्न अनुसन्धान टोलीको नेतृत्व लिएका थिए। उनी यसो भन्छन्‌, “क्यान्सर लाग्ने वा नलाग्ने भन्‍ने सन्दर्भमा जीनभन्दा पनि वातावरणीय कारण प्रमुख हुन्छ।” करिब ३५ प्रतिशत क्यान्सर धूम्रपानले गर्दा लाग्छ भने ३० प्रतिशत खानपिनसम्बन्धी समस्याले गर्दा लाग्ने गर्छन्‌ भनी वैज्ञानिकहरू बताउँछन्‌। जीनको कारणले लाग्नसक्ने क्यान्सरहरू प्रोस्टेट ग्रन्थि, ठूलो आन्द्रा, मलद्वार तथा स्तन क्यान्सर हुन्‌। तर बेलाइत, अक्सफोर्डस्थित इम्पेरियल क्यान्सर रिसर्च फन्डमा कार्यरत डा. टिम की यस्तो सल्लाह दिन्छन्‌: “तपाईंको . . . परिवारमा [क्यान्सरको] रोगी भए तापनि तपाईं आफ्नो जीवनमा के गर्नुहुन्छ त्यो एकदमै महत्त्वपूर्ण हुन्छ। धूम्रपान गर्नु हुँदैन र आफ्नो खानपिनमा होस पुऱ्‍याउनुपर्छ। यसले क्यान्सरको सम्भावनालाई कम गर्छ।” (g01 5/22)