सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

पीडादेखि एनेस्थेसिया सम्म

पीडादेखि एनेस्थेसिया सम्म

पीडादेखि एनेस्थेसिया सम्म

सन्‌ १८४० अघिसम्म बिरामीहरू अपरेशन गर्ने कोठामा चिन्तित हुँदै होइन, त्राही त्राही हुँदै पस्थे! किन? किनभने, त्यतिखेर एनेस्थेसिया वा बेहोस पार्ने वा पीडा कम गर्ने तरिकाको विकास भइसकेको थिएन। आफ्नो पुस्तक वि ह्‍याभ कन्कर्ड पेन-मा डेनिस फर्दिन यसो भन्छन्‌: “शल्यचिकित्सकहरू दुवै हातमा ह्विस्कीको बोतल लिएर अपरेशन गर्ने कोठामा पस्थे—एउटा बिरामीको लागि त अर्को बिरामीको चित्कारलाई सहनसक्न आफ्नो लागि।”

बिरामीलाई पिलाउने वा “मत्ताउने”!

शल्यक्रियाको पीडालाई कम गर्न डाक्टरहरू, दाँतका डाक्टरहरू र बिरामीहरूले सब थोक प्रयोग गरेर हेरे। चिनियाँ तथा भारतीय डाक्टरहरू भाँङ तथा गाँजा प्रयोग गर्थे। विश्‍वका थुप्रै ठाउँमा चरेस र रक्सी पनि प्रशस्तै प्रयोग गरिन्थे। “एनेस्थेसिया” शब्द प्रयोग गर्ने पहिलो व्यक्‍तिको रूपमा परिचित पुरातन युनानी चिकित्सक डिओस्कोर्डेजले दूधे-फल र दाखरस मिसाएर पीडा कम गर्ने झोल तयार पारे। पछि केही डाक्टरहरूले मोहनिद्रामा पनि पारेर हेरे।

यद्यपि, पीडा कम गर्ने यी तरिकाहरू सन्तोषप्रद थिएनन्‌। अतः शल्यचिकित्सक तथा दन्तचिकित्सकहरू सकेसम्म छिटो छिटो आफ्नो काम सिध्याउँथे। भनौं भने, तिनीहरूको काम गर्ने रफ्तारमा तिनीहरूको दर्जा तोकिएको हुन्थ्यो। तर सबैभन्दा छिटो काम सिध्याउँदा पनि अचाक्ली पीडा भोग्नुपर्थ्यो। फलतः मानिसहरू शल्यक्रियाको पीडा वा दाँत उखेल्दाको पीडा भोग्नुभन्दा ट्युमरदेखि मुखभरि कीराले खाएका दाँतहरू राख्ने जस्ता हर प्रकारका रोगबिमार सहन थाले।

गुलियो भिट्रियोल र लाफिङ ग्याँस

सन्‌ १२७५ मा स्पेनी चिकित्सक रेमण्ड लूलसले रासायनिक पदार्थहरूद्वारा वाष्पीय, प्रज्वलनशील तरल बनाएर तिनलाई गुलियो भिट्रियोल नामाकरण गरे। सोह्रौं शताब्दीमा स्वीटजरल्याण्डमा जन्मेका पारासेल्सल भनेर चिनिने चिकित्सकले कुखुराहरूलाई गुलियो भिट्रियोल सुँघाउँदा ती कुखुराहरू निदाएका मात्र होइनन्‌, तिनीहरूलाई पीडा पनि महसुस नभएको याद गरे। तर तिनी अघिका लूलसले जस्तै तिनले पनि मानिसमाथि यसको प्रयोग गरेनन्‌। सन्‌ १७३० मा जर्मन रसायनविद्‌ फ्रोबेनीयूसले यस तरल पदार्थलाई इथर नामाकरण गरे जुन अहिलेसम्म प्रचलनमा रहेको छ र युनानमा यसको अर्थ “स्वर्गीय” हुन्छ। तर मानिसहरूले ११२ वर्षपछि मात्र इथरको पीडा कम गर्ने शक्‍तिलाई पूर्णतया बुझ्ने थिए।

त्यसैबीच १७७२ मा अंग्रेज वैज्ञानिक जोसेफ प्रिस्टलीले नाइट्रोस अक्साइड ग्याँस पत्ता लगाए। सुरुमा मानिसहरूले यो ग्याँसको सानो परिमाण पनि घातक हुन्छ भन्ठानेका थिए। तथापि, १७९९ मा बेलाइती रसायनशास्त्री तथा आविष्कार हम्फ्री डेभीले आफैमाथि यो प्रयोग गरेर हेर्ने निर्णय गरे। नाइट्रोस अक्साइडले तिनलाई हँसाएको कारण तिनी छक्कै परे र तिनले यसको नाउँ लाफिङ ग्याँस राखे। डेभीले नाइट्रोस अक्साइडमा भएको बेहोस पार्ने सम्भावित गुणबारे लेखे तर त्यसबेला कसैले पनि त्यसबारे थप जानकारी लिन चाहेनन्‌।

इथर तथा लाफिङ ग्याँसका समूहहरू

केही समय अस्थायी रूपले डेभीलाई लाफिङ ग्याँसको लत बस्यो र त्यसले गर्दा उत्पन्‍न तिनको विचित्रको व्यवहार सारा जगत्‌ले थाह पायो। चाँडै, रमाइलो गर्न यो ग्याँस सुँघ्ने प्रचलन व्यापक भयो। घुमन्ते रंगमञ्चका कलाकारहरूको कार्यक्रममा राजीखुसीले दर्शकहरू मञ्चमा आउँथे र तिनीहरूलाई पालैसित नाइट्रोस अक्साइड सुँघाउनेसमेत गरिन्थ्यो। यो ग्याँसले गर्दा मानिसहरूको हिचकिचाहट हट्‌थ्यो र नाइट्रोस अक्साइड सुँघ्ने व्यक्‍तिहरूको विचित्रको व्यवहार देखेर दर्शकहरू पेट मिचीमिचीकन हाँस्थे।

त्यसैबेलातिर मनोरञ्जनका लागि इथरको पनि व्यापक प्रयोग हुन थालेको थियो। तथापि, एकदिन युवा अमेरिकी चिकित्सक क्रफोर्ड डब्लु. लङले इथरको प्रभावमा लरखराउँदै हिंडेका आफ्ना साथीहरूलाई चोटपटक लाग्दा पनि नदुखेको याद गरे। शल्यचिकित्सामा यसलाई प्रयोग गर्नसकिने सम्भावनाबारे तिनले तुरुन्तै विचार गरे। ‘के खोज्छस्‌ काना? आँखा’ भनेझैं “इथर समूह”-को एक जना सहभागी विद्यार्थी, जेम्स भेन्बलले आफ्नो शरीरमा पलाएका दुइटा स-साना मासुका डल्ला हटाउन चाहेका रहेछन्‌। तर शल्यक्रिया गर्दाको पीडाको डरले गर्दा भेन्बलले शल्यक्रिया नगरीकनै बसिरहेका थिए। अतः लङले तिनलाई इथर सुँघाएर शल्यक्रिया गर्ने प्रस्ताव राखे। भेन्बलले माने र मार्च ३०, १८४२ मा तिनको पीडारहित शल्यक्रिया सम्पन्‍न भयो। तथापि, लङले आफ्नो यो खोज १८४९ सम्म सार्वजनिक गरेनन्‌।

दन्त चिकित्सकहरूले पनि एनेस्थेसिया पत्ता लगाउँछन्‌

डिसेम्बर १८४४ मा सं.रा.-का होरेस वेल्स नाउँ गरेका दन्त चिकित्सकले एक पटक घुमन्ते कलाकारहरूको कार्यक्रम हेर्न गएको बेला त्यहाँ एक जना खास कलाकार, गाड्‌र्नर कोल्टनले नाइट्रोस अक्साइडको प्रदर्शन गरिरहेका थिए। वेल्स उक्‍त ग्याँस सुँघ्न राजी भए तर अर्को सहभागीको कडा बेन्चमा खुट्टा ठोकिएर रगत बग्दा पनि उसलाई केही पनि नभएको याद गर्नसक्नेजति चेतनाचाहिं तिनमा बाँकी नै थियो। त्यसै रात वेल्सले सुरुमा आफैमाथि नाइट्रोस अक्साइड प्रयोग गर्ने निर्णय गरे। उनले कोल्टनसित यो ग्याँस मगाए र आफूलाई दुःख दिइरहेको बुद्धिबंगरा उखेलिदिन सँगी दन्तचिकित्सक जोन रीग्सलाई अह्राए। दाँत सफलतासाथ उखेल्न सकियो।

वेल्सले आफ्ना मित्रहरूमाझ यो खोज प्रदर्शन गरेर सार्वजनिक गर्ने निर्णय गरे। तथापि, साह्रै हडबडाएकाले उनले पर्याप्त मात्रामा ग्याँस सुँघाएनन्‌। त्यसैले दाँत उखेल्दा बिरामी बेस्सरी चिच्च्याए। वेल्सका दर्शकहरूले तुरुन्तै उनको उपहास गरे। तर तिनीहरूले एक पटक बिरामीलाई पनि सोध्नुपर्थ्यो। किनकि उक्‍त बिरामीले त्यसरी चिच्च्याए तापनि पछि आफूलाई अलिकता मात्र दुखेको कुरा वेल्ससमक्ष स्वीकारेका थिए।

सेप्टेम्बर ३०, १८४६ मा सँगी अमेरिकी दन्तचिकित्सक विलियम मोर्टनले, लङले १८४२ मा प्रयोग गरेकै तत्त्व, इथर प्रयोग गर्दै एक जना बिरामीको दाँत नदुखाईकन उखेलिदिए। मोर्टनले त्यतिखेरका प्रख्यात रसायनविद्‌ चार्ल्स थोमस ज्याकसनको मदत लिएर यो इथर तयार पारेका थिए। लङले आफ्नो प्रदर्शन सार्वजनिक गरेनन्‌ तर मोर्टनले शल्यक्रिया भइरहेको बिरामीमा इथरको प्रयोग गरेर पीडा कम गर्ने गुण सार्वजनिक गर्ने प्रबन्ध मिलाए। अक्टोबर १६, १८४६, बस्टन, मासाचुसेट्‌समा मोर्टनले आफ्नो बिरामीलाई औषधी दिएर लटठ्याए। त्यसपछि, शल्यचिकित्सक, डा. वारेनले शल्यक्रिया गरे अर्थात्‌ बिरामीको बंगरामुनि पलाएको डल्लो निकाले। यो शल्यक्रियाको सफलता स्मरणीय रह्‍यो। यो कुरा संयुक्‍त राज्य तथा युरोपभरि डढेलोसरि फैलियो।

थप खोजहरू

यी रोमाञ्चकारी खोजहरूको परिणामस्वरूप थुप्रै ग्याँस परीक्षण गर्ने क्रम जारी रह्‍यो। सन्‌ १८३१ मा क्लोरोफोम पत्ता लाग्यो र १८४७ मा सफलतासाथ यसको प्रयोग गरियो। कतै कतै यो औषधी मानिसहरूले तुरुन्तै रुचाइहाले। अप्रिल १८५३ मा बेलाइतकी महारानी भिक्टोरियालगायत केही समयमै बच्चा जन्माउने बेला आइमाईहरूलाई समेत क्लोरोफोम दिन थालियो।

दुःखको कुरा, जनरल एनेस्थेसियाको इतिहासमा दाग लाग्यो। एनेस्थेसियाको (तर एनेस्थेसियामा चलाइने तत्त्वहरूका लागि होइन) खोजको श्रेय लङ, वेल्स, मोर्टन वा मोर्टनलाई सधाउने प्रख्यात रसायनविद्‌ ज्याकसन, कसलाई दिने भन्‍ने विषयमा चर्को बहस भयो। एकमतमा कहिल्यै आउन नसके तापनि शान्तसित घटनाको प्रकृतिलाई विचार गरेपछि यी चारै पुरुषहरूको योगदानलाई थुप्रैले स्वीकारे।

त्यतिञ्जेल, अक्सर रिजनल एनेस्थेसियाको नाउँले चिनिने लोकल एनेस्थेसियाको क्षेत्रमा निकै प्रगति भइसकेको थियो। एनेस्थेटिक्सले बिरामीहरू होसमा छँदै तिनीहरूको शरीरको कुनै भागमा मात्र एनेस्थेसिया दिन वा त्यो भागलाई मात्र लाटो बनाउन थालिसकेको थियो। आजकाल दन्तचिकित्सकहरू दाँत र गिजाको उपचार गर्नुपर्दा अनि शल्यचिकित्सकहरू साधारण शल्यक्रिया गर्नुपर्दा र दुर्घटनामा चोटपटक लाग्दा प्रायः लोकल एनेस्थेसिया प्रयोग गर्छन्‌। एनेस्थेटिक्सले सुत्केरी हुन लागेका आइमाईहरूलाई लोकल एनेस्थेसिया दिनु साधारण कुरा भइसक्यो।

समयको क्रममा चिकित्साजगत्‌मा एनेस्थेसियोलोजीले एउटा छुट्टै पहिचान बनाएको छ। एनेस्थेसिया आधुनिक डाक्टरहरू शल्यक्रिया गर्नुअघि बिरामीलाई तयार पार्ने काममा सहभागी हुन्छन्‌। उनीहरू अत्याधुनिक उपकरणहरू प्रयोग गर्दै बिरामीलाई अक्सिजनलगायत रासायनिक तत्त्वहरू मिसिएका जटिल एनेस्थेसिया दिन्छन्‌। वास्तवमा, बिरामीलाई नसाबाट सुई दिएर पहिल्यै बेहोस पारिसक्ने हुँदा, त्यसपछि दिइने एनेस्थेसिया ग्याँसबारे थुप्रै बिरामीलाई थाहै नहुनसक्छ। शल्यक्रियापछि पीडा भयो भने के कसो गर्ने त्यो पनि एनेस्थेटिक्सले नै सम्हाल्छन्‌।

त्यसकारण, कुनै दिन तपाईंको शल्यक्रिया गर्नुपर्ने भयो भने एकदमै चिन्तित नहुनुहोस्‌। लगभग दुई शताब्दीअघि शल्यक्रिया गर्ने साधारण टेबुलमा पल्टिएको कल्पना गर्नुहोस्‌। ढोका खुल्छ र तपाईंको शल्यक्रिया गर्ने डाक्टर हातमा दुई बोतल ह्विस्की लिएर भित्र पस्छन्‌। हो, अब भने तपाईंलाई एनेस्थेटिक्सले प्रयोग गर्ने अत्याधुनिक उपकरणहरूदेखि डर लागेन, हैन त?

[पृष्ठ २२-मा भएको पेटी]

अकुपंचर—पूर्वबाट आएको पीडामुक्‍त गर्ने उपहार

अकुपंचर पीडामुक्‍त गर्ने पुरातन चिनियाँ उपचारविधि हो। यस्तो उपचार गर्नेहरूले अक्सर उपचार गर्नुपर्ने अंगप्रत्यंगभन्दा टाढा विशेष ठाउँहरूमा सुई रोप्छन्‌। सुई रोपिसकेपछि ती सुईहरूलाई कम भोल्टको करेन्ट पठाएर झमझम पारिन्छ वा करेन्ट लगाइन्छ। इन्साइक्लोपीडिया ब्रिटानिका-ले अकुपंचर “चीनमा शल्यक्रिया गर्दा एनेस्थेटिकको रूपमा नियमित तवरले प्रयोग गरिन्छ” भनेर बताउँछ। “सम्पूर्ण होसहवासमा रहेका चिनियाँ बिरामीहरूलाई अकुपंचरको प्रयोगद्वारा मात्र लोकल एनेस्थेसिया दिएर गम्भीर (तथा अक्सर पीडादायी हुने) शल्यक्रियाहरू पनि गरिएको पश्‍चिमी आगन्तुकहरूले देखेका छन्‌।”

अकुपंचर गरिदिने व्यक्‍तिहरू दक्ष अनि औषधोपचारमा तालिम प्राप्तहरू हुनुपर्छ। इन्साइक्लोपीडिया अमेरिकाना-अनुसार “अकुपंचर गर्दा मुटु वा फोक्सो छेडिएको, संक्रमण भएको जस्ता गम्भीर दुर्घटना हुनुका साथै संक्रमणरहित नगरिएका सुईहरूको प्रयोगले गर्दा पनि समस्याहरू उत्पन्‍न भएका छन्‌।” हो, शल्यक्रिया गर्नु भनेकै पनि खतरामुक्‍त नभएझैं एनेस्थेसिया दिन जुनसुकै प्रक्रिया अपनाइए तापनि जनरल एनेस्थेसियाका पनि समस्याहरू छन्‌।

[पृष्ठ २२-मा भएको चित्र]

चिकित्साजगत्‌मा एनेस्थेसियोलोजीको एउटा छुट्टै पहिचान छ

[स्रोत]

Courtesy of Departments of Anesthesia and Bloodless Medicine and Surgery, Bridgeport Hospital - CT

[पृष्ठ १९-मा भएको चित्रको स्रोत]

Pages 2 and 21: Reproduced from Medicine and the Artist (Ars Medica) by permission of the Philadelphia Museum of Art/Carl Zigrosser/ Dover Publications, Inc.