सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वदर्शन

विश्‍वको सबैभन्दा धेरै सुर्ती सेवन गर्नेहरू

चीन “विश्‍वको सबैभन्दा धेरै सुर्ती उत्पादन र खपत गर्ने देश हो” भनेर द जर्नल अफ दी अमेरिकन मेडिकल एसोसिएशन रिपोर्ट गर्छ। “चीनको कुल १ अरब २० करोड जनसंख्यामध्ये ३० करोड लोग्ने मानिसहरू र २ करोडभन्दा बढी आइमाईहरूले धूम्रपान गर्छन्‌।” बेइजिंगस्थित चाइनिज एकेडेमि अफ प्रिभेन्टीभ मेडिसिन र चाइनिज एसोसिएशन अन स्मोकिंग एण्ड हेल्थका डाक्टरहरूलगायत पश्‍चिमेली डाक्टरहरूले राष्ट्रव्यापी सर्वेक्षणमा भाग लिने १,२०,००० मानिसहरूभन्दा बढीको परिणाम प्रकाशित गरेको छ। तिनीहरूको निष्कर्ष? चीन अहिले “सुर्तीको महामारीमा फस्ने अवस्थामा पुगेको छ” र “अहिले जीवित ५ करोड सुर्ती सेवन गर्नेहरू पनि अकालमै मर्ने आशा गरिएको छ।” सन्‌ १९८४ देखि चुरोट पिउन सुरु गर्ने उमेर पनि करिब तीन वर्ष घटेर २८ बाट २५ वर्ष भएको छ। थुप्रैलाई धूम्रपानले फोक्सोको क्यान्सर र हृदयरोग निम्त्याउँछ भन्‍ने कुरा नै थाह छैन।

जब आमाबाबुले हेरचाह गर्छन्‌

टोरोन्टो स्टार-ले उल्लेख गरेअनुसार “एक जना बच्चाको सफलताको रहस्य आमाबाबुले उसको शिक्षाप्रति चासो राख्नु र त्यसलाई प्रकट गर्नु हो भनेर अहिले वैज्ञानिकहरू भन्दैछन्‌।” स्टाटिस्टिक्स क्यानाडा र ह्‍युमन रिसोर्सेस डेभलपमेन्ट क्यानाडाले १९९४ सालदेखि ४ देखि ११ वर्ष पुगेका २३,००० क्यानेडियाली बच्चाहरूको विकास र स्वास्थ्यको संयुक्‍त अध्ययन गर्दै आएका छन्‌। स्पष्टतः प्रायजसो क्यानेडियाली आमाबाबुहरू आफ्ना बालबच्चाहरूको विशेष गरी प्रारम्भिक शिक्षामा सक्रियतासाथ चासो लिन्छन्‌। उक्‍त रिपोर्टले “स्कूलमा राम्रो गर्न सधैं वा प्रायजसो आमाबाबुले प्रोत्साहन दिन्छन्‌ भनेर १० देखि ११ वर्षका ९५ प्रतिशत बच्चाहरूले” बताएको र “कक्षा १ देखि ३ सम्म हुँदा ८७ प्रतिशत आमाबाबुले हरेक दिन आफ्ना छोराछोरीहरूसँगै बसेर पढ्‌ने गरेको” उल्लेख गर्छ। टोरोन्टो डिस्ट्रिक्ट स्कूल बोर्डका लागि संचालित बालबच्चा हुर्काउने कार्यक्रमको प्रबन्धक मेरी गोर्डन भन्छिन्‌: “असल आमाबाबु हुन धनी अथवा शिक्षित हुनैपर्छ भन्‍ने छैन तर तपाईं अग्रसर, सजग र जिज्ञासु हुनुपर्छ भन्‍नेकुरा हामीले थाह पायौं।” तिनी अझ भन्छिन्‌: “बच्चाहरूसँगको सुमधुर सम्बन्धले तिनीहरूको दिमागको विकास गर्छ र यो घरमा मात्रै हुन्छ।”

किशोरकिशोरी र टेलिफोन

किशोरकिशोरीहरू फोनमा धेरैबेर कुराकानी गर्नमा नामुद छन्‌। “तिनीहरू मनोरञ्जनका लागि वा पट्टाइ लाग्दा फोनको अगाडि जान्छन्‌” भनी पोलिस साप्ताहिक चियाचुका उल्लेख गर्छ। तथापि, थुप्रैले फोनमा कतिबेर कुरा गऱ्‍यो र कति खर्च भयो भनेर वास्ता नगर्नसक्छ। त्यसको समाधान के हो? उक्‍त पत्रिकाले किशोरकिशोरीहरूलाई पनि फोन बिलको कम्तीमा पनि केही रकम तिराउने सुझाउ दिन्छ।”

सिकारी गोब्रे कीरा

“तेज गतिमा चल्ने फोटोग्राफहरूले गर्दा वैज्ञानिकहरूलाई गोब्रे कीरा अचूक निसानाबाज र कीराजगतकै प्रभावशाली हातहतियारधारी हुनुको कारणबारे अन्तरदृष्टि प्राप्त गर्न मदत गरेको छ” भनी लण्डनको इन्डिपेन्डेन्ट अखबार रिपोर्ट गर्छ। आफ्नो भुँडीमा भएको दुइटा ढालजस्ता डिफ्लेक्टरहरू चलाउँदै गोब्रे कीराहरूले सम्भाव्य शत्रुहरूलाई ताकेर तातो एसिड प्रहार गरी केही सेकेन्डमै ढाल्नसक्छ। यस तरल पदार्थले गोब्रे कीरालाई केही हानि नगर्ने हुनाले आफूलाई झुम्मिएर आक्रमण गर्ने स-साना कीराहरू जस्तै, कमिलाको हूलबाट बच्न पनि आफ्नै शरीरमा यो तरल पदार्थ फ्याँकेर आफ्नो सुरक्षा गर्नसक्छ। गोब्रे कीराको फोटो खिच्ने न्यु योर्क इथाकास्थित कर्नेल विश्‍वविद्यालयका वैज्ञानिकहरू यस्तो टिप्पणी गर्छन्‌: “विध्वंसक गोब्रे कीराहरूले आफ्नो भुँडीमा रहेको टुप्पोलाई घुमाएर हान्‍नसक्छ भन्‍ने कुरा थाह भए तापनि कति अचूक प्रहार गर्नसक्छन्‌ भनेर चाहिं हाल आएर मात्र थाह भएको छ।”

भान्सा कोठामा रिसको झोंक

“उच्च प्रविधिका घरायसी सामग्रीहरूको बढ्‌दो जटिलताले गर्दा भान्साकोठामा रिसको झोंक अर्थात्‌ ‘किचेन रेज’ प्रकट हुन थालेको छ” भनी लण्डनको इन्डिपेन्डेन्ट अखबार रिपोर्ट गर्छ। चिढिएका घरधनीहरूले “माइक्रोवेभमा एक कप सुप पकाउन, वाशिंग मशिनमा दुई जोर मोजा धुन अथवा ब्लेन्डर-कम-मिक्सचरलाई चलाउनसमेत घण्टौं निर्देशन पुस्तिका नपढी नहुने पाएका छन्‌।” मनोवैज्ञानिकहरू आधुनिक सरसामानका निर्माताहरू एउटै साधनमा थुप्रै सुविधा गाभ्छन्‌ भन्‍ने बताउँदै अति जटिल साधनको उदाहरण दिनुपर्दा भिडियो प्लेयरलाई औंल्याउँछन्‌। म्यानचेस्टर विश्‍वविद्यालयका मनोविज्ञानका प्राध्यापक केरी कुपर यसो भन्छन्‌: “मानिसहरू आफूले काम गर्ने ठाउँमा नयाँ प्रविधिका सरसामानहरू देखेर वाक्क भइसकेको हुँदा घरमा फर्कंदा तिनीहरू आफ्नो कामलाई बिर्साउने सरल जीवन बिताउन चाहन्छन्‌।”

काँचो टुसाको खतरा

खानेकुराले गर्दा हुने बिमारीमा वृद्धि हुन थालेपछि संयुक्‍त राज्यको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले उपभोक्‍ताहरूलाई खानाबाट हुने बिमारीबाट बच्न काँचो टुसा नखाने सल्लाह दिएको कुरा एफ डि ए कन्ज्युमर पत्रिका रिपोर्ट गर्छ। थुप्रै मानिस काँचो बनमेथी अथवा सिमीका टुसाहरू खान रुचाउँछन्‌। तथापि, यो नै थुप्रै देशमा ब्याक्टेरियाको संक्रमण बढाउने कारणहरू हुन्‌ भनेर द न्यु योर्क टाइम्स उल्लेख गर्छ। स-साना केटाकेटीहरू, वृद्धहरू र कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनेहरू विशेष गरी खतरामा छन्‌। अनुसन्धानकर्ताहरूले यी टुसाहरूलाई क्लोरिन अथवा तरल मिश्रणहरूमा राख्नुलगायत थुप्रै तरिकामा ब्याक्टेरियाको नियन्त्रण गर्न खोजे तर तिनीहरूमध्ये कुनै पनि प्रभावशाली भएनन्‌। “टुसाको ओसिलो र न्यानो तापक्रमले गर्दा ती जीवाणुहरूले फस्टाउने राम्रो वातावरण पाउँछन्‌” भनी तिनीहरूले वर्णन गरेको कुरा टाइम्स पत्रिका उल्लेख गर्छ।

लण्डनको भाषा

बेलाइतको लण्डनका स्कूलहरूमा पढ्‌ने विद्यार्थीहरू कम्तीमा पनि ३०७ भाषा बोल्ने गर्छन्‌ भनी त्यस शहरको द टाइम्स समाचारपत्र उल्लेख गर्छ। लण्डनमा हाल बोलिने भाषाहरूको प्रथम सर्वेक्षणका प्रारम्भक डा. फिलिप बेकर तिनीहरूको विभिन्‍नता देखेर छक्क परे। तिनले यसो भने: “लण्डन, विश्‍वमै अझ भनौं भने न्यु योर्कमाभन्दा पनि धेरै भाषा बोलिने शहर हो भनेर हामी निश्‍चित भएका छौं।” यो ३०७ संख्यामा अझ सयौं प्रान्तीय भाषाहरूलाई जोडेका छैनौं र यो संख्या अझ कम हुनसक्छ। यस शहरको तीन भागको दुई भाग ८,५०,००० विद्यार्थीहरू मात्र आफ्नो घरमा अंग्रेजी बोल्छन्‌। विदेशी भाषा बोल्ने धेरै समुदाय भारतीय उपद्वीपका हुन्‌। यहाँ कम्तीमा पनि १०० वटा अफ्रिकी भाषा बोलिन्छ। एउटा स्कूलमा मात्र विद्यार्थीहरू ५८ भाषा बोल्छन्‌।

दादको संक्रमण!

खुट्टाका औंलाहरूको कापकाप र पैतालामा एकदम दुख्ने दादको संक्रमण जर्मनीमा एकदमै बढ्‌न थालेको कुरा डर स्पिगल समाचारपत्रिकाले रिपोर्ट गरेको छ। जर्मनीमा ५ मध्ये एक जना यसबाट पीडित छन्‌ भने अरू केही युरोपेली मुलुकहरूमा योभन्दा पनि धेरै संक्रमन भएको पाइन्छ। संक्रमित हुने सम्भावना प्रायजसो मानिसहरू खाली खुट्टा हिंड्‌ने ठाउँ जस्तै, साउना, स्विमिङ पुल अथवा अन्य धार्मिक स्थलहरूमा बढी हुन्छ। दादका कोषहरू निकै शक्‍तिशाली हुने भएकाले स्प्रे गरेर अथवा बाटामा रसायनहरू राखेर केही सेकेन्डमात्र खुट्टा डुबाउँदा संक्रमण रोकिंदैन बरु झनै फैलिन्छ। त्यसोभए, तपाईं आफ्नो खुट्टा कसरी जोगाउन सक्नुहुन्छ? दाद विशेषज्ञ डा. हंस युर्गन टीट्‌स अरू मानिसहरू हिंड्‌ने ठाउँमा चप्पल लगाउने सुझाउ दिन्छन्‌। महत्त्वपूर्ण कुरा तपाईंको खुट्टा सुक्खा राख्नु हो। विशेष गरी औंलाहरूको बीचमा राम्ररी पुछेर दाद रहन र बढ्‌नबाट रोक्न सकिन्छ।

समुद्री पानीबाट नुन निकाल्ने

दक्षिण अस्ट्रेलियाको समुद्र किनारस्थित सानो टापुमा समुद्रको पानी, पिउने पानीको रूपमा परिवर्तन गर्न नुन छुट्याउने केन्द्रमा पठाइन्छ भनी दी अस्ट्रेलियन नामक अखबार रिपोर्ट गर्छ। तथापि, नुन छुट्याउने काम नयाँ होइन, “तैपनि यो प्रविधिलाई नयाँ जस्तै गरी लिइएको छ किनभने यसमा कुनै रसायनको प्रयोग हुँदैन” भनी रिपोर्ट उल्लेख गर्छ। कंगारु टापुको पेनश समुदायका ४०० सदस्यहरूका लागि पानी पुऱ्‍याउन, “महासागरबाट पानी तानेर झिल्लिहरूबीच उच्च दबाउका साथ पठाएर नुन छुट्याइन्छ। बाँकी रहेको एकदमै गाढा घोल अथवा खारा पानीलाई सुरक्षितसाथ समुद्रमै पठाइन सकिन्छ।” यो नयाँ प्रविधिलाई व्यापक तवरमा प्रयोग गरिने धेरै सम्भावना भए तापनि महँगो छ तैपनि पानीको शुद्धिकरण गर्ने हाल प्रचलित विधिभन्दा यो कम खर्चिलो छ भनी दी अस्ट्रेलियन बताउँछ।

“उहाँ मिटिङमा हुनुहुन्छ”

ठूल ठूला कम्पनीमा काम गर्ने प्रशासकहरूका १४८ सचिवहरूबीच गरिएको सर्वेक्षणमा ४७ प्रतिशतले आफ्ना हाकिमहरूले अरूलाई कहिलेकाहीं गलत जानकारी दिन लगाउने गरेको कुरा बताएको द वाल स्ट्रीट जर्नल रिपोर्ट गर्छ। एक जना सचिव, टेक्सासको मार्केटिंग असिस्टेन्टले आफ्नो जागिर ३० वर्षसम्म जोगाउन हाकिम अफिसमा एक्लै हुँदा पनि फोन गर्नेहरूलाई हाकिम “मिटिङमा हुनुहुन्छ” भनेर जवाफ दिनुपरेको कुरा बताउँछिन्‌। केही झूटा कुराहरू जस्तै, एक जना पत्नीलाई तिनको पति कहाँ छन्‌ थाह छैन भन्‍नु विध्वंसकारी हुनसक्छ। एक जना सचिवले फोन गर्ने मान्छेलाई साँचो बोलेर म्याद नाघेको चेक पठाइएको छैन भन्‍ने जानकारी दिंदा तिनको जागिरै खोसियो।