विश्वदर्शन
विश्वदर्शन
केटाकेटीलाई कति पानी चाहिन्छ?
अक्सर एकदेखि चार वर्षबीचका केटाकेटीहरूले एकदमै कम पानी पिउँछन्। यो जर्मनीको ड्रोटमन्डस्थित रिसर्च इन्सटिच्युट फर चाइल्ड न्युट्रिसनले गरेको अध्ययनमा प्रकाश पारिएको थियो र उपभोक्ता पत्रिका टेस्ट-मा रिपोर्ट गरियो। विशेष गरी, एकदेखि चार वर्षबीचका बच्चाहरू विजलन हुने खतरा धेरै हुन्छ र तिनीहरूले खानामा पाइने पानीको अलावा प्रति दिन एक लिटर पानी पिउनुपर्छ। सरदर तिनीहरूले यो मात्राभन्दा एक तिहाइ मात्र पानी पिउँछन् र कहिलेकाहीं त तिनीहरूले मन लागेर पनि पानी पिउन पाइरहेका हुँदैनन्। अनुसन्धानकर्ताहरूले पत्ता लगाएअनुसार ५ जनामा १ जनाले पानी पिउन खोज्दा पनि आमाबाबुले नदिएको पाइयो। सर्वोत्तम पेय पदार्थ के हो? सुरक्षित भएसम्म स्वच्छ पानी नै सर्वोत्तम हो भनेर टेस्ट उल्लेख गर्छ।
सामाजिक गतिविधिमा सक्रिय हुनेहरूको आयु लामो हुनसक्छ
हाभर्ड विश्वविद्यालयमा गरिएको एउटा नयाँ अध्ययनअनुसार सामाजिक गतिविधिहरू जस्तै चर्च, रेष्टुराँ जाने, खेलकुद खेल्ने तथा चलचित्रहरू हेर्न जाने वृद्ध व्यक्तिहरू सामाजिक गतिविधिमा कम भाग लिनेहरूभन्दा लगभग साढे दुई वर्ष बढी बाँच्छन्। यस अध्ययनका संयोजक हाभर्ड विश्वविद्यालयका थोमस ग्लासअनुसार पहिले पहिले आयु लामो हुनुको कारण त्यस्ता गतिविधिको शारीरिक पक्ष हो भन्ठानिन्थ्यो। तथापि, यस अध्ययनबाट “जीवनको अन्तिम वर्षहरूमा अर्थपूर्ण उद्देश्य हुँदा आयु लामो हुन्छ भनेर जोडदार प्रमाण प्रस्तुत हुन्छ।” जस्तोसुकै गतिविधि भए तापनि सक्रिय भएर भाग लिंदा आयु लम्बिन्छ भनी ग्लासले टिप्पणी गरे।
आराम गर्ने पहिलो छनौट
हालै एउटा अध्ययनमा ३० विभिन्न देशका १,००० जना व्यक्तिहरूलाई तनाउ कम गर्न वा तनाउमुक्त हुन तिनीहरू के गर्न रुचाउँछन् भनेर प्रश्न सोधिएको थियो। विश्वभरि अन्तरवार्ता लिइएकाहरूमध्ये ५६ प्रतिशतको पहिलो छनौट संगीत थियो भनेर रोइटर्स समाचार रिपोर्ट गर्छ। उत्तर अमेरिकामा ६४ प्रतिशतको पहिलो छनौट संगीत थियो भने एसियाका विकसित देशहरूको यो संख्या ४६ प्रतिशत थियो। समष्टिगत रूपमा हेर्दा टिभी हेर्ने वा नुहाउने दोस्रो स्थानमा पऱ्यो। “अहिले संगीतको मूल्य तथा रेडियो, टिभी, सिडी प्लेयर, इन्टरनेट र अन्य थुप्रै च्यानलहरूबाट सजिलै प्राप्त गर्न सकिने तथ्यलाई विचार गर्दा संसारको आधाभन्दा बढी जनसंख्याले आराम गर्न संगीत रोज्नु कुनै छक्कलाग्दो कुरा होइन” भनी रोपर स्टार्च वर्ल्डवाइडका अध्ययन निर्देशक टम मिलर बताउँछन्।
गरिबी—एक विश्वव्यापी समस्या
विश्व बैंकका अध्यक्ष जेम्स डि. वुल्फेन्सनले हालै विश्वमा व्याप्त गरिबीबारे चिन्ता व्यक्त गरे। विश्वको छ अरब जनसंख्यामध्ये एक तिहाइ अझै गरिबीको रेखामुनि छ भनेर वुल्फेन्सनले टिप्पणी गरेको कुरा मेक्सिको शहरको लाँ होर्नाडा अखबारले बतायो। संसारको आधी जनसंख्याको आम्दानी प्रति दिन दुई डलरभन्दा कम छ भने एक अरब जनसंख्याको आम्दानी एक डलरभन्दा पनि कम भएको तिनले बताए। विश्व बैंकले गरिबी विरुद्ध सफलता हासिल गरेकोमा खुसी प्रकट गरे तापनि वुल्फेन्सनले समस्या समाधान भएको छैन, अझै व्याप्त छ भन्ने तथ्यांकहरू प्रस्तुत गर्छन्। तिनले भने: “गरिबी विश्वकै समस्या हो भनेर हामीले बुझ्नुपर्छ।”
सधैं समयको अभाव
युरोपमा समय नै नपुगेको महसुस गर्ने मानिसहरूको संख्या बढ्दैछ भनेर जर्मन अखबार गाइजनर आलजेमाइन रिपोर्ट गर्छ। मानिसहरू घर बाहिर वा घरमै काम गरिरहेको वा आराम गरिरहेकै किन नहोस्, कुरा एउटै हो। “चालीस वर्षअघिको तुलनामा मानिसहरू कम सुत्छन्, चाँडचाँडो खान्छन् र काममा
अझ बढी धपेटी महसुस गर्छन्” भनी ब्यामबर्ग विश्वविद्यालयका समाजशास्त्री मानफ्रेड गारहामर भन्छन्। तिनले अध्ययन गरेका सबै युरोपेली राष्ट्रहरूमा दैनिक जीवनको चाप अत्यन्तै बढेको पाए। शक्तिको बचत हुने घरायसी उपकरणहरू र थोरै घण्टा मात्र काम गरे तापनि “आरामदायी समाज” वा “प्रशस्त समय” पाउन सकिएको छैन। त्यसको सट्टा खाना खाने समय लगभग २० मिनेटले र राती सुत्ने समय ४० मिनेटले घटेको छ।तनाउ कम गर्ने
के तपाईं तनाउ महसुस गर्नुहुन्छ? एल युनिभर्सल-मा रिपोर्ट गरिएअनुसार मेक्सिकन इन्सटिच्युट अफ सोसियल सेक्योरिटीले तनाउ कम गर्न निम्न सुझाउहरू दिन्छन्। तपाईंको शरीरले माग गरेजति अर्थात् छदेखि दस घण्टा सुत्नुहोस्। बिहान सन्तुलित तथा पूर्ण भोजन खानुहोस्, दिउँसोको खाना ठिक्क र बेलुकी हल्का खानुहोस्। साथै विशेषज्ञहरू चिल्लो पदार्थ तथा नुन कम गर्नुका साथै ४० वर्ष नाघेपछि दूध र चिनीको मात्रा पनि कम गर्ने सुझाउ दिन्छन्। मनन गर्न समय निकाल्ने कोसिस गर्नुहोस्। यसबाहेक, प्रकृतिको आनन्द लिएर पनि तनाउ कम गर्नुहोस्।
चलाख चराहरू!
“कलकत्ताका भंगेराहरूलाई औलोले छुन सकेन” भनी फ्रान्सिसी प्रकृतिसम्बन्धी पत्रिका टेर सोंभान्ज बताउँछ। औलोको वृद्धिको कारण भंगेराहरू औलो प्रतिरोधक शक्ति अर्थात् क्वीनीन भएको रूखको पातको खोजीमा एकदमै टाढ-टाढा जाँदैछन्। यो क्वीनीन औलोको औषधी हो। तिनीहरू आफ्नो गुँडको बाहिरी भाग त्यस पातले बनाउनुका साथै त्यही पात खान्छन् पनि। “शहर मन पराउने र औलोदेखि डराउने भंगेराहरूले आफू बच्ने तरिका पत्ता लगाएजस्तो छ” भनी उक्त पत्रिका बताउँछ।
“परमेश्वर कसको पक्षमा हुनुहुन्छ?”
खेलकुद पत्रकार साम स्मिथ लेख्छन्: “मेरो उद्देश्य कसैको विश्वासलाई होच्याउने होइन तर के खेलजगत्मा सार्वजनिक रूपमा भक्ति देखाउने चलन अलि अचाक्ली भएन र? किन रग्बी खेलाडीहरूले आफ्नो टोलीको अंक बढाएपछि प्रार्थना गर्ने गर्छन्?” खेल सिद्धिएपछि प्रार्थना गर्न गुजमुज्ज पर्ने खेलाडीहरू लुगा फेर्ने कोठामा “पत्रकारहरूलाई सरापिरहेका” वा खेलको निर्णायक घडीमा “अर्को खेलाडीलाई चोट पुऱ्याउन खोजिरहेको” पनि देखिन्छ भनी स्मिथ भन्छन्। परमेश्वरले कुनै एउटा पक्षलाई साथ दिनुहुन्छ भन्ने धारणाले “परमेश्वरमाथिको विश्वास हल्का पारिरहेको जस्तो देखिन्छ” भनी तिनी भन्छन्। अतः लेखको अन्तमा तिनी यसो भन्छन्: “खेलकुदलाई धर्मकर्म गर्ने साधन नबनाऔं।”
बामे सर्ने बच्चाहरू र टिभी
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स्ले दुई वर्षमुनिका बच्चाहरूलाई टिभी नदेखाउने सुझाउ दिएको द टोरोन्टो स्टार रिपोर्ट गर्छ। शिशुहरूको मस्तिष्क विकासबारे गरिएको अनुसन्धानले साना बच्चाहरूको आमाबाबु तथा सुसारेहरूसित प्रत्यक्ष सम्पर्क भइरहनुपर्छ भनी देखायो। टिभीले “बच्चाहरूको सामाजिक, भावनात्मक तथा सजगता विकास गर्ने सीपमा” बाधा पुऱ्याउँछ। तथापि, सबै विशेषज्ञहरू यस कुरामा सहमत छैनन्। उदाहरणका लागि, क्यानेडियाली पेडियाट्रिक्स सोसाइटीअनुसार आमाबाबुको सुपरिवेक्षणमा राम्रा कार्यक्रमहरू दिनमा ३० मिनेट जति हेरेको खण्डमा बच्चाले “आमाबाबुबाट धेरै कुरा सिक्ने मौका पाउँछन्।” तथापि, दुवै संगठन एउटा कुरामा भने सहमत छन्। त्यो हो, बच्चाहरूको कोठामै टेलिभिजन वा कम्प्युटर राख्नु हुँदैन र टिभीलाई बच्चा कुरुवाको काम गर्न दिनु हुँदैन। टिभी हेर्दा बच्चाको स्वास्थ्यमा नराम्रो असर पर्नसक्ने भएकोले बच्चाहरूलाई “बाहिर खेल्न, किताब पढ्न वा दिमाग लडाउनुपर्ने खेलौनाहरू खेल्न प्रोत्साहित गर्नुपर्छ।”