नेपाली
जोसेटा गार्सिया: असाध्यै गर्मी ठाउँमा मैले झन्डै ५० वर्ष प्रचार गरेँ
https://cms-imgp.jw-cdn.org/img/p/502400127/univ/art/502400127_univ_sqr_xl.jpg
lfs लेख २७

जोसेटा गार्सिया | जीवनी

असाध्यै गर्मी ठाउँमा मैले झन्डै ५० वर्ष प्रचार गरेँ

असाध्यै गर्मी ठाउँमा मैले झन्डै ५० वर्ष प्रचार गरेँ

म फ्रान्सबाट अफ्रिकाको माली जान प्लेन चढेँ। यसअघि म कहिल्यै प्लेन चढेकी थिइनँ। माली भन्‍ने देश फ्रान्सभन्दा दुई गुना ठूलो थियो र त्यहाँ दस जना जति यहोवाका साक्षी थिए। म एक्लै यात्रा गर्दै थिएँ। मैले किन माली जाने निर्णय गरेँ? आउनुहोस्‌, तपाईँहरूलाई बताउँछु।

 म १६ वर्षकी छँदा मेरो मनमा धर्मसम्बन्धी प्रश्‍नहरू आइरहन्थ्यो। एक दिन मैले हाम्रो चर्चको पास्टरलाई यस्तो प्रश्‍न सोधेँ, “क्याथोलिक र प्रोटेस्टेन्टहरूले कुमारी मरियमबारे किन फरक-फरक कुरा सिकाउँछन्‌?” उहाँले मलाई त्यसको जवाफ पाउन बाइबल पढ्‌नुपर्छ भन्‍नुभयो। त्यसपछि मैले बाइबल पढ्‌ने निर्णय गरेँ।

 त्यसको केही समयपछि दुई जना दिदीहरू बाइबलसम्बन्धी किताबहरू लिएर हाम्रो घरमा आउनुभयो। मेरो ममीले चासो छैन भनेर उहाँहरूलाई फर्काइदिनुभयो। तर मलाई चासो छ भनेर ममीलाई भनेँ। त्यसैले उहाँले दिदीहरूलाई बोलाउनुभयो र हामीले किताबहरू लियौँ।

 उहाँहरू यहोवाको साक्षी हुनुहुँदो रहेछ। उहाँहरू ममीलाई भेट्‌न आइरहनुहुन्थ्यो। ममीले उहाँहरूसित अध्ययन गर्न थाल्नुभयो। उहाँले १९६२ मा बप्तिस्मा गर्नुभयो र यहोवाको साक्षी बन्‍नुभयो। हजुरआमाले पनि अध्ययन गर्न थाल्नुभयो र १९६४ मा बप्तिस्मा गर्नुभयो। तर म भने अध्ययन गर्नदेखि पन्छिरहेकी थिएँ। किनभने हामी बस्ने ठाउँ मियोका मान्छेहरू यहोवाका साक्षीहरूलाई पटक्कै मन पराउँदैनथे।

मानिसहरूलाई व्यावहारिक र भावनात्मक मदत दिन चाहन्थेँ

 म १५ वर्ष जति पुगेपछि डाक्टरहरू र नर्सहरूबारे अनि अस्पतालमा के-के हुन्छ भन्‍नेबारे निकै चासो लाग्न थाल्यो। त्यसैले म त्यससम्बन्धी किताबहरू पढ्‌थेँ। त्यस्ता किताबहरू पढ्‌दै जाँदा मलाई स्वास्थ्य क्षेत्रमा काम गर्न मन लाग्यो। म मानिसहरूलाई मदत गर्न चाहन्थेँ र त्यसो गर्ने सबैभन्दा राम्रो तरिका नर्सिङ पेसा हो जस्तो लाग्यो। त्यसैले मैले नर्सिङलाई नै आफ्नो करिअर बनाउने निर्णय गरेँ।

मैले तालिम लिएको नर्सिङ कलेजमा

 स्कुलको पढाइ सकेपछि म नर्सिङ कलेजमा भर्ना भएँ। कलेज पेरिसमा भएकोले म त्यहीँ सरेँ। पहिलो वर्ष मैले बिरामीहरूको कसरी हेरचाह गर्ने भनेर सिकेँ। तर कोही-कोही बिरामीलाई लामो समयसम्म हेरचाह गर्नुपर्ने हुन्छ। त्यस्ता बिरामीहरूलाई कसरी भावनात्मक र व्यावहारिक मदत गर्ने भनेर मैले दोस्रो र तेस्रो वर्षमा सिकेँ।

 नर्सिङ कोर्स सकिएपछि मैले साढे पाँच वर्षसम्म गरेको काम भनेको डिस्चार्ज हुन लागेका बिरामीहरूलाई मदत गर्नु थियो। डिस्चार्ज भइसकेपछि पनि फलोअप गर्न म तिनीहरूको घरमै जान्थेँ। बिरामीहरूलाई यसरी मदत गर्न पाउँदा मलाई खुसी लाग्थ्यो। मैले साँच्चै राम्रो काम गरिरहेको छु जस्तो लाग्थ्यो।

 म पेरिस सरेको धेरै समय भएकै थिएन, एक जना यहोवाको साक्षी मेरो घरमा आउनुभएको थियो। तर म त्यतिबेला घरमा थिइनँ। त्यसैले उहाँले सानो नोट छोडेर जानुभएको रहेछ। उहाँले मलाई यहोवाका साक्षीहरूको सभामा आउन निम्तो दिनुभएको थियो। त्यसपछि म सभामा गएँ। मलाई सबै जनाले न्यानो स्वागत गर्नुभयो। मेरो घरमा नोट छोड्‌नुभएको दिदीलाई पनि मैले भेटेँ। मैले उहाँसँगै बाइबल अध्ययन गरेँ। म बाइबलको कुरा बुझ्न चाहन्थेँ। अहिले म घरबाट टाढा नयाँ ठाउँमा थिएँ। त्यसैले साक्षीहरूसित अध्ययन गऱ्‍यो भने अरूले के भन्ला भन्‍ने चिन्ता पनि थिएन।

 बाइबलबाट सिकेका कुराले मेरो मन छोयो। येसुले यहोवालाई एक मात्र साँचो परमेश्‍वरको रूपमा स्विकार्नुभएको छ भनेर सिकेँ। त्यसैले हामीले मरियमको उपासना गर्नु हुँदैन बरु यहोवाको मात्र उपासना गर्नुपर्छ भनेर बुझेँ। (मत्ति ४:१०; युहन्‍ना १७:३) यहोवाले नै मलाई उहाँ र उहाँको छोरा येसु ख्रिष्टतर्फ खिच्नुभएको हो भनेर मैले महसुस गरेँ। त्यसपछि मलाई सत्य यही हो भनेर छर्लङ्‌गै भयो। तर अझै पनि थुप्रै मानिसहरूले सत्य बुझेका छैनन्‌। (युहन्‍ना ६:४४) यहोवाको “उपासना गर्नेहरूले पवित्र शक्‍तिको निर्देशनमा अनि सत्यबमोजिम उहाँको उपासना गर्नुपर्छ” भनेर मैले बुझेँ। (युहन्‍ना ४:२४) त्यसपछि मैले यहोवाले चाहनुभएको तरिकामा उहाँको उपासना गर्ने निर्णय गरेँ। मैले १९६५ मा बेल्जियममा भएको अन्तरराष्ट्रिय अधिवेशनमा बप्तिस्मा गरेँ।

मानिसहरूलाई आध्यात्मिक मदत दिन थालेँ

 आफूले सत्य पाएकोमा म एकदमै खुसी थिएँ र अरूले पनि सत्य थाह पाऊन्‌ भन्‍ने चाहन्थेँ। मेरो कामको कन्ट्रयाक्ट सकिएपछि मैले मानिसहरूलाई सत्य कुरा सिकाउन अझ धेरै समय बिताउन चाहन्थेँ। त्यसैले मैले सहायक अग्रगामीको रूपमा सेवा गरेँ। त्यसपछि अप्रिल १, १९७४ मा म विशेष अग्रगामीको रूपमा नियुक्‍त भएँ।

 त्यसको केही समयपछि मेरो मिल्ने साथी र तिनको श्रीमान्‌ माली जानुभयो। उहाँहरू जानुको कारण त्यहाँ सेवा गर्न सकिन्छ कि भनेर हेर्न थियो। त्यसपछि उहाँहरू फ्रान्स फर्किनुको सट्टा मालीमै बस्नुभयो।

 त्यसको केही समयपछि मेरो साथीले त्यहाँ विशेष अग्रगामीको खाँचो छ भनेर मलाई चिठ्ठी लेखिन्‌। मैले साथीलाई सोधेँ, “के तिमीलाई मैले मालीमा विशेष अग्रगामीको रूपमा सेवा गर्न सक्छु जस्तो लाग्छ?” तिनले भनिन्‌, “सकिहाल्छौ नि! किन नसक्नु?” त्यसैले मैले माली जाने निर्णय गरेँ। तर मैले सँगै जाने कोही साथी पाइनँ। त्यसैले मेरो साथीले मलाई “तिमी आऊ र हामीसँगै बस” भनिन्‌।

 त्यसपछि मैले ढुक्क महसुस गरेँ र सेनेगल शाखालाई चिठ्ठी लेखेँ। किनभने त्यतिबेला मालीको गतिविधिलाई सेनेगल शाखाले नै हेर्थ्यो। मैले अप्रिल १९७५ देखि मालीमा सेवा गर्न सक्छु भनेर सेनेगल शाखाले तुरुन्तै जवाफ पठायो।

मालीमा मैले भोगेका चुनौतीहरू

 म मार्च २६, १९७५ मा माली पुगेँ। त्यो सबैभन्दा धेरै गर्मी हुने समय थियो। प्लेनबाट झरेर टर्मिनलतर्फ जाँदै गर्दा तातो हावा आयो र सास फेर्नै गाह्रो भयो। मलाई ओभनभित्र छिरेको जस्तै महसुस भयो। पछि मैले थाह पाएँ माली देशको ठूलो भूभाग सहारा मरुभूमिमै पर्छ। अनि मार्चदेखि मे महिनासम्म तापक्रम ४० डिग्रीभन्दा धेरै पुग्छ।

मालीमा अरू मिसनरीहरूसित

 गर्मी मात्र कहाँ हो र! मेरो लागि सबै कुरा नयाँ थियो। मानिसहरू असाध्यै गरिब थिए। थुप्रैलाई विभिन्‍न किसिमको स्वास्थ्य समस्याले पिरोलिरहेको थियो। तर स्वास्थ्य सुविधा कम भएकोले तिनीहरूले उपचार पाइरहेका थिएनन्‌। खाना पनि अनौठो लाग्यो। मैले जिन्दगीमा यति धेरै आँप पहिला कहिल्यै देखेकी थिइनँ। खानामा भातसँग आँप कि आँपसँग भात हुन्थ्यो!

 यस्ता विभिन्‍न चुनौतीहरूको सामना गर्नुपरेकोले मलाई एकदमै चिन्ता र डर लाग्यो। राम्रोसँग खान र सुत्न पनि सकिरहेकी थिइनँ। नयाँ असाइनमेन्ट राम्रोसँग पूरा गर्न सकूँ भनेर मैले यहोवालाई धेरै चोटि प्रार्थना गरेँ। अनि नयाँ ठाउँमा घुलमिल हुनको लागि सक्दो प्रयास गरिरहेँ।

 मालीमा सेवा गरेको एक वर्ष पछि छ हप्ताको लागि फ्रान्स फर्किएँ। फ्रान्समा मैले चेकअप गराएँ र त्यतिबेला डाक्टरले मलाई राम्रो सुझाव दिए। मलाई अझै याद छ, एक जना भाइले “के तपाईँ फेरि माली नै फर्कनुहुन्छ?” भनेर सोध्नुभयो। अरूले त्यस्तो प्रश्‍न सोध्ला भनेर मैले सोचेकै थिइनँ। नढाँटी भन्‍नुपर्दा मलाई रिस पनि उठ्यो। हुनत मालीको जीवन गाह्रो थियो तैपनि म त्यहीँ फर्कन चाहन्थेँ। किनभने त्यो ठाउँ र त्यहाँका मानिसहरू मलाई मन पर्न थालिसकेको थियो।

साइकल र मोटरसाइकलमा प्रचार जाँदै

प्रचारकार्यमा ध्यान केन्द्रित गरिरहेँ

 फेरि मालीमा जीवन बिताउन तयार भएर म फर्किएँ। स्वस्थ रहन र प्रचारकार्यमा ध्यान दिन सकूँ भनेर मैले यहोवालाई प्रार्थना गर्न छोडिन। अनि १९७८ देखि मैले मालीमा मिसनरीको रूपमा सेवा गर्न थालेँ।

 संसारकै सबैभन्दा गर्मी देशहरूमध्ये माली पनि पर्छ। तैपनि हामी बस्ने ठाउँमा एसी थिएन। सुरु-सुरुमा त हामीसँग फ्रिजसमेत थिएन। मैले त्यहाँका भाइबहिनीबाट गर्मी छल्न के गर्नुपर्छ भनेर सिकेँ। हामी दिउँसो घरमै आराम गर्थ्यौँ र साँझतिर प्रचारमा निस्कन्थ्यौँ।

 गर्मी धेरै भएकोले राती मजाले निदाउन सक्दिनथेँ। कहिलेकाहीँ म मिसनरी होमको छतमा ओछ्यान बोकेर जान्थेँ। त्यहाँ भने अलिकति शीतल हुन्थ्यो। पछि म अर्को घरमा सरेँ। त्यहाँ म लामखुट्टेबाट बच्न झुलभित्र सुत्थेँ। असाध्यै गर्मी हुने समयमा म बीचबीचमा उठेर नुहाउन जान्थेँ। त्यसो गर्दा केही घण्टा भए पनि निदाउन सक्थेँ।

गर्मी भएकोले छतमा ओछ्यान बोकेर जाँदै

 प्रायजसो म एक्लै प्रचारमा जान्थेँ। किनभने हाम्रो इलाका धेरै ठूलो थियो तर प्रकाशकहरू भने थोरै थिए। त्यहाँका मानिसहरू चासो दिएर कुरा सुन्थे। धेरै पटक मैले टुकी बालेर राती अबेरसम्म अध्ययनहरू गराएँ। तिनीहरू सिक्न इच्छुक भएकोले गर्दा नै मैले प्रचारकार्यमा ध्यान दिइरहन सकेँ।

 मेरो एक जना बाइबल विद्यार्थी मारियमबारे a बताउँछु। तिनी एकदमै मिलनसार थिइन्‌। तिनलाई खाना पकाउन र आफूले पकाएको खाना अरूलाई खुवाउन मन पर्थ्यो। तिनी आफ्नो धर्मको कामकुरामा सक्रिय भएर लाग्थिन्‌ र अरूलाई पनि त्यसै गर्न भन्थिन्‌।

 अध्ययन गर्दै जाँदा मारियमले बाइबल परमेश्‍वरको वचन हो भनेर बुझिन्‌। यहोवा र येसुप्रतिको तिनको प्रेम पनि बढ्‌दै गयो। आफूले सिकेको कुराअनुसारै जीवन बिताउन थालेको कुरा तिनको श्रीमान्‌ले याद गरे। त्यसपछि श्रीमान्‌ले बेस्सरी विरोध गर्न थाले। तर यस्तो गाह्रो अवस्थाहरू सहन यहोवाले तिनलाई अचम्मलाग्दो तरिकाहरूमा मदत गर्नुभयो।

 मारियमको श्रीमान्‌ले हरेक बिहान आफ्नो ईश्‍वरलाई प्रार्थना गर्थे र प्रायजसो मारियमलाई पनि बोलाउँथे। तर त्यति नै बेला बच्चा बेस्सरी रुन्थ्यो र तिनको श्रीमान्‌ले “भैगो! भैगो! बच्चालाई खुवाऊ” भनेर पठाउँथे। तिनले बप्तिस्मा गर्न लागेको दिनमा भने तिनको श्रीमान्‌लाई शङ्‌का लाग्यो र यसो भने, “आज घरबाट निस्कने होइन है!” ठ्याक्क त्यही बेला श्रीमान्‌को पुरानो साथी टुप्लुक्क आइपुगे। उहाँले त्यो साथीलाई नभेटेको १५ वर्ष भइसकेको थियो। यति लामो समयपछि साथीलाई भेट्‌न पाउँदा उहाँहरू दुवै जना निकै खुसी हुनुभयो। त्यसपछि त्यो साथीले मारियमलाई यसो भने, “आज त म तिम्रो श्रीमान्‌लाई मसँगै राख्छु।” यति भएपछि मारियमलाई अरू के नै चाहियो! त्यसपछि मारियम सम्मेलन गइन्‌ र बप्तिस्मा गरिन्‌। मारियमले अहिलेसम्म वफादार भएर यहोवाको सेवा गरिरहेकी छिन्‌।

बाइबल अध्ययन गराउँदै

अफ्रिकाको रमाइलो जीवन

 यहोवाले मलाई असाध्यै माया गर्नुभएको छ र आध्यात्मिक रूपमा बलियो भइरहन मदत गर्नुभएको छ। सत्य सिक्न थालेदेखि नै यहोवाले मलाई विभिन्‍न तरिकामा मदत गरिरहनुभएको छ। उहाँको मदतले गर्दा नै मैले धेरै वर्षसम्म मालीमा सेवा गर्न सकेँ। यहोवाले आफ्नो सङ्‌गठन चलाएर आफ्ना जनहरूको राम्ररी हेरचाह गर्नुहुन्छ भन्‍ने कुरा पनि देखेँ। उहाँले परिचालक निकायमार्फत आफ्नो प्रेम प्रकट गर्दै हुनुहुन्छ भन्‍ने कुरामा म ढुक्क छु। त्यसैले सत्य सिकेको बेलाभन्दा अहिले म यहोवालाई अझ धेरै प्रेम गर्छु। उहाँप्रतिको मेरो प्रेम झन्‌झन्‌ बढ्‌दै गइरहेको छ।

 कसै-कसैले मलाई किन विवाह नगर्नुभएको भनेर सोध्छन्‌। म पूर्ण समय सेवामै आफ्नो जीवन बिताउन चाहन्थेँ। वास्तवमा मैले विवाह गर्दिनँ भन्‍ने सोचाइ राखेकी थिइनँ। तर मेरो जस्तै लक्ष्य भएको जीवनसाथी मैले भेटिनँ।

 सन्‌ २०२२ मा मलाई सेनेगल सर्न भनियो। म अहिले यहीँ सेवा गर्दै छु। अहिलेसम्म मैले कहिल्यै एक्लो महसुस गरेकी छैनँ। यहोवा सधैँ मेरो साथमा हुनुहुन्छ। साथै मेरा थुप्रै साथीहरू छन्‌। अनि मण्डलीमा पनि मलाई माया गर्ने भाइबहिनीहरू छन्‌। मेरो उमेरले गर्दा मलाई मदत गर्न हरेक हप्ता एक जना बहिनी आउनुहुन्छ अनि सरसफाइ र किनमेल गर्न सघाउनुहुन्छ। राती सभाबाट घर फर्कँदा अँध्यारो हुने भएकोले जवान भाइहरू मसँगै आइदिनुहुन्छ। मैले थुप्रै नम्र मानिसहरूलाई परमेश्‍वरबारे सत्य कुरा सिकाउन सकेँ। यसरी जीवन बिताउन पाउनुभन्दा बढी आनन्द अरू कुनै छैन!

a नाम परिवर्तन गरिएको छ।