के शान्ति-सुरक्षा ल्याउन गरिने प्रयास सफल हुनेछ?

के शान्ति-सुरक्षा ल्याउन गरिने प्रयास सफल हुनेछ?

 अहिले संसारमा जताततै युद्ध र सशस्त्र द्वन्द्वहरू बढिरहेका छन्‌। त्यसैले संयुक्‍त राष्ट्र सङ्‌घ र अन्य सङ्‌घ-संस्थाहरूले युद्धग्रस्त ठाउँहरूमा शान्ति र सुरक्षाको लागि प्रतिनिधिहरू खटाउने गर्छन्‌। तिनीहरू युद्धको मारमा परेका मानिसहरूलाई मदत गर्न सक्दो प्रयास गर्छन्‌। तर राष्ट्र सङ्‌घका महासचिव एन्टोनियो गुटेरेस यसो भन्छन्‌: “हामीले शान्ति र सुरक्षाको लागि थुप्रै प्रतिनिधिहरू खटाएका छौँ। संसारमा शान्ति ल्याउने हाम्रो प्रयासमा तिनीहरूले निकै महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्‌।”

 वर्षौँको दौडान शान्ति र सुरक्षाको लागि गरिएका यस्ता प्रयासहरू केही हदसम्म सफल भएका छन्‌। जस्तै: संयुक्‍त राष्ट्र सङ्‌घका प्रतिनिधिहरूले युद्धको मारमा परेकाहरूको उद्धार गरेका छन्‌, शरणार्थीहरूलाई आफ्नो देश फर्कन मदत गरेका छन्‌, राहत सामग्रीहरू वितरण गरेका छन्‌ र क्षतिग्रस्त भएका भौतिक संरचनाहरूको निर्माण गरेका छन्‌। तर केही चुनौतीहरू पनि छन्‌, जसले गर्दा तिनीहरू पूर्णतया सफल हुन सकेका छैनन्‌। त्यसोभए के शान्तिमय संसार सम्भव होला? यसबारे बाइबल के भन्छ?

चुनौतीहरू र बाइबलले दिने समाधान

 चुनौती: मिलेर काम गर्न नसक्नु। विभिन्‍न देशका सैन्य सङ्‌गठनहरू र अन्य सङ्‌घ-संस्थाहरू आपसमा मिलेर काम गर्न सधैँ सजिलो हुँदैन। प्रायजसो गलतफहमी भएकोले वा आफ्नै स्वार्थ खोजेकोले यस्तो हुने गर्छ।

 बाइबलले दिने समाधान: “स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ . . . त्यसले यी सबै राज्यलाई [मानव सरकारलाई] चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ। अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।”—दानिएल २:४४.

 अब चाँडै नै परमेश्‍वरले सबै युद्धहरू नामेट पार्नुहुनेछ र संसारभरि साँचो शान्ति ल्याउनुहुनेछ। (भजन ४६:८, ९) उहाँले सबै मानव सरकारहरूलाई हटाउनुहुनेछ र पृथ्वीमा आफ्नो राज्य स्थापना गर्नुहुनेछ। त्यतिबेला पूरै पृथ्वीभरि एक मात्र राज्यले शासन गर्ने भएकोले कुनै द्वन्द्व हुनेछैन। त्यसैले शान्ति-सुरक्षाको लागि मानव सङ्‌घ-संस्थाहरूको पनि आवश्‍यकता पर्नेछैन।


 चुनौती: सीमित स्रोतसाधन। कर्मचारी, पैसा वा अन्य स्रोतसाधनको कमीले गर्दा शान्ति-सुरक्षाका लागि गरिएका प्रयासहरू पूर्ण रूपमा सफल हुन सकेका छैनन्‌। साथै शान्ति-सुरक्षाका लागि खटाइएका कर्मचारीहरूले खतरा झन्‌झनै बढिरहेको ठाउँहरूमा समेत काम गर्नुपर्ने हुन्छ।

 बाइबलले दिने समाधान: “हाम्रा प्रभु येसु ख्रिष्टका परमेश्‍वर[ले] . . . उहाँलाई स्वर्गमा आफ्नो दाहिने हाततर्फ राख्नुहुँदा . . . सबै सरकार, अख्तियार, शक्‍ति, प्रभुत्व अनि नामहरूभन्दा धेरै माथि राख्नुभयो।”—एफिसी १:१७, २०, २१.

 सर्वशक्‍तिमान्‌ परमेश्‍वर यहोवाले a आफ्नो राज्यको राजा येसुलाई सफलतापूर्वक शासन गर्न चाहिने सबै कुरा दिनुभएको छ। (दानिएल ७:१३, १४ b) परमेश्‍वरले येसुलाई कुनै पनि मानव सङ्‌घ-संस्था वा मानव सरकारसँग नभएको शक्‍ति, बुद्धि, ज्ञान र समझ दिनुभएको छ। (यसैया ११:२) साथै येसुको साथमा शक्‍तिशाली स्वर्गदूतहरूको एउटा विशाल सेना पनि छ। (प्रकाश १९:१४) त्यसैले येसुको लागि कुनै पनि समस्या समाधान गर्न असम्भव छैन

 येसुले परमेश्‍वरले दिनुभएका सम्पूर्ण कुराहरू केवल युद्धहरू हटाउन मात्र प्रयोग गर्नुहुनेछैन। बरु उहाँले परमेश्‍वरको राज्यमा साँचो शान्ति र सुरक्षा स्थापना गर्न पनि ती कुराहरू प्रयोग गर्नुहुनेछ।—यसैया ३२:१७, १८.


 चुनौती: कानुनी अवरोधहरू। शान्ति-सुरक्षाका लागि खटिएका कर्मचारीहरूले कहिलेकाहीँ के गर्ने वा के नगर्ने भनेर स्पष्ट निर्देशन पाएका हुँदैनन्‌। तिनीहरूले कानुनी अवरोधहरू पनि झेल्नुपर्ने हुन्छ। त्यसले गर्दा तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न वा खाँचोमा परेकाहरूलाई राम्ररी मदत गर्न सक्दैनन्‌।

 बाइबलले दिने समाधान: “स्वर्ग र पृथ्वीको सबै अधिकार [येसुलाई] दिइएको छ।”—मत्ति २८:१८.

 परमेश्‍वरले येसुलाई पृथ्वीमा शान्ति स्थापना गर्न स्पष्ट निर्देशनहरू र अख्तियार दुवै दिनुभएको छ। (युहन्‍ना ५:२२) येसुले कहिल्यै पनि अन्याय गर्नुहुनेछैन र उहाँ भ्रष्ट हुनुहुनेछैन। (यसैया ११:३-५) त्यसैकारण बाइबलमा येसुलाई “शान्तिका राजकुमार” भनिएको छ र उहाँले “धार्मिकता र न्यायसाथ” शासन गर्नुहुनेछ।—यसैया ९:६, ७.

परमेश्‍वरको राज्य—साँचो शान्तिको स्रोत

 शान्ति-सुरक्षाका लागि खटिएका सङ्‌घ-संस्थाहरूले केही हदसम्म मानिसहरूलाई मदत गर्न सक्लान्‌ र कुनै एउटा इलाकामा द्वन्द्व साम्य पार्न पनि सक्लान्‌। तर तिनीहरूले हिंसाको मूल जडलाई नै उखेलेर फ्याँक्न भने सक्दैनन्‌। त्यो हो, मानिसहरूको मनमा एकअर्काप्रति बढिरहेको घृणा।

 “मुख्य समस्या भनेको संसारमा शान्ति नै छैन। त्यसैले शान्ति कायम गर्ने भन्‍ने त कुरै आउँदैन!”—डेनिस जेट, भूतपूर्व अमेरिकी राजदूत।

 अर्कोतर्फ परमेश्‍वरको राज्यले मात्र साँचो शान्ति-सुरक्षा ल्याउन सक्छ। किनभने यसले मात्र मानिसहरूको मनबाट घृणालाई जरैदेखि उखेल्न सक्छ। येसु पृथ्वीमा हुनुहुँदा आफ्ना चेलाहरूलाई शान्ति कायम गर्न र अरूलाई प्रेम देखाउन कसरी आफ्नो बोली र व्यवहारबाट सिकाउनुभयो, याद गर्नुहोस्‌:

 “आनन्दित हुन्‌ ती मानिसहरू, जसले शान्ति कायम गर्छन्‌।”—मत्ति ५:९.

 “तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।”—मर्कुस १२:२९-३१.

 “तिम्रो तरबार म्यानमै राख किनकि तरबार उठाउनेहरू सबै तरबारबाटै नाश हुनेछन्‌।”—मत्ति २६:५२.

 “अरूले अपमान गर्दा [येसुले] उल्टो अपमान गर्नुभएन। आफूले दुःख भोग्नुपर्दा उहाँले धम्काउनुभएन।”—१ पत्रुस २:२३.

 येसुले परमेश्‍वरको राज्यका प्रजाहरूको चिनारी प्रेम हुनेछ भनेर पनि बताउनुभएको थियो। अरूलाई घृणा गर्ने मानिसहरूले परमेश्‍वरको राज्यमा जीवन बिताउन पाउनेछैनन्‌ भनेर बाइबलले स्पष्टसित बताउँछ:

 “तिमीहरूले आपसमा प्रेम गऱ्‍यौ भने तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले यसैबाट थाह पाउनेछन्‌।”—युहन्‍ना १३:३४, ३५.

 “हरेक जसले आफ्नो भाइलाई घृणा गर्छ, ऊ हत्यारा हो।”—१ युहन्‍ना ३:१५.

 “जसले परमेश्‍वरलाई प्रेम गर्छ, उसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।”—१ युहन्‍ना ४:२०, २१.

 यहोवा परमेश्‍वर मानिसजातिको सृष्टिकर्ता हुनुहुन्छ। त्यसैले संसारमा साँचो शान्ति ल्याउने सबैभन्दा राम्रो तरिका उहाँलाई थाह छ। शान्ति-सुरक्षाको लागि खटिएका सङ्‌घ-संस्थाहरूले गर्न नसकेको काम परमेश्‍वरको राज्यले भविष्यमा सफलतापूर्वक पूरा गर्नेछ।

a परमेश्‍वरको नाम यहोवा हो। (भजन ८३:१८) “यहोवा को हुनुहुन्छ?” लेख हेर्नुहोस्‌।

b दानिएल ७:१३, १४ मा चलाइएको “मानिसको छोरा” भन्‍ने अभिव्यक्‍तिले येसु ख्रिष्टलाई बुझाउँछ।—मत्ति २५:३१; २६:६३, ६४.