नेपाली
महामारीले गर्दा हुने थकानलाई जित्ने
https://cms-imgp.jw-cdn.org/img/p/501100011/univ/art/501100011_univ_sqr_xl.jpg
mrt लेख १३

महामारीले गर्दा हुने थकानलाई जित्ने

महामारीले गर्दा हुने थकानलाई जित्ने

 कोभिड-१९ महामारीको डरैडरमा बाँच्नुपर्दा के तपाईँ हैरान हुनुभएको छ? हुनुभएको छ भने त्यस्तो महसुस गरिरहेको तपाईँ मात्र होइन। संसारभरका मानिसहरू महिनौँदेखि यस महामारीको त्रासमा छन्‌ र तिनीहरू योसँगै जिउन सिकिरहेका छन्‌। विश्‍व स्वास्थ्य सङ्‌गठनका युरोप क्षेत्रीय निर्देशक डाक्टर ह्‍यान्स क्लग यसो भन्छन्‌: “कोभिड-१९ महामारीलाई फैलन नदिन थुप्रैले ठूलठूला त्यागहरू गरेका छन्‌। यस्तो अवस्थामा चिन्ता लाग्नु, हताश हुनु र थकित महसुस गर्नु स्वाभाविकै हो।”

 यदि तपाईँ पनि यस महामारीले गर्दा थकित महसुस गर्दै हुनुहुन्छ भने हरेस नखानुहोस्‌। बाइबलले थुप्रैलाई यस्तो तनावपूर्ण अवस्थाको सामना गर्न मदत गरिरहेको छ। यसले तपाईँलाई पनि अवश्‍य मदत गर्नेछ।

 महामारीले गर्दा हुने थकान भनेको के हो?

 महामारीले गर्दा हुने थकान कुनै स्वास्थ्य समस्या होइन। बरु यस अभिव्यक्‍तिले महामारीको कारण मानिसहरूको जीवनमा परिवर्तन आएकोले र भविष्य अनिश्‍चित भएकोले मानिसहरूले देखाउने स्वाभाविक प्रतिक्रियालाई बुझाउँछ। मानिसअनुसार प्रतिक्रिया फरक-फरक हुन सक्छ तर महामारीले गर्दा हुने थकानका केही लक्षणहरू यसप्रकार छन्‌:

  •   हरेस खानु

  •   खानपान र सुत्ने बानीमा परिवर्तन

  •   सानो-सानो कुरामा चिढिनु

  •   पहिला सजिलैसित गर्न सक्ने कामहरू पनि गाह्रो लाग्नु

  •   कुनै काममा एकाग्र हुन नसक्नु

  •   निराश हुनु

 महामारीले गर्दा हुने थकान किन गम्भीर कुरा हो?

 महामारीले गर्दा हुने थकान हाम्रो लागि र अरूको लागि पनि खतरनाक हुन सक्छ। हामी होसियार भएनौँ भने हामीले अपनाउनुपर्ने सुरक्षासम्बन्धी नियमहरूलाई हल्कासित लिन सक्छौँ। समय बित्दै जाँदा हामी कोरोना भाइरसको खतरालाई बेवास्ता गर्ने हदसम्म पुग्न सक्छौँ, यो भाइरस फैलिरहेको र धेरैको ज्यान लिइरहेको अवस्थामा समेत। विभिन्‍न प्रतिबन्धहरूले गर्दा हामीलाई दिक्क लाग्न सक्छ अनि स्वतन्त्र हुन खोज्दा हाम्रो आफ्नै र अरूको ज्यान पनि खतरामा पर्न सक्छ।

 यस्तो तनावग्रस्त अवस्थामा थुप्रैले बाइबलका यी शब्दहरूको सत्यता अनुभव गरेका छन्‌: “विपत्‌को दिनमा तिमी निराश भयौ भने तिम्रो बल घट्‌नेछ।” (हितोपदेश २४:१०) बाइबलका सिद्धान्तहरूले हामीलाई यो महामारीलगायत अन्य निराशाजनक परिस्थितिहरूको सामना गर्न मदत गर्न सक्छ।

 महामारीले गर्दा हुने थकानलाई जित्न तपाईँलाई कस्ता बाइबल सिद्धान्तहरूले मदत गर्छ?

  •   सामाजिक दूरी कायम राख्नुहोस्‌ तर साथीभाइहरूसित सम्पर्कमा रहनुहोस्‌

     बाइबल के भन्छ? “साँचो मित्र . . . दुःखमा साथ दिन जन्मेको दाजुभाइजस्तै हुन्छ।”—हितोपदेश १७:१७.

     यस विषयमा किन चासो राख्नुपर्छ? साँचो मित्रले हाम्रो उत्थान गर्छ। (१ थिस्सलोनिकी ५:११) अर्कोतर्फ आफूलाई अरूदेखि अलग्याउँदा हाम्रो स्वास्थ्य नै खतरामा पर्छ।—हितोपदेश १८:१.

     यसो गरे कसो होला? भिडियो कल वा फोन गरेर अथवा इमेल र मेसेज पठाएर साथीहरूको सम्पर्कमा रहनुहोस्‌। न्यास्रो लागेको बेला साथीहरूसित कुराकानी गर्नुहोस्‌ र नियमित रूपमा तिनीहरूको हालखबर सोध्नुहोस्‌। महामारीको सामना गर्न तपाईँलाई कुन कुराले मदत गरिरहेको छ, त्यसबारे तिनीहरूलाई बताउनुहोस्‌। साथीको लागि कुनै दयालु काम गरिदिने मौका खोज्नुहोस्‌। यसो गर्दा तपाईँहरू दुवैलाई दिन बिताउन सजिलो हुनेछ।

  •   हालको परिस्थितिको सदुपयोग गर्नुहोस्‌

     बाइबल के भन्छ? “समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१६.

     यस विषयमा किन चासो राख्नुपर्छ? आफ्नो समयलाई बुद्धिमानीपूर्वक चलाउँदा तपाईँले सकारात्मक रहन र बढ्‌तै चिन्ता नगर्न मदत पाउनुहुनेछ।—लुका १२:२५.

     यसो गरे कसो होला? आफूले गर्न नसक्ने कुराहरूमा ध्यान दिनुको साटो हालको परिस्थितिबाट लाभ उठाउने तरिकाहरू खोज्नुहोस्‌। उदाहरणको लागि, व्यस्तताले गर्दा पहिला गर्न नभ्याएको अथवा आफूलाई मन पर्ने कुनै काम गर्न सक्नुहुन्छ कि? परिवारसित अझ धेरै समय बिताउन सक्नुहुन्छ कि?

  •   तालिकाअनुसार चल्नुहोस्‌

     बाइबल के भन्छ? “सबै कुरा . . . व्यवस्थित ढङ्‌गले होस्‌।”—१ कोरिन्थी १४:४०.

     यस विषयमा किन चासो राख्नुपर्छ? अक्सर थुप्रै मानिसलाई आफूले दिनहुँ गर्नुपर्ने कामको तालिका बनाउँदा ती कामहरू गर्न सजिलो र रमाइलो लाग्छ।

     यसो गरे कसो होला? आफ्नो हालको अवस्थासित मिल्ने तालिका बनाउनुहोस्‌। स्कुलको वा अफिसको कामको लागि र घरको कामको लागि अनि व्यक्‍तिगत बाइबल अध्ययनको लागि निश्‍चित समय छुट्ट्याउनुहोस्‌। परिवारसित समय बिताउन, बाहिर जान र व्यायाम गर्न पनि समय छुट्ट्याउनुहोस्‌। बेलाबेलामा आफ्नो तालिका जाँच्नुहोस्‌ र आवश्‍यकताअनुसार छाँटकाँट गर्नुहोस्‌।

  •   मौसमअनुसार छाँटकाँट गर्नुहोस्‌

     बाइबल के भन्छ? “चतुर मानिस खतरा आएको देखेर लुक्छ।”—हितोपदेश २२:३.

     यस विषयमा किन चासो राख्नुपर्छ? तपाईँ बस्ने ठाउँको मौसम परिवर्तन हुँदा ताजा हावा लिने र घाम ताप्ने त्यत्ति मौका नहुन सक्छ, जुन हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि अत्यावश्‍यक छ।

     यसो गरे कसो होला? जाडो मौसम सुरु हुन लागेको छ भने आफ्नो बैठक कोठा वा काम गर्ने ठाउँको सेटिङ प्रशस्त घाम आउनेगरि मिलाउनुहोस्‌। मौसम चिसो भए पनि घरबाहिर गर्न सकिने कामहरूको लागि योजना बनाउनुहोस्‌। सम्भव छ भने बाहिर धेरै समय बिताउन न्यानो लुगाहरूको प्रबन्ध गर्नुहोस्‌।

     गर्मी मौसम सुरु हुन लागेको छ भने मानिसहरूले प्रायः घरबाहिर धेरै समय बिताउने भएकोले होसियार हुनुहोस्‌। कतै जानुपर्ने छ भने पहिल्यै योजना बनाउनुहोस्‌ र भीडभाड नहुने समयमा जानुहोस्‌।

  •   कोभिडबाट जोगिन सावधानी अपनाइरहनुहोस्‌

     बाइबल के भन्छ? “मूर्ख मानिसले सोचविचार नगरी कदम चाल्छ र आफूमा बढ्‌तै भरोसा राख्छ।”—हितोपदेश १४:१६.

     यस विषयमा किन चासो राख्नुपर्छ? कोभिड-१९ महामारी प्राणघातक छ। होसियार भएनौँ भने हामी पनि यस रोगबाट सङ्‌क्रमित हुन सक्छौँ।

     यसो गरे कसो होला? तपाईँको इलाकाको लागि दिइएका निर्देशनहरू थाह पाउन बेलाबेलामा भरपर्दा स्रोतहरूमा हेर्नुहोस्‌ र आफूले ती निर्देशनहरू पालन गरिरहेको छ कि छैन भनी जाँच्नुहोस्‌। तपाईँको कामले तपाईँ, तपाईँको परिवार र अरूलाई कस्तो असर गर्न सक्छ भनेर विचार गर्नुहोस्‌।

  •   परमेश्‍वरसितको सम्बन्ध बलियो बनाउनुहोस्‌

     बाइबल के भन्छ? “परमेश्‍वरसित नजिक होओ र उहाँ तिमीहरूसित नजिक हुनुहुनेछ।”—याकुब ४:८.

     यस विषयमा किन चासो राख्नुपर्छ? परमेश्‍वरले हामीलाई जस्तोसुकै चुनौतीको सामना गर्न मदत दिन सक्नुहुन्छ।—यसैया ४१:१३.

     यसो गरे कसो होला? हरेक दिन परमेश्‍वरको वचनको केही अंश पढ्‌नुहोस्‌। बाइबल पढाइको योजनाले तपाईँलाई बाइबल पढ्‌ने राम्रो बानी बसाल्न मदत गर्नेछ।

 यहोवाका साक्षीहरूले कोभिड-१९ महामारीको समयमा पनि सभाहरू नियमित रूपमा सञ्चालन गर्ने प्रबन्ध मिलाएका छन्‌। उक्‍त प्रबन्धबाट तपाईँ कसरी लाभ उठाउन सक्नुहुन्छ भनेर थाह पाउन यहोवाका साक्षीहरूसित सम्पर्क गर्नुभए कसो होला? तिनीहरूले संसारभरि नै भिडियो कन्फरेन्सिङमार्फत मण्डलीका सभाहरू, येसुको मृत्युको वार्षिक उत्सव र वार्षिक अधिवेशनहरू आयोजना गरिरहेका छन्‌।

 महामारीले गर्दा थकित हुँदा तपाईँलाई मदत गर्ने बाइबल पदहरू

 यसैया ३०:१५: “शान्त होऊ र ममाथि भरोसा गर, तब तिमीहरूले बल पाउनेछौ।”

 अर्थ: परमेश्‍वरले दिनुभएका सल्लाहहरूमा भरोसा गर्दा हामी गाह्रो अवस्थामा पनि शान्त रहन मदत पाउँछौँ।

 हितोपदेश १५:१५: “दुःखमा परेकाहरूलाई हरेक दिन दुःखै हुन्छ तर हृदयमा आनन्द हुनेहरूको लागि हरेक दिन भोजजस्तै हुन्छ।”

 अर्थ: सकारात्मक कुराहरूमा ध्यान दिँदा हामी गाह्रो अवस्थामा पनि आनन्दित हुन सक्छौँ।

 हितोपदेश १४:१५: “सुधो मानिसले सुनेको सबै कुरा पत्याउँछ तर चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”

 अर्थ: स्वास्थ्यसम्बन्धी सतर्कताहरू अपनाउनुहोस्‌ र त्यस्ता प्रतिबन्धहरू आवश्‍यक छैन भन्‍ने नसोच्नुहोस्‌।

 यसैया ३३:२४: “कुनै बासिन्दाले यसो भन्‍नेछैन: ‘म बिरामी छु।’ ”

 अर्थ: परमेश्‍वरले सबै किसिमका रोगबिमारको अन्त गर्ने प्रतिज्ञा गर्नुभएको छ।