सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के बाइबलले चरम मौसमका पीडितहरूलाई मदत गर्न सक्छ?

के बाइबलले चरम मौसमका पीडितहरूलाई मदत गर्न सक्छ?

 चरम मौसमले गर्दा आज लाखौँ मानिस प्रभावित भएका छन्‌। के तपाईँ पनि तिनीहरूमध्ये एक हुनुहुन्छ? खतरनाक मौसम र यसका विनाशकारी असरहरू विभिन्‍न रूपमा आउन सक्छ। टाइफुन, साइक्लोन र टोर्नेडोजस्ता आँधीबेहरीले गर्दा बाढी आउन सक्छ र ठूलो धनजनको क्षति हुन सक्छ। भारी वर्षाले गर्दा पहिरो आउन सक्छ र हुरीबतासले गर्दा चट्याङ पर्न सक्छ, जसले गर्दा विनाशकारी डढेलो लाग्न सक्छ। खडेरी, लु र हिमआँधी पनि उत्तिकै खतरनाक हुन्छ।

 संसारका थुप्रै ठाउँमा मौसमसम्बन्धी प्रकोपहरू झन्‌झन्‌ बढ्‌दै गइरहेको छ र यसले पहिलाभन्दा झन्‌ धेरै विनाश निम्त्याएको छ। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्‌घले यस्तो रिपोर्ट दियो: “बाढी, आँधीबेहरी र खडेरीजस्ता प्रकोप बढ्‌दै गएकोले यसद्वारा प्रभावित मानिसहरूको सङ्‌ख्या पनि बढ्‌दै छ। यस्ता प्रकोपहरूले गर्दा हरेक वर्ष थुप्रैको ज्यान जान्छ, कतिपयलाई गुजारा चलाउन मुस्किल पर्छ अनि लाखौँ घरबारविहिन हुन्छन्‌।”

 यस्तो प्रकोपमा परेकाहरूलाई शारीरिक रूपमा मात्र होइन, भावनात्मक रूपमा पनि ठूलो आघात पुग्छ। किनकि प्रकोपले गर्दा तिनीहरूले आफ्नो घरबार, जायजेथा वा प्रियजन गुमाउन सक्छन्‌।

 यदि तपाईँ पनि चरम मौसमद्वारा प्रभावित हुनुहुन्छ भने यसको सामना गर्न बाइबलले तपाईँलाई मदत दिन सक्छ। यसले दिने सान्त्वना, आशा र व्यावहारिक सुझावले मौसमसम्बन्धी प्रकोपको मारमा परेका असङ्‌ख्य मानिसलाई मदत गरेको छ। (रोमी १५:४) बाइबलले थुप्रैको मनमा खेलिरहेको यो महत्त्वपूर्ण प्रश्‍नको पनि जवाफ दिन्छ: परमेश्‍वरले किन यस्तो हुन दिइरहनुभएको छ? के उहाँले मलाई सजाय दिनुभएको हो?

चरम मौसम परमेश्‍वरले दिनुहुने सजाय होइन

 बाइबलले मानिसहरूले भोगिरहेको दुःखकष्टको जिम्मेवार परमेश्‍वर हुनुहुन्‍न भनेर सिकाउँछ। बाइबल यस्तो आश्‍वासन दिन्छ: “कुनै दुष्ट कुराद्वारा परमेश्‍वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्‍न।” (याकुब १:१३) त्यसैले अहिले मानिसहरूले सामना गरिरहेको चरम मौसमको पछाडि परमेश्‍वरको कुनै हात छैन।

 बाइबलमा परमेश्‍वरले दुष्ट मानिसहरूलाई सजाय दिन प्राकृतिक शक्‍तिहरू प्रयोग गर्नुभएको विवरण पाइन्छ। तर ती घटनाहरू आजको मौसमसम्बन्धी प्रकोपहरूभन्दा फरक थिए। किनकि अहिले यस्ता प्रकोपहरू पूर्व सूचनाविना आउँछ र त्यसले असल-खराब सबै मानिसलाई असर गर्छ। अर्कोतर्फ परमेश्‍वरले विनाश ल्याउनुभएको बाइबल विवरणहरू हेर्ने हो भने उहाँले त्यसबारे अग्रिम चेतावनी दिनुभयो, आफूले गरेको निर्णयको कारण बताउनुभयो र निर्दोष मानिसहरूलाई विनाशबाट जोगाउनुभयो। उदाहरणको लागि, परमेश्‍वरले नुहको समयमा जलप्रलय ल्याउने निर्णय गर्नुहुँदा त्यसको कारण बताउनुभयो, त्यसबारे अग्रिम चेतावनी दिनुभयो अनि नुह र तिनको परिवारलाई जलप्रलयबाट जोगाउनुभयो।—उत्पत्ति ६:१३; २ पत्रुस २:५.

 प्राकृतिक प्रकोप परमेश्‍वरले दिनुहुने सजाय होइन भनेर हामी किन भन्‍न सक्छौँ, त्यसबारे अझ धेरै जान्‍न “प्राकृतिक प्रकोपबारे बाइबल के भन्छ?” भन्‍ने लेख हेर्नुहोस्‌।

परमेश्‍वर चरम मौसमका पीडितहरूको ख्याल राख्नुहुन्छ

 बाइबलले यहोवा a मानिसहरूको ख्याल राख्नुहुने र समानुभूतिशील परमेश्‍वर हुनुहुन्छ भनेर बताउँछ। तल दिइएका सान्त्वनादायी पदहरू विचार गर्नुहोस्‌:

  •   यसैया ६३:९: “हरेक चोटि तिनीहरू दुःखमा पर्दा [परमेश्‍वर] पनि दुःखी हुनुभयो।”

     अर्थ: दुःखमा परेका मानिसहरू देख्दा यहोवालाई गहिरो चोट पुग्छ।

  •   १ पत्रुस ५:७: “उहाँले तिमीहरूको ख्याल राख्नुहुन्छ।”

     अर्थ: यहोवा तपाईँको भलो होस्‌ भन्‍ने चाहनुहुन्छ।

 यहोवा मानिसहरूको ख्याल राख्नुहुने र समानुभूतिशील परमेश्‍वर हुनुभएकोले उहाँले बाइबलमार्फत व्यावहारिक सुझाव दिएर सान्त्वना दिनुहुन्छ। अनि भविष्यमा मौसमसम्बन्धी कुनै पनि किसिमको प्रकोप हुनेछैन भन्‍ने पक्का आशा पनि दिनुहुन्छ।—२ कोरिन्थी १:३, ४.

जब संसारमा चरम मौसमको कुनै समस्या हुनेछैन

 बाइबलमा यहोवाले हामीलाई “उज्ज्वल भविष्य र आशा” दिने प्रतिज्ञा गर्नुभएको छ। (यर्मिया २९:११) उहाँ मानिसहरूले मौसमसम्बन्धी प्रकोपको कुनै डर नहुने सुन्दर पृथ्वीमा सधैँभरि जीवन बिताएको चाहनुहुन्छ।—उत्पत्ति १:२८; २:१५; यसैया ३२:१८.

 परमेश्‍वरले त्यस्तो संसार आफ्नो स्वर्गीय राज्यमार्फत ल्याउनुहुनेछ, जसको राजा येसु हुनुहुन्छ। (मत्ति ६:१०) येसुसित मौसमसम्बन्धी प्रकोप हुन नदिने शक्‍ति र बुद्धि दुवै छ। यस पृथ्वीमा हुनुहुँदा उहाँले आफूसित मौसमलाई नियन्त्रणमा राख्न सक्ने शक्‍ति छ भनेर देखाउनुभयो। (मर्कुस ४:३७-४१) उहाँले मानिसहरूलाई प्रकृतिको ख्याल राख्न र यसको संरक्षण गर्न सिकाउनुहुनेछ। यसरी उहाँले समझ र बुद्धि देखाउँदै शासन गर्नुहुनेछ। (यसैया ११:२) उहाँको शासनमा मानिसहरूले कहिल्यै पनि मौसमसम्बन्धी प्रकोपको सामना गर्नुपर्नेछैन।

 तपाईँलाई लाग्ला, ‘येसुले मौसमलाई नियन्त्रण गर्न आफ्नो शक्‍ति कहिले प्रयोग गर्नुहुनेछ?’ यस प्रश्‍नको जवाफ पाउन “ईश्‍वरको राज्यले कहिले पृथ्वीमा शासन थाल्नेछ?” भन्‍ने लेख हेर्नुहोस्‌।

चरम मौसमको सामना गर्नुपर्दा

 बाइबलको सल्लाहले तपाईँलाई मौसमसम्बन्धी प्रकोप आइपर्नुअघि, त्यस दौडान र त्यसपछि पनि मदत गर्न सक्छ।

  •   प्रकोपअघि: तुरुन्तै कदम चाल्न तयारी गर्नुहोस्‌।

     बाइबल के भन्छ: “चतुर मानिस खतरा आएको देखेर लुक्छ तर अनुभवहीन मानिस भने सरासर अघि बढ्‌छ र दुःख पाउँछ।”—हितोपदेश २२:३.

     अर्थ: तपाईँको इलाकामा के-कस्ता प्रकोपहरू आइपर्न सक्छ भनेर पहिल्यै विचार गर्नुहोस्‌। यसो गर्नुभयो भने तपाईँले प्रकोप आइपर्दा तुरुन्तै कदम चाल्न र आफ्नो परिवारलाई जोगाउन सक्नुहुनेछ।

     अनुभव: “डढेलोको कारण भाग्नुपर्दा हामी तयार अवस्थामा थियौँ। हामीले आफ्नो झटपट झोला पहिल्यै मिलाएर राखिसकेका थियौँ। औषधी अनि लुगाफाटा पनि तयार थियो। हाम्रा छिमेकीहरू अत्तालिरहेका थिए। के गर्ने, कसो गर्ने भनेर केही सोच्नै सकिरहेका थिएनन्‌। तर हामीसित भने आफूलाई चाहिने सबै सरसामान थियो। यसरी पहिल्यै तयारी गर्न सकेकोमा म निकै खुसी छु।”—तामारा, क्यालिफोर्निया, अमेरिका।

  •   प्रकोपको दौडान: सबैभन्दा महत्त्वपूर्ण कुरामा ध्यान दिनुहोस्‌।

     बाइबल के भन्छ: “मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”—लुका १२:१५.

     अर्थ: भौतिक धनसम्पत्ति भन्दा जीवन बहुमूल्य छ।

     अनुभव: “लाविन आँधीको b कारण हाम्रो घर तहसनहस हुँदा मैले केही सोच्नै सकिनँ तर मैले एउटा कुराचाहिँ गरेँ। मैले यहोवालाई व्यग्र प्रार्थना गरेँ। हामीले भौतिक कुराहरू गुमाउनुपरे तापनि सबैभन्दा ठूलो कुरा हाम्रो ज्यानचाहिँ जोगियो।”—लेस्ली, फिलिपिन्स।

  •   प्रकोपपछि: भोलिको चिन्ता नगर्नुहोस्‌।

     बाइबल के भन्छ: “भोलिको चिन्ता कहिल्यै नगर किनभने भोलिको चिन्ता भोलिले नै गर्नेछ।”—मत्ति ६:३४.

     अर्थ: पछि आइपर्ने समस्याहरूबारे सोचेर अचाक्ली चिन्ता नगर्नुहोस्‌।

     अनुभव: “इर्मा आँधीले गर्दा मेरो घर डुबानमा पऱ्‍यो। त्यतिबेला एकैचोटि थुप्रै निर्णय गर्नुपरेकोले मलाई एकदमै तनाव भएको थियो। मैले भोलिको चिन्ता नगर भन्‍ने बाइबलको सल्लाह लागू गर्न प्रयास गरेँ। यहोवाको मदतले गर्दा मैले सहने बल पाएँ। यत्तिको सहन सकुँला भनेर मैले सोचेको पनि थिइनँ।”—स्याली, फ्लोरिडा, अमेरिका।

 थप व्यावहारिक सुझावहरूको लागि “विपत्ति आइपर्दा—जोगिन चाल्नै पर्ने कदमहरू” भन्‍ने लेख हेर्नुहोस्‌।

a परमेश्‍वरको व्यक्‍तिगत नाम यहोवा हो।—भजन ८३:१८.

b यसलाई हाइमा आँधी पनि भनिन्छ।