सीधै सामग्रीमा जाने

सीधै विषयसूचीमा जाने

के आतङ्‌कवादको अन्त होला?

के आतङ्‌कवादको अन्त होला?

 कुनै आतङ्‌ककारी हमलापछि हाम्रो मनमा यस्ता प्रश्‍नहरू उठ्‌न सक्छ: ‘ईश्‍वर छन्‌ किन केही गर्दैनन्‌? यस्ता हमलाहरू किन हुने गर्छन्‌? के आतङ्‌कवादको a अन्त होला? म कसरी यस्तो डरको सामना गर्न सक्छु?’ बाइबलले यी प्रश्‍नहरूको चित्तबुझ्दो जवाफ दिन्छ।

आतङ्‌ककारी हमलाहरू देख्दा ईश्‍वरलाई कस्तो लाग्छ?

 ईश्‍वर हिंसा र आतङ्‌कवादलाई घृणा गर्नुहुन्छ। (भजन ११:५; हितोपदेश ६:१६, १७) ईश्‍वरको प्रतिनिधि येसुले पनि आफ्ना चेलाहरूले हिंस्रक व्यवहार देखाउँदा तिनीहरूलाई हप्काउनुभएको थियो। (मत्ति २६:५०-५२) कोही-कोहीले यस्ता आतङ्‌ककारी हमलाहरू ईश्‍वरको नाममा गरेको दाबी गर्छन्‌। तर ईश्‍वरले तिनीहरूलाई त्यस्तो अख्तियार दिनुभएको छैन। वास्तवमा तिनीहरूले जति नै पुकारे तापनि उहाँ तिनीहरूको प्रार्थना सुन्‍नुहुन्‍न।—यसैया १:१५.

 ईश्‍वरले आतङ्‌ककारी हमला र अन्य कारणले दुःख भोगिरहेका सबै मानिसको ख्याल राख्नुहुन्छ। (भजन ३१:७; १ पत्रुस ५:७) उहाँले हिंसाको अन्त गर्नुहुनेछ भनेर पनि बाइबलमा बताइएको छ।—यसैया ६०:१८.

आतङ्‌कवादको मुख्य कारण

 बाइबलले आतङ्‌कवादको मुख्य कारणबारे यसो भन्छ: “एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको मात्रै मैले देखेँ।” (उपदेशक ८:९) इतिहासभरि नै शक्‍तिमा भएका मानिसहरूले अरूलाई दमन गर्न आतङ्‌कवादको सहारा लिएका छन्‌। अनि दमनमा परेकाहरूले पनि बदला लिन आतङ्‌कवादकै सहारा लिन्छन्‌।—उपदेशक ७:७.

आतङ्‌कवादको अन्त

 ईश्‍वरले डर र हिंसा हटाउने अनि पृथ्वीमा शान्ति स्थापना गर्ने प्रतिज्ञा गर्नुभएको छ। (यसैया ३२:१८; मिका ४:३, ४) उहाँले . . .

  •   आतङ्‌कवादको मुख्य कारण हटाउनुहुनेछ। ईश्‍वरले मानव सरकारहरूलाई हटाएर आफ्नो राज्य स्थापना गर्नुहुनेछ। यस राज्यका राजा येसु ख्रिष्टले सबैलाई समान व्यवहार गर्नुहुनेछ अनि अत्याचार र हिंसाको नामोनिसान मेटाउनुहुनेछ। (भजन ७२:२, १४) त्यतिबेला कसैले पनि आतङ्‌कवादी काम गर्नेछैनन्‌। मानिसहरूले “अपार शान्तिको आनन्द उठाउनेछन्‌।”—भजन ३७:१०, ११.

  •   आतङ्‌कवादका सबै हानिलाई सच्याउनुहुनेछ। आतङ्‌कवादले गर्दा शारीरिक वा भावनात्मक चोट भोगेका मानिसहरूलाई ईश्‍वरले निको पार्नुहुनेछ। (यसैया ६५:१७; प्रकाश २१:३, ४) उहाँले मरिसकेका मानिसहरूलाई शान्तिमय संसारमा फेरि जीवित पार्ने प्रतिज्ञासमेत गर्नुभएको छ।—युहन्‍ना ५:२८, २९.

 ईश्‍वरले अब तुरुन्तै कदम चाल्नुहुनेछ भनेर विश्‍वास गर्न सकिने आधारहरू बाइबलमा दिइएको छ। तर तपाईँलाई यस्तो लाग्ला, ‘ईश्‍वरले किन अहिलेसम्म आतङ्‌कवाद हटाउनुभएको छैन?’ यसको जवाफ पाउन परमेश्‍वरले किन दुःखकष्ट रहिरहन दिनुभएको छ? भन्‍ने भिडियो हेर्नुहोस्‌।

a “आतङ्‌कवाद” भनेको विशेषगरि सर्वसाधारणमाझ त्रास फैलाएर राजनैतिक, धार्मिक वा सामाजिक परिवर्तन ल्याउन हिंसा गर्नु वा डर-धम्की देखाउनु हो। तर कस्तो खालको कामलाई आतङ्‌कवाद भन्‍न मिल्छ र कस्तोलाई मिल्दैन भन्‍नेबारे मानिसहरूको धारणा फरक-फरक हुन सक्छ।