दोस्रो समुएल १८:१-३३
१८ त्यसपछि दाउदले आफूसँग भएका मानिसहरूको गन्ती गरे। अनि तिनीहरूलाई हजार-हजार र सय-सय जनाको समूहमा छुट्ट्याएर तिनीहरूमाथि सेनापतिहरू नियुक्त गरे।+
२ दाउदले आफ्ना मानिसहरूलाई तीन भागमा विभाजन गरे। तिनले एक तिहाइ मानिसहरूलाई योआबको+ नेतृत्वमा पठाए, अर्को एक तिहाइलाई योआबका दाइ अबिसैको+ नेतृत्वमा पठाए, जो जेरुयाहका+ छोरा थिए र बाँकी एक तिहाइलाई चाहिँ गाथका इथ्थैको+ नेतृत्वमा पठाए। त्यसपछि राजाले ती मानिसहरूलाई भने: “म पनि तिमीहरूसँगै जानेछु।”
३ तर तिनीहरूले भने: “होइन, तपाईँ सहरबाहिर ननिस्कनुहोस्।+ किनकि हामी भाग्यौँ भने वा हामीमध्ये आधा मानिसहरू नै मारियौँ भने पनि तिनीहरूलाई केही फरक पर्नेछैन। तर तपाईँ त हामीजस्ता १० हजार मानिसबराबर हुनुहुन्छ।+ त्यसैले तपाईँ सहरमै बसेर हामीलाई सहायता गर्नुभयो भने बेस हुन्छ।”
४ तब राजाले तिनीहरूलाई भने: “ठीक छ, तिमीहरूलाई जे उचित लाग्छ, म त्यही गर्नेछु।” त्यसैले राजा सहरको मूलढोकाको छेउमा उभिए अनि सबै मानिस सय-सय र हजार-हजारको समूहमा त्यहाँबाट हिँडे।
५ त्यसपछि राजाले योआब, अबिसै र इथ्थैलाई यो हुकुम दिए: “मेरो खातिर मेरो प्यारो छोरा अब्सालोमसित कठोर व्यवहार नगर्नू।”+ राजाले सबै सेनापतिलाई अब्सालोमबारे दिएको यो हुकुम त्यहाँ भएका सबै मानिसले सुने।
६ ती मानिसहरू इस्राएलीहरूसित लडाइँ गर्न मैदानमा गए र यो लडाइँ एप्रैमको जङ्गलमा भयो।+
७ त्यहाँ दाउदका सेवकहरूले+ इस्राएलीहरूलाई हराए।+ त्यो दिन भयङ्कर मारकाट मच्चियो; २० हजार मानिस मारिए।
८ लडाइँ पूरै इलाकामा फैलियो। त्यो दिन तरबारले मारिएकाहरूभन्दा जङ्गलमा मरेकाहरू धेरै थिए।
९ अब्सालोमले दाउदका सेवकहरू आफूकहाँ आइरहेको देखे। अब्सालोम खच्चरमा चढेका थिए। जब त्यो खच्चर एउटा ठूलो अनि झाँगिएको रूखमुनिबाट गयो, तब उनको कपाल त्यस रूखको हाँगामा अल्झियो। यसरी उनी तुर्लुङ्ङ झुन्डिए र उनी चढेको खच्चरचाहिँ नरोकिई अघि गइरह्यो।
१० तब एक जनाले अब्सालोमलाई देख्यो र गएर योआबलाई यसो भन्यो:+ “मैले अब्सालोमलाई एउटा ठूलो रूखमा झुन्डिएको देखेँ।”
११ योआबले त्यस मानिसलाई भने: “तिमीले उसलाई देखेपछि किन उसलाई त्यतिखेरै मारेनौ? तिमीले त्यसो गरेको भए म खुसी भएर तिमीलाई १० टुक्रा चाँदी र एउटा पेटी दिने थिएँ।”
१२ त्यस मानिसले योआबलाई भन्यो: “मलाई १ हजार टुक्रा चाँदी दिइएको भए तापनि म राजाको छोरामाथि आफ्नो हात उठाउने थिइनँ। किनकि राजाले तपाईँ, अबिसै र इथ्थैलाई ‘होस गर, अब्सालोमलाई कसैले पनि हानि नपुऱ्याओस्’ भनेर हुकुम दिनुभएको हामीले सुनेका थियौँ।+
१३ मैले राजाको हुकुम नमानेर अब्सालोमको ज्यान लिएको भए राजाले अवश्य थाह पाउनुहुने थियो। अनि तपाईँले पनि मलाई उहाँको हातबाट बचाउनुहुने थिएन।”
१४ तब योआबले भने: “म तिमीसँग कुरा गरेर आफ्नो समय खेर फाल्न चाहन्नँ।” त्यसपछि तिनले तीन वटा काँड* लिए अनि अब्सालोम रूखमा जिउँदै झुन्डिरहेको बेला उनको मुटुमा ती काँडहरू घोपिदिए।
१५ त्यसपछि योआबको हातहतियार बोक्ने १० जना सेवक त्यहाँ आए र अब्सालोम नमरेसम्म उनलाई प्रहार गरिरहे।+
१६ तब योआबले सिङ फुके र मानिसहरू इस्राएलीहरूलाई खेद्न छोडेर फर्के। किनकि योआबले ती मानिसहरूलाई रोके।
१७ तिनीहरूले अब्सालोमको लास लगेर जङ्गलको एउटा ठूलो खाल्टोमा फ्याँकिदिए अनि त्यसमाथि ढुङ्गाको निकै ठूलो थुप्रो लगाइदिए।+ अनि सबै इस्राएली भागेर आ-आफ्नो घर गए।
१८ आफू जीवित छँदा अब्सालोमले आफ्नो लागि राजा बेँसीमा एउटा खम्बा ठड्याएका थिए।+ किनकि उनी यसो भन्थे: “मेरो नामको सम्झना राख्न मेरो एउटै छोरा छैन।”+ त्यसैले उनले त्यस खम्बालाई आफ्नै नाम दिए र त्यसलाई आजसम्म पनि अब्सालोमको स्मारक भनिन्छ।
१९ सादोकका छोरा अहिमासले+ यसो भने: “बिन्ती छ, मलाई अनुमति दिनुहोस्। म दौडेर राजाकहाँ जान्छु र यो खबर दिन्छु। किनकि राजालाई उहाँका शत्रुहरूबाट मुक्त गरेर यहोवा परमेश्वरले राजाको पक्षमा न्याय गर्नुभएको छ।”+
२० तर योआबले उनलाई भने: “आज तिमीले खबर लग्नेछैनौ। तिमी अरू कुनै दिन खबर सुनाउन जानू तर आजचाहिँ होइन। किनकि आज राजाको छोराको मृत्यु भएको छ।”+
२१ त्यसपछि योआबले एक जना कुसीलाई* भने:+ “जाऊ, तिमीले जे देख्यौ, त्यो राजालाई बताइदेऊ।” तब त्यस कुसीले योआबलाई दण्डवत् गऱ्यो र दौडेर गयो।
२२ सादोकका छोरा अहिमासले योआबलाई फेरि भने: “जेसुकै होस्, बिन्ती छ, मलाई त्यस कुसीको पछिपछि दौडेर जाने अनुमति दिनुहोस्।” तर योआबले भने: “हे मेरो छोरा, तिमीले राजालाई बताउनुपर्ने कुनै खबर नै छैन तैपनि तिमी किन जान चाहन्छौ?”
२३ तर अहिमासले फेरि भने: “जेसुकै होस्, मलाई दौडेर जाने अनुमति दिनुहोस्।” त्यसैले योआबले भने: “ठीक छ, जाऊ।” तब अहिमास यर्दनको इलाकाको बाटो हुँदै दौडेर गए र तिनले त्यस कुसीलाई उछिने।
२४ दाउद सहरको भित्री र बाहिरी मूलढोकाको बीचमा बसिरहेका थिए।+ पहरेदार+ पर्खाल हुँदै मूलढोकाको छतमा गयो र त्यहाँबाट हेर्दा उसले एक जना मानिस एक्लै दौडेर आइरहेको देख्यो।
२५ तब त्यस पहरेदारले ठूलो स्वरले कराएर राजालाई त्यो कुरा बतायो। अनि राजाले भने: “यदि ऊ एक्लै छ भने उसले कुनै खबर ल्याएको हुनुपर्छ।” त्यो मानिस दौडेर झन्झन् नजिक आउँदै गर्दा
२६ पहरेदारले अर्को एक जना पनि दौडेर आइरहेको देख्यो। तब त्यस पहरेदारले ढोकेलाई कराएर भन्यो: “हेर! अर्को एक जना मानिस पनि एक्लै दौडेर आइरहेको छ।” राजाले भने: “उसले पनि केही खबर ल्याएको हुनुपर्छ।”
२७ पहरेदारले भन्यो: “त्यो पहिलो मानिसको दौडाइ सादोकका छोरा अहिमासको+ जस्तै छ।” त्यसैले राजाले भने: “तिनी त असल मानिस हुन्। तिनले राम्रो खबर ल्याएको हुनुपर्छ।”
२८ अहिमासले राजालाई ठूलो स्वरले कराएर भने: “मैले राम्रो खबर ल्याएको छु!” त्यसपछि तिनले भुईँमा घोप्टो परेर राजालाई दण्डवत् गरे अनि यसो भने: “हजुरका परमेश्वर यहोवाको जय होस्! उहाँले मेरा प्रभु, मेरा महाराजको विरुद्धमा उठ्नेहरूलाई हजुरको हातमा सुम्पिदिनुभएको छ।”+
२९ तर राजाले सोधे: “के मेरो छोरा अब्सालोम कुशलै छ?” अहिमासले जवाफ दिए: “योआबले राजाका सेवकलाई र मलाई* यहाँ पठाउँदा मैले ठूलो खैलाबैला मच्चिरहेको देखेको थिएँ। तर त्यहाँ के भएको थियो, मैले थाह पाइनँ।”+
३० तब राजाले तिनलाई एकातिर उभिन हुकुम गरे। त्यसैले तिनी एकातिर गएर उभिए।
३१ तब त्यो कुसी आइपुग्यो+ र यसो भन्यो: “हे मेरा प्रभु, मेरा महाराज! खबर यस्तो छ: हजुरको विरुद्धमा उठ्ने सबै मानिसबाट हजुरलाई मुक्त गरेर यहोवा परमेश्वरले आज हजुरको पक्षमा न्याय गरिदिनुभएको छ।”+
३२ तर राजाले त्यस कुसीलाई सोधे: “के मेरो छोरा अब्सालोम कुशलै छ?” तब कुसीले जवाफ दियो: “हे मेरा प्रभु, मेरा महाराज! हजुरका सबै शत्रु अनि हजुरको विरुद्धमा उठ्ने सबै जनाको हालत त्यही जवान मानिसको जस्तै होस्!”+
३३ यो सुनेर राजा भावविह्वल भए अनि मूलढोकाको छतमा भएको कोठामा गएर रोए। तिनी यसो भन्दै रुँदै गए: “हाय! मेरो छोरा अब्सालोम! मेरो छोरा, मेरो छोरा अब्सालोम! तिम्रो सट्टामा बरु मै मरेको भए हुन्थ्यो! मेरो छोरा अब्सालोम! मेरो छोरा!”+