दोस्रो समुएल १७:१-२९
१७ अनि अहितोपेलले अब्सालोमलाई भने: “बिन्ती छ, मलाई १२ हजार पुरुष छान्न अनुमति दिनुहोस् र म आज राती नै दाउदलाई खेद्न निस्कनेछु।
२ तिनी थाकेर लखतरान भएको बेला म तिनलाई आक्रमण गर्नेछु।+ म तिनलाई त्रसित बनाउनेछु अनि तिनीसित भएका सबै मानिस भाग्नेछन्। तब राजा एक्लै हुनेछन् र म तिनलाई मार्नेछु।+
३ त्यसपछि सबै मानिसलाई म तपाईँकहाँ ल्याउनेछु। तपाईँले खोजिरहनुभएको व्यक्ति मारिए भने मात्र तिनका सबै मानिस तपाईँकहाँ आउनेछन् र सबै मानिस शान्तिपूर्वक बस्न सक्नेछन्।”
४ अहितोपेलको यो सुझाव अब्सालोम र इस्राएलका सबै नाइकेलाई एकदम मन पऱ्यो।
५ तर अब्सालोमले भने: “अरकी हुसैलाई+ पनि बोलाऊ र उहाँको राय के छ, सुनौँ।”
६ त्यसैले हुसै अब्सालोमकहाँ आए र अब्सालोमले उनलाई भने: “अहितोपेलले यस्तो सुझाव दिएका छन्। के हामीले अहितोपेलले दिएको सुझावअनुसारै गर्नु ठीक होला? होइन भने तपाईँ नै भन्नुहोस्, हामी के गरौँ?”
७ तब हुसैले अब्सालोमलाई भने: “यस पटक अहितोपेलले दिएको सुझाव ठीक छैन।”+
८ हुसैले अझै भने: “तपाईँलाई थाहै छ, तपाईँको बुबा र तिनका मानिसहरू शक्तिशाली छन्+ र तिनीहरू आफ्ना बच्चाहरू हराएको माउ भालुजस्तै साह्रै रिसाएका छन्।+ त्यति मात्र होइन, तपाईँको बुबा एक वीर योद्धा हुन्+ र तिनी राती मानिसहरूसँग बस्नेछैनन्।
९ यतिखेर तिनी कुनै ओडारमा वा अन्त कतै लुकिरहेका होलान्।+ अनि हामीले भन्दा पहिला तिनले आक्रमण गरे भने यस्तो हल्ला फैलनेछ: ‘अब्सालोमको पछि लाग्नेहरू पराजित भएका छन्!’
१० अनि सिंहको जस्तै मुटु भएको साहसी मानिससमेत+ डरले पक्कै थरथर काँप्नेछ किनकि तपाईँको बुबा एक वीर योद्धा हुन्+ र तिनका मानिसहरू पनि साहसी छन् भनेर सबै इस्राएलीलाई थाह छ।
११ मेरो सुझाव यस्तो छ: दानदेखि बेर्सेबासम्मका+ सबै इस्राएली तपाईँकहाँ भेला नभएसम्म पर्खनुहोस्। तिनीहरू समुद्रका बालुवासरी असङ्ख्य हुनेछन्+ र तपाईँले नै तिनीहरू सबैलाई लडाइँमा लैजानुहोस्।
१२ तिनी जहाँ भए पनि हामी तिनलाई खोजेर आक्रमण गर्नेछौँ। अनि भुईँमा शीत परेझैँ हामी तिनीमाथि ओइरिनेछौँ। तिनी र तिनीसित भएका कोही पनि बच्नेछैनन्, सबै जना मारिनेछन्।
१३ तिनी कुनै सहरभित्र लुक्न गए भने पनि सबै इस्राएली डोरी लिएर त्यहाँ जानेछन्। अनि त्यस सहरलाई डोरीले घिसार्दै लगेर नदीमा खसालिदिनेछन्, त्यस सहरको एउटा ढुङ्गा पनि बाँकी रहनेछैन।”
१४ तब अब्सालोम र सबै इस्राएलीले भने: “अहितोपेलको सुझावभन्दा अरकी हुसैको सुझाव राम्रो छ!”+ यहोवा परमेश्वरले अहितोपेलको राम्रो सल्लाहलाई बेकामको तुल्याउने निर्णय* गरिसक्नुभएको थियो+ किनकि यहोवा परमेश्वर अब्सालोमलाई विनाश गर्न चाहनुहुन्थ्यो।+
१५ त्यसपछि हुसैले पुजारीहरू सादोक र अबियातारलाई+ यसो भने: “अहितोपेलले अब्सालोमलाई र इस्राएलका नाइकेहरूलाई यस्तो सुझाव दिए अनि मैले चाहिँ यस्तो सुझाव दिएँ।
१६ अब दाउदलाई सावधान गराउन उहाँकहाँ तुरुन्तै यस्तो खबर पठाओ: ‘आज राती निर्जनभूमिका जँघारहरूमा* नबस्नुहोस्; जसरी भए पनि पारि जानुहोस्। नत्र त राजा र उहाँका सबै मानिसको सर्वनाश हुनेछ।’”+
१७ जोनाथन+ र अहिमास+ आफूहरूलाई कसैले नदेखोस् भनेर सहरबाहिर एन-रोगेलमा+ बसिरहेका थिए। त्यसैले एउटी दासी गएर तिनीहरूलाई सबै कुरा बताइदिई अनि तिनीहरू त्यो कुरा राजा दाउदलाई बताउन गए।
१८ तर एक जना युवकले तिनीहरूलाई देख्यो अनि गएर अब्सालोमलाई बताइदियो। त्यसैले तिनीहरू तुरुन्तै त्यहाँबाट भागे र बाहुरिममा+ एक जना मानिसको घरमा पुगे। त्यस घरको आँगनमा इनार थियो। तिनीहरू त्यही इनारभित्र पसे।
१९ त्यस मानिसकी पत्नीले इनारको मुख कपडाले छोपिन् अनि त्यसमाथि बिस्कुन फिँजाइन्। यसबारे कसैले केही थाह पाएन।
२० अब्सालोमका सेवकहरू त्यस स्त्रीको घरमा आए र सोधे: “अहिमास र जोनाथन कहाँ छन्?” त्यस स्त्रीले भनिन्: “तिनीहरू नदीतिर गए।”+ ती मानिसहरूले तिनीहरूलाई खोजे तर कतै भेट्टाएनन्। त्यसैले ती मानिसहरू यरुसलेम फर्के।
२१ ती मानिसहरू गइसकेपछि तिनीहरू इनारबाट बाहिर निस्के अनि गएर राजा दाउदलाई खबर गरे। तिनीहरूले राजालाई भने: “उठ्नुहोस् र नदीपारि गइहाल्नुहोस् किनकि हजुरको विरुद्धमा अहितोपेलले यस्तो-यस्तो सुझाव दिएका छन्।”+
२२ यो सुन्नेबित्तिकै दाउद र तिनीसित भएका सबै मानिस उठे अनि यर्दनपारि गए। बिहान उज्यालो हुनुअघि नै तिनीहरू सबै यर्दनपारि पुगिसकेका थिए।
२३ आफूले दिएको सुझावअनुसार नगरिएको कुरा देखेपछि अहितोपेलले गधामा काठी कसे र त्यसमा चढेर आफ्नो सहर गए।+ त्यहाँ आफ्नो घर पुगेपछि उनले आफ्नो परिवारको लागि सबै बन्दोबस्त मिलाए।+ त्यसपछि उनी झुन्डिएर मरे।+ यसरी उनको मृत्यु भयो र उनकै पुर्खाहरूको चिहानमा उनलाई गाडियो।
२४ यसैबीच दाउद महनैम गए+ अनि अब्सालोमचाहिँ सबै इस्राएलीलाई लिएर यर्दनपारि गए।
२५ अब्सालोमले योआबको+ सट्टा अमासालाई+ सेनापति बनाए। अमासा इथ्रा नाम गरेका इस्राएलीका छोरा थिए। इथ्राले अबिगेलसित+ यौनसम्बन्ध राखेका थिए।* अबिगेल नहसकी छोरी र योआबकी आमा जेरुयाहकी बहिनी थिइन्।
२६ गिलादमा पुगेपछि इस्राएलीहरू र अब्सालोमले त्यहाँ छाउनी हाले।+
२७ दाउद महनैम पुग्नेबित्तिकै अम्मोनीहरूको सहर राब्बाहका+ नहसका छोरा सोबि, लो-देबारका अम्मिएलका छोरा माकिर+ र रोगेलिमका गिलादी बार्जिलैले+
२८ ओछ्यान, भाँडाकुँडा, माटाका भाँडा, गहुँ, जौ, पीठो, भुटेको अन्न, बकुला, दाल, सुकेको अन्न,
२९ मह, मक्खन, भेडा र चिज* ल्याए। तिनीहरूले यी सबै सरसामान दाउद र तिनका मानिसहरूको लागि ल्याए।+ किनकि तिनीहरूले भने: “मानिसहरू निर्जनभूमिमा भोकाएका, तिर्खाएका र थाकेका होलान्।”+
फुटनोटहरू
^ वा “आज्ञा।”
^ वा सम्भवतः “मरुभूमिको मैदानमा।”
^ इथ्रा अबिगेलका पति थिए जस्तो देखिन्छ।
^ यसले दूधबाट बनेको खानेकुरालाई जनाउँछ।