दोस्रो समुएल १०:१-१९

  • अम्मोन र सिरियामाथि विजय (१-१९)

१०  पछि अम्मोनीहरूका+ राजाको मृत्यु भयो र तिनको ठाउँमा तिनका छोरा हानुन राजा भए।+ २  यो खबर पाएपछि दाउदले भने: “जसरी हानुनका बुबा नहसले मलाई अटल प्रेम देखाएका थिए, त्यसरी नै म हानुनलाई पनि अटल प्रेम देखाउनेछु।” त्यसैले हानुनको बुबाको मृत्यु भएकोमा उनलाई सान्त्वना दिन दाउदले आफ्ना सेवकहरू पठाए। तर जब दाउदका सेवकहरू अम्मोनीहरूको इलाकामा आइपुगे, ३  तब अम्मोनी भारदारहरूले आफ्ना शासक हानुनलाई भने: “के दाउदले तपाईँको बुबाको आदर गर्ने भएकोले तपाईँलाई सान्त्वना दिन आफ्ना सेवकहरू पठाएका हुन्‌ र? होइन बरु तिनले हाम्रो सहरको जासुसी गर्न र यसलाई कसरी हराउन सकिन्छ भनी पत्ता लगाउन आफ्ना सेवकहरू यहाँ पठाएका हुन्‌।” ४  त्यसैले हानुनले दाउदका सेवकहरूलाई समातेर लगे अनि तिनीहरूको एकातिरको दाह्री खौरिदिए+ र तिनीहरूको लुगा पनि कम्मरभन्दा मुनि पूरै काटिदिए। त्यसपछि तिनीहरूलाई फर्काइदिए। ५  यो कुरा थाह पाउनेबित्तिकै दाउदले तिनीहरूलाई भेट्‌न आफ्ना मानिसहरू पठाए किनकि तिनीहरूको साह्रै बेइज्जत भएको थियो। राजाले तिनीहरूकहाँ यस्तो खबर पनि पठाए: “तिमीहरू दाह्री पलाएपछि मात्र फर्कनू; त्यतिन्जेल यरिहोमै बस्नू।”+ ६  केही समयपछि दाउदले आफूहरूलाई असाध्यै घृणा गर्न थालेका छन्‌ भनी अम्मोनीहरूले थाह पाए। तब तिनीहरूले आफ्ना मानिसहरू पठाएर अरू ठाउँहरूबाट ज्यालामा सिपाहीहरू झिकाए। बेथ-रेहोब+ र जोबाहबाट+ २० हजार सिरियाली आए, उनीहरू सबै पैदल सिपाही थिए। साथै माकाहका+ राजा आफ्ना १ हजार मानिस लिएर आए अनि इस्तोबबाट* १२ हजार मानिस आए।+ ७  यो कुरा सुनेपछि दाउदले योआबसित आफ्ना सबैभन्दा वीर योद्धाहरूसहित पूरै सेनालाई पठाए।+ ८  तब अम्मोनीहरू आए अनि सहरको मूलढोकामा दल बाँधेर तैनाथ भए। अर्कोतर्फ, जोबाह र रेहोबबाट आएका सिरियालीहरू अनि इस्तोब र माकाहबाट आएका मानिसहरूचाहिँ खुला मैदानमा थिए। ९  जब योआबले आफ्नो अगाडिपछाडि दुवैतिरबाट सिपाहीहरू आक्रमण गर्न आएको देखे, तब तिनले इस्राएलका सबैभन्दा कुशल योद्धाहरू छाने र सिरियालीहरूसित लडाइँ गर्न उनीहरूलाई दल बाँधेर तैनाथ गरे।+ १०  अरू सिपाहीहरूलाई चाहिँ तिनले आफ्ना दाइ अबिसैको+ जिम्मा लगाए र उनीहरू अम्मोनीहरूसित लडाइँ गर्न दल बाँधेर तैनाथ भए।+ ११  अनि योआबले अबिसैलाई भने: “यदि सिरियालीहरूले मलाई हराउन लागे भने तपाईँ मलाई बचाउन आउनुहोस्‌। तर अम्मोनीहरूले तपाईँलाई हराउन लागे भने म तपाईँलाई बचाउन आउनेछु। १२  हाम्रा मानिसहरू र हाम्रा परमेश्‍वरका सहरहरूको खातिर हामी बलियो र साहसी हुनै पर्छ।+ अनि यहोवा परमेश्‍वरले आफूलाई जे ठीक लाग्छ, त्यही गर्नुहुनेछ।”+ १३  त्यसपछि योआब र तिनका मानिसहरू सिरियालीहरूसित लडाइँ गर्न अघि बढे। तर सिरियालीहरू भने त्यहाँबाट भागे।+ १४  सिरियालीहरू भागेको देखेपछि अम्मोनीहरू पनि अबिसैको सामुन्‍नेबाट भागे अनि सहरभित्र छिरे। अम्मोनीहरूसित लडाइँ गरेपछि योआब यरुसलेम फर्के। १५  इस्राएलीहरूसित हारेपछि सिरियालीहरूले फेरि फौज जम्मा गरे।+ १६  हदद-एजेरले+ युफ्रेटिस नदीवरपरको इलाकाका सिरियालीहरूलाई बोलाए+ र तिनीहरू हदद-एजेरको सेनापति सोबाकको नेतृत्वमा हेलाम आए। १७  यो कुरा सुन्‍नेबित्तिकै दाउदले इस्राएलका सबै सिपाहीलाई भेला गराए अनि तिनीहरू यर्दन पार गरेर हेलाम आए। तब सिरियालीहरू दल बाँधेर तैनाथ भए अनि दाउदसित लडाइँ गरे।+ १८  तर सिरियालीहरू इस्राएलीहरूदेखि भागे। दाउदले लडाइँ गर्न रथमा आएका ७०० सिरियाली सिपाही र ४० हजार घोडचढीलाई मारे। तिनले सिरियाली सेनापति सोबाकलाई पनि मारे।+ १९  जब हदद-एजेरको अधीनमा भएका सबै राजा इस्राएलीहरूसित हारे, तब तिनीहरूले तुरुन्तै इस्राएलीहरूसित शान्ति सम्झौता गरे र इस्राएलीहरूको अधीनमा बस्न राजी भए।+ त्यसपछि सिरियालीहरूले कहिल्यै अम्मोनीहरूलाई मदत गर्ने आँट गरेनन्‌।

फुटनोटहरू

वा “तोबका मानिसहरूबाट।”