दोस्रो राजा ४:१-४४

  • एलिसा विधवाको तेललाई प्रशस्त बनाउँछन्‌ (१-७)

  • सुनेम्मी स्त्रीले गरेको अतिथि-सत्कार (८-१६)

  • इनामस्वरूप स्त्रीले छोरा पाउँछिन्‌; छोरा मर्छ (१७-३१)

  • एलिसा स्त्रीको छोरालाई फेरि जीवित पार्छन्‌ (३२-३७)

  • एलिसा विषालु सुरुवालाई खान मिल्ने बनाउँछन्‌ (३८-४१)

  • एलिसा थोरै रोटीलाई धेरै बनाउँछन्‌ (४२-४४)

 ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये*+ एक जनाकी पत्नी एलिसाकहाँ आएर रुँदै यसरी आफ्नो दुखेसो पोखिन्‌: “तपाईँका सेवक, मेरा पति बित्नुभयो। अनि तपाईँलाई राम्ररी थाह छ, उहाँ सधैँ यहोवा परमेश्‍वरको डर मान्‍नुहुन्थ्यो।+ उहाँले एक जना मानिससित ऋण लिनुभएको थियो र अहिले त्यो मानिस मेरा दुवै छोरालाई लगेर दास बनाउन यहाँ आएको छ।” २  तब एलिसाले उनलाई भने: “भन, म तिम्रो लागि के गरिदिऊँ? तिमीसित घरमा के छ?” उनले भनिन्‌: “तपाईँकी यस दासीसँग एक सुराही* तेलबाहेक अरू केही छैन।”+ ३  त्यसपछि एलिसाले भने: “बाहिर जाऊ र तिम्रा सबै छिमेकीसित रित्तो भाँडाहरू मागेर ल्याऊ। जत्ति धेरै ल्याउन सक्छ्यौ, ल्याऊ। ४  अनि तिम्रा छोराहरूलाई लिएर घरभित्र जाऊ र ढोका थुन। तिमीले ल्याएको सबै भाँडोमा सुराहीबाट तेल खन्याऊ अनि तेल भरेका भाँडाहरू एकातिर राख।” ५  त्यसपछि ती स्त्री त्यहाँबाट गइन्‌। आफ्ना छोराहरूलाई घरभित्र लगेर उनले ढोका लगाइन्‌। उनका छोराहरूले उनलाई भाँडाहरू दिँदै गए र उनले ती भाँडाहरूमा तेल भर्दै गइन्‌।+ ६  सबै भाँडोमा तेल भरेर सिद्धिएपछि उनले एक जना छोरालाई भनिन्‌: “अर्को भाँडो पनि देऊ।”+ तर उसले भन्यो: “अब त एउटै भाँडो बाँकी छैन।” तब सुराहीबाट तेल निस्कन छोड्‌यो।+ ७  त्यसपछि उनी साँचो परमेश्‍वरका सेवककहाँ गइन्‌ र तिनलाई सबै कुरा बताइन्‌। तब तिनले भने: “गएर त्यो तेल बेच र आफ्नो ऋण तिर। बाँकी भएको पैसाले चाहिँ आफू र आफ्ना छोराहरूको गुजारा चलाऊ।” ८  एकदिन एलिसा सुनेम गए।+ त्यहाँ एउटी गण्यमान्य स्त्री बस्थिन्‌। ती स्त्रीले एलिसालाई आफ्नो घरमा आएर खानपिन गर्न कर गरिन्‌।+ जब-जब एलिसा त्यो बाटो भएर यात्रा गर्थे, तब-तब तिनी ती स्त्रीको घरमा खानपिन गर्न जान्थे। ९  एकदिन ती स्त्रीले आफ्नो पतिलाई भनिन्‌: “मलाई थाह छ, यो बाटो भएर हिँड्‌ने ती मानिस परमेश्‍वरका पवित्र सेवक हुन्‌। १०  तिनको लागि छतमा एउटा सानो कोठा बनाऔँ!+ त्यहाँ एउटा खाट, टेबुल, कुर्सी अनि पानस पनि राखिदेऔँ। तिनी हामीकहाँ आउँदा तिनलाई त्यही कोठामा बस्न देऔँ।”+ ११  एकदिन एलिसा त्यहाँ आए र छतको कोठामा गएर ढल्किए। १२  अनि तिनले आफ्नो चाकर गेहजिलाई+ भने: “ती सुनेम्मी स्त्रीलाई यहाँ बोलाएर ल्याऊ।”+ गेहजिले उनलाई बोलाए र उनी एलिसाको अगाडि आएर उभिइन्‌। १३  त्यसपछि एलिसाले गेहजिलाई भने: “उनलाई यसो भन, ‘तिमीले हाम्रो लागि धेरै दुःख गरेकी छ्यौ।+ भन, म तिम्रो निम्ति के गरिदिऊँ? तिम्रो निम्ति राजा वा सेनापतिसित कुरा गरिदिऊँ+ कि?’”+ तर ती स्त्रीले यस्तो जवाफ दिइन्‌: “होइन, मलाई केही समस्या छैन। म आफ्नै मानिसहरूमाझ ढुक्क भएर बसिरहेकी छु।” १४  एलिसाले गेहजिलाई सोधे: “उनको निम्ति के गर्न सकिएला त?” गेहजिले जवाफ दिए: “मालिक, ती स्त्रीको कुनै छोरा छैन+ र उनको पति पनि वृद्ध भइसकेका छन्‌।” १५  यो सुन्‍नेबित्तिकै एलिसाले भने: “उनलाई यहाँ बोलाऊ।” गेहजिले उनलाई बोलाए र उनी आएर ढोकानेर उभिइन्‌। १६  त्यसपछि एलिसाले उनलाई भने: “अर्को वर्ष यही समयतिर तिम्रो काखमा एउटा छोरो हुनेछ।”+ तर उनले भनिन्‌: “हे साँचो परमेश्‍वरका सेवक, मेरा मालिक! तपाईँकी यस दासीसँग झूट नबोल्नुहोस्‌।” १७  नभन्दै ती स्त्री गर्भवती भइन्‌ र अर्को वर्ष एलिसाले भनेकै समयमा एउटा छोरो जन्माइन्‌। १८  तब त्यो बालक ठूलो भयो। एकदिनको कुरा हो, उसका बुबा खेतालाहरूसँगै गएका थिए र ऊ पनि आफ्नो बुबाकहाँ गयो। १९  उसले आफ्नो बुबालाई घरीघरी यसो भनिरह्‍यो: “बुबा! मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!” तब उसको बुबाले आफ्नो सेवकलाई भने: “यसलाई यसकी आमाकहाँ पुऱ्‍याइदेऊ।” २०  त्यसैले त्यो सेवकले उसलाई आमाकहाँ लगिदियो र ऊ मध्यदिनसम्मै आफ्नी आमाको काखमा सुतिरह्‍यो। त्यसपछि ऊ मऱ्‍यो।+ २१  तब ती स्त्रीले उसलाई बोकेर माथि लगिन्‌ र साँचो परमेश्‍वरका सेवकको खाटमा सुताइन्‌।+ अनि ढोका बन्द गरेर त्यहाँबाट गइन्‌। २२  उनले आफ्नो पतिलाई यस्तो बिन्ती गरिन्‌: “मलाई एक जना सेवक र एउटा गधा दिनुहोस्‌। म झट्टै साँचो परमेश्‍वरका सेवककहाँ जान चाहन्छु। म गएर आइहाल्छु।” २३  तर उनका पतिले भने: “आजै जानुपर्ने त्यस्तो के काम आइपऱ्‍यो? आज न औँसी हो+ न त विश्रामदिन* नै!” तर उनले भनिन्‌: “चिन्ता नलिनुहोस्‌! सब ठीक छ।” २४  तब उनले गधामा काठी कसिन्‌ र आफ्नो सेवकलाई भनिन्‌: “गधा छिटोछिटो दौडाऊ! मैले नभनेसम्म नरोक।” २५  तब ती स्त्री कर्मेल डाँडामा साँचो परमेश्‍वरका सेवककहाँ गइन्‌। उनलाई टाढाबाट आइरहेको देखेपछि एलिसाले आफ्नो चाकर गेहजिलाई भने: “हेर त! सुनेम्मी स्त्री यतै आउँदै छिन्‌। २६  झट्टै गएर उनलाई भेट र यसो भन, ‘तिमी ठीकै त छ्यौ? तिम्रा पति र छोरा ठीक छन्‌?’” ती स्त्रीले जवाफ दिइन्‌: “सबै ठीक छ।” २७  डाँडामा उक्लेर साँचो परमेश्‍वरका सेवकको छेउमा आइपुग्नेबित्तिकै उनले तिनको पाउ समातिन्‌।+ यो देखेर गेहजि उनलाई त्यहाँबाट हटाउन गए तर साँचो परमेश्‍वरका सेवकले भने: “उनलाई छाडिदेऊ किनकि उनलाई असह्‍य पीडा भइरहेको छ। तर कुरा के हो, त्यो मलाई पनि थाह छैन किनकि यहोवा परमेश्‍वरले मलाई यस विषयमा केही बताउनुभएको छैन।” २८  तब ती स्त्रीले भनिन्‌: “हे प्रभु! के मैले तपाईँलाई ‘मलाई एउटा छोरा दिनुहोस्‌’ भनेकी थिएँ र? मैले तपाईँलाई ‘मलाई झूटो आशा नदेखाउनुहोस्‌’ भनेकै थिएँ नि।”+ २९  एलिसाले तुरुन्तै गेहजिलाई भने: “तिम्रो लुगा कम्मरमा कस+ अनि मेरो लट्ठी लिएर तुरुन्तै गइहाल! बाटोमा कसैलाई भेट्‌यौ भने उसलाई अभिवादन नगर। अनि कसैले तिमीलाई अभिवादन गऱ्‍यो भने उसलाई केही जवाफ नफर्काऊ। गएर मेरो लट्ठी त्यो केटोको अनुहारमा राख।” ३०  तब ती स्त्रीले भनिन्‌: “जीवित परमेश्‍वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, तपाईँलाई नलिई म यहाँबाट जाँदै जान्‍नँ।”+ त्यसैले एलिसा उठेर उनीसित गए। ३१  गेहजि तिनीहरूको अघि-अघि गए अनि त्यो केटोको अनुहारमा लट्ठी राखे। तर त्यो केटो चल्दै चलेन र उसले कुनै आवाज निकालेन।+ त्यसैले गेहजि दौडेर एलिसाकहाँ गए र भने: “बालक उठेन।” ३२  एलिसा घरभित्र आउँदा तिनले आफ्नो खाटमा सुताइराखेको त्यो केटो मरिसकेको भेट्टाए।+ ३३  तब तिनी भित्र गए र ढोका बन्द गरे। कोठाभित्र एलिसा र त्यो केटोबाहेक अरू कोही थिएन। त्यसपछि एलिसाले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थाले।+ ३४  तिनी खाटमा चढे अनि त्यो केटोमाथि लमतन्‍न परे। तिनले आफ्नो मुख उसको मुखमा राखे, आफ्नो आँखा उसको आँखामा र आफ्नो हत्केला उसको हत्केलामा राखे। तिनी यसरी नै त्यो केटोमाथि लमतन्‍न परिरहे र केही बेरपछि उसको शरीर तातो हुँदै आयो।+ ३५  त्यसपछि तिनी घरभित्र यताउता हिँडे र फेरि खाटमा चढेर केटोमाथि लमतन्‍न परे। त्यो केटोले सात चोटि छिउँ गऱ्‍यो र आँखा खोल्यो।+ ३६  तब एलिसाले गेहजिलाई बोलाएर यसो भने: “सुनेम्मी स्त्रीलाई यहाँ बोलाऊ।” तिनले उनलाई बोलाए र उनी आइन्‌। एलिसाले उनलाई भने: “तिम्रो छोरा लैजाऊ।”+ ३७  तब उनी एलिसाको छेउमा गइन्‌ र भुईँसम्मै निहुरिएर तिनको पाउमा घोप्टो परिन्‌। त्यसपछि आफ्नो छोरालाई लिएर उनी त्यहाँबाट गइन्‌। ३८  एलिसा गिलगाल फर्कँदा त्यहाँ अनिकाल परेको थियो।+ एकदिन ‘भविष्यवक्‍ताहरूका छोराहरू’+ तिनको अगाडि बसिरहेको बेला तिनले आफ्नो चाकरलाई+ भने: “एउटा ठूलो खड्‌कुँलोमा ‘भविष्यवक्‍ताहरूका छोराहरू’-को लागि सुरुवा बनाऊ।” ३९  त्यसैले तिनीहरूमध्ये एक जना बारीमा तरकारी खोज्न गयो। त्यहाँ उसले एउटा जङ्‌गली लहरा देख्यो र त्यसको फल पोल्टोभरि टिपेर ल्यायो। त्यो कस्तो फल हो भनेर उसलाई थाह थिएन। उसले त्यो ल्यायो र काटेर खड्‌कुँलोमा हाल्यो। ४०  पछि ती मानिसहरूलाई त्यो सुरुवा खान दिइयो। तर त्यो सुरुवा मुखमा हाल्नेबित्तिकै तिनीहरू यसो भन्दै कराउन थाले: “यो त विष हो! हे साँचो परमेश्‍वरका सेवक! यो त विष पो रहेछ!” तिनीहरूले त्यो सुरुवा खानै सकेनन्‌। ४१  त्यसैले एलिसाले भने: “अलिकति पीठो ल्याऊ।” त्यसपछि तिनले त्यो पीठो खड्‌कुँलोमा हाले र यसो भने: “अब यो लगेर भविष्यवक्‍ताहरूलाई देओ।” यसपल्ट भने त्यो खड्‌कुँलोमा केही विषालु कुरा पाइएन।+ ४२  बाआल-सालिसाबाट+ एक जना मानिस आए। उनले साँचो परमेश्‍वरका सेवकलाई जौको २० वटा रोटी ल्याएर दिए।+ त्यो रोटी बालीको पहिलो उब्जनीबाट बनाइएको थियो। उनले एक झोला नयाँ अन्‍न पनि ल्याएका थिए।+ तब एलिसाले आफ्नो चाकरलाई भने: “यो सब खानेकुरा मानिसहरूलाई देऊ।” ४३  तर तिनको चाकरले भने: “यति जाबो खानेकुराले सय जनालाई कसरी पुऱ्‍याउने?”+ तब एलिसाले भने: “खानेकुरा लगेर मानिसहरूलाई देऊ किनकि यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिनीहरूले खानेछन्‌ र केही उब्रिनेछ।’”+ ४४  तब तिनको सेवकले त्यो खानेकुरा मानिसहरूलाई टक्य्रायो र तिनीहरूले खाए। अनि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ केही खानेकुरा उब्रियो।+

फुटनोटहरू

“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।
वा “टुटी भएको सुराही।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।