दोस्रो कोरिन्थी ३:१-१८

  • सिफारिसपत्र (१-३)

  • नयाँ करारका सेवक (४-६)

  • नयाँ करार अझ गौरवशाली छ (७-१८)

 के हामीले फेरि आफ्नो सिफारिस गर्नुपर्छ? अथवा कोही-कोही मानिसले जस्तै के हामीले पनि तिमीहरूलाई सिफारिसपत्र देखाउनुपर्छ वा के तिमीहरूबाट हामीलाई सिफारिस-पत्र चाहिन्छ र? २  तिमीहरू नै हाम्रा सिफारिसपत्र हौ,+ जुन हाम्रो हृदयमा कुँदिएको छ र जसलाई सबै मानिसले थाह पाएका छन्‌ र पढिरहेका छन्‌। ३  किनकि यो कुरा प्रस्ट छ कि तिमीहरू ख्रिष्टका पत्र हौ,+ जुन हामी सेवकहरूले मसीले लेखेका होइनौँ तर यो पत्र जीवित परमेश्‍वरको पवित्र शक्‍तिद्वारा ढुङ्‌गाका पाटीमा+ नभई हृदयमा* कुँदिएको छ।+ ४  ख्रिष्टद्वारा हामीले परमेश्‍वरमा यस्तो भरोसा राखेका छौँ। ५  हाम्रो योग्यता हामीले आफ्नै प्रयासले गर्दा पाएका होइनौँ तर हाम्रो योग्यता परमेश्‍वरबाट आउँछ,+ ६  जसले हामीलाई नयाँ करारको सेवक बन्‍न योग्य बनाउनुभयो+ र त्यो करार लिखित व्यवस्थाको होइन+ तर पवित्र शक्‍तिको हो किनकि लिखित व्यवस्थाले मृत्युको सजाय दिन्छ+ तर पवित्र शक्‍तिले जीवन दिन्छ।+ ७  अब यदि लिखित व्यवस्था, जसले मृत्युको सजाय दिन्छ अनि जसका अक्षरहरू ढुङ्‌गामा खोपिएका छन्‌,+ त्यो त यत्तिको महिमित भएर आयो कि मोसाको मुहारको महिमा, जो हराएर जाने थियो, त्यसलाई इस्राएलीहरूले हेर्न सकेनन्‌+ भने ८  पवित्र शक्‍ति दिने काम+ अझ महिमित हुनु नपर्ने के कुनै कारण छ र?+ ९  किनकि यदि सजाय दिने व्यवस्था+ महिमित+ थियो भने धर्मी ठहराउने सेवाको काम+ झनै कत्ति महिमित होला! १०  भनौँ भने जसलाई कुनै समय महिमित बनाइएको थियो, त्यसको महिमा खोसिएको छ किनकि त्यसको सट्टामा जे आयो, त्यसको महिमा अझ उत्कृष्ट छ।+ ११  किनकि जो हराएर जाने थियो, त्यसलाई त महिमाका साथ ल्याइयो+ भने जो रहिरहन्छ, त्यो झन्‌ कत्ति महिमित होला!+ १२  हामीसित यस्तो आशा भएकोले+ हामी निर्धक्क भई बोल्ने साहस गर्छौँ १३  अनि हामी मोसाले जस्तो गर्दैनौँ, जसले हराएर जाने व्यवस्थाको परिणामलाई इस्राएलीहरूले एकटक लगाएर हेर्न नसकून्‌ भनेर आफ्नो अनुहार घुम्टोले छोप्थे।+ १४  तर तिनीहरूको दिमाग बोधो भएको थियो।+ किनकि अहिले वर्तमान समयसम्मै पुरानो करार पढ्‌ने बेला त्यो घुम्टो हट्‌दैन;+ यो ख्रिष्टद्वारा मात्र हटाइन्छ।+ १५  हो, आजसम्मै जब मोसाका लेखोटहरू पढिन्छ,+ तब तिनीहरूको हृदयमा घुम्टो लागिरहेकै हुन्छ।+ १६  तर जब कोही यहोवा* परमेश्‍वरतिर फर्कन्छ, तब त्यो घुम्टो हटाइन्छ।+ १७  यहोवा* परमेश्‍वर अदृश्‍य हुनुहुन्छ+ र स्वर्गमा बस्नुहुन्छ।* अनि जहाँ यहोवा* परमेश्‍वरको पवित्र शक्‍ति हुन्छ, त्यहाँ स्वतन्त्रता हुन्छ।+ १८  अनि घुम्टो नलागेको मुहारद्वारा हामी सबै ऐनाले जस्तै यहोवा* परमेश्‍वरको महिमा प्रतिबिम्बित गर्छौँ अनि थोरै महिमाबाट धेरै महिमा पाएर उहाँकै प्रतिरूपमा परिवर्तन हुन्छौँ।+ यसरी यहोवा* परमेश्‍वर, जो अदृश्‍य हुनुहुन्छ र स्वर्गमा बस्नुहुन्छ, उहाँले* हामीलाई जस्तो बनाउन चाहनुहुन्छ, ठीक त्यस्तै बन्छौँ।

फुटनोटहरू

शा., “मासुको पाटीमा, मनमा।”
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
युहन्‍ना ४:२४ को फुटनोट हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।
वा सम्भवतः “यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले।”