दोस्रो इतिहास २:१-१८

  • मन्दिर निर्माणको तयारी (१-१८)

 सुलेमानले यहोवा परमेश्‍वरको नामको निम्ति एउटा भवन+ अनि आफ्नो निम्ति एउटा राजमहल बनाउने आदेश दिए।+ २  तिनले ७० हजार मजदुरलाई भारी बोक्ने काममा र ८० हजार मानिसलाई पहाडमा ढुङ्‌गा काट्‌ने काममा लगाए।+ उनीहरूको कामको निगरानी गर्न तिनले ३ हजार ६ सय जना निरीक्षक पनि नियुक्‍त गरे।+ ३  साथै तिनले टायरका राजा हिरामलाई+ यस्तो खबर पठाए: “मेरा बुबा दाउदले राजमहल बनाउनुहुँदा तपाईँले उहाँलाई देवदारका काठहरू पठाइदिनुभएको थियो। त्यसैगरि मलाई पनि देवदारका काठहरू पठाइदिनुहोस्‌।+ ४  म मेरा परमेश्‍वर यहोवाको नामको निम्ति एउटा भवन बनाउँदै छु। त्यो भवन परमेश्‍वरको निम्ति पवित्र पारिनेछ। त्यहाँ उहाँसामु सुगन्धित धूप चढाइनेछ,+ नियमित रूपमा भेटीको रोटी* राखिनेछ+ अनि हरेक बिहान र बेलुकी,+ विश्रामदिनमा,*+ औँसीमा+ र यहोवा परमेश्‍वरको निम्ति चाडहरू+ मनाइँदा अग्निभेटी चढाइनेछ। यो इस्राएलीहरूले सधैँ पूरा गर्नुपर्ने कर्तव्य हो। ५  मैले बनाउन लागेको त्यो भवन भव्य हुनेछ। किनकि हाम्रा परमेश्‍वर अरू सबै देवताभन्दा महान्‌ हुनुहुन्छ। ६  तर भन्‍ने नै हो भने, कसले पो उहाँको निम्ति भवन बनाउन सक्छ र? किनकि आकाश, हो, विशाल आकाश पनि उहाँको लागि सानो छ।+ त्यसैले उहाँको निम्ति भवन बनाउने म को हुँ र? म त यस्तो एउटा ठाउँ मात्र बनाउँदै छु, जहाँ परमेश्‍वरसामु माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउन सकियोस्‌। ७  त्यसैले सुन, चाँदी, तामा,+ फलाम, बैजनी ऊन, गाढा रातो र निलो धागोको काम गर्न अनि बुट्टा कुँद्‌न निपुण एक जना शिल्पकार मकहाँ पठाइदिनुहोस्‌। तिनले यहुदा र यरुसलेममा मेरा निपुण शिल्पकारहरूसँगै काम गर्नेछन्‌, जुन शिल्पकारहरूको प्रबन्ध मेरा बुबा दाउदले मिलाउनुभएको थियो।+ ८  अनि लेबनानबाट देवदार, धुपी+ र चन्दनका काठहरू+ पनि पठाइदिनुहोस्‌। किनकि मलाई थाह छ, तपाईँका सेवकहरू लेबनानका रूखहरू+ काट्‌न अनुभवी छन्‌। मेरा सेवकहरूले पनि तपाईँका सेवकहरूसँगै काम गर्नेछन्‌+ ९  र मेरो लागि प्रशस्त मात्रामा काठ ल्याउनेछन्‌ किनकि म जुन भवन बनाउँदै छु, त्यो निकै भव्य हुनेछ। १०  म तपाईँका सेवकहरू—रूख काट्‌ने कामदारहरूको लागि खानेकुराको प्रबन्ध गरिदिनेछु।+ म तिनीहरूको निम्ति २० हजार कोर* गहुँ, २० हजार कोर जौ, २० हजार बाथ* मद्य र २० हजार बाथ तेल दिनेछु।” ११  तब टायरका राजा हिरामले सुलेमानलाई यस्तो पत्र लेखेर पठाए: “यहोवा परमेश्‍वर आफ्नो प्रजालाई प्रेम गर्नुहुन्छ, त्यसैले उहाँले तपाईँलाई उनीहरूको राजा बनाउनुभएको छ।” १२  हिरामले पत्रमा यस्तो पनि लेखेका थिए: “स्वर्ग र पृथ्वी बनाउनुहुने इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा होस्‌। किनकि उहाँले राजा दाउदलाई एक जना बुद्धिमान्‌, विवेकी र समझदार छोरा दिनुभएको छ,+ जसले यहोवा परमेश्‍वरको निम्ति एउटा भवन र आफ्नो निम्ति एउटा राजमहल बनाउन लागेका छन्‌। १३  म तपाईँकहाँ शिल्पकार हिराम-अबिलाई+ पठाउँदै छु। तिनी समझदार र निपुण छन्‌। १४  तिनकी आमा दानको कुलकी हुन्‌ तर तिनका बुबाचाहिँ टायरका हुन्‌। तिनी सुन, चाँदी, तामा, फलाम, ढुङ्‌गा, काठ, बैजनी ऊन, निलो धागो, उच्च कोटीको मलमल र गाढा रातो धागोको काम गर्न अनुभवी छन्‌।+ तिनी जुनसुकै किसिमको बुट्टा कुँद्‌न सक्छन्‌।+ तिनले तपाईँका निपुण शिल्पकारहरूसित र तपाईँका बुबा, मेरा प्रभु दाउदका निपुण शिल्पकारहरूसित मिलेर काम गर्नेछन्‌। १५  अब हे मेरा प्रभु! तपाईँले वाचा गर्नुभएअनुसारै तपाईँका सेवकहरूको लागि गहुँ, जौ, तेल र मद्य पठाइदिनुहोस्‌।+ १६  तपाईँलाई चाहिएजति रूख हामी लेबनानमा+ काट्‌नेछौँ अनि ती काठहरू बाँधेर समुद्रमा तैराउँदै त्यसलाई जोप्पासम्म+ ल्याउनेछौँ। अनि तपाईँले ती काठहरू त्यहाँबाट यरुसलेम लैजानुहोला।”+ १७  त्यसपछि सुलेमानले आफ्ना बुबा दाउदले जस्तै+ इस्राएलका इलाकाहरूमा बसोबास गरिरहेका विदेशीहरूको गन्ती गरे।+ उनीहरू जम्मा १ लाख ५३ हजार ६ सय जना थिए। १८  तिनले उनीहरूमध्ये ७० हजारलाई भारी बोक्न र ८० हजारलाई पहाडमा ढुङ्‌गा काट्‌न लगाए।+ अनि उनीहरूलाई काममा लगाउन ३ हजार ६ सय जना निरीक्षक खटाए।+

फुटनोटहरू

वा “चाङ लगाएर राखिने रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।