दोस्रो इतिहास १९:१-११

  • येहु यहोसापातलाई हप्काउँछन्‌ (१-३)

  • यहोसापातले गरेका सुधारहरू (४-११)

१९  त्यसपछि यहुदाका राजा यहोसापात सकुशल यरुसलेममा आफ्नो महल फर्के।+ २  दर्शी हानानिका+ छोरा येहु+ राजा यहोसापातलाई भेट्‌न आए र तिनलाई यसो भने: “के तपाईँले दुष्ट व्यक्‍तिलाई मदत गर्नु सही हो?+ अनि यहोवा परमेश्‍वरलाई घृणा गर्ने मानिसलाई प्रेम गर्नु उचित हो?+ त्यसैले यहोवा परमेश्‍वर तपाईँसित क्रोधित हुनुभएको छ। ३  तैपनि उहाँले तपाईँमा केही असल कुरा भेट्टाउनुभएको छ।+ किनकि तपाईँले देशमा भएका पवित्र खामाहरू* हटाउनुभयो अनि साँचो परमेश्‍वरलाई खोज्न आफ्नो हृदय तयार पार्नुभयो।”*+ ४  यहोसापात यरुसलेममै बस्न थाले। अनि तिनी फेरि एक पटक बेर्सेबादेखि एप्रैमको पहाडी इलाकासम्म मानिसहरूलाई भेट्‌न गए।+ तिनले मानिसहरूलाई आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवाकहाँ फर्केर आउन प्रोत्साहन दिए।+ ५  तिनले यहुदाका पर्खालले घेरिएका हरेक सहरमा न्यायकर्ताहरू पनि नियुक्‍त गरे।+ ६  अनि तिनले ती न्यायकर्ताहरूलाई यसो भने: “तपाईँहरू आफ्नो काम सोचविचार पुऱ्‍याएर गर्नुहोस्‌ किनकि तपाईँहरू कुनै मान्छेको तर्फबाट होइन, यहोवा परमेश्‍वरको तर्फबाट न्याय गर्दै हुनुहुन्छ। जब तपाईँहरू कुनै फैसला सुनाउनुहुन्छ, तब उहाँ तपाईँहरूको साथमा हुनुहुनेछ।+ ७  यहोवा परमेश्‍वरको भय मान्‍नुहोस्‌।+ आफ्नो काम होसियारीपूर्वक गर्नुहोस्‌ किनकि हाम्रा परमेश्‍वर यहोवा अन्याय गर्नुहुन्‍न,+ पक्षपात गर्नुहुन्‍न+ अनि घुस पनि लिनुहुन्‍न।”+ ८  यहोसापातले यरुसलेममा पनि केही लेवी, पुजारी अनि इस्राएलमा भएका बुबापट्टिको घरानाहरूका नाइकेहरूलाई न्यायकर्ता नियुक्‍त गरे, जसले यहोवा परमेश्‍वरको तर्फबाट न्याय गर्ने थिए अनि यरुसलेमका बासिन्दाहरूको मुद्दामामिला सुल्झाउने थिए।+ ९  तिनले उनीहरूलाई यस्तो आज्ञा दिए: “तपाईँहरूले यहोवा परमेश्‍वरको भय मान्दै अनि विश्‍वासयोग्य हुँदै पूर्ण हृदयले गर्नुपर्ने काम यही हो: १०  जब अन्य सहरहरूमा बसोबास गर्ने तपाईँहरूका भाइबन्धुले कसैको हत्यासित सम्बन्धित+ अथवा कुनै व्यवस्था, आज्ञा, नीतिनियम र फैसलासम्बन्धी प्रश्‍न उठ्‌ने किसिमको मुद्दा ल्याउँछन्‌, तब तपाईँहरूले उनीहरूलाई चेतावनी दिनुहोस्‌ ताकि उनीहरू यहोवा परमेश्‍वरसामु दोषी नठहरिऊन्‌। नत्र परमेश्‍वरको क्रोध तपाईँहरू र तपाईँहरूका भाइबन्धुमाथि दन्कनेछ। तपाईँहरूले यसै गर्नुहोस्‌ र तपाईँहरू दोषी ठहरिनुहुनेछैन। ११  यहोवा परमेश्‍वरको उपासनासित सम्बन्धित हरेक मामिला सम्हाल्न मुख्य पुजारी अमर्याहलाई तपाईँहरूमाथि खटाइएको छ।+ अनि राजासित सम्बन्धित सबै मामिलाचाहिँ इस्माएलका छोरा जबदियाहले सम्हाल्नेछन्‌। उनी यहुदाको घरानाका अगुवा हुन्‌। अनि लेवीहरूले तपाईँहरूको निम्ति अफिसरहरूको रूपमा सेवा गर्नेछन्‌। साहसी भएर आफ्नो काम गर्नुहोस्‌। ज-जसले असल काम गर्छन्‌, तिनीहरूलाई यहोवा परमेश्‍वरले साथ देऊन्‌।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “हृदयदेखि अठोट गर्नुभयो।”