दोस्रो इतिहास १०:१-१९

  • इस्राएलले रहबामको विद्रोह गर्छ (१-१९)

१०  रहबाम सकेम+ गए किनकि सबै इस्राएली तिनलाई राजा बनाउन त्यहाँ भेला भएका थिए।+ २  यो कुरा सुन्‍नेबित्तिकै नबातका छोरा यरोबाम+ मिश्रबाट फर्केर आए। (यतिबेला उनी मिश्रमै थिए। उनी राजा सुलेमानदेखि भागेर मिश्र गएका थिए।)+ ३  मानिसहरूले तुरुन्तै उनलाई मिश्रबाट झिकाए। उनी सबै इस्राएलीसित रहबामकहाँ आए। तिनीहरूले रहबामलाई यसो भने: ४  “तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ।+ तर तपाईँले हाम्रो मजदुरी कम गरिदिनुभयो र तपाईँका बुबाले बोकाउनुभएको यो गह्रौँ जुवा हलुको पारिदिनुभयो भने हामी तपाईँको सेवा गर्नेछौँ।” ५  तब तिनले तिनीहरूलाई भने: “तिमीहरू तीन दिनपछि मकहाँ आउनू!” त्यसैले ती मानिसहरू त्यहाँबाट गए।+ ६  त्यसपछि राजा रहबामले तिनको बुबा सुलेमानको सेवा गरेका बूढापाकाहरूसित सरसल्लाह गरे। तिनले उनीहरूलाई सोधे: “तपाईँहरू यस विषयमा के भन्‍नुहुन्छ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” ७  उनीहरूले रहबामलाई जवाफ दिए: “यदि तपाईँले यी मानिसहरूसित राम्रो व्यवहार गर्नुभयो, तिनीहरूलाई खुसी पार्नुभयो र तिनीहरूसित मायालु तरिकामा कुरा गर्नुभयो भने तिनीहरू सधैँभरि तपाईँको सेवक बन्‍नेछन्‌।” ८  तर रहबामले ती बूढापाकाहरूको सल्लाह स्विकारेनन्‌ बरु आफूसितै हुर्केबढेका जवान मानिसहरूसित सल्लाह लिन गए, जो अहिले तिनका सेवक थिए।+ ९  रहबामले तिनीहरूलाई सोधे: “मानिसहरूले मलाई यसो भनेका छन्‌: ‘तपाईँका बुबाले हामीलाई बोकाउनुभएको जुवा हलुको पारिदिनुहोस्‌।’ तिमीहरू के भन्छौ? म यी मानिसहरूलाई के जवाफ दिऊँ?” १०  तिनीसितै हुर्केबढेका ती जवान मानिसहरूले तिनलाई भने: “‘तपाईँका बुबाले हामीलाई साह्रै गह्रौँ जुवा बोकाउनुभएको छ; यसलाई हलुको पारिदिनुहोस्‌’ भन्‍ने ती मानिसहरूलाई यस्तो जवाफ दिनुहोस्‌: ‘मेरो कान्छीऔँला मेरा बुबाको कम्मरभन्दा मोटो हुनेछ। ११  मेरा बुबाले तिमीहरूलाई गह्रौँ जुवा बोकाउनुभएको थियो तर म त्यसलाई झनै गह्रौँ बनाइदिनेछु। मेरा बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।’” १२  तेस्रो दिन यरोबाम र अरू सबै मानिस राजा रहबामकहाँ आए किनकि राजाले तिनीहरूलाई यसो भनेका थिए: “तीन दिनपछि मकहाँ आउनू!”+ १३  तर राजाले बूढापाकाहरूको सल्लाह सुनेनन्‌। त्यसैले तिनले मानिसहरूलाई कठोर जवाफ दिए। १४  तिनले जवान मानिसहरूको सल्लाह स्विकारे र मानिसहरूलाई यसो भने: “म तिमीहरूको जुवा झनै गह्रौँ बनाइदिनेछु। मेरो बुबाले तिमीहरूलाई दण्ड दिन कोर्रा लगाउनुहुन्थ्यो तर म तिमीहरूलाई किला भएका कोर्राले दण्ड दिनेछु।” १५  राजाले मानिसहरूको कुरा सुन्दै सुनेनन्‌ किनकि यी सबै घटनाको पछाडि साँचो परमेश्‍वरको हात थियो।+ सिलोका अहियाहमार्फत+ नबातका छोरा यरोबामलाई यहोवा परमेश्‍वरले जे भन्‍नुभएको थियो, त्यो पूरा गर्न उहाँले त्यसो गर्नुभएको थियो। १६  राजाले तिनीहरूको कुरा नसुनेकोले सारा इस्राएलीले राजालाई यसो भने: “दाउदसित हाम्रो के सरोकार? यिसैका छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखून्‌। हे इस्राएली हो, तिमीहरू सबै आ-आफ्नो देवताकहाँ फर्केर जाओ। अब दाउदको घरानाको हेरविचार दाउदले नै गरून्‌।”+ तब सबै इस्राएली आ-आफ्नो घर* फर्के।+ १७  तर रहबामले यहुदाका सहरहरूमा बसोबास गर्ने इस्राएलीहरूमाथि भने शासन गरिरहे।+ १८  अनि राजा रहबामले मजदुरहरूको निरीक्षक हादोरामलाई+ इस्राएलीहरूकहाँ पठाए। तर सारा इस्राएलीले उसलाई ढुङ्‌गाले हानेर मारे। रहबामचाहिँ आफ्नो रथ लिएर जसोतसो यरुसलेमतिर भाग्न सफल भए।+ १९  इस्राएलीहरूले आजसम्मै दाउदको घरानाको विद्रोह गरिरहेका छन्‌।

फुटनोटहरू

शा., “पालमा।”