दोस्रो इतिहास १:१-१७
१ दाउदका छोरा सुलेमानको शासन झन्झन् स्थिर हुँदै गयो। यहोवा तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो र उहाँले तिनलाई एकदमै महान् तुल्याउनुभयो।+
२ सुलेमानले सारा इस्राएललाई अर्थात् हजार-हजार र सय-सयका नाइकेहरूलाई, न्यायकर्ताहरूलाई अनि इस्राएलका सबै कुलनायक, जो आ-आफ्ना बुबापट्टिको घरानाका नाइकेहरू थिए, तिनीहरूलाई बोलाउन सन्देशवाहकहरू पठाए।
३ त्यसपछि सुलेमान र सारा समुदाय गिबोनमा भएको अग्लो थानमा* गए।+ किनकि साँचो परमेश्वरको भेट हुने पाल त्यहीँ थियो, जुन पाल यहोवा परमेश्वरका सेवक मोसाले निर्जनभूमिमा बनाएका थिए।
४ तर दाउदले साँचो परमेश्वरको सन्दुक* किर्यथ-येरिमबाट+ आफूले त्यसको निम्ति तयार पारेको ठाउँमा ल्याएका थिए। तिनले त्यसको निम्ति यरुसलेममा एउटा पाल टाँगेका थिए।+
५ हुरका नाति उरिका छोरा बजलेलले+ बनाएको तामाको वेदी+ यहोवा परमेश्वरको वासस्थानअगाडि* राखिएको थियो। सुलेमान र सारा समुदायले त्यस वेदीसामु प्रार्थना गर्थे।*
६ तब सुलेमानले त्यहाँ यहोवा परमेश्वरसामु भेटी चढाए। तिनले भेट हुने पालसँगै भएको तामाको वेदीमा+ १ हजार पशु अग्निभेटीस्वरूप* चढाए।
७ त्यो रात परमेश्वर सुलेमानकहाँ सपनामा प्रकट हुनुभयो र तिनलाई यसो भन्नुभयो: “तिमी के चाहन्छौ, भन।”+
८ सुलेमानले परमेश्वरलाई यस्तो जवाफ दिए: “तपाईँले मेरा बुबा दाउदलाई अपार प्रेम* देखाउनुभएको छ+ अनि उहाँको ठाउँमा मलाई राजा बनाउनुभएको छ।+
९ अब हे यहोवा, तपाईँले मेरा बुबा दाउदसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नुहोस्।+ तपाईँले मलाई पृथ्वीको धुलोजत्तिकै अनगिन्ती मानिसहरूमाथि राजा बनाउनुभएको छ।+
१० यी मानिसहरूलाई डोऱ्याउन मलाई बुद्धि र ज्ञान दिनुहोस्।+ किनकि तपाईँको यति ठूलो प्रजाको कसले पो न्याय गर्न सक्छ र?”+
११ त्यसपछि परमेश्वरले सुलेमानलाई यसो भन्नुभयो: “तिमीले न धनसम्पत्ति माग्यौ न मानसम्मान; तिमीले आफूलाई घृणा गर्नेहरूको ज्यान पनि मागेनौ न त दीर्घायु जीवन नै माग्यौ। बरु तिमीले मेरो प्रजाको न्याय गर्न बुद्धि र ज्ञान माग्यौ, जसमाथि शासन गर्न मैले तिमीलाई राजा बनाएको छु। तिम्रो मनैदेखिको चाहना यही भएकोले+
१२ म तिमीलाई बुद्धि र ज्ञान दिनेछु। तर त्यसबाहेक म तिमीलाई यति धेरै धनसम्पत्ति र मानसम्मान पनि दिनेछु, जुन न तिमीअघिका कुनै राजाले पाएका थिए न त तिमीपछिका कुनै राजाले नै पाउनेछन्।”+
१३ त्यसपछि सुलेमान गिबोनमा+ भएको अग्लो थान अर्थात् भेट हुने पालबाट यरुसलेम आए। अनि तिनले इस्राएलमा शासन गरे।
१४ सुलेमानले प्रशस्तै रथ र घोडा* जम्मा गरे। तिनीसित १ हजार ४ सय रथ र १२ हजार घोडा* थिए।+ अनि ती सबैलाई तिनले रथ राख्ने सहरहरूमा+ अनि आफूसितै यरुसलेममा राखे।+
१५ राजा सुलेमानले यरुसलेममा यत्ति धेरै सुनचाँदी जम्मा गरे कि ती ढुङ्गासरह प्रशस्त भए।+ अनि देवदारको काठचाहिँ सेफेलाहका खनिउँका रूखहरूसरह प्रशस्त भयो।+
१६ सुलेमानका घोडाहरू मिश्रबाट* ल्याइएका थिए।+ राजाका व्यापारीहरूले तोकिएको दाममा बथानका बथान घोडा किनेर ल्याउँथे।*+
१७ मिश्रबाट ल्याइएको एउटा रथको दाम चाँदीका ६०० टुक्रा पर्थ्यो अनि घोडाको चाहिँ चाँदीका १५० टुक्रा पर्थ्यो। त्यसपछि ती व्यापारीहरूले हित्तीहरूका सबै राजा र सिरियाका राजाहरूलाई ती रथहरू र घोडाहरू बेच्थे।
फुटनोटहरू
^ वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
^ वा “परमेश्वरसित सोधपुछ गर्थे।”
^ वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्।
^ वा “घोडचढी।”
^ वा “घोडचढीहरू।”
^ वा “इजिप्टबाट।”
^ वा सम्भवतः “घोडाहरू मिश्र र कोएबाट मगाइन्थ्यो; राजाका व्यापारीहरूले घोडाहरू कोएबाट किनेर ल्याउँथे।” कोए भन्ने ठाउँले सिलिसियालाई जनाएको हुन सक्छ।