पहिलो समुएल ३:१-२१

  • समुएललाई भविष्यवक्‍ता हुन बोलाइन्छ (१-२१)

 अनि समुएल एलिको निगरानीमा यहोवा परमेश्‍वरको सेवा गर्दै थिए।+ त्यसताका यहोवा परमेश्‍वरले आफ्नो वचन त्यति प्रकट गर्नुहुन्‍न थियो र उहाँले दर्शन*+ दिनुभएको पनि विरलै सुनिन्थ्यो। २  एकदिन एलि आफ्नो कोठामा सुतिरहेका थिए। तिनका आँखा धमिला भइसकेका थिए र तिनी देख्न पनि सक्दैनथे।+ ३  परमेश्‍वरको मन्दिरमा दियो बलिरहेको थियो।+ त्यतिबेला समुएल यहोवा परमेश्‍वरको मन्दिरमा* सुतिरहेका थिए।+ परमेश्‍वरको सन्दुक* पनि त्यही मन्दिरमा राखिएको थियो। ४  त्यतिबेला यहोवा परमेश्‍वरले समुएललाई बोलाउनुभयो। अनि समुएलले “हजुर” भने। ५  समुएल दौडँदै एलिकहाँ गएर भने: “तपाईँले मलाई बोलाउनुभएको हो?” तर एलिले भने: “मैले तिमीलाई बोलाएको छैनँ। गएर सुत।” तब समुएल गएर सुते। ६  यहोवा परमेश्‍वरले फेरि “समुएल” भनेर बोलाउनुभयो। तब समुएल उठे र एलिकहाँ गएर भने: “तपाईँले मलाई बोलाउनुभएको हो?” तर एलिले भने, “मैले तिमीलाई बोलाएको छैनँ छोरा। गएर सुत।” ७  (त्यतिबेलासम्म समुएलले यहोवा परमेश्‍वरलाई राम्ररी चिनिसकेका थिएनन्‌ र उनले यहोवा परमेश्‍वरबाट कुनै सन्देश पाएका पनि थिएनन्‌।)+ ८  यहोवा परमेश्‍वरले तेस्रो पटक पनि “समुएल” भनेर बोलाउनुभयो। त्यतिबेला पनि समुएल उठे र एलिकहाँ गएर भने: “तपाईँले मलाई बोलाउनुभएको हो?” तब समुएललाई बोलाउनुहुने यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर एलिले बुझे। ९  त्यसैले एलिले समुएललाई भने: “गएर सुत। उहाँले फेरि बोलाउनुभयो भने तिमीले यसो भन्‍नू, ‘भन्‍नुहोस्‌ यहोवा! तपाईँको सेवकले सुन्दै छ।’” तब समुएल गएर सुते। १०  यहोवा परमेश्‍वर समुएलकहाँ आएर खडा हुनुभयो र पहिलाजस्तै “समुएल, समुएल” भनेर बोलाउनुभयो। अनि समुएलले भने: “भन्‍नुहोस्‌, तपाईँको सेवकले सुन्दै छ।” ११  तब यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “हेर, म इस्राएलमा यस्तो काम गर्दै छु, जसबारे सुन्‍ने सबै जनाको दुवै कान बज्नेछ।*+ १२  एलिको घरानाबारे मैले जे-जे भनेको थिएँ, त्यो दिन म ती सबै कुरा एकएक गरेर पूरा गर्नेछु।+ १३  म एलिको घरानालाई सजाय दिँदै छु र तिनको घरानाले त्यो सजाय सदाको लागि भोग्नुपर्नेछ किनभने आफ्ना छोराहरूले परमेश्‍वरको निन्दा+ गरिरहेको थाह पाएर पनि+ तिनले उनीहरूलाई हप्काएका छैनन्‌।+ १४  त्यसैले मैले शपथ खाएको छु, एलिको घरानाले गरेको पापको लागि जस्तोसुकै बलि वा भेटी चढाइए पनि त्यो कहिल्यै क्षमा हुनेछैन।”+ १५  समुएल बिहानसम्मै सुते। त्यसपछि उठेर उनले यहोवा परमेश्‍वरको मन्दिरका ढोकाहरू खोले। आफूले देखेको दर्शनबारे एलिलाई बताउन समुएललाई डर लागिरहेको थियो। १६  त्यतिखेरै एलिले समुएललाई बोलाए: “बाबु समुएल!” समुएलले भने: “हजुर!” १७  अनि एलिले उनलाई सोधे: “परमेश्‍वरले तिमीलाई के भन्‍नुभयो? मलाई सबै कुरा भन। परमेश्‍वरले तिमीलाई जे-जे भन्‍नुभयो, त्यसबाट एउटा कुरा पनि लुकायौ भने परमेश्‍वरले तिमीलाई अत्यन्तै कडा सजाय देऊन्‌।” १८  त्यसकारण समुएलले एलिलाई सबै कुरा भने, उनले एउटा कुरा पनि लुकाएनन्‌। तब एलिले भने: “तिमीलाई यी सब भन्‍नुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ। उहाँलाई जस्तो ठीक लाग्छ, त्यस्तै होस्‌।” १९  समुएल हुर्कँदै गए अनि यहोवा परमेश्‍वरले उनलाई साथ दिइरहनुभयो;+ आफूले भनेको सबै कुरा उहाँले पूरा गर्नुभयो। २०  यहोवा परमेश्‍वरले समुएललाई आफ्नो भविष्यवक्‍ता नियुक्‍त गर्नुभएको छ भनेर दानदेखि बेर्सेबासम्मका सबै इस्राएली पक्का भए। २१  त्यसपछि पनि यहोवा परमेश्‍वर सिलोमा देखा परिरहनुभयो। यहोवा परमेश्‍वर आफ्नो वचनमार्फत समुएलकहाँ प्रकट हुनुभयो। यसरी यहोवा परमेश्‍वरले समुएलसामु आफूलाई चिनाइरहनुभयो।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
अर्थात्‌, वासस्थानमा।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
वा “होस उड्‌नेछ।”