पहिलो समुएल १७:१-५८

  • दाउद गोल्यतलाई जित्छन्‌ (१-५८)

    • गोल्यत इस्राएलीहरूलाई चुनौती दिन्छ (८-१०)

    • दाउद चुनौती स्विकार्छन्‌ (३२-३७)

    • दाउद यहोवाको नाममा लड्‌छन्‌ (४५-४७)

१७  अनि पलिस्तियालीहरूले+ लडाइँको लागि आफ्नो सेनालाई भेला गराए। तिनीहरू यहुदाको इलाकामा पर्ने सोकोहमा+ भेला भए; तिनीहरूले सोकोह र अजेकाहको+ बीचमा पर्ने एफेस-दम्मिममा+ छाउनी हाले। २  साउल र इस्राएलका मानिसहरू पनि भेला भए अनि उनीहरूले एलाह बेँसीमा+ छाउनी हाले। पलिस्तियालीहरूसित लडाइँ गर्न उनीहरू दल बाँधेर तैनाथ भए। ३  बेँसीको एकातिरको डाँडामा पलिस्तियालीहरू तैनाथ थिए अनि अर्कोतिरको डाँडामा इस्राएलीहरू तैनाथ थिए। ४  त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो।* ५  उसले टाउकोमा तामाको टोप लगाएको थियो। उसले तामाको कवच*+ पनि लगाएको थियो र त्यस कवचको तौल ५ हजार शेकेल* थियो। ६  उसले नलीखुट्टामा* तामाको पाता कसेको थियो र ढाडमा तामाकै बर्छी*+ भिरेको थियो। ७  उसको भालाको बिँड कपडा बुन्‍ने तानको डन्डाजत्रै ठूलो थियो।+ भालाको टुप्पोचाहिँ फलामको थियो र त्यसको तौल ६०० शेकेल* थियो। उसको ढाल बोक्ने सेवक उसको अघिअघि हिँडिरहेको थियो। ८  त्यसपछि त्यो वीर योद्धा अगाडि आएर खडा भयो+ र इस्राएलीहरूको फौजलाई यसो भन्यो: “तिमीहरू किन दल बाँधेर लडाइँ गर्न तैनाथ छौ? म पलिस्तियालीहरूको वीर योद्धा हुँ अनि तिमीहरूचाहिँ त्यस साउलका दासहरू! अब तिमीहरूमध्येबाट एक जना छान अनि त्यो मसँग लड्‌न तल आओस्‌। ९  यदि त्यसले मसँग लडाइँ गरेर मलाई माऱ्‍यो भने हामी तिमीहरूका दास हुनेछौँ। तर मैले त्यसलाई हराएर मारेँ भने तिमीहरू हाम्रो दास हुनेछौ र तिमीहरूले हाम्रो सेवा गर्नेछौ।” १०  त्यस पलिस्तियालीले अझै यसो भन्यो: “आज म इस्राएलीहरूको फौजलाई चुनौती दिन्छु!+ तिमीहरूले छानेको मानिसलाई मसँग लड्‌न पठाओ।” ११  त्यस पलिस्तियालीको यस्तो कुरा सुनेपछि साउल र तिनीसँग भएका इस्राएलीहरू असाध्यै डराए। १२  दाउद यिसैका+ छोरा थिए। यिसै यहुदाको बेतलेहेम+ अर्थात्‌ एप्राताका+ बासिन्दा थिए। यिसैका आठ जना छोरा+ थिए र साउल राजा हुँदा यिसै बूढो भइसकेका थिए। १३  यिसैका जेठा, माहिला र साहिँला छोरा साउलसँग लडाइँमा गएका थिए।+ जेठाको नाम एलिआब,+ माहिलाको नाम अबिनादाब+ र साहिँलाको नाम साम्माह+ थियो। १४  दाउदचाहिँ यिसैका कान्छा छोरा थिए+ र तिनका जेठा, माहिला र साहिँला दाइ साउलसँग लडाइँमा गएका थिए। १५  साउलकहाँ सेवा गर्दा दाउद समय-समयमा आफ्नो बुबाको भेडाबाख्रा चराउन+ बेतलेहेम जान्थे। १६  त्यो पलिस्तियाली हरेक दिन बिहान र बेलुकी अगाडि आएर इस्राएलीहरूलाई चुनौती दिन्थ्यो। त्यसले ४० दिनदेखि यसै गरिरहेको थियो। १७  एक दिन यिसैले आफ्नो छोरा दाउदलाई भने: “बाबु, यो एक एपा* भुटेको अन्‍न र १० वटा रोटी लिएर छाउनीमा दाइहरूलाई दिन गइहाल। १८  यो १० टुक्रा पनिर* दाइहरूको नाइकेलाई* दिनू। अनि दाइहरूको हालखबर कस्तो छ, त्यो पनि राम्ररी बुझेर आउनू।” १९  दाउदका दाइहरू पलिस्तियालीहरूसित+ लडाइँ गर्न साउल र अरू इस्राएलीहरूसित एलाह+ बेँसीमा बसिरहेका थिए। २०  भोलिपल्ट दाउद सबेरै उठे अनि आफ्ना भेडाबाख्रा एक जनालाई जिम्मा लगाए। त्यसपछि तिनले पोकापन्तरा कसे र आफ्नो बुबा यिसैले भनेअनुसारै छाउनीमा गए। तिनी छाउनीमा पुग्दा सिपाहीहरू कराउँदै युद्धभूमितिर गइरहेका थिए। २१  इस्राएलीहरूको र पलिस्तियालीहरूको फौज लडाइँ गर्न आमनेसामने तैनाथ भए। २२  यो देखेर दाउदले तुरुन्तै आफ्नो झोला कुरुवाकहाँ छोडे र दौडेर युद्धभूमितिर गए। त्यहाँ पुगेपछि तिनले आफ्ना दाइहरूको हालखबर सोध्न थाले।+ २३  दाउद आफ्ना दाइहरूसित कुरा गरिरहेको बेला पलिस्तियालीहरूको त्यो वीर योद्धा गोल्यत+ आयो, जो गाथको बासिन्दा थियो। पलिस्तियालीहरू तैनाथ भएको ठाउँबाट त्यो अगाडि आयो र पहिलाजस्तै इस्राएलीहरूलाई चुनौती दिन थाल्यो।+ दाउदले यो सबै सुने। २४  गोल्यतलाई देखेपछि इस्राएलीहरू डराएर भागाभाग गर्न थाले।+ २५  ती इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए: “देख्यौ त्यो मान्छेलाई! त्यसले इस्राएलीहरूलाई यसरी नै चुनौती दिइरहेको छ।+ जसले त्यसलाई मार्छ, उसलाई राजाले थुप्रै धनसम्पत्ति दिनुहुनेछ, उसलाई आफ्नै छोरीसमेत दिनुहुनेछ+ अनि उसको बुबाको घरानालाई कर र अनिवार्य सेवाहरूबाट छुट दिनुहुनेछ।” २६  दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्‍वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+ २७  त्यसलाई मार्ने मानिसले यस्तो-यस्तो पाउनेछ भनेर मानिसहरूले दाउदलाई पहिलाकै कुरा सुनाइदिए। २८  दाउदले मानिसहरूसित कुरा गरिरहेको देखेर तिनका जेठा दाइ एलिआब+ तिनीसित रिसाए र यसो भने: “तँ किन यहाँ आइस्‌? ती थोरै भेडालाई निर्जनभूमिमा कसकहाँ छोडेर आइस्‌?+ तँ किन यत्ति हठी भइस्‌? तेरो नियत के हो, मलाई राम्ररी थाह छ। तँ यहाँ लडाइँको रमिता हेर्न आइस्‌ होइन?” २९  तब दाउदले भने: “मैले के गरेको छु र? एउटा प्रश्‍न मात्र सोधेको त हुँ नि!” ३०  त्यसपछि दाउदले अर्कै मानिसतिर फर्केर पहिलाकै प्रश्‍न सोधे+ र मानिसहरूले तिनलाई पहिलाको जस्तै जवाफ दिए।+ ३१  केही मानिसले दाउदले भनेको कुरा सुने र त्यसबारे साउललाई बताइदिए। त्यसैले साउलले दाउदलाई बोलाउन पठाए। ३२  अनि दाउदले साउललाई भने: “त्यस पलिस्तियालीको कारण कसैले पनि हिम्मत नहारोस्‌। तपाईँको यो सेवक त्यस पलिस्तियालीसित लड्‌न जानेछ।”+ ३३  तर साउलले दाउदलाई भने: “तिमी त्यस पलिस्तियालीसित कहाँ लड्‌न सक्छौ र! तिमी त ठिटै छौ+ तर त्यस पलिस्तियालीले भने सानैदेखि लडाइँ गर्दै आएको छ।” ३४  त्यसपछि दाउदले साउललाई भने: “तपाईँको यो सेवक आफ्नो बुबाको भेडा-गोठालो पनि हो। एक पटक सिंहले+ र अर्को पटक भालुले बगालबाट भेडा लगेको थियो। ३५  दुवै पटक म ती जनावरको पछिपछि गएँ र तिनीहरूलाई प्रहार गरेँ। अनि तिनीहरूको मुखबाट मेरो भेडा खोसेँ। ती जनावरले मलाई हमला गर्न खोज्दा मैले तिनीहरूको चिउँडोमा च्याप्प समातेँ र कुटीकुटी मारेँ। ३६  तपाईँको यस सेवकले सिंह र भालु दुवैलाई माऱ्‍यो। त्यो बेखतने पलिस्तियालीको हालत पनि ती जनावरहरूको जस्तै हुनेछ। किनकि त्यस पलिस्तियालीले जीवित परमेश्‍वरको+ सेनालाई चुनौती दिएको छ।” ३७  दाउदले अझै यसो भने: “यहोवा परमेश्‍वरले मलाई सिंह र भालुको पन्जाबाट जोगाउनुभयो र त्यस पलिस्तियालीको हातबाट पनि मलाई उहाँले नै जोगाउनुहुनेछ।”+ तब साउलले दाउदलाई भने: “जाऊ! यहोवा परमेश्‍वरले तिमीलाई साथ देऊन्‌।” ३८  त्यसपछि साउलले दाउदलाई आफ्नो पोसाक पहिराइदिए। साउलले दाउदलाई तामाको टोप अनि कवच पनि लगाइदिए। ३९  त्यसपछि दाउदले साउलको तरबार भिरे अनि हिँड्‌न खोजे। तर यी सबै लगाउने बानी नभएकोले तिनी हिँड्‌नै सकेनन्‌। त्यसैले तिनले साउललाई भने: “म यी सबै लगाएर हिँड्‌न सक्दिनँ। किनकि यस्तो लगाउने मेरो बानी छैन।” त्यसैले दाउदले ती सबै खोले। ४०  त्यसपछि तिनले आफ्नो लौरो लिए। अनि खोलाबाट* पाँच वटा चिल्ला-चिल्ला ढुङ्‌गा टिपे र गोठालो जाँदा बोक्ने गरेको झोलामा हाले। तिनको हातमा घुयेँत्रो+ पनि थियो। त्यसपछि तिनी त्यो पलिस्तियाली भएतिर अघि बढे। ४१  त्यो पलिस्तियाली पनि दाउद भएतिर अघि बढ्‌न थाल्यो। त्यसको ढाल बोक्ने सिपाही त्यसको अघिअघि हिँडिरहेको थियो। ४२  जब त्यस पलिस्तियालीले दाउदलाई देख्यो, तब त्यसले दाउदलाई हेपेर खिल्ली उडाउन थाल्यो किनकि दाउद ठिटै थिए, तिनी राताराता गाला भएका र सुन्दर ठिटो थिए।+ ४३  त्यसले दाउदलाई भन्यो: “मसित लड्‌न लौरो लिएर आइस्‌! मलाई कुकुर भन्ठानिस्‌?”+ त्यसपछि त्यसले आफ्ना देवताहरूको नाम लिएर दाउदलाई सराप्न थाल्यो। ४४  त्यस पलिस्तियालीले दाउदलाई फेरि भन्यो: “आइज! म तेरो मासु चराहरूलाई र जङ्‌गली जनावरहरूलाई खुवाउनेछु।” ४५  दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्‌न तरबार, भाला र बर्छी लिएर आएको छस्‌।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्‍वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्‌।+ ४६  आज यहोवा परमेश्‍वरले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।+ म तँलाई मार्नेछु र तेरो शिर काटिदिनेछु। आज म पलिस्तियाली सिपाहीहरूको लास चराहरूलाई र जङ्‌गली जनावरहरूलाई खुवाइदिनेछु। तब इस्राएलीहरूका परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर पृथ्वीका सबै मानिसले थाह पाउनेछन्‌।+ ४७  अनि आज यहाँ भेला भएका सबैले यो कुरा बुझ्नेछन्‌: आफ्ना जनहरूलाई बचाउन यहोवा परमेश्‍वरलाई तरबार वा भाला चाहिँदैन+ किनकि लडाइँ यहोवा परमेश्‍वरकै हो+ र उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।”+ ४८  त्यसपछि त्यो पलिस्तियाली दाउदसित भिड्‌न अघि बढ्‌यो अनि दाउद त्यो पलिस्तियाली भएतिर दौडेर गए। ४९  दाउदले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्‌गा निकाले। त्यसपछि त्यो ढुङ्‌गा घुयेँत्रोमा हाले अनि बेसरी घुमाएर त्यस पलिस्तियालीलाई हाने। त्यो ढुङ्‌गा त्यस पलिस्तियालीको निधारमै गड्‌यो र त्यो भुईँतिर अनुहार पारेर डङ्‌ग्रङ्‌ङ लड्‌यो।+ ५०  यसरी आफूसित तरबार नभए पनि दाउदले एउटा घुयेँत्रो र ढुङ्‌गाको भरमा त्यस पलिस्तियालीलाई मारे।+ ५१  फेरि दाउद दौडेर गए र त्यस पलिस्तियालीको छेवैमा उभिए। त्यसपछि तिनले त्यसको म्यानबाट तरबार थुते+ र त्यसको शिर काटिदिए। जब पलिस्तियालीहरूले आफ्नो वीर योद्धा मरेको देखे, तब तिनीहरू त्यहाँबाट भाग्न थाले।+ ५२  तब इस्राएलका र यहुदाका मानिसहरू कराउन थाले अनि तिनीहरूले पलिस्तियालीहरूलाई त्यस बेँसीबाट+ एक्रोनका+ ढोकाहरूसम्मै खेद्‌दै र मार्दै गए। सारैमदेखि+ गाथ र एक्रोनसम्मै बाटोभरि पलिस्तियालीहरूको लास छरपस्ट थियो। ५३  यसरी इस्राएलीहरूले पलिस्तियालीहरूलाई खेद्‌नसम्म खेदे अनि फर्केर पलिस्तियालीहरूको छाउनी लुटे। ५४  त्यसपछि दाउद त्यस पलिस्तियालीको टाउको बोकेर यरुसलेम गए अनि तिनले त्यसका हतियारहरूचाहिँ आफ्नो पालमै राखे।+ ५५  दाउद त्यस पलिस्तियालीसित भिड्‌न गएको देख्दा साउलले आफ्नो सेनापति अब्नेरलाई सोधे: “अब्नेर,+ यो केटो कसको छोरा हो?”+ अब्नेरले यस्तो जवाफ दिए: “महाराज! म हजुरको जीवनको कसम खाएर भन्छु, मलाई थाह छैन।” ५६  राजाले यस्तो हुकुम दिए: “त्यो ठिटो कसको छोरा रहेछ, पत्ता लगाऊ!” ५७  दाउद त्यस पलिस्तियालीलाई मारेर फर्केपछि अब्नेरले तिनलाई साउलकहाँ लिएर गए। त्यतिबेला दाउदले त्यस पलिस्तियालीको टाउको हातमै झुन्ड्‌याएका थिए।+ ५८  तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।”

फुटनोटहरू

उसको कद लगभग २.९ मिटर (९ फिट ५.७५ इन्च) थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
यो कवच कपडा वा छालाबाट बनाइन्थ्यो र यसको बाहिरपट्टि धातुका टुक्राहरू जोडिएको हुन्थ्यो, जुन माछाको कत्लाजस्तो देखिन्थ्यो।
लगभग ५७ किलो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
घुँडादेखि गोलीगाँठासम्मको भाग।
वा “सानो भाला।”
लगभग ६.८४ किलो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
शा., “दूध।”
शा., “हजारको नाइके।”
वा “वादीबाट।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।