पहिलो राजा २०:१-४३

  • सिरियालीहरू आहाबसित लडाइँ गर्न आउँछन्‌ (१-१२)

  • आहाब सिरियालीहरूलाई हराउँछन्‌ (१३-३४)

  • आहाबविरुद्ध भविष्यवाणी (३५-४३)

२०  सिरियाका+ राजा बेन-हददले+ आफ्नो पूरै सेना भेला गरे। तिनले ३२ जना राजा र उनीहरूका घोडाहरू तथा रथहरू पनि साथमा लिए। त्यसपछि तिनले सामरिया+ सहरलाई आक्रमण गर्न त्यसलाई घेराबन्दी गरे।+ २  अनि तिनले सहरमा सन्देशवाहकहरू पठाए र इस्राएलका राजा आहाबलाई+ यस्तो खबर दिए: “बेन-हदद यसो भन्‍नुहुन्छ: ३  ‘तिम्रो सबै सुनचाँदी मेरो हो अनि तिम्रा राम्री-राम्री पत्नीहरू र राम्रा-राम्रा छोराहरू पनि मेरै हुन्‌।’” ४  इस्राएलका राजाले यस्तो जवाफ दिए: “हे मेरा प्रभु! मेरा महाराज! हजुरले भन्‍नुभएझैँ म र मसित भएका सबै कुरा हजुरकै हुन्‌।”+ ५  ती सन्देशवाहकहरूले फेरि आएर भने: “बेन-हदद यसो भन्‍नुहुन्छ, ‘मैले तिमीकहाँ यो खबर पठाएको थिएँ: “तिम्रा सुनचाँदी, पत्नीहरू र छोराहरू मलाई देऊ।” ६  भोलि यही बेला म तिमीकहाँ मेरा सेवकहरू पठाउनेछु। तिनीहरूले तिम्रो महलको र तिम्रा सेवकहरूका घरहरूको खानतलासी गर्नेछन्‌ अनि त्यहाँ भएका सबै असल-असल चिज खोसेर लैजानेछन्‌।’” ७  यो खबर पाएपछि इस्राएलका राजाले देशका सबै नाइकेलाई बोलाएर भने: “बिन्ती छ, यो कुरा राम्ररी विचार गर्नुहोस्‌, त्यो मान्छेले इस्राएलमा घोर विपत्ति ल्याउन निहुँ खोजिरहेको छ। उसले मेरा पत्नीहरू, छोराहरू र मेरा सुनचाँदी माग्यो र मैले नाइँनास्ति गरिनँ।” ८  तब इस्राएलका सबै नाइके र सबै मानिसले राजालाई भने: “उसको कुरा नसुन्‍नुहोस्‌! उसले भनेजस्तो नगर्नुहोस्‌।” ९  त्यसैले राजाले बेन-हददका सन्देशवाहकहरूलाई भने: “मेरा प्रभु, मेरा महाराजलाई यस्तो खबर देऊ, ‘हजुरले पहिले गर्नुभएको सबै माग म पूरा गर्छु। तर यो मागचाहिँ पूरा गर्न सक्दिनँ।’” तब ती सन्देशवाहकहरू त्यहाँबाट गए र बेन-हददलाई सबै कुरा सुनाइदिए। १०  त्यसपछि बेन-हददले यस्तो सन्देश पठाए: “म सामरियालाई ध्वस्त पारिदिनेछु अनि त्यसको धुलोले मेरा सैनिकहरूको मुठी पनि भरिनेछैन। यदि मैले त्यसो गरिनँ भने मेरा देवताहरूले मलाई त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌।” ११  इस्राएलका राजाले यस्तो जवाफ दिए: “तिनलाई यसो भनिदेओ, ‘लडाइँ सुरु नहुँदै तपाईँ किन लडाइँ जितेकै जस्तो गरी फुइँ लगाउनुहुन्छ?’”+ १२  त्यतिबेला बेन-हदद र तिनलाई साथ दिन आएका राजाहरू पालमा रक्सी खाँदै थिए। यो खबर पाउनेबित्तिकै तिनले आफ्ना सेवकहरूलाई भने: “लडाइँको लागि तयार होओ!” त्यसैले तिनीहरू सहरलाई आक्रमण गर्न तयार भए। १३  तर एक जना भविष्यवक्‍ताले इस्राएलका राजा आहाबकहाँ आएर भने:+ “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘के तिमीले यो विशाल सेना देख्यौ? आज म यो सेना तिम्रो हातमा सुम्पिदिनेछु र तिमीले म यहोवा हुँ भनी थाह पाउनेछौ।’”+ १४  आहाबले सोधे: “यसको लागि तपाईँ कसलाई चलाउनुहुन्छ?” ती भविष्यवक्‍ताले जवाफ दिए: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘रजौटाहरूका चाकरहरूलाई।’” तब आहाबले सोधे: “युद्धचाहिँ कसले सुरु गर्नेछ?” ती भविष्यवक्‍ताले भने: “तपाईँले।” १५  त्यसपछि आहाबले रजौटाहरूका चाकरहरू कति जना छन्‌ भनेर गने; तिनीहरू २३२ जना थिए। आहाबले इस्राएली सैनिकहरू पनि गने र उनीहरू ७ हजार जना थिए। १६  त्यसपछि तिनीहरू मध्यदिनमा सहरबाट निस्के। त्यतिबेला बेन-हदद आफूलाई युद्धमा साथ दिन आएका ३२ जना राजासितै पालमा रक्सी खाएर लट्ठ परेका थिए। १७  सिरियालीहरूको सामना गर्न सबैभन्दा पहिला रजौटाहरूका चाकरहरू सहरबाट निस्के। तब बेन-हददले के भएछ भनी बुझ्न तुरुन्तै केही मानिसलाई पठाए। उनीहरूले फर्केर तिनलाई यस्तो खबर दिए: “सामरियाका मानिसहरू सहरबाट निस्कँदै छन्‌!” १८  तब तिनले भने: “तिनीहरूलाई जिउँदै ल्याओ, चाहे तिनीहरू हामीसित मिलाप गर्न आएका होऊन्‌ या युद्ध गर्न।” १९  तर सहरबाट निस्केका रजौटाहरूका चाकरहरू र तिनीहरूको पछिपछि आइरहेका सैनिकहरूले २०  आफ्ना शत्रुहरूलाई मार्न थाले। यो देखेर सिरियाका सैनिकहरू भागे+ र इस्राएलीहरूले तिनीहरूलाई खेदे। सिरियाका राजा बेन-हदद भने केही घोडचढीसँगै त्यहाँबाट भागे। २१  इस्राएलका राजा पनि रणभूमिमा गए अनि घोडा र रथमा सवार भएका सैनिकहरूलाई मार्न थाले। यसरी उनले सिरियामाथि ठूलो विजय हासिल गरे। २२  पछि ती भविष्यवक्‍ता+ इस्राएलका राजाकहाँ आए अनि यसो भने: “अर्को वर्ष लाग्नेबित्तिकै* सिरियाका राजा फेरि तपाईँसित लडाइँ गर्न आउनेछन्‌।+ त्यसैले जानुहोस्‌ र आफ्नो सेनालाई अझ मजबुत पार्नुहोस्‌। अनि अहिल्यैदेखि एउटा राम्रो योजना बनाउनुहोस्‌।”+ २३  सिरियाका राजालाई तिनका सेवकहरूले यसो भने: “तिनीहरूका देवता पहाडहरूका देवता हुन्‌। त्यसैले तिनीहरूले हामीलाई हराएका हुन्‌। तर तिनीहरूसित मैदानमा लड्‌न गयौँ भने हामीले तिनीहरूलाई जित्नेछौँ। २४  अब तपाईँ यसो गर्नुहोस्‌: सेनाको नेतृत्व गर्ने कामबाट राजाहरूलाई हटाउनुहोस्‌+ र त्यो काम राज्यपालहरूलाई दिनुहोस्‌। २५  तपाईँले जति सैनिक गुमाउनुभएको थियो, त्यति नै जम्मा गर्नुहोस्‌। घोडा र रथहरूको सङ्‌ख्या पनि पहिलेको जत्तिकै पुऱ्‍याउनुहोस्‌। अनि हामी तिनीहरूसित मैदानमा लडाइँ गर्न जाऔँ। यसपालि भने हामी तिनीहरूलाई अवश्‍य हराउनेछौँ।” राजाले उनीहरूको सल्लाह सुने र त्यसैअनुसार गरे। २६  अर्को वर्ष लाग्नेबित्तिकै* बेन-हददले सिरियाली सैनिकहरू जम्मा गरे अनि इस्राएलीहरूसित लडाइँ गर्न अफेक सहर गए।+ २७  सिरियालीहरूको सामना गर्न इस्राएली सैनिकहरू पनि जम्मा गरिए र तिनीहरूलाई आवश्‍यक पर्ने सबै चिजबिजको बन्दोबस्त मिलाइयो। त्यसपछि तिनीहरू सिरियालीहरूसित लडाइँ गर्न निस्के। इस्राएली सैनिकहरू ती सिरियालीहरूको अगाडि छाउनी हालेर बसे। तिनीहरू बाख्राको दुई वटा साना बगालजस्ता देखिन्थे तर सिरियालीहरूले भने पूरै इलाका ढाकेका थिए।+ २८  तब साँचो परमेश्‍वरका सेवक इस्राएलका राजाकहाँ आए अनि यसो भने: “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘यी सिरियालीहरूले “यहोवा पहाडहरूको देवता हो, मैदानहरूको होइन” भनेका छन्‌। त्यसैले म यो विशाल सेना तिम्रो हातमा सुम्पिदिनेछु+ र तिमीले म यहोवा हुँ भनी अवश्‍य थाह पाउनेछौ।’”+ २९  तिनीहरू सात दिनसम्म एकअर्काको आमनेसामने छाउनी हालेर बसे अनि सातौँ दिनमा लडाइँ सुरु भयो। इस्राएलीहरूले एकै दिनमा १ लाख सिरियाली पैदल सैनिकलाई नाश गरे। ३०  अनि बाँकी रहेका सिरियाली सैनिकहरू भागेर अफेक सहरभित्र पसे।+ तर सहरको पर्खालले थिचेर २७ हजार सिरियाली त्यहीँ मरे। बेन-हदद पनि भागेर सहरभित्र पसे अनि एउटा घरको कुनामा गएर लुके। ३१  तब बेन-हददका सेवकहरूले तिनलाई भने: “हामीले इस्राएलका राजाहरू साह्रै कृपालु हुन्छन्‌* भनेर सुनेका छौँ। त्यसैले बिन्ती छ, अब हामी कम्मरमा भाङ्‌ग्रा बेरेर अनि टाउकोमा डोरी बाँधेर इस्राएलका राजाकहाँ जाऔँ। तिनले तपाईँलाई जीवनदान देलान्‌ कि?”+ ३२  त्यसैले तिनीहरूले कम्मरमा भाङ्‌ग्रा बेरे र टाउकोमा डोरी बाँधे। अनि इस्राएलका राजाकहाँ गएर भने: “तपाईँका सेवक बेन-हदद यसो भन्‍नुहुन्छ, ‘बिन्ती छ, मेरो ज्यान नलिनुहोस्‌।’” उनले जवाफ दिए: “तिनी जिउँदै रहेछन्‌? तिनी त मेरा भाइ हुन्‌।” ३३  ती मानिसहरूले यसलाई शुभ-सङ्‌केत ठाने अनि राजा आहाबले मनैदेखि यसो भनेका हुन्‌ भनी तुरुन्तै बुझे। त्यसैले तिनीहरूले भने: “हो महाराज, उहाँ तपाईँको भाइ नै हो।” तब आहाबले भने: “गएर तिनलाई ल्याऊ।” त्यसैले बेन-हदद निस्केर आहाबकहाँ आए र उनले बेन-हददलाई आफ्नो रथमा चढाए। ३४  बेन-हददले राजा आहाबलाई भने: “मेरो बुबाले तपाईँको बुबाबाट लिनुभएको सबै सहर म फिर्ता गरिदिनेछु अनि मेरो बुबाले सामरियामा बजारहरू खोल्नुभएझैँ तपाईँ पनि दमिसकमा बजारहरू खोल्नुहोस्‌।” आहाबले जवाफ दिए: “यो सम्झौताको* आधारमा म तपाईँलाई छोडिदिनेछु।” यसरी आहाबले बेन-हददसित सम्झौता गरे र तिनलाई छोडिदिए। ३५  ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये*+ एक जनाकहाँ यहोवा परमेश्‍वरको वचन आयो। उहाँको आज्ञा पालन गर्दै तिनले आफ्नो साथीलाई अनुरोध गरे: “मलाई हिर्काऊ!” तर उसले मानेन। ३६  त्यसैले तिनले उसलाई भने: “तिमीले यहोवा परमेश्‍वरको आज्ञा मानेनौ। त्यसैले तिमी यहाँबाट निस्कनेबित्तिकै तिमीलाई सिंहले मार्नेछ।” ऊ त्यहाँबाट निस्केपछि एउटा सिंहले उसलाई झम्टेर माऱ्‍यो। ३७  तिनले अर्को एक जना मानिस फेला पारे र यस्तो अनुरोध गरे: “मलाई हिर्काउनुहोस्‌!” त्यसैले ती मानिसले तिनलाई हिर्काएर घाइते बनाइदिए। ३८  त्यसपछि ती भविष्यवक्‍ताले आफूलाई कसैले नचिनोस्‌ भनेर आँखामा पट्टी बाँधे र बाटोमा गएर राजालाई पर्खे। ३९  राजा त्यो बाटो भएर गइरहेको बेला तिनले राजालाई बोलाएर यसो भने: “हजुरको यस सेवक लडाइँमा गएको थियो। त्यसबेला घमासान लडाइँ चलिरहेको थियो र एक जना मान्छे एउटा कैदीलाई लिएर मकहाँ आयो अनि यसो भन्यो, ‘यसमाथि नजर राख। यो यहाँबाट भाग्यो भने यसको सट्टा तिमीले आफ्नो ज्यान दिनुपर्नेछ+ अथवा एक टालेन्ट* चाँदी तिर्नुपर्नेछ।’ ४०  अनि हजुरको यस सेवक काममा व्यस्त हुँदा त्यो कैदी भागेछ।” तब इस्राएलका राजाले भने: “त्यसोभए त तिमीले सजाय पाउनै पर्छ। तिमीले आफ्नो इन्साफ आफैले गरिसक्यौ।” ४१  तिनले तुरुन्तै आफ्नो आँखाको पट्टी खोले र इस्राएलका राजाले तिनी भविष्यवक्‍ता रहेछन्‌ भनेर चिने।+ ४२  ती भविष्यवक्‍ताले राजालाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘मैले मारिनै पर्छ भनेको मान्छेलाई तिमीले त्यसै आफ्नो हातबाट उम्कन दियौ।+ त्यसैले त्यसको सट्टा तिमीले आफ्नो ज्यान दिनुपर्नेछ+ र त्यसका मानिसहरूको सट्टा तिम्रा मानिसहरू नाश हुनेछन्‌।’”+ ४३  यो सुनेर इस्राएलका राजा उदास भए अनि अँध्यारो मुख लगाएर सामरियामा+ आफ्नो महल गए।

फुटनोटहरू

अर्थात्‌, अर्को वसन्तमा।
अर्थात्‌, वसन्त ऋतुमा।
वा “इस्राएलका राजाहरूले अटल प्रेम देखाउँछन्‌।”
वा “करारको।”
“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।