पहिलो राजा १:१-५३

  • दाउद र अबिसाग (१-४)

  • अदोनियाह राजा बन्‍न खोज्छन्‌ (५-१०)

  • नातान र बेतसेबा कदम चाल्छन्‌ (११-२७)

  • दाउद सुलेमानलाई अभिषेक गर्ने हुकुम गर्छन्‌ (२८-४०)

  • अदोनियाह भागेर वेदीमा जान्छन्‌ (४१-५३)

 राजा दाउद धेरै वृद्ध भइसकेका थिए+ र जीवनको अन्तिम क्षणतिर पुगिसकेका थिए। तिनलाई जति नै कम्बल ओढाइदिए पनि न्यानो हुँदैनथ्यो। २  त्यसैले राजाका सेवकहरूले भने: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको निम्ति एउटी कुमारी केटी खोजेर ल्याउन हामीलाई अनुमति दिनुहोस्‌। उनले हजुरको स्याहारसुसार गर्नेछिन्‌। अनि हजुरलाई न्यानो बनाउन उनी हजुरसँगै सुत्नेछिन्‌।” ३  त्यसपछि एउटी सुन्दरी केटी खोज्न इस्राएलको चारैतिर मानिसहरू पठाइए। तिनीहरूले सुनेममा+ बस्ने अबिसागलाई+ फेला पारे र तिनलाई राजाकहाँ ल्याए। ४  तिनी असाध्यै सुन्दरी थिइन्‌। राजासँगै बसेर तिनले राजाको स्याहारसुसार गर्न थालिन्‌ तर राजाले तिनीसित यौनसम्बन्ध राखेनन्‌। ५  त्यही समयतिर हग्गिथको छोरा अदोनियाहले+ फुर्ती लगाउँदै यसो भन्‍न थाल्यो: “अब राजा बन्‍ने पालो मेरो हो!” उसले आफ्नो लागि एउटा रथ बनाउन लगायो अनि केही घोडचढी र आफ्नो अघिअघि दौडन ५० जना मानिस पनि तयार पार्न लगायो।+ ६  ‘तिमी किन यस्तो काम गर्दै छौ?’ भनेर उसका बुबाले उसलाई कहिल्यै सोधेनन्‌।* ऊ असाध्यै आकर्षक देखिन्थ्यो र ऊ अब्सालोमभन्दा पछि जन्मेको थियो। ७  उसले जेरुयाहको छोरा योआब र पुजारी अबियातारसँग+ सल्लाह गऱ्‍यो। तिनीहरूले अदोनियाहको पक्ष लिए र उसलाई मदत गर्न तयार भए।+ ८  तर पुजारी सादोक,+ यहोयादाको छोरा बेनायाह,+ भविष्यवक्‍ता नातान,+ सिमि,+ रेइ र दाउदका वीर योद्धाहरूले+ भने अदोनियाहलाई साथ दिएनन्‌। ९  एकदिन अदोनियाहले एन-रोगेलनजिकै जोहेलेथको ढुङ्‌गामा भेडा, गाईवस्तु र अरू मोटाघाटा पशु बलि चढायो।+ त्यस उत्सवमा उसले राजाका सबै छोरा अर्थात्‌ आफ्ना सबै भाइलाई र राजाका सबै सेवक जो यहुदामा बस्थे, तिनीहरूलाई पनि निम्तो दिएको थियो। १०  तर उसले भविष्यवक्‍ता नातान, बेनायाह, दाउदका वीर योद्धाहरू र आफ्नो भाइ सुलेमानलाई भने बोलाएन। ११  त्यसपछि भविष्यवक्‍ता नातानले+ सुलेमानकी आमा+ बेतसेबालाई+ यसो भने: “हग्गिथको छोरा अदोनियाह+ राजा भयो भनेर हजुरले खबर पाउनुभएको छैन? अनि के हाम्रा महाराज दाउदलाई यसबारे केही अत्तोपत्तो छैन? १२  अब कृपया मेरो सल्लाह सुन्‍नुहोस्‌ अनि हजुरको र हजुरको छोरा सुलेमानको जीवन बचाउनुहोस्‌।+ १३  राजा दाउदकहाँ जानुहोस्‌ र यसो भन्‍नुहोस्‌, ‘हे मेरा प्रभु! मेरा महाराज! हजुरले यस दासीसँग यसो भनेर कसम खानुभएको थियो: “मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ।”+ तर अहिले अदोनियाह कसरी राजा भयो?’ १४  अनि हजुर महाराजसँग कुरा गरिरहनुभएको बेला म पनि त्यहीँ आउनेछु र हजुरले भन्‍नुभएको कुरा सही हो भनेर बताउनेछु।” १५  त्यसैले बेतसेबा राजा दाउदको सुत्ने कोठामा गइन्‌। राजा दाउद धेरै वृद्ध भइसकेका थिए र सुनेम्मी अबिसागले राजाको स्याहारसुसार गरिरहेकी थिइन्‌।+ १६  अनि बेतसेबाले भुईँमा घोप्टो परेर राजालाई दण्डवत्‌ गरिन्‌। तब राजाले भने: “भन, तिमी के चाहन्छ्यौ?” १७  त्यसपछि बेतसेबाले भनिन्‌: “हे प्रभु, हजुरले यस दासीसँग यसो भनेर यहोवा परमेश्‍वरको नाममा कसम खानुभएको थियो, ‘मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ।’+ १८  हेर्नुहोस्‌! अहिले अदोनियाह राजा भएको छ तर मेरा प्रभु, मेरा महाराजलाई यसबारे केही खबर छैन।+ १९  उसले थुप्रै बहर, मोटाघाटा जनावर र भेडा बलि चढायो। अनि त्यस उत्सवमा उसले सबै राजकुमारलाई, पुजारी अबियातारलाई र सेनापति योआबलाई निम्तो दियो+ तर हजुरको सेवक सुलेमानलाई भने निम्तो दिएन।+ २०  तर हे मेरा प्रभु! मेरा महाराज! हजुरपछि सिंहासनमा को बस्नेछ भनेर जान्‍न अहिले सारा इस्राएलले हजुरको निर्णय पर्खिरहेको छ। २१  यदि हजुरले अहिले यस कुराको फैसला गरिदिनुभएन भने हजुरको शेषपछि* म र मेरो छोरा सुलेमान विद्रोही ठहराइनेछौँ।” २२  बेतसेबाले राजासँग कुरा गरिरहेको बेला भविष्यवक्‍ता नातान पनि आइपुगे।+ २३  राजालाई तुरुन्तै यस्तो खबर दिइयो: “भविष्यवक्‍ता नातान यहाँ आएका छन्‌!” तब नातान राजाको सामने हाजिर भए र भुईँमा लम्पसार परेर राजालाई दण्डवत्‌ गरे। २४  त्यसपछि नातानले भने: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको शेषपछि अदोनियाह राजा हुनेछन्‌ र उनी नै हजुरको सिंहासनमा बस्नेछन्‌ भनेर हजुरले नै भन्‍नुभएको हो र?+ २५  आज अदोनियाह थुप्रै बहर, मोटाघाटा जनावर र भेडा बलि चढाउन गएका छन्‌।+ अनि त्यस उत्सवमा उनले सबै राजकुमारलाई, पुजारी अबियातारलाई र सेनापति योआबलाई निम्तो दिएका छन्‌।+ तिनीहरू अहिले त्यहाँ अदोनियाहसँगै खानपिन गरिरहेका छन्‌ र यसो भनिरहेका छन्‌, ‘राजा अदोनियाह दीर्घायु होऊन्‌!’ २६  तर उनले मलाई, पुजारी सादोकलाई, यहोयादाको छोरा बेनायाहलाई+ र हजुरको सेवक सुलेमानलाई भने बोलाएनन्‌। २७  महाराज! के हजुरले नै अदोनियाहलाई यस्तो काम गर्ने अधिकार दिनुभएको हो? हजुरपछि अदोनियाह राजा हुनेछन्‌ भनेर हजुरले निर्णय गरिसक्नुभएको हो? यसबारे त हजुरले यस सेवकलाई कुनै जानकारी दिनुभएको थिएन।” २८  यो सुनेर राजा दाउदले यस्तो हुकुम गरे: “बेतसेबालाई यहाँ बोलाऊ!” तब बेतसेबा राजासामु हाजिर भइन्‌। २९  त्यसपछि राजाले कसम खाँदै यसो भने: “जीवित परमेश्‍वर यहोवा, जसले मलाई अनेक कठिनाइबाट बचाउनुभयो, उहाँको नाममा म भन्छु,+ ३०  इस्राएलका परमेश्‍वर यहोवाको नाममा मैले तिमीसित यस्तो कसम खाएको थिएँ: ‘मेरो शेषपछि तिम्रो छोरा सुलेमान राजा हुनेछ। ऊ नै मेरो सिंहासनमा बस्नेछ!’ मेरो वचन आज म पूरा गर्छु।” ३१  त्यसपछि बेतसेबाले भुईँमा लम्पसार परेर राजालाई दण्डवत्‌ गरिन्‌ र भनिन्‌: “मेरा प्रभु, मेरा महाराज दाउद दीर्घायु होऊन्‌!” ३२  राजा दाउदले तुरुन्तै यस्तो हुकुम गरे: “पुजारी सादोकलाई, भविष्यवक्‍ता नातानलाई र यहोयादाको+ छोरा बेनायाहलाई+ यहाँ बोलाऊ!” त्यसैले तिनीहरू सबै राजासामु हाजिर भए। ३३  राजाले तिनीहरूलाई भने: “मेरा सेवकहरूलाई लिएर जाओ र मेरो छोरा सुलेमानलाई मेरो खच्चरमा चढाएर+ गिहोनमा+ लैजाओ। ३४  त्यहाँ पुगेपछि पुजारी सादोक र भविष्यवक्‍ता नातानले सुलेमानलाई इस्राएलका राजा अभिषेक गरून्‌।+ त्यसपछि सिङ फुकेर यसो भन्‍नू: ‘राजा सुलेमान दीर्घायु होऊन्‌!’+ ३५  त्यसपछि तिमीहरू सबै उसको पछिपछि लागेर यहाँ आओ। ऊ यहाँ आएर मेरो सिंहासनमा बस्नेछ अनि मेरो सट्टा ऊ नै राजा हुनेछ। म उसलाई इस्राएलको र यहुदाको नाइके बनाउनेछु।” ३६  तब यहोयादाको छोरा बेनायाहले भने: “आमिन!* मेरा प्रभु, मेरा महाराजले जे भन्‍नुभएको छ, यहोवा परमेश्‍वरको इच्छा पनि त्यस्तै होस्‌। ३७  जसरी यहोवा परमेश्‍वरले मेरा प्रभुलाई साथ दिनुभयो, त्यसैगरि उहाँले सुलेमानलाई पनि साथ देऊन्‌।+ उहाँले सुलेमानलाई मेरा प्रभु दाउदभन्दा पनि महान्‌ शासक बनाऊन्‌।”+ ३८  त्यसपछि पुजारी सादोक, भविष्यवक्‍ता नातान, यहोयादाको छोरा बेनायाह+ अनि कराथीहरू र पेलेथीहरू*+ गए। तिनीहरूले सुलेमानलाई राजा दाउदको खच्चरमा चढाए+ र गिहोनमा+ लगे। ३९  अनि पुजारी सादोक पालमा गए+ र तेल राखिएको सिङ ल्याए+ अनि सुलेमानलाई अभिषेक गरे।+ तिनीहरूले सिङ फुकेपछि मानिसहरू यसो भन्दै कराउन थाले: “राजा सुलेमान दीर्घायु होऊन्‌!” ४०  त्यसपछि सबै मानिस बाँसुरी बजाउँदै र खुसीले कराउँदै सुलेमानको पछिपछि लागे। तिनीहरूले ठूलो स्वरले जयजयकार गरेकोले जमिनै थर्कियो।+ ४१  अदोनियाह र उसले निम्तो दिएका मानिसहरूले पनि यो स्वर सुने। त्यतिबेला तिनीहरूले खानपिन गरिसकेका थिए।+ सिङ फुकेको आवाज सुन्‍नेबित्तिकै योआबले भने: “सहरमा किन यस्तो होहल्ला भइरहेको छ?” ४२  तिनी बोलिरहेकै बेला पुजारी अबियातारको छोरा जोनाथन त्यहाँ आइपुगे।+ अनि अदोनियाहले जोनाथनलाई भने: “यता आऊ! तिमी त असल मानिस हौ। तिमीले पक्कै कुनै शुभसमाचार ल्याएका छौ।” ४३  तर जोनाथनले अदोनियाहलाई भने: “शुभसमाचार होइन! हाम्रा प्रभु राजा दाउदले सुलेमानलाई राजा बनाउनुभएको छ। ४४  राजाले पुजारी सादोक, भविष्यवक्‍ता नातान, यहोयादाको छोरा बेनायाह अनि कराथीहरू र पेलेथीहरूलाई सुलेमानसँगै पठाउनुभयो र तिनीहरूले सुलेमानलाई राजाको खच्चरमा चढाएर लगे।+ ४५  त्यसपछि पुजारी सादोक र भविष्यवक्‍ता नातानले गिहोनमा सुलेमानलाई राजा अभिषेक गरे। अनि मानिसहरू खुसीले कराउँदै त्यहाँबाट फर्के। त्यसैले सहरमा ठूलो होहल्ला भइरहेको हो। हजुरले सुन्‍नुभएको होहल्ला पनि त्यही हो। ४६  अनि सुलेमानचाहिँ सिंहासनमा बसिसकेका छन्‌। ४७  अझै अर्को कुरा, हाम्रा प्रभु राजा दाउदका सेवकहरू उहाँलाई बधाई दिन आए र यसो भने ‘हजुरका परमेश्‍वरले सुलेमानको नाम हजुरको नामभन्दा पनि उच्च पारून्‌ अनि उहाँले सुलेमानलाई हजुरभन्दा पनि महान्‌ शासक बनाऊन्‌!’ यो कुरा सुनेपछि ओछ्यानमा बसिरहेका राजा दाउदले आफ्नो शिर झुकाउनुभयो। ४८  अनि उहाँले यसो भन्‍नुभयो, ‘इस्राएलका परमेश्‍वर यहोवाको महिमा होस्‌! उहाँले आज मेरो छोरालाई मेरो सिंहासनमा बसाउनुभएको छ र मलाई यो देख्ने सुअवसर दिनुभएको छ।’” ४९  यी सबै कुरा सुनेपछि अदोनियाहले बोलाएका मानिसहरू डरले थरथर काँप्न थाले र तिनीहरू उठेर आ-आफ्नो बाटो लागे। ५०  अदोनियाह पनि सुलेमानदेखि असाध्यै डरायो। ऊ त्यहाँबाट उठ्‌यो अनि वेदीमा गएर त्यसको सिङ समातेर बसिरह्‍यो।+ ५१  त्यसपछि सुलेमानलाई यस्तो खबर दिइयो: “अदोनियाह सुलेमान राजादेखि असाध्यै डराएको छ र वेदीको सिङ समातेर यसो भन्दै बसिरहेको छ, ‘म तबसम्म यहाँबाट जानेछैनँ, जबसम्म राजा सुलेमानले मलाई नमार्ने कसम खानुहुन्‍न।’” ५२  अनि सुलेमानले यस्तो जवाफ दिए: “यदि उसले असल व्यवहार गऱ्‍यो भने उसको शिरको एउटा केशसमेत भुईँमा खस्नेछैन तर गलत काम गऱ्‍यो भने उसलाई कुनै हालतमा जिउँदो छोडिनेछैन।”+ ५३  त्यसपछि राजा सुलेमानले अदोनियाहलाई वेदीबाट ल्याउन मानिसहरू पठाए। अनि अदोनियाह राजा सुलेमानकहाँ आए र उनलाई दण्डवत्‌ गरे। त्यसपछि सुलेमानले भने: “तिमी आफ्नै घरमा जाऊ!”

फुटनोटहरू

वा “उसको चित्त दुखाएनन्‌; उसलाई हपारेनन्‌।”
शा., “पितृहरूसितै सुत्नुभएपछि।”
वा “यस्तै होस्‌!”
अर्थात्‌, दाउदका निजी अङ्‌गरक्षकहरू।