पहिलो कोरिन्थी ८:१-१३
८ अब म मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा लेख्दै छु:+ यसबारे हामी सबैसित ज्ञान छ भनेर हामीलाई थाह छ।+ ज्ञानले घमन्ड बढाउँछ तर प्रेमले उन्नति गराउँछ।+
२ यदि कसैले आफूलाई कुनै कुरा थाह छ भनी सोच्छ भने उसले त्यसबारे जे थाह पाउनुपर्ने हो, त्यो थाह पाइसकेको हुँदैन।
३ तर यदि कसैले परमेश्वरलाई प्रेम गर्छ भने परमेश्वरले उसलाई चिन्नुहुन्छ।
४ अब मूर्तिहरूलाई चढाइएको खानेकुराको विषयमा हामीलाई थाह छ, संसारमा मूर्ति केही पनि होइन+ र परमेश्वर एक जना मात्र हुनुहुन्छ।+
५ थुप्रै “ईश्वर” र थुप्रै “प्रभु” भएझैँ चाहे स्वर्गमा होस् वा पृथ्वीमा, ईश्वर कहलिएकाहरू त छन्+
६ तर वास्तवमा हाम्रो लागि परमेश्वर एकै जना हुनुहुन्छ,+ जो बुबा हुनुहुन्छ+ र जसबाट सबै कुरा भए अनि हामी उहाँकै लागि हौँ।+ अनि प्रभु एकै जना हुनुहुन्छ, जो येसु ख्रिष्ट हुनुहुन्छ र जसद्वारा सबै कुरा भए+ अनि हामी उहाँद्वारै भयौँ।
७ तैपनि यो ज्ञान सबै मानिससित छैन।+ पहिला मूर्तिहरूलाई पुजेको हुनाले कोही-कोही आज पनि केही खाँदा त्यो खानेकुरा मूर्तिलाई चढाइएको खानेकुरा हो कि भनी सोच्छन्।+ अनि उनीहरूको अन्तस्करण कमजोर भएकोले दूषित हुन्छ।+
८ तर खानेकुराले हामीलाई परमेश्वरसित घनिष्ठ बनाउँदैन।+ यदि खाँदैनौँ भने हामीलाई केही नोक्सान हुँदैन अनि खान्छौँ भने पनि केही फाइदा हुँदैन।+
९ तर सचेत रहो, छनौट गर्न पाउने तिमीहरूको अधिकार कमजोरहरूका लागि कुनै किसिमले ठक्करको कारण नबनोस्।+
१० यदि कसैले तिमी ज्ञान भएको मानिसलाई मूर्तिहरू पुजिने मन्दिरमा खाइरहेको देख्यो भने कमजोर मानिसको अन्तस्करण मूर्तिहरूलाई चढाइएको खानेकुरा खान सुरिँदैन र?
११ तिम्रो ज्ञानले गर्दा कमजोर मानिस बरबाद भइरहेको हुन्छ, तिम्रो त्यो भाइ, जसको निम्ति ख्रिष्ट मर्नुभयो।+
१२ जब तिमीहरूले यसरी आफ्ना भाइहरूको विरुद्धमा पाप गर्छौ अनि तिनीहरूको कमजोर अन्तस्करणलाई चोट पुऱ्याउँछौ,+ तब तिमीहरूले ख्रिष्टको विरुद्धमा पाप गरिरहेका हुन्छौ।
१३ त्यसैले यदि खानेकुराले गर्दा मेरो भाइलाई ठक्कर पुग्छ भने म फेरि कहिल्यै मासु खाँदिनँ ताकि मैले गर्दा मेरो भाइले ठक्कर नखाओस्।+

