पहिलो इतिहास २२:१-१९
२२ त्यसपछि दाउदले भने: “यस ठाउँमा साँचो परमेश्वर यहोवाको भवन बनाइनेछ र यहाँ इस्राएलको लागि अग्निभेटीको वेदी हुनेछ।”+
२ दाउदले इस्राएलका इलाकाहरूमा बसोबास गर्ने विदेशीहरूलाई भेला गराउन आदेश दिए+ र तिनीहरूलाई साँचो परमेश्वरको भवन बनाउन चाहिने ढुङ्गाहरू काट्ने र त्यसलाई आकार दिने काममा लगाए।+
३ तिनले ढोकाहरूको लागि किला र कब्जाहरू बनाउन प्रशस्त मात्रामा फलाम जम्मा गरे। अनि तिनले यत्ति धेरै तामा पनि जम्मा गरे, त्यो जोखेर साध्यै थिएन।+
४ तिनले देवदारका अनगिन्ती काठहरू पनि थुपारे।+ सिदोन+ र टायरका मानिसहरूले+ तिनको लागि देवदारका प्रशस्तै काठहरू ल्याइदिएका थिए।
५ दाउदले भने: “यहोवा परमेश्वरको निम्ति एउटा यस्तो भवन बनाउनुपर्छ, जुन अत्यन्तै वैभवशाली होस्+ अनि संसारभरि त्यसको नाम र सौन्दर्यको चर्चा होस्।+ तर मेरो छोरा सुलेमान सानै छ र ऊ त्यत्ति अनुभवी छैन।+ त्यसैले उसको खातिर म भवन बनाउने कामको तयारी गर्नेछु।” त्यसकारण दाउदले आफ्नो मृत्यु हुनुअघि त्यस भवनको लागि प्रशस्तै सरसामान जुटाए।
६ साथै तिनले आफ्ना छोरा सुलेमानलाई बोलाए अनि इस्राएलका परमेश्वर यहोवाको लागि भवन बनाउन निर्देशन दिए।
७ दाउदले आफ्ना छोरा सुलेमानलाई यसो भने: “मेरा परमेश्वर यहोवाको नामको निम्ति एउटा भवन बनाउने मेरो ठूलो धोको थियो।+
८ तर यहोवाको यो सन्देश मकहाँ आयो, ‘तिमीले थुप्रैको रगत बगाएका छौ र ठूलठूला युद्ध लडेका छौ। त्यसैले तिमीले मेरो निम्ति भवन बनाउन पाउनेछैनौ।+ तिमीले यस धर्तीमा मेरै आँखाअगाडि धेरैको रगत बगाएका छौ।
९ हेर! तिम्रो एउटा छोरा जन्मनेछ।+ ऊ शान्तिप्रिय हुनेछ र म उसलाई वरपरका सबै शत्रुबाट विश्राम दिनेछु।+ किनकि उसको नाम सुलेमान* हुनेछ+ अनि म उसको शासनकालमा इस्राएललाई शान्ति र चैन दिनेछु।+
१० उसले नै मेरो नामको खातिर एउटा भवन बनाउनेछ।+ ऊ मेरो छोरा हुनेछ र म उसको बुबा हुनेछु।+ म इस्राएलमा उसको सिंहासन सधैँको लागि स्थिर पार्नेछु।’+
११ “हे मेरो छोरा, यहोवा परमेश्वर सधैँ तिम्रो साथमा रहून् र तिमी आफ्नो काममा सफल होऊ। यहोवा तिम्रा परमेश्वरले तिम्रो विषयमा भन्नुभएझैँ उहाँको निम्ति भवन बनाऊ।+
१२ यहोवा परमेश्वरले तिमीलाई इस्राएलमाथि अधिकार गर्न दिनुभएपछि उहाँले तिमीलाई विवेक र समझ पनि देऊन्।+ अनि तिमी यहोवा तिम्रा परमेश्वरले दिनुभएको आज्ञाअनुसार चलिरहन सक्नेछौ।+
१३ यहोवा परमेश्वरले इस्राएलीहरूलाई जुन नीति-नियम र ऐनकानुन दिनू भनी मोसालाई अह्राउनुभएको थियो,+ ती होसियारीसाथ पालन गऱ्यौ भने तिमी सफल हुनेछौ।+ साहसी र बलियो होऊ! नडराऊ, त्रसित नहोऊ।+
१४ मैले धेरै दुःख गरेर यहोवा परमेश्वरको भवनको निम्ति १ लाख टालेन्ट* सुन र १० लाख टालेन्ट चाँदी जम्मा गरेको छु। अनि प्रशस्त मात्रामा तामा र फलाम पनि जुटाएको छु,+ जुन जोखेर साध्यै छैन। मैले काठहरू र ढुङ्गाहरू पनि जम्मा गरेको छु।+ तर तिमीले अझै जम्मा गर्नेछौ।
१५ तिमीसित थुप्रै कामदार पनि छन्—ढुङ्गा काट्नेहरू, डकर्मीहरू,+ सिकर्मीहरू र हरकिसिमको काम गर्न सिपालु कारिगरहरू।+
१६ यस कामको निम्ति यत्ति धेरै सुनचाँदी, तामा र फलाम थुपारिएको छ, त्यसको कुनै हिसाबकिताब नै छैन।+ अब यो काम सुरु गर; यहोवा परमेश्वरले तिमीलाई साथ देऊन्।”+
१७ दाउदले इस्राएलका सबै अगुवालाई आफ्ना छोरा सुलेमानलाई मदत गर्न आदेश दिए।
१८ तिनले उनीहरूलाई यसो भने: “के तिमीहरूका परमेश्वर यहोवा तिमीहरूको साथमा हुनुहुन्न र? के उहाँले तिमीहरूलाई चारैतिरका शत्रुहरूबाट विश्राम दिनुभएको छैन र? यहोवा परमेश्वरले यस देशका बासिन्दाहरूलाई मेरो अधिकारमा दिनुभएको छ अनि यो देश उहाँ र उहाँको प्रजाको अधीनमा परेको छ।
१९ अब आफ्नो सारा हृदय र सारा ज्यानले आफ्ना परमेश्वर यहोवाको खोजी गर+ अनि साँचो परमेश्वर यहोवाको निम्ति पवित्र स्थान* बनाउन सुरु गर+ ताकि यहोवा परमेश्वरको नामको निम्ति बनाइने त्यस भवनमा+ यहोवाको करारको सन्दुक* र साँचो परमेश्वरको पवित्र सरसामान राख्न सकियोस्।”+
फुटनोटहरू
^ यो नाम “शान्ति” अर्थ दिने हिब्रू शब्दबाट लिइएको हो।
^ एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।