पहिलो इतिहास १३:१-१४

  • किर्यथ-येरिमबाट सन्दुक ल्याइन्छ (१-१४)

    • उज्जाह मारिन्छन्‌ (९, १०)

१३  दाउदले हजार-हजारका र सय-सयका नाइकेहरूसित र अरू सबै अगुवासँग सरसल्लाह गरे।+ २  त्यसपछि तिनले इस्राएलको पूरै समुदायलाई भने: “यदि तपाईँहरू सबैलाई ठीक लाग्छ र यहोवा हाम्रा परमेश्‍वरको पनि मन्जुरी भयो भने इस्राएलको सबै इलाकामा बस्ने हाम्रा बाँकी भाइबन्धुलाई र चरन भएका सहरहरूमा बसोबास गर्ने पुजारीहरू तथा लेवीहरूलाई+ यहाँ बोलाऔँ र हामी सबै मिलेर ३  हाम्रा परमेश्‍वरको सन्दुक* यहाँ फिर्ता ल्याऔँ।”+ किनकि साउलको शासनकालमा उनीहरूले त्यस सन्दुकको वास्तै गरेका थिएनन्‌।+ ४  पूरै समुदाय त्यसो गर्न राजी भयो किनकि तिनीहरूलाई त्यो कुरा उचित लाग्यो। ५  तब दाउदले किर्यथ-येरिमबाट साँचो परमेश्‍वरको सन्दुक ल्याउन+ मिश्रको* नदीदेखि* लेबो-हमाथसम्मका* सबै इस्राएलीलाई एक ठाउँमा भेला गरे।+ ६  दाउद र सबै इस्राएली साँचो परमेश्‍वर यहोवाको सन्दुक ल्याउन यहुदाको बालाह+ अर्थात्‌ किर्यथ-येरिम गए। यही सन्दुकअगाडि मानिसहरू परमेश्‍वरको नाम पुकार्छन्‌, जो करूबहरूभन्दा माथि*+ विराजमान हुनुहुन्छ। ७  तर तिनीहरूले साँचो परमेश्‍वरको सन्दुक नयाँ गाडामा राखे+ अनि त्यसलाई अबिनादाबको घरबाट ल्याए। त्यो गाडा उज्जाह र अहियोले हाँकिरहेका थिए।+ ८  दाउद र सबै इस्राएलीले वीणा, किसिम-किसिमका तारे बाजा, खैँजडी,+ झ्याली+ र बिगुल बजाउँदै+ अनि गाउँदै पूरा जोसका साथ साँचो परमेश्‍वरसामु खुसीयाली मनाइरहेका थिए। ९  तर तिनीहरू किदोनको खलामा आइपुग्दा बयलगाडा पल्टनै लाग्यो। त्यसैले उज्जाहले तुरुन्तै आफ्नो हात अगाडि बढाएर सन्दुकलाई थामे। १०  तब यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्क्यो र उहाँले तिनलाई त्यहीँ मार्नुभयो। किनकि तिनले आफ्नो हात अगाडि बढाएर सन्दुकलाई समातेका थिए।+ यसरी उज्जाह परमेश्‍वरसामु त्यहीँ मरे।+ ११  तर यहोवा परमेश्‍वरको क्रोध उज्जाहमाथि दन्केको देखेर दाउद रिसाए। यस घटनाले गर्दा त्यस ठाउँलाई आजसम्म पनि पेरेज-उज्जाह* भनिन्छ। १२  त्यसैले दाउद त्यस दिन साँचो परमेश्‍वरसित डराए र तिनले भने: “अब साँचो परमेश्‍वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+ १३  दाउदले त्यो सन्दुक आफ्नो सहर अर्थात्‌ दाउदनगरमा ल्याएनन्‌। बरु तिनले त्यो सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा पठाइदिए। १४  साँचो परमेश्‍वरको सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा उनको घरानासितै तीन महिनासम्म रह्‍यो। यहोवा परमेश्‍वरले ओबेद-एदोमको घरानालाई र उनीसित भएका सबै कुरालाई आशिष्‌ दिइरहनुभयो।+

फुटनोटहरू

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।
वा “इजिप्टको।”
वा “सिहोरदेखि।”
वा “हमाथ छिर्ने ठाउँसम्मका।”
वा सम्भवतः “करूबहरूको बीचमा।”
यसको अर्थ हो, “उज्जाहमाथि दन्केको क्रोध।”