सपन्याह २:१-१५

  • यहोवाको रिसको दिन आउनुअघि नै उहाँलाई खोज (१-३)

    • धार्मिकता खोज, नम्रता खोज ()

    • “सायद तिमीहरूले शरण पाउँछौ” ()

  • वरपरका राष्ट्रहरूमाथि न्यायदण्ड (४-१५)

 ए निर्लज्ज राष्ट्र,+ तिमीहरू भेला होओ, हो, भेला होओ।+  २  न्यायदण्ड आउनुअघि नै, दिन भुसजस्तै उडेर जानुअघि नै, तिमीहरूमाथि यहोवाको रिसको आगो दन्किनुअघि नै,+ तिमीहरूमाथि यहोवाको रिसको दिन आउनुअघि नै,  ३  हे पृथ्वीका सबै नम्र मानिस हो, तिमीहरू जो उहाँको न्यायोचित आज्ञाको पालना गर्छौ, यहोवालाई खोज।+ धार्मिकता* खोज, नम्रता खोज। यहोवाको रिसको दिनमा सायद* तिमीहरूले शरण पाउँछौ कि?+  ४  गाजा निर्जन सहर हुनेछ अनि अस्कलोनचाहिँ उजाड हुनेछ।+ अस्दोदलाई मध्यदिनमै धपाइनेछ अनि एक्रोनलाई चाहिँ जरैदेखि उखेलिनेछ।+  ५  “धिक्कार छ तटवर्ती इलाकामा बसोबास गर्ने कराथीहरूलाई!+ यहोवाको वचन तिमीहरूको विरुद्धमा छ। ए पलिस्तियालीहरूको देश कनान, म तँलाई नाश गर्नेछु अनि त्यहाँ कोही पनि बाँकी रहनेछैन।  ६  तटवर्ती इलाका चरनमा परिणत हुनेछ र त्यहाँ गोठालाहरूको लागि कुवा र भेडाहरूको लागि ढुङ्‌गाको गोठ हुनेछ।  ७  त्यो ठाउँ यहुदाको घरानाका बाँकी भएका मानिसहरूको हुनेछ;+ तिनीहरूले त्यहाँ खानेछन्‌। तिनीहरू साँझपख अस्कलोनका घरहरूमा ढल्कनेछन्‌ किनकि यहोवा तिनीहरूका परमेश्‍वरले आफ्नो नजर तिनीहरूतिर फर्काउनुहुनेछ* र कैदमा लगिएकाहरूलाई फर्काएर ल्याउनुहुनेछ।”+  ८  “मोआबले+ बदनाम गरेको र अम्मोनीहरूले+ अपमान गरेको मैले सुनेको छु, उनीहरूले मेरा मानिसहरूको उपहास गरेका छन्‌ अनि घमन्डले फुलेर तिनीहरूको इलाका कब्जा गर्ने धम्की दिएका छन्‌।+  ९  त्यसैले म आफ्नै कसम खाएर भन्छु,” सेनाहरूका यहोवा, इस्राएलका परमेश्‍वर घोषणा गर्नुहुन्छ, “मोआबको दुर्दशा सदोमको जस्तै हुनेछ+ अनि अम्मोनको हालत गमोराको जस्तै हुनेछ;+ त्यहाँ सिस्नुघारी र नुनको खाडल हुनेछ अनि त्यो ठाउँ सदाको लागि उजाड हुनेछ।+ बाँकी रहेका मेरा मानिसहरूले तिनीहरूलाई लुट्‌नेछन्‌, मेरो जातिका बाँकी रहेकाहरूले तिनीहरूलाई धपाउनेछन्‌। १०  तिनीहरूको घमन्डको नतिजा यस्तै हुनेछ+ किनकि तिनीहरूले सेनाहरूका यहोवाका मानिसहरूको खिसी गरेका छन्‌ र आफैलाई उच्च पारेका छन्‌। ११  तिनीहरूको निम्ति यहोवा भयानक बन्‍नुहुनेछ किनकि उहाँले पृथ्वीका सबै देवतालाई बेकामको तुल्याइदिनुहुनेछ अनि राष्ट्रहरूका सबै टापुले उहाँलाई दण्डवत्‌* गर्नेछन्‌,+ हरेकले आ-आफ्नै ठाउँबाट दण्डवत्‌ गर्नेछ। १२  ए इथियोपियालीहरू हो, तिमीहरू पनि मेरो तरबारले काटिनेछौ।+ १३  उहाँले आफ्नो हात उत्तरतिर पसार्नुहुनेछ र अस्सेरियालाई नाश गर्नुहुनेछ उहाँले निनवेलाई मरुभूमिजस्तै उजाड पारिदिनुहुनेछ।+ १४  त्यहाँ हरप्रकारका जङ्‌गली जनावरको बथानले* बास गर्नेछ। भत्किएको खम्बाको शिरमा घाउँके हावासील* र दुम्सीले रात बिताउनेछन्‌। झ्यालमा बसेर कसैले गीत गाएको जस्तो आवाज सुनिनेछ। ढोकाको सँघार भत्किएर धुलोपिठो हुनेछ। उहाँले देवदारको फल्याकहरूलाई उखेल्नुहुनेछ। १५  यो त्यही घमन्डी सहर हो, जो निष्फिक्री भएर बसिरहेको थियो, त्यसले मनमनै यसो भनिरहेको थियो, ‘मै हुँ, मबाहेक अरू कोही छैन।’ हेर, त्यो कस्तो डरलाग्दो बनेको छ! त्यो जङ्‌गली जनावरहरू बास गर्ने ठाउँ बनेको छ। त्यहाँबाट जाने सबैले सिटी बजाउनेछन्‌* र मुड्‌की उठाउनेछन्‌।”+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “हुन सक्छ।”
वा “तिनीहरूको ख्याल राख्नुहुनेछ।”
वा “उहाँको उपासना।”
शा., “राष्ट्रको हरप्रकारका जङ्‌गली जनावरले।”
एक किसिमको पेलिकन चरा।
यसले छक्क पर्नु वा खिसी गर्नुलाई जनाएको हुन सक्छ।