सपन्याह १:१-१८
१ सपन्याहकहाँ* यहोवाको वचन आयो। तिनी कुसिका छोरा थिए, कुसि गदल्याहका छोरा थिए, गदल्याह अमर्याहका छोरा थिए र अमर्याह हिजकियाहका छोरा थिए। यहुदाका राजा अमोनको+ छोरा योसियाहको+ शासनकालमा सपन्याहले यस्तो सन्देश पाए:
२ यहोवा घोषणा गर्नुहुन्छ, “धर्तीबाट म सबै कुरा नाश गर्नेछु।”+
३ “म मानिस र पशुलाई नाश गर्नेछु;
आकाशका चराचुरुङ्गी र समुद्रका माछाहरूलाई नाश गर्नेछु;+
दुष्टहरू र ठक्कर दिने कुराहरू *+ सबैलाई
अनि मानिसलाई पनि यस धर्तीबाट हटाउनेछु,” यहोवा घोषणा गर्नुहुन्छ।
४ “म यहुदाविरुद्ध र यरुसलेमका सबै बासिन्दाविरुद्ध
आफ्नो हात पसार्नेछु,
यस ठाउँबाट बाआलको+ नामोनिसान मेटिदिनेछु
अनि पुजारीहरूको र विदेशी देवीदेवताका पुजारीहरूको नामै रहनेछैन।+
५ छतमा गएर आकाशका सेनालाई दण्डवत् गर्ने सबैलाई+
अनि एकातिर यहोवालाई दण्डवत् गर्दै उहाँप्रति वफादार रहने कसम खाने+
र अर्कोतिर मल्कामप्रति वफादार रहने कसम खाने+ सबैलाई नाश गर्नेछु।
६ यहोवाको पछि लाग्न छोडेकाहरूलाई+
अनि यहोवाको खोजी नगर्नेहरू र उहाँसित सल्लाह नमाग्नेहरूलाई नाश गर्नेछु।”+
७ ब्रह्माण्डका मालिक यहोवासामु चुप लागेर बस किनकि यहोवाको दिन नजिकै छ।+
यहोवाले एउटा बलिदान तयार पार्नुभएको छ; आफूले बोलाएकाहरूलाई उहाँले पवित्र तुल्याउनुभएको छ।
८ “म यहोवाले भारदारहरूसित,
राजकुमारहरूसित+ र विदेशीको जस्तो पहिरनमा भएकाहरू सबैसित मेरो बलिदानको दिनमा हिसाब लिनेछु।
९ त्यस दिन मञ्चमा* चढ्नेहरू सबैसित
अनि आफ्नो मालिकको घर हिंसा र छलले भर्ने सबैसित म हिसाब लिनेछु।”
१० यहोवा घोषणा गर्नुहुन्छ, “त्यस दिन
माछा-ढोकाबाट चिच्याहटको आवाज सुनिनेछ।+
सहरको ‘नयाँ बस्ती’-बाट रोइकराइको आवाज सुनिनेछ+
अनि पहाडहरूबाट ठूलो विष्फोटको आवाज सुनिनेछ।
११ ए मक्तेसका* बासिन्दाहरू हो, डाँको छोडेर रोओ
किनकि तिमीहरूका सबै व्यापारीको नामोनिसान मेटाइएको छ।*
चाँदी जोख्ने सबै नाश भएका छन्।
१२ त्यसबेला म बत्ती लिएर यरुसलेमको कुनाकुनामा गएर हेर्नेछु
अनि निष्फिक्री भएर बसेकाहरूसित* हिसाब लिनेछु, जसले मनमनै यसो भन्छन्,
‘यहोवाले असल गर्नुहुन्न र खराब पनि गर्नुहुन्न।’+
१३ तिनीहरूको धनसम्पत्ति लुटिनेछ र तिनीहरूका घरहरू तहसनहस हुनेछन्।+
तिनीहरूले घर बनाउनेछन् तर त्यसमा बस्न पाउनेछैनन्;
तिनीहरूले अङ्गुर बगान लगाउनेछन् तर त्यसको मद्य पिउन पाउनेछैनन्।+
१४ यहोवाको महान् दिन नजिकै छ!+
त्यो नजिकै छ, त्यो चाँडै आउँदै छ!+
यहोवाको दिनको आवाज भयानक छ।+
त्यस दिन योद्धा ठूलो स्वरले कराउँछ।+
१५ त्यो दिन क्रोधको दिन हो,+
दुःख र वेदनाको दिन,+
आँधी र विनाशको दिन,
त्यो दिनमा अन्धकार छाउँछ र कालो बादल मडारिन्छ,+
त्यो दिन बाक्लो बादल र घोर अन्धकारको दिन हो।+
१६ बलिया किल्लाहरू र कुनाका अग्ला धरहराहरूविरुद्ध+
त्यो दिन सिङ फुकिन्छ र लडाइँको घोषणा गरिन्छ।+
१७ म सबै मानिसमाथि विपत्ति ल्याउनेछु
अनि तिनीहरू अन्धो मानिसहरूजस्तै हिँड्नेछन्+
किनकि तिनीहरूले यहोवाविरुद्ध पाप गरेका छन्।+
तिनीहरूको रगत धुलोजस्तै खन्याइनेछ
र तिनीहरूको मासु* गोबरजस्तै फ्याँकिनेछ।+
१८ यहोवाको क्रोधको दिन न तिनीहरूको सुनले न त चाँदीले नै तिनीहरूलाई बचाउन सक्नेछ;+
उहाँको रिसको आगोले पूरै पृथ्वीलाई भस्म गर्नेछ।+
किनकि उहाँले पृथ्वीका सबै बासिन्दाको सर्वनाश गर्नुहुनेछ, साँच्चै भयानक तरिकाले सर्वनाश गर्नुहुनेछ।”+
फुटनोटहरू
^ यसको अर्थ हो, “यहोवाले लुकाउनुभएको छ (साँचेर राख्नुभएको छ)।”
^ यसले मूर्तिपूजासित सम्बन्धित वस्तु वा गतिविधिलाई जनाएको हुनुपर्छ।
^ यो राजाको सिंहासन भएको मञ्च हुन सक्छ।
^ शा., “सबै व्यापारीलाई चुप लगाइएको छ।”
^ यसले माछा-ढोका नजिकै भएको यरुसलेमको एउटा भागलाई जनाएको हुन सक्छ।
^ शा., “रक्सी राख्ने भाँडोमा कसर जस्तैगरि जमेर बसेकाहरूसित।”
^ शा., “आन्द्रा।”