व्यवस्था ३४:१-१२

  • यहोवा मोसालाई देश देखाउनुहुन्छ (१-४)

  • मोसाको मृत्यु (५-१२)

३४  त्यसपछि मोसा मोआब देशको मरुभूमिबाट नेबो डाँडामा,+ पिस्गाहको टुप्पोमा+ उक्ले, जुन यरिहोको अगाडि पर्छ।+ त्यहाँबाट यहोवा परमेश्‍वरले मोसालाई पूरै देश देखाउनुभयो; गिलाददेखि दानसम्म,+ २  नप्तालिको, एप्रैमको र मनस्सेको इलाका अनि पश्‍चिमको समुद्रसम्म* फैलिएको यहुदाको पूरै इलाका,+ ३  नेगेबको इलाका+ अनि यर्दनको इलाका, जसमा खजुरका बोटहरूको सहर यरिहोको बेँसी पनि पर्छ र जुन जोअरसम्म फैलिएको छ।+ ४  अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “मैले अब्राहाम, इसहाक र याकुबलाई दिन्छु भनेर कसम खाएको देश यही हो। तिनीहरूलाई मैले यसो भनेको थिएँ, ‘म तिम्रा सन्तानलाई यो ठाउँ दिनेछु।’+ यो ठाउँ तिमीले आफ्नै आँखाले देख्न पायौ तर तिमी त्यहाँ जान भने पाउनेछैनौ।”+ ५  यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ यहोवाका सेवक मोसा त्यहीँ मोआब देशमा मरे।+ ६  परमेश्‍वरले मोसालाई मोआब देशको बेँसीमा बेथ-पोअरको सामने गाड्‌नुभयो। मोसाको चिहान कहाँ छ भनेर अहिलेसम्म कसैलाई थाह छैन।+ ७  मोसाको मृत्यु हुँदा तिनी १२० वर्षका थिए।+ त्यसबेलासम्म पनि तिनका आँखा धमिला भएका थिएनन्‌ र तिनको बल घटेको थिएन। ८  मोसा मरेपछि इस्राएलीहरूले ३० दिनसम्म मोआबको मरुभूमिमा रुवाबासी गरे।+ त्यसपछि मोसाको निम्ति रुने र शोक गर्ने समय सिद्धियो। ९  नुनका छोरा यहोसु बुद्धिले* भरिपूर्ण मानिस थिए किनकि आफू मर्नुअघि मोसाले तिनीमाथि हात राखेर तिनलाई इस्राएलीहरूको अगुवा नियुक्‍त गरेका थिए।+ त्यसपछि इस्राएलीहरूले यहोसुको कुरा सुन्‍न थाले र तिनीहरू यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको आज्ञाअनुसारै चले।+ १०  इस्राएलमा मोसाजस्तो भविष्यवक्‍ता पछि कोही देखा परेनन्‌,+ जोसँग यहोवा परमेश्‍वरले आमनेसामने कुरा गर्नुभएको थियो।+ ११  यहोवा परमेश्‍वरले फारो र तिनका सेवकहरूसामु अनि तिनको सारा देशमा जुन-जुन चमत्कार गर्न र चिन्ह देखाउन मोसालाई पठाउनुभएको थियो, उनले ती सबै गरे।+ १२  मोसाले सारा इस्राएलीसामु पनि शक्‍तिशाली र आश्‍चर्यजनक कामहरू गरे।+

फुटनोटहरू

^ अर्थात्‌, भूमध्यसागरसम्म।
^ वा “परमेश्‍वरको शक्‍तिबाट प्राप्त हुने बुद्धिले।”