व्यवस्था २५:१-१९

  • पिटाइसम्बन्धी नियम (१-३)

  • दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू ()

  • मरिसकेका पतिको दाइ वा भाइसित विवाह (५-१०)

  • झगडा पर्दा गलत ठाउँमा नअँठ्‌याउनू (११, १२)

  • सही नापतौल (१३-१६)

  • अमालेकीहरूलाई नाश गर्नू (१७-१९)

२५  “यदि दुई मानिसबीच झगडा भयो भने तिनीहरू आफ्नो मुद्दा लिएर न्यायकर्ताहरूकहाँ जाऊन्‌+ र न्यायकर्ताहरूले तिनीहरूको फैसला गरिदेऊन्‌। अनि उनीहरूले जसको गल्ती छैन, उसलाई निर्दोष र जसको गल्ती छ, उसलाई दोषी ठहराऊन्‌।+ २  अपराधीले कुटाइ खान लायकको गल्ती गरेको छ भने+ न्यायकर्ताले उसलाई घोप्टिएर लम्पसार पर्न लगाऊन्‌ र आफ्नै अगाडि लट्ठीले पिट्‌न लगाऊन्‌। उसले जति गल्ती गरेको छ, त्यति नै पटक उसलाई पिटियोस्‌। ३  उसलाई बढीमा ४० पटकसम्म पिट्‌नू,+ त्योभन्दा धेरै होइन। नत्र त सबैसामु तिमीहरूको आफ्नै भाइको अपमान हुनेछ। ४  “दाइँ गरिरहेको गोरुलाई मोहोलो नलगाउनू।+ ५  “सगोलमा बस्ने दाजुभाइमध्ये एक जनाको मृत्यु भयो र तिनको कुनै छोरा छैन भने तिनकी विधवाले परिवारबाहिरको मानिससँग विवाह नगरून्‌। बरु उनको देवर वा जेठाजुले उनीसित विवाह गरून्‌ र आफ्नो कर्तव्य पूरा गरून्‌।+ ६  अनि तिनीहरूबाट जन्मेको पहिलो सन्तानले मरिसकेको दाजु वा भाइको वंश कायम गरून्‌।+ यसरी इस्राएलबाट तिनको नाम मेटिन नपाओस्‌।+ ७  “तर मरिसकेको पतिको दाइ वा भाइले ती विधवासित विवाह गर्न नमानेमा उनी सहरको मूलढोकामा नाइकेहरूकहाँ जाऊन्‌ र यसो भनून्‌ ‘यी मानिसले इस्राएलमा मेरो पतिको नाम कायम राख्न मानेनन्‌। तिनी मसँग विवाह गरेर आफ्नो कर्तव्य पूरा गर्न चाहँदैनन्‌।’ ८  तब ती पुरुष बसेको सहरका नाइकेहरूले तिनलाई बोलाएर तिनीसँग कुरा गरून्‌। अझै पनि तिनी विवाह गर्न मान्दैनन्‌ र ‘म उनीसँग विवाह गर्न चाहन्‍नँ’ भन्छन्‌ भने ९  ती विधवाले नाइकेहरूकै सामने तिनको जुत्ता फुकालिदेऊन्‌+ र तिनको मुखमा थुकिदेऊन्‌ अनि यसो भनून्‌, ‘आफ्नो दाजुभाइको वंश धान्‍न नमान्‍ने मानिसलाई यसै गरिनेछ।’ १०  त्यसपछि इस्राएलमा त्यस मानिसको घराना ‘जुत्ता फुकालिएको मानिसको घराना’ भनेर चिनिनेछ। ११  “यदि दुई जना पुरुषबीच झगडा भयो र तिनीहरूमध्ये एक जनाकी पत्नीले आफ्नो पतिलाई बचाउन आक्रमण गर्ने पुरुषको गुप्ताङ्‌ग अँठ्‌याई भने १२  तिमीहरूले त्यसको हात काटिदिनू। तिमीहरूले त्यसलाई दया नगर्नू। १३  “तिमीहरूले एउटै तौलको लागि आफ्नो झोलामा ढुङ्‌गाका दुई किसिमका ढक नराख्नू,+ एउटा धेरै तौल भएको र अर्को कम तौल भएको। १४  तिमीहरूले आफ्नो घरमा पनि एउटै नापको लागि दुई किसिमका भाँडा* नराख्नू,+ एउटा अलि ठूलो र अर्को अलि सानो। १५  तिमीहरूले ठीक तौलको ढक र ठीक नापको भाँडा राख्नू। यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू दीर्घायु हुनेछौ।+ १६  नापतौलमा बेइमानी गर्ने व्यक्‍तिलाई यहोवा तिमीहरूका परमेश्‍वर घृणा गर्नुहुन्छ।+ १७  “मिश्रबाट आउँदा अमालेकीहरूले तिमीहरूलाई बाटोमा के गरेका थिए, त्यो कुरा नबिर्स।+ १८  तिमीहरू हिँड्‌दा-हिँड्‌दा थाकेर चूर भएका थियौ। त्यसबेला अमालेकीहरूले यात्रामा पछि परेका सबै इस्राएलीलाई आक्रमण गरेर मारेका थिए। अमालेकीहरूले परमेश्‍वरको डर मानेनन्‌। १९  यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा यहोवा तिमीहरूका परमेश्‍वरले वरपरका शत्रुहरूको आक्रमण रोक्नुभएपछि+ तिमीहरूले पृथ्वीबाट अमालेकीहरूको नामोनिसान मेटाइदिनू।+ तिमीहरूले यो कुरा कहिल्यै नबिर्सनू।

फुटनोटहरू

शा., “आफ्नो घरमा एक एपा र एक एपा।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।