व्यवस्था २४:१-२२

  • विवाह र सम्बन्धविच्छेद (१-५)

  • जीवनप्रति आदर (६-९)

  • गरिबलाई दया देखाउने (१०-१८)

  • सिलाबालासम्बन्धी नियम (१९-२२)

२४  “कुनै पुरुषले विवाह गऱ्‍यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्‌यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस्‌ र त्यो छोडपत्र पत्नीलाई देओस्‌।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्‌।+ २  छोडपत्र पाएकी त्यस स्त्रीले त्यो घर छोडेर गएपछि फेरि विवाह गर्न सक्छे।+ ३  तर दोस्रो पतिले पनि त्यस स्त्रीलाई घृणा गऱ्‍यो र उसले पनि छोडपत्र लेखेर दियो अनि आफ्नो घरबाट निकालिदियो भने वा त्यो दोस्रो पति मऱ्‍यो भने ४  छोडपत्र दिएको पहिलो पतिले त्यस स्त्रीसित फेरि विवाह गर्न पाउनेछैन किनभने त्यो स्त्री अशुद्ध भइसकी। यस्तो कामलाई यहोवा परमेश्‍वर घृणा गर्नुहुन्छ। यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिन लाग्नुभएको देशमा तिमीहरूले यस्तो पाप नगर्नू। ५  “भर्खरै विवाह गरेको पुरुषलाई सेनामा भर्ती नगर्नू वा उसलाई अरू कुनै जिम्मेवारी नदिनू। उसलाई एक वर्षसम्म घरमै बस्न दिनू र उसले आफ्नी पत्नीलाई खुसी बनाओस्‌।+ ६  “ऋण दिँदा कसैले पनि जाँतो वा जाँतोको माथिल्लो चक्का बन्धकी नलिनू।+ किनभने यसो गर्नु भनेको कुनै मानिसको जीवन धान्‍ने साधन नै बन्धकी लिनु हो।* ७  “कुनै मानिसले आफ्नो इस्राएली भाइबन्धुलाई अपहरण गऱ्‍यो अनि उसलाई दुर्व्यवहार गऱ्‍यो र बेचिदियो भने+ त्यस अपहरणकारीलाई मार्नै पर्छ।+ तिमीहरूले आफ्नो माझबाट जे खराब छ, त्यो हटाउनै पर्छ।+ ८  “तिमीहरूमाझ कुष्ठरोग* देखा पऱ्‍यो भने लेवी पुजारीहरूले तिमीहरूलाई जे-जे गर भनेर सिकाउँछन्‌, तिमीहरूले ठीक त्यसै गर्नू।+ मैले पुजारीहरूलाई जे-जस्तो आज्ञा दिएको छु, तिमीहरूले ती होसियार भई पालन गर्नू। ९  तिमीहरू मिश्रबाट निस्केर आइरहेको बेला यहोवा तिमीहरूका परमेश्‍वरले मरियमलाई के गर्नुभएको थियो, त्यो कुरा नबिर्स।+ १०  “तिमीहरूले आफ्ना छिमेकीलाई ऋण दिँदा+ तिनले जुन कुरा बन्धकी राख्ने वचन दिएका छन्‌, त्यो जफत गर्न तिनको घरभित्र नपस। ११  तिमीहरू बाहिरै पर्खेर बस र ऋण लिने मानिसले कबुल गरेको सामान बाहिरै ल्याओस्‌। १२  ऋण लिने मानिस गरिब छ र बन्धकी राखेको सामान उसलाई नै खाँचो छ भने त्यो सामान रातभर तिमीकहाँ नराख।+ १३  घाम अस्ताउनेबित्तिकै उसले बन्धकी राख्न दिएको ओढ्‌ने फर्काइदिनू। ऊ आफ्नो ओढ्‌ने ओढेर ओछ्यानमा जान सक्नेछ+ र उसले तिमीलाई आशिष्‌ दिनेछ। यसो गऱ्‍यौ भने तिमीहरूका परमेश्‍वर यहोवाको नजरमा तिमीहरू धर्मी ठहरिनेछौ। १४  “तिमीहरूको इस्राएली दाजुभाइ होस्‌ वा तिमीहरूको सहरमा बस्ने विदेशी, तिमीहरूले काममा लगाएको कुनै पनि गरिब वा खाँचोमा परेको ज्यालादारी कामदारलाई नठग्नू।+ १५  घाम अस्ताउनुअघि नै तिमीहरूले त्यसको ज्याला दिनू।+ किनभने त्यो गरिब छ र दिनभरिको ज्यालाबाटै त्यसले जीवन धान्‍नुपर्छ। आफ्नो ज्याला नपाएकोले त्यसले यहोवा परमेश्‍वरलाई पुकाऱ्‍यो भने तिमीहरूलाई त्यसको पाप लाग्नेछ।+ १६  “छोराछोरीले गरेको पापको कारण बुबालाई मृत्युदण्ड नदिनू र बुबाले गरेको पापको कारण छोराछोरीलाई मृत्युदण्ड नदिनू।+ जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनुपर्छ।+ १७  “विदेशी र अनाथहरूको* मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्‌ग्याएर तिनीहरूलाई अन्याय नगर।+ विधवालाई ऋण दिँदा तिनको कपडा जबरजस्ती बन्धकी नराख।+ १८  मिश्रमा छँदा तिमीहरू पनि दास थियौ अनि यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई त्यहाँबाट छुटाउनुभयो भन्‍ने कुरा नबिर्स।+ त्यसैले मैले यो आज्ञा तिमीहरूलाई दिएको हुँ। १९  “कटनी गर्दा खेतमा एक बिटा अन्‍न बिर्स्यौ भने त्यसलाई लिन फर्केर नजाओ। छुटेको त्यो अन्‍न विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ यसो गऱ्‍यौ भने यहोवा तिमीहरूका परमेश्‍वरले तिमीहरूको हरेक काममा आशिष्‌ दिनुहुनेछ।+ २०  “तिमीहरूले लट्ठीले हिर्काएर जैतुनको रूखबाट फल झारिसकेपछि बाँकी रहेको फल झार्न हाँगाहरूलाई फेरि नहिर्काउनू। त्यस रूखमा जे-जति बाँकी हुन्छ, ती सबै विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ।+ २१  “तिमीहरूले अङ्‌गुर टिपिसकेपछि बाँकी रहेको अङ्‌गुर टिप्न फेरि बगानमा फर्केर नजाओ। त्यहाँ जे-जति बाँकी हुन्छ, ती सबै विदेशी, अनाथ र विधवाको लागि छोडिदेओ। २२  मिश्रमा छँदा तिमीहरू पनि दास थियौ भन्‍ने कुरा नबिर्स। त्यसैले मैले यो आज्ञा तिमीहरूलाई दिएको हुँ।

फुटनोटहरू

वा “ज्यान लिनुजस्तै हो।”
यहाँ “कुष्ठरोग” भनेर अनुवाद गरिएको हिब्रू शब्दको विभिन्‍न अर्थ छ। यसमा छालामा लाग्ने विभिन्‍न सरुवा रोगहरू र लुगामा अनि घरमा देखिने ढुसी पनि समावेश छ।
वा “बुबा गुमाएका बच्चाहरूको।”