व्यवस्था १६:१-२२
१६ “तिमीहरूले अबिब* महिनाको सम्झना गर्नू र यहोवा परमेश्वरको निम्ति निस्तार चाड* मनाउनू।+ किनभने त्यही महिना तिमीहरूका परमेश्वर यहोवाले तिमीहरूलाई मिश्रबाट राती छुटाएर ल्याउनुभएको थियो।+
२ यहोवा परमेश्वरले आफ्नो नामको महिमा गर्न जुन ठाउँ रोज्नुहुन्छ,+ त्यहीँ तिमीहरूले आफ्नो भेडा वा बाख्रा+ निस्तार चाडको भेटीको रूपमा यहोवा परमेश्वरको निम्ति बलि चढाउनू।+
३ बलि चढाइएको जनावरको मासुसँग तिमीहरूले खमिर* हालेको कुनै कुरा नखानू।+ तिमीहरूले मिश्रबाट हतार-हतार निस्केको बेला खमिर नहालेको रोटी खाएका थियौ।+ तिमीहरूले सात दिनसम्म त्यस्तै रोटी खानू। तब तिमीहरूले मिश्रमा भोगेको दुःख सम्झनेछौ अनि मिश्रबाट छुटकारा पाएको कुरा पनि जिन्दगीभर बिर्सनेछैनौ।+
४ सात दिनसम्म तिमीहरू बसोबास गरिरहेको ठाउँमा कतै पनि खमिरा पीठो* नभेटियोस्।+ तिमीहरूले पहिलो दिनको साँझ बलि चढाएको जनावरको मासु भोलिपल्ट बिहानसम्ममा खाइसिद्ध्याउनू।+
५ यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देशको जुन पायो त्यही सहरमा तिमीहरूले निस्तार चाडको बलि नचढाउनू।
६ तर यहोवा परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा मात्र तिमीहरूले बलि चढाउनू। तिमीहरू जुन दिन मिश्रबाट निस्केका थियौ, त्यही दिन पारेर साँझ घाम अस्ताउनेबित्तिकै निस्तार चाडको बलि चढाउनू।+
७ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा+ तिमीहरूले बलि चढाएको जनावरको मासु पोलेर खानू+ अनि भोलिपल्ट बिहान तिमीहरू आ-आफ्नो पालमा फर्कनू।
८ छ दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू। सातौँ दिनचाहिँ यहोवा परमेश्वरको उपासना गर्न भेला हुने विशेष दिन हो। त्यो दिन तिमीहरूले कुनै काम नगर्नू।+
९ “तिमीहरूले सात हप्ता गन्नू; बाली काट्न सुरु गरेको दिनदेखि सात हप्ता गन्न थाल्नू।+
१० सात हप्ता बितेपछि तिमीहरूले आफ्ना परमेश्वर यहोवाको लागि हप्ताहरूको चाड* मनाउनू।+ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुहुन्छ, त्यसैको आधारमा तिमीहरूले स्वैच्छिकभेटी चढाउनू।+
११ यहोवा तिमीहरूका परमेश्वरले आफ्नो नामको महिमा गर्न रोज्नुभएको ठाउँमा तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी अनि तिमीहरूबीच भएको विदेशी, अनाथ* र विधवासँगै यहोवा तिमीहरूका परमेश्वरसामु खुसीयाली मनाउनू।+
१२ मिश्रमा छँदा तिमीहरू पनि दास थियौ भन्ने कुरा कहिल्यै नबिर्स।+ अनि तिमीहरूले यी सबै विधिविधानमा ध्यान देओ र यी पालन गर।
१३ “तिमीहरूले आफ्नो खलाबाट अन्न अनि कोलबाट दाखमद्य र तेल जम्मा गरिसकेपछि सात दिनसम्म झुप्रोबासको चाड* मनाउनू।+
१४ तिमीहरूले आफ्नो छोरा, छोरी, दास, दासी, तिमीहरूको सहरमा बस्ने लेवी, विदेशी, अनाथ र विधवासँगै यस चाडको बेला खुसीयाली मनाउनू।+
१५ यहोवा तिमीहरूका परमेश्वरले रोज्नुभएको ठाउँमा तिमीहरूले यहोवाको निम्ति सात दिनसम्म यो चाड मनाउनू।+ किनभने यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रशस्त उब्जनी दिनुहुनेछ र तिमीहरूले गर्ने हरेक काममा आशिष् दिनुहुनेछ।+ तब तिमीहरू आनन्दित हुनेछौ।+
१६ “तिमीहरूमाझ भएका सबै पुरुष वर्षको तीन पटक यहोवा परमेश्वरले रोज्नुभएको ठाउँमा उहाँसामु भेला होऊन्: अखमिरा रोटीको चाडमा,*+ हप्ताहरूको चाडमा+ र झुप्रोबासको चाडमा।+ यहोवा परमेश्वरसामु तिनीहरू कोही पनि खाली हात नजाऊन्।
१७ यहोवा परमेश्वरले तिमीहरूलाई जति आशिष् दिनुभएको छ, त्यसैको आधारमा प्रत्येकले उहाँलाई भेटी चढाऊन्।+
१८ “यहोवा परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशका सबै सहरमा हरेक कुलका लागि न्यायकर्ताहरू र अफिसरहरू नियुक्त गर्नू।+ तिनीहरूले ठीकसित न्याय गरून्।
१९ तिमीहरूले नियम बङ्ग्याएर अन्याय नगर्नू,+ पक्षपात नगर्नू+ अनि घुस नखानू किनभने घुसले बुद्धिमान् मानिसलाई पनि अन्धो बनाइदिन्छ+ र धर्मी मानिसलाई छली कुरा गर्न लगाउँछ।
२० तिमीहरूले सधैँ न्याय गर्नू; कहिल्यै अन्याय नगर्नू।+ तब मात्र तिमीहरू दीर्घायु हुनेछौ र यहोवा तिमीहरूका परमेश्वरले दिनुहुने देश अधिकार गर्न सक्नेछौ।
२१ “यहोवा तिमीहरूका परमेश्वरको लागि तिमीहरूले बनाएको वेदीनजिकै रूख रोपेर त्यसलाई पवित्र खामोको* रूपमा नपुज्नू।+
२२ “तिमीहरूले पवित्र थाम* खडा नगर्नू+ किनभने त्यस्तो कुरालाई यहोवा तिमीहरूका परमेश्वर घृणा गर्नुहुन्छ।
फुटनोटहरू
^ अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
^ पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।
^ शब्दावलीमा “कटनीको चाड; हप्ताहरूको चाड” हेर्नुहोस्।
^ वा “बुबा गुमाएको बच्चा।”