लेवी २७:१-३४

२७  यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २  “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कसैले कुनै व्यक्‍तिको लागि तोकिएको मोल यहोवा परमेश्‍वरलाई चढाउने विशेष भाकल+ गर्छ भने ३  त्यो मोल २० देखि ६० वर्षसम्मको पुरुषको लागि पवित्र ठाउँको शेकेलअनुसार* ५० शेकेल* चाँदी होस्‌। ४  तर स्त्रीको लागि तोकिएको मोल भने ३० शेकेल होस्‌। ५  अनि ५ देखि २० वर्षसम्मको हो भने केटाको लागि तोकिएको मोल २० शेकेल र केटीको लागि १० शेकेल होस्‌। ६  एक महिनादेखि ५ वर्षसम्मको हो भने केटाको लागि तोकिएको मोल ५ शेकेल चाँदी र केटीको लागि ३ शेकेल चाँदी होस्‌। ७  “‘अनि ६० वर्ष र सोभन्दा माथिको हो भने पुरुषको लागि तोकिएको मोल १५ शेकेल र स्त्रीको लागि १० शेकेल होस्‌। ८  तर भाकल गर्ने मानिस एकदमै गरिब छ र उसले तोकिएको मोल चढाउन सक्दैन भने+ उसले जुन व्यक्‍ति दिन्छु भनेर भाकल गरेको थियो, त्यसलाई पुजारीसामु ल्याओस्‌ अनि भाकल गर्ने मानिसको औकातअनुसार पुजारीले त्यस व्यक्‍तिको मोल तोकिदेऊन्‌।+ ९  “‘यदि कसैले यहोवा परमेश्‍वरलाई अर्पण गर्न योग्य कुनै जनावर चढाउने भाकल गर्छ भने उसले यहोवा परमेश्‍वरलाई चढाउने त्यो जनावर उहाँको नजरमा पवित्र हुनेछ। १०  एक चोटि भाकल गरिसकेपछि उसले राम्रोको सट्टा नराम्रो वा नराम्रोको सट्टा राम्रो जनावर नसाटोस्‌। उसले साट्‌यो भने ती दुवै जनावर पवित्र हुनेछन्‌ अर्थात्‌ सुरुमा भाकल गरेको जनावर र पछि साटेको जनावर। ११  यदि उसले भाकल गरेको जनावर यहोवा परमेश्‍वरलाई चढाउन नहुने अशुद्ध जनावर+ हो भने उसले त्यस जनावरलाई पुजारीसामु ल्याओस्‌। १२  त्यसपछि पुजारीले त्यो जनावर कस्तो छ,* सो हेरून्‌ र त्यसको मोल तोकिदेऊन्‌। पुजारीले तोकेको मोल नै त्यो जनावरको मोल हुनेछ। १३  तर केही गरी उसले त्यो जनावर फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्‌।+ १४  “‘यदि कुनै मानिसले आफ्नो घर यहोवा परमेश्‍वरलाई अर्पण गर्न छुट्ट्याउँछ र त्यसलाई पवित्र पार्छ भने पुजारीले त्यो घर कस्तो छ,* सो हेरून्‌ र त्यसको मोल तोकिदेऊन्‌। पुजारीले तोकेको मोल नै त्यस घरको मोल हुनेछ।+ १५  तर उसले त्यो घर फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलका साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्‌। त्यसपछि त्यो घर उसको हुनेछ। १६  “‘यदि कुनै मानिसले केही टुक्रा जमिन यहोवा परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने त्यस जमिनको लागि कति बिउ चाहिन्छ, त्यसको आधारमा त्यस जमिनको मोल तोकियोस्‌। एक होमेर* जौको बिउको मोल ५० शेकेल चाँदी होस्‌। १७  यदि उसले आफ्नो जमिन स्वर्ण वर्षदेखि परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने+ त्यसैअनुसार त्यसको मोल तोकियोस्‌। १८  यदि उसले स्वर्ण वर्ष सिद्धिएपछि आफ्नो जमिन परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने पुजारीले अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरेर त्यसैअनुसार जमिनको मोल घटाऊन्‌।+ १९  तर परमेश्‍वरको निम्ति छुट्ट्याइसकेको जमिन केही गरी उसले फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरोस्‌। त्यसपछि त्यो जमिन उसको हुनेछ। २०  यदि उसले त्यो जमिन आफूले किनेन र त्यो जमिन अरू कसैलाई बेचियो भने पछि त्यो फेरि किन्‍न मिल्दैन। २१  स्वर्ण वर्षमा त्यो जमिन यहोवा परमेश्‍वरलाई अर्पण गरिएको जमिन हुनेछ। त्यो उहाँको नजरमा पवित्र हुनेछ अनि पुजारीहरूको भाग हुनेछ।+ २२  “‘यदि कसैले आफ्नो पुर्ख्यौली जमिन होइन तर आफूले किनेको जमिन यहोवा परमेश्‍वरको निम्ति छुट्ट्याउँछ भने+ २३  पुजारीले अर्को स्वर्ण वर्ष आउन कति वर्ष बाँकी छ, त्यो हिसाब गरून्‌ र त्यही दिन त्यस जमिनको मोल तोकिदेऊन्‌।+ त्यो मोल यहोवा परमेश्‍वरको नजरमा पवित्र हुनेछ। २४  स्वर्ण वर्षमा भने त्यो जमिन जसबाट किनिएको हो अर्थात्‌ जसको हो, उसैलाई फिर्ता गरिनेछ।+ २५  “‘सबै मोल पवित्र ठाउँको शेकेलअनुसार होस्‌। एक शेकेलबराबर बीस गेरा* होस्‌। २६  “‘तर कसैले पनि जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्‍वरको निम्ति नचोख्याओस्‌ किनभने गर्भको पहिलो फल उहाँकै हो।+ बहर होस्‌ या भेडाको पाठो, त्यो पहिल्यैदेखि यहोवाकै हो।+ २७  यदि उसले भाकल गरेको जनावर अशुद्ध जनावर हो र त्यसलाई ऊ फेरि किन्‍न चाहन्छ भने उसले तोकिएको मोलको साथै त्यसको पाँच भागको एक भाग पनि तिरेर त्यस जनावरलाई छुटाओस्‌।+ तर उसले त्यो जनावर फेरि किनेन भने तोकिएको मोलमै त्यो जनावर अरूलाई बेचिनेछ। २८  “‘यदि कसैले आफूसित भएको थोकमध्येबाट मानिस, जनावर वा जमिन यहोवा परमेश्‍वरलाई कुनै सर्त नराखी अर्पण गर्छ भने उसले त्यो अरूलाई बेच्न वा फेरि आफैले किन्‍न मिल्दैन। जुन कुरा यहोवा परमेश्‍वरलाई अर्पण गरिन्छ, त्यो उहाँको नजरमा महापवित्र हुन्छ।+ २९  साथै मृत्युदण्ड दिन छुट्ट्याइएको मानिसलाई पनि मोल तिरेर छुटाउन मिल्दैन।+ उसलाई मार्नै पर्छ।+ ३०  “‘चाहे खेतको अन्‍न होस्‌ वा बोटबिरुवाको फल, भूमिको उब्जनीको दशांश*+ यहोवा परमेश्‍वरकै हो। त्यो यहोवा परमेश्‍वरको नजरमा पवित्र छ। ३१  यदि कसैले केही गरी आफूले चढाइसकेको दशांश फेरि किन्‍न चाहन्छ भने उसले त्यसको मोलको साथै पाँच भागको एक भाग पनि तिरेर किनोस्‌। ३२  तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति गाईवस्तु वा भेडाबाख्राको बगालबाट दशांश चढाउनू। जनावरको गन्ती गर्दा* गोठालोले हरेक दसौँ जनावरलाई अलग्गै राखोस्‌। हरेक दसौँ जनावर परमेश्‍वरको नजरमा पवित्र छ। ३३  उसले त्यो जनावर राम्रो छ कि छैन भनेर नहेरोस्‌, न त त्यसको सट्टा अर्को जनावर नै चढाओस्‌। यदि उसले केही गरी त्यो जनावर साट्‌न खोज्छ भने ती दुवै जनावर पवित्र हुनेछन्‌ अर्थात्‌ सुरुमा गनेको दसौँ जनावर र पछि साटेको जनावर।+ ती जनावरहरू फेरि किन्‍न मिल्दैन।’” ३४  यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई सिनै डाँडामा मोसामार्फत दिनुभएका आज्ञाहरू यी नै हुन्‌।+

फुटनोटहरू

वा “पवित्र शेकेलअनुसार।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “राम्रो हो कि नराम्रो।”
वा “राम्रो हो कि नराम्रो।”
एक होमेर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।
गोठालोले जनावरहरूलाई आफ्नो लौरोमुनिबाट छिराएर बगालको गन्ती गर्थे।