लेवी २१:१-२४

  • पुजारीहरू पवित्र हुनुपर्छ, अशुद्ध हुनु हुँदैन (१-९)

  • प्रधानपुजारीले आफूलाई अशुद्ध पार्नु हुँदैन (१०-१५)

  • पुजारीहरूको शरीरमा खोट हुनु हुँदैन (१६-२४)

२१  यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: “पुजारीहरू अर्थात्‌ हारुनका छोराहरूलाई यसो भन्‍नू, ‘तिमीहरूले आफ्ना मानिसहरूमध्ये कसैको मृत्यु हुँदा आफूलाई अशुद्ध नपार्नू।*+ २  तर रगतको नाता पर्ने आफ्नो आमा, बुबा, छोरा, छोरी, दाइ वा भाइको मृत्यु हुँदा चाहिँ तिनले आफूलाई अशुद्ध पार्न सक्छन्‌। ३  साथै तिनीसितै बस्ने तिनकी कुमारी दिदी वा बहिनी विवाह नहुँदै मरिन्‌ भने तिनले उसको निम्ति पनि आफूलाई अशुद्ध पार्न सक्छन्‌। ४  तर आफ्ना मानिसहरूमध्ये कसैसित विवाह गरेकी स्त्रीको निम्ति भने तिनले आफूलाई अशुद्ध र अपवित्र नपारून्‌। ५  पुजारीहरूले शोक मनाउन कपाल नखौरून्‌,+ कुनाकुनासम्म दाह्री नकाटून्‌ वा शरीरमा कुनै किसिमको चोट नबनाऊन्‌।+ ६  तिनीहरू परमेश्‍वरसामु पवित्र होऊन्‌+ र तिनीहरूले यहोवाको नाम अपवित्र नपारून्‌+ किनभने तिनीहरूले उहाँको निम्ति आगोमा भेटी चढाउँछन्‌ अर्थात्‌ उहाँको निम्ति छुट्ट्याइएको खानेकुरा* चढाउँछन्‌। त्यसैले तिनीहरू पवित्र हुनै पर्छ।+ ७  तिनीहरूले वेश्‍यासित,+ बिटुलो भएकी स्त्रीसित वा पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित+ विवाह नगरून्‌ किनभने पुजारीहरू परमेश्‍वरसामु पवित्र छन्‌। ८  तिमीहरूले* पुजारीहरूलाई पवित्र ठान्‍नू+ किनभने तिमीहरूका परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउने तिनीहरू नै हुन्‌। तिमीहरूलाई एक पवित्र जातिको रूपमा अलग पार्ने म यहोवा पवित्र भएकोले पनि तिमीहरूले पुजारीहरूलाई पवित्र ठान्‍नू।+ ९  “‘यदि कुनै पुजारीकी छोरीले वेश्‍यावृत्तिमा लागेर आफूलाई बिटुलो पारेमा उसले आफ्नो बुबाको अपमान गरेकी हुन्छे। त्यसैले उसलाई मार्नू र आगोमा जलाउनू।+ १०  “‘पुजारीहरूमध्येबाट प्रधानपुजारी नियुक्‍त हुनेले कसैको मृत्युको शोक मनाउन आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोडून्‌ अनि आफ्नो लुगा नच्यातून्‌+ किनभने तिनको शिरमा अभिषेक गर्ने तेल खन्याइएको छ+ र तिनलाई पुजारीको पोसाक+ लगाउन नियुक्‍त गरिएको छ। ११  तिनी कुनै लासको नजिक नजाऊन्‌;+ आफ्नो बुबा वा आमाको मृत्यु हुँदा समेत तिनले आफूलाई अशुद्ध नपारून्‌। १२  तिनी पवित्र स्थानभन्दा* बाहिर नजाऊन्‌ र आफ्नो परमेश्‍वरको पवित्र स्थानलाई अपवित्र नपारून्‌+ किनभने समर्पणको चिन्हस्वरूप शिरमा पवित्र तेल खन्याएर तिनलाई अभिषेक गरिएको छ।+ म यहोवा हुँ। १३  “‘तिनले कुमारी केटीसित विवाह गरून्‌।+ १४  तिनले विधवा, सम्बन्धविच्छेद भएकी स्त्री, बिटुलो भएकी स्त्री वा वेश्‍यासित विवाह नगरून्‌। बरु आफ्ना मानिसहरूमध्येबाट एउटी कुमारी केटीसित विवाह गरून्‌। १५  तिनले आफ्ना मानिसहरूमाझ आफ्नो वंशलाई बिटुलो नपारून्‌+ किनकि म यहोवा हुँ; मैले तिनलाई पवित्र पारेको छु।’” १६  यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १७  “हारुनलाई भन, ‘तिम्रो सन्तानमध्ये कसैको शरीरमा खोट छ भने ऊ आफ्ना परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउन पवित्र ठाउँको नजिक नआओस्‌। तिमीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गर्नू। १८  शरीरमा यस्ता खोट भएका मानिसहरू पवित्र ठाउँको नजिक नजाऊन्‌: अन्धो, लङ्‌गडो, कुरूप अनुहार भएको,* एउटा हात वा एउटा खुट्टा लामो भएको, १९  एउटा हात वा एउटा खुट्टा भाँचिएको, २०  कुप्रो, बामपुड्‌को,* आँखाको समस्या भएको, छालामा घाउ वा दाद आएको अथवा अण्डकोषमा चोट लागेको।+ २१  पुजारी हारुनका सन्तानमध्ये कसैको शरीरमा खोट छ भने ऊ यहोवा परमेश्‍वरको निम्ति आगोमा भेटी चढाउन नआओस्‌। शरीरमा खोट भएकोले ऊ परमेश्‍वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउन नआओस्‌। २२  उसले परमेश्‍वरको निम्ति छुट्ट्याइएको पवित्र+ र महापवित्र खानेकुरा+ खान सक्छ। २३  तर ऊ पर्दानजिक+ अनि वेदीनजिक+ नआओस्‌ किनभने उसको शरीरमा खोट छ। उसले मेरो पवित्र ठाउँलाई अपवित्र नपारोस्‌+ किनभने म यहोवाले तिनीहरूलाई पवित्र पारेको छु।’”+ २४  मोसाले हारुन, उनका छोराहरू अनि सबै इस्राएलीलाई यी सबै कुरा बताए।

फुटनोटहरू

लास छुँदा वा मरेको मानिसको लागि शोक मनाउँदा पुजारीहरूले आफूलाई अशुद्ध बनाइरहेका हुन्थे।
यसले बलि चढाइएको कुरालाई जनाउँछ।
अर्थात्‌, इस्राएलीहरूले।
शब्दावली हेर्नुहोस्‌।
शा., “चिरिएको नाक भएको।”
वा सम्भवतः “मरनच्याँसे।”