लेवी १५:१-३३

  • यौनाङ्‌गबाट बग्ने अशुद्ध कुरा (१-३३)

१५  यहोवा परमेश्‍वरले मोसा र हारुनलाई अझै यसो भन्‍नुभयो: २  “इस्राएलीहरूलाई यसो भन्‍नू, ‘यदि कुनै पुरुषको यौनाङ्‌गबाट धातु बग्यो भने ऊ अशुद्ध होस्‌।+ ३  त्यो धातु उसको यौनाङ्‌गबाट बगिरह्‍यो वा त्यो बग्न रोकिएर यौनाङ्‌गमा अवरोध पैदा गऱ्‍यो भने पनि ऊ अशुद्ध होस्‌। ४  “‘धातु बगेको मानिस सुतेको ओछ्यान र ऊ बसेको सबै सामान अशुद्ध होस्‌। ५  जसले उसको ओछ्यान छुन्छ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌।+ ६  धातु बगेको मानिस बसेको कुनै पनि कुरामा जो बस्छ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ७  धातु बगेको पुरुषलाई जसले छुन्छ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ८  धातु बगेको पुरुषले कुनै शुद्ध व्यक्‍तिलाई थुक्यो भने त्यस व्यक्‍तिले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ९  धातु बगेको मानिस बसेको काठी अशुद्ध होस्‌। १०  ऊ बसेको कुरालाई छुने जोसुकै व्यक्‍ति साँझसम्म अशुद्ध रहोस्‌। अनि जसले ऊ बसेको कुरालाई उठाउँछ, उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। ११  धातु बगेको मानिसले+ हात नधोई कसैलाई छोयो भने त्यस व्यक्‍तिले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। १२  धातु बगेको मानिसले छोएको माटोको भाँडो फुटाउनू र उसले छोएको काठको भाँडो पानीले पखाल्नू।+ १३  “‘धातु बग्न छोड्‌यो र ऊ निको भयो भने धातु बग्न छोडेको सात दिनपछि उसले आफ्नो लुगा धोओस्‌ र खोलाको पानीले नुहाओस्‌ अनि ऊ शुद्ध हुनेछ।+ १४  आठौँ दिन उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा+ भेट हुने पालको* प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु ल्याओस्‌ र पुजारीलाई देओस्‌। १५  अनि पुजारीले तीमध्ये एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा चढाऊन्‌। यसरी तिनले धातु बगेको त्यस मानिसको निम्ति यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गरिदेऊन्‌। १६  “‘कुनै पुरुषको वीर्य निस्क्यो भने उसले आफ्नो पूरै शरीर नुहाओस्‌ र ऊ साँझसम्म अशुद्ध रहोस्‌।+ १७  उसले वीर्य परेको लुगा र छालाको सामान धोओस्‌ र त्यो सरसामान साँझसम्म अशुद्ध रहोस्‌। १८  “‘स्त्रीसित सम्भोग गर्दा कुनै पुरुषको वीर्य निस्क्यो भने तिनीहरू दुवैले नुहाऊन्‌ र साँझसम्म अशुद्ध रहून्‌।+ १९  “‘कुनै स्त्री महिनावारी भएकी छे भने ऊ सात दिनसम्म अशुद्ध रहोस्‌।+ उसलाई छुने जोसुकै पनि साँझसम्म अशुद्ध रहोस्‌।+ २०  महिनावारीले गर्दा अशुद्ध भएको समयमा ऊ जुन ओछ्यानमा सुत्छे, त्यो अशुद्ध होस्‌ अनि ऊ जुन कुरामा बस्छे, त्यो पनि अशुद्ध होस्‌।+ २१  उसको ओछ्यान छुने जोसुकैले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। २२  महिनावारीले गर्दा अशुद्ध भएकी स्त्री बसेको जुनसुकै कुरा छुने व्यक्‍तिले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌। २३  ऊ ओछ्यानमा बसेकी होस्‌ वा अरू कुनै कुरामा, ऊ बसेको कुरालाई कसैले छोएमा त्यो व्यक्‍ति साँझसम्म अशुद्ध रहोस्‌।+ २४  कुनै पुरुषले त्यस स्त्रीसित सम्भोग गऱ्‍यो र महिनावारीले गर्दा अशुद्ध भएकी त्यस स्त्रीको रगत उसलाई लाग्यो भने+ त्यो व्यक्‍ति सात दिनसम्म अशुद्ध रहोस्‌ अनि त्यो व्यक्‍ति सुत्ने ओछ्यान पनि अशुद्ध होस्‌। २५  “‘यदि कुनै स्त्रीको महिनावारीको समयबाहेक अरू नै समयमा+ धेरै दिनसम्म रगत बग्यो+ वा अघिपछिको बेलाभन्दा लामो समयसम्म रगत बग्यो भने महिनावारीको दिनहरूमा झैँ रगत बगुन्जेल ऊ अशुद्ध हुनेछे। २६  रगत बगेको दिनहरूमा ऊ सुतेको ओछ्यान महिनावारी भएको बेला सुतेको ओछ्यानजस्तै अशुद्ध ठहरियोस्‌+ अनि ऊ जुन कुरामा बस्छे, त्यो पनि महिनावारी भएको बेलाझैँ अशुद्ध ठहरियोस्‌। २७  ती कुराहरू छुने व्यक्‍ति अशुद्ध होस्‌ र उसले आफ्नो लुगा धोओस्‌ र नुहाओस्‌ अनि ऊ साँझसम्म अशुद्ध रहोस्‌।+ २८  “‘तर रगत बग्न छोड्‌यो भने रगत बग्न छोडेको सात दिनपछि ऊ शुद्ध हुनेछे।+ २९  आठौँ दिनमा उसले दुई वटा ढुकुर वा परेवाका दुई वटा बचेरा+ भेट हुने पालको प्रवेशद्वारमा ल्याएर पुजारीलाई देओस्‌।+ ३०  अनि पुजारीले तीमध्ये एउटालाई पापभेटीको निम्ति र अर्कोलाई अग्निभेटीको निम्ति चढाऊन्‌। यसरी तिनले रगत बगेको त्यस स्त्रीको निम्ति यहोवा परमेश्‍वरसामु प्रायश्‍चित गरिदेऊन्‌।+ ३१  “‘यसरी तिमीहरूले इस्राएलीहरूलाई अशुद्धताबाट अलग्गै राख्नू नत्र त तिनीहरूबीच भएको मेरो वासस्थानलाई* तिनीहरूले अशुद्ध पार्लान्‌ र मर्लान्‌।+ ३२  “‘यो नियम यी मानिसहरूमा लागू हुनेछ: धातु बगेको पुरुष र वीर्य निस्केकोले अशुद्ध भएको पुरुष,+ ३३  महिनावारीले गर्दा अशुद्ध भएकी स्त्री,+ शरीरबाट धातु बगेको पुरुष, शरीरबाट रगत बगेकी स्त्री+ र अशुद्ध भएकी स्त्रीसित सम्भोग गर्ने पुरुष।’”

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
शब्दावली हेर्नुहोस्‌।