लेवी १०:१-२०
१० पछि हारुनका छोराहरू नादाब र अबिहुले+ आ-आफ्नो धुपौरो लिए अनि त्यसमा आगो र धूप+ राखे। त्यसपछि तिनीहरूले यहोवा परमेश्वरले निषेध गर्नुभएको आगो उहाँसामु ल्याए+ तर उहाँले तिनीहरूलाई त्यसो गर्ने आज्ञा दिनुभएको थिएन।
२ त्यसपछि यहोवा परमेश्वरको सामनेबाट आगो निस्क्यो र तिनीहरू यहोवा परमेश्वरसामु जलेर मरे।+
३ तब मोसाले हारुनलाई भने: “यहोवाले यसो भन्नुभएको छ, ‘जो-जो मेरो नजिक आउँछन्, तिनीहरूले मलाई पवित्र पार्नेछन्+ र सबै मानिसले मेरो महिमा गर्नेछन्।’” यो सुनेपछि हारुनले केही भनेनन्।
४ त्यसैले मोसाले मिसाएल र एलिसापान, जो हारुनका काका उज्जिएलका+ छोराहरू थिए, तिनीहरूलाई बोलाएर भने: “यहाँ आओ अनि आफ्ना मानिसहरूको लास पवित्र ठाउँबाट उठाएर छाउनीबाहिर लैजाओ।”
५ तिनीहरू आएर नादाब र अबिहुलाई उनीहरूले लगाइराखेको लुगासमेतै उठाएर छाउनीबाहिर लगे। मोसाले भनेझैँ तिनीहरूले गरे।
६ त्यसपछि मोसाले हारुन र उनका अर्का दुई छोरा एलियाजार र इथामारलाई यसो भने: “तिमीहरूले आफ्नो कपाललाई स्याहार नगरी जथाभाबी नछोड अनि आफ्नो लुगा नच्यात+ नत्र त तिमीहरू मर्नेछौ। साथै सारा समुदायमाथि परमेश्वरको क्रोध दन्किनेछ। यहोवाले जसलाई आगोद्वारा मार्नुभयो, तिनीहरूको निम्ति तिमीहरूका दाजुभाइ—इस्राएलको सारा समुदायले शोक मनाउनेछ।
७ तिमीहरू भेट हुने पालको* प्रवेशद्वारबाट धेरै टाढा नजानू नत्र त मर्नेछौ किनकि यहोवा परमेश्वरले तिमीहरूलाई पवित्र तेलले अभिषेक गर्नुभएको छ।”+ तिनीहरूले मोसाले भनेझैँ गरे।
८ त्यसपछि यहोवा परमेश्वरले हारुनलाई भन्नुभयो:
९ “तिमी र तिम्रा छोराहरू दाखमद्य* वा अरू किसिमको मद्य पिएर भेट हुने पालमा कहिल्यै नआउनू+ नत्र त तिमीहरू मर्नेछौ। यो नियम तिमीहरूको पुस्तौँपुस्तासम्म लागू हुनेछ।
१० तिमीले पवित्र र अपवित्र अनि शुद्ध र अशुद्धबीचको भिन्नता छुट्ट्याउन सक+
११ अनि यहोवाले मोसामार्फत भन्नुभएका सबै नियम इस्राएलीहरूलाई सिकाउन सक भनेर तिमीलाई यो नियम दिइएको हो।”+
१२ त्यसपछि मोसाले हारुन अनि उनका बाँकी छोराहरू एलियाजार र इथामारलाई यसो भने: “यहोवा परमेश्वरको निम्ति आगोमा चढाइएको अन्नभेटीको बाँकी भाग लिनू र त्यसबाट अखमिरा* रोटी बनाएर वेदीनजिकै बसेर खानू+ किनकि यो महापवित्र कुरा हो।+
१३ यो पवित्र ठाउँमा बसेर खानू+ किनभने यहोवा परमेश्वरको निम्ति आगोमा चढाइने भेटीको यो भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हो; मैले पाएको आज्ञा यही हो।
१४ साथै डोलाउने भेटीको ह्याकुला र त्यसको पवित्र भाग अर्थात् खुट्टा+ पनि शुद्ध ठाउँमा बसेर खानू। तिमी र तिम्रा छोराछोरी सबैले खानू+ किनभने इस्राएलीहरूले चढाउने मेलबलिका यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुन्।
१५ तिनीहरूले डोलाउने भेटीको ह्याकुला र पवित्र भाग अर्थात् खुट्टाका साथै आगोमा चढाउने बोसो ल्याऊन् र ती यहोवा परमेश्वरसामु डोलाऊन्। यहोवा परमेश्वरले भन्नुभएझैँ यी भाग तिमी र तिम्रा छोराहरूले नियमित रूपमा पाउने हिस्सा हुनेछ।”+
१६ मोसाले पापभेटीको बोका धुइँधुइँती खोजे+ तर त्यो जलाइसकेको रहेछ भनी थाह पाए। त्यसैले हारुनका बाँकी छोराहरू एलियाजार र इथामारसित रिसले चूर हुँदै तिनले भने:
१७ “तिमीहरूले पापभेटीलाई किन पवित्र ठाउँमा बसेर खाएनौ?+ त्यो महापवित्र कुरा हो अनि तिमीहरूले सारा इस्राएलीहरूको दोष हटाउन सक र तिनीहरूको लागि यहोवा परमेश्वरसामु प्रायश्चित गर्न सक भनेर त्यो तिमीहरूलाई दिइएको थियो।
१८ हेर, यो जनावरको रगत पवित्र ठाउँभित्र लगिएको छैन!+ त्यसैले परमेश्वरले मलाई आज्ञा गर्नुभएबमोजिमै तिमीहरूले त्यसको मासु पवित्र ठाउँमा बसेर खानुपर्थ्यो।”
१९ हारुनले मोसालाई भने: “मानिसहरूले आज यहोवा परमेश्वरसामु पापभेटी र अग्निभेटी चढाए।+ तर तपाईँलाई थाहै छ, ममाथि कस्तो विपत्ति आइपऱ्यो! त्यसैले आज मैले पापभेटी खाएको भए के यहोवा परमेश्वर खुसी हुनुहुने थियो र?”
२० यो कुरा मोसालाई चित्त बुझ्यो।