लुकाका अनुसार २४:१-५३

  • येसुलाई फेरि जीवित पारिन्छ (१-१२)

  • इम्माउस जाने बाटोमा (१३-३५)

  • येसु चेलाहरूकहाँ प्रकट हुनुहुन्छ (३६-४९)

  • येसु स्वर्ग जानुहुन्छ (५०-५३)

२४  तर हप्ताको पहिलो दिन तिनीहरू आफूले तयार पारेको सुगन्धित मसला लिएर बिहान सबेरै चिहानमा पुगे।+ २  तर तिनीहरूले चिहानबाट ढुङ्‌गा गुडाइसकेको पाए+ ३  र भित्र पसेर हेर्दा तिनीहरूले प्रभु येसुको शव भेट्टाएनन्‌।+ ४  यसले गर्दा तिनीहरू रनभुल्लमा परिरहेको बेला हेर! चम्किलो लुगा लगाएका दुई जना पुरुष तिनीहरूको छेउमा उभिए। ५  डरले गर्दा ती स्त्रीहरूले टाउको उठाउनै सकेनन्‌। उत्तिखेरै ती दुई पुरुषले भने: “जीवित व्यक्‍तिलाई तिमीहरू किन मरेकाहरूमाझ खोजिरहेका छौ?+ ६  उहाँ यहाँ हुनुहुन्‍न किनकि उहाँ ब्युँतिसक्नुभयो। गालिलमै छँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, सम्झ त। ७  मानिसको छोरा पापीहरूको हातमा सुम्पिइनुपर्छ, खम्बामा टाँगिनुपर्छ र तेस्रो दिनमा ब्युँतनुपर्छ भनेर उहाँले भन्‍नुभएको थियो।”+ ८  तब उहाँले भन्‍नुभएको कुरा तिनीहरूले सम्झे+ ९  अनि तिनीहरू चिहानबाट फर्के र यी सबै कुरा ती ११ जना चेला र बाँकी सबैलाई खबर गरे।+ १०  ती स्त्रीहरू मरियम मग्दलिनी, योअन्‍ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँगै गएका अरू स्त्रीहरूले पनि यी कुराहरू प्रेषितहरूलाई बताए। ११  तर उनीहरूलाई यो कुरा वाहियात लाग्यो र ती स्त्रीहरूको कुरा पत्याएनन्‌। १२  तर पत्रुस उठे अनि दौडँदै चिहानतिर गए र निहुरिएर भित्र हेर्दा मलमलको कपडा मात्र देखे। त्यसैले यो के भएको होला भनेर मनमनै सोच्दै तिनी आफ्नो बाटो लागे। १३  तर हेर! त्यही दिन दुई जना चेला यरुसलेमबाट ११ किलोमिटरजति* टाढा पर्ने इम्माउस भनिने एउटा गाउँतिर यात्रा गर्दै थिए। १४  अनि जे घटनाहरू भए, त्यसबारे तिनीहरू आपसमा कुरा गर्दै थिए। १५  तिनीहरू आपसमा कुराकानी गरिरहेको बेला येसु स्वयम्‌ तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँगै हिँड्‌न थाल्नुभयो। १६  तर तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्‌।+ १७  उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू बाटोमा हिँड्‌दै आपसमा के बहस गर्दै छौ?” अनि अनुहार अँध्यारो बनाएर तिनीहरू ठिङ्‌ग उभिए। १८  तब तिनीहरूमध्ये क्लेओपा नाम गरेको चेलाले उहाँलाई भने: “के तपाईँ यरुसलेममा एक्लै बस्ने परदेशी हुनुहुन्छ? आजकल त्यहाँ के भइरहेको छ, त्यसबारे तपाईँलाई केही थाह छैन?”* १९  उहाँले तिनीहरूलाई सोध्नुभयो: “के कुरा?” तिनीहरूले उहाँलाई भने: “नासरी येसुलाई+ जे-जे भयो, त्यही कुरा। उहाँ भविष्यवक्‍ता हुनुहुन्थ्यो, जो परमेश्‍वर र सारा मानिससामु काम र वचन दुवैमा शक्‍तिशाली हुनुभयो।+ २०  तर हाम्रा मुख्य पुजारीहरू र यहुदी न्यायपरिषद्‌का सदस्यहरूले उहाँलाई मृत्युदण्ड दिनको लागि सुम्पे+ र खम्बामा टाँगे। २१  इस्राएललाई छुटकारा दिने मानिस उहाँ नै हुनुपर्छ भनेर हामीले आशा गरिरहेका थियौँ।+ अँ साँच्चै, यसबाहेक यी सब कुरा भएको आज तेस्रो दिन भइसक्यो। २२  साथै हामीमाझ भएका कोही-कोही स्त्रीको कुरा सुनेर पनि हामी छक्कै पऱ्‍यौँ किनकि तिनीहरू बिहान सबेरै चिहानमा जाँदा+ २३  उहाँको शव भेट्टाएनछन्‌। तिनीहरूले स्वर्गदूतहरूको अलौकिक दृश्‍य देखेको अनि ती स्वर्गदूतहरूले उहाँ जीवित हुनुहुन्छ भनेर सुनाएको कुरा पनि हामीलाई बताए। २४  अनि हामीमध्येका कोही-कोही चिहानमा जाँदा+ उनीहरूले पनि ती स्त्रीहरूले भनेजस्तै पाए तर उहाँलाई भने देखेनन्‌।” २५  त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “ए अबुझ अनि भविष्यवक्‍ताहरूले बताएका कुराहरू पत्याउन गाह्रो लाग्ने मानिसहरू हो! २६  आफूले पाउनुपर्ने गौरव हासिल गर्न के ख्रिष्टले यी सब कष्ट भोग्नु+ आवश्‍यक थिएन र?”+ २७  अनि मोसा र सारा भविष्यवक्‍ताको लेखोटदेखि+ सुरु गरेर सम्पूर्ण धर्मशास्त्रमा भएका आफूसित सम्बन्धित कुराहरूको अर्थ उहाँले तिनीहरूलाई खोलिदिनुभयो। २८  अन्तमा तिनीहरू जुन गाउँतर्फ यात्रा गरिरहेका थिए, त्यसको नजिकै पुगे। उहाँले भने यात्रा अझै अगाडि बढाउन चाहेको जस्तो भान पार्नुभयो। २९  तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे: “हामीसँगै बस्नुहोस्‌ न किनकि दिन ढलेर रात पर्न लागिसक्यो।” अनि उहाँ तिनीहरूसँगै बस्न जानुभयो। ३०  तिनीहरूसँगै खान बसिरहेको बेला उहाँले रोटी लिनुभयो, धन्यवाद चढाउनुभयो र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।+ ३१  त्यतिखेरै तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने तर उहाँ तिनीहरूलाई छोडेर अलप हुनुभयो।+ ३२  अनि तिनीहरूले एकअर्कालाई यसो भने: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा* के हाम्रो हृदय बलिरहेको थिएन र?” ३३  तब तिनीहरू तुरुन्तै उठे र यरुसलेम फर्के अनि त्यहाँ ती ११ जना र अरू चेलालाई एकसाथ भेला भएको भेट्टाए। ३४  उनीहरू यसो भन्दै थिए: “यो साँचो हो, प्रभु ब्युँताइनुभयो र सिमोनकहाँ देखा पर्नुभयो!”+ ३५  तब तिनीहरूले बाटोमा के-कस्ता घटना घटे अनि उहाँले रोटी भाँचेर दिनुहुँदा कसरी तिनीहरूले उहाँलाई चिने, त्यसबारे बताइदिए।+ ३६  तिनीहरूले यी कुराहरू बताइरहेकै बेला उहाँ स्वयम्‌ तिनीहरू सबैमाझ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।”+ ३७  तर तिनीहरू तर्सिएर आत्तिए अनि स्वर्गदूत देख्यौँ भन्ठाने। ३८  त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन आत्तिन्छौ अनि किन हृदयमा शङ्‌का गर्छौ? ३९  मेरा हातखुट्टा हेर त, म नै हुँ। मलाई छामेर हेर किनकि मेरो हाड र मासु छ तर स्वर्गदूतको त हुँदैन।” ४०  अनि त्यसो भन्दै उहाँले तिनीहरूलाई आफ्नो हातखुट्टा देखाउनुभयो। ४१  औधी आनन्द र आश्‍चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पत्याएनन्‌। त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूसित केही खानेकुरा छ?” ४२  तब तिनीहरूले उहाँलाई एक टुक्रा पोलेको माछा दिए। ४३  उहाँले त्यो लिनुभयो र तिनीहरूकै आँखाअगाडि खानुभयो। ४४  अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मोसाको व्यवस्था, भविष्यवक्‍ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा+ पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा मैले तिमीहरूलाई बताएको थिएँ।”+ ४५  तब धर्मशास्त्रको अर्थ बुझ्न सकून्‌ भनेर उहाँले तिनीहरूको समझ पूरै खोलिदिनुभयो+ ४६  र उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, ख्रिष्टले दुःख भोग्नेछ र मृत्युबाट तेस्रो दिनमा ब्युँतनेछ।+ ४७  अनि पापको क्षमा पाउन उसको नाममा पश्‍चात्ताप गर्नुपर्छ+ भन्‍ने सन्देश यरुसलेमबाट सुरु गरेर सबै जातिमा+ प्रचार गरिनेछ।+ ४८  तिमीहरू यी कुराहरूको साक्षी हुनेछौ।+ ४९  हेर, मेरो बुबाले तिमीहरूलाई जे दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ, त्यो म पठाउँदै छु। तर स्वर्गबाट शक्‍ति नपाएसम्म तिमीहरू यही सहरमा बसिरहो।”+ ५०  उहाँले तिनीहरूलाई बेथानिसम्म लैजानुभयो अनि आफ्नो हात उचालेर आशिष्‌ दिनुभयो। ५१  तिनीहरूलाई आशिष्‌ दिँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गतिर उचालिनुभयो।+ ५२  तिनीहरूले उहाँलाई दण्डवत्‌ गरे अनि अत्यन्तै रमाउँदै यरुसलेम फर्के।+ ५३  तिनीहरूले मन्दिरमा परमेश्‍वरलाई निरन्तर प्रशंसा चढाइरहे।+

फुटनोटहरू

शा., “६० स्टेडियम।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।
वा सम्भवत: “के यो कुरा थाह नहुने विदेशी यरुसलेममा तपाईँ मात्रै हो?”
वा “स्पष्टसित बुझाइदिनुहुँदा।”